समाज नछोएका तीज गीत

संजिला तामाङ

‘भोज गर्छु, रमाउँछु, खान्छु खीरैखीर, पोइ मेरा लाहुरे मलाई केको पीर’ यो अहिले घर–घरमा टेलिभिजन, रेडियो र उफरमा गुञ्जिने तीज गीत हो । त्यसैगरी अरू गीतका केही अंशहरू पनि हेरौं— ‘भिनाजुले किन्देको सेतो घडी नाडीमा, टलटल सितारा रातो साडीमा, आज सानी चिटिक्कै छे शिरमा शिरफूल लाएर, हुनेखाने ज्वाइँ राजाको माया पाएर, खाडीको कमाइले किनिदेउ न बूढा मलाई स्कुटर, छोरालाई पल्सर ।’

हिजोआज दैनिकजसो गुञ्जिरहने तीज गीत प्रायः यस्तै छन् । हरेक सञ्चार माध्यममा यस्तै गीतहरू बज्ने गर्छन्, जसलाई हामीले सुनेर सहजै पचाइसकेका छौं । हामी यस्तै गीतमा यिनका भाव, अर्थ र प्रभावको कुनै वास्तै नगरी साडी–चोलो अनि भएभरका सक्कली–नक्कली गहना लगाएर कम्मर मर्काएर नाच्न तयार हुन्छौं । नाचिदिन्छौँ ।

खुल्ला समाजको अगाडि रमाइलो गरिरहन्छौं । यसो सोच्ने हो भने यस्ता प्रवृत्तिका गीतलाई पनि हामी कसरी सहस्र स्वीकार्छौं ? सुन्दै उकुस–मुकुस पार्ने हाम्रो सामाजिकसद्भाव, सामाजिक र नारीको मर्यादामाथि खुलेआम प्रहार गर्ने र विकृति भित्र्याउने यस्ता गीतमा रमाएर हाम्रो समाज अनि हाम्रो मर्यादा, संस्कार कता जाँदैछ ?

तीजका सबैजसो गीतले महिलालाई होच्याएर प्रस्तुत गरेका छन् । गीतका भाव हेर्दा महिलालाई रमाउन, मोज गर्न, भोज गर्न पनि पुरुषमै निर्भर हुनुपर्छ । तीजमा राम्री हुनलाई लगाउने साडी, चुरा, पोते, तिलहरी पनि पुरुषले नै किनिदिनुपर्छ । चाहे त्यो भिनाजुले नै किन नहोस् ।

एकछाक मिठो खान र लाउन लाहुरेलाई नै सम्झिनुपर्छ, श्रीमान, भेना, दाइ अनि यस्तै पुरुष पात्रको भर पर्नुपर्छ । अथवा उनीहरूको दैनिकी नै पुरुषमा परनिर्भर नभई चल्दैन भन्ने प्रस्तुति यी गीतहरूमा छन् । आफ्नो खुट्टामा आफै उभिनुपर्छ, अरूमा भर पर्नुहुन्न भन्नेहरूलाई तीजका गीतहरूले मज्जाले खिल्ली उडाएका छन् । तर पनि हाम्रो समाजले यसलाई सहजै स्वीकारेको छ । नियमन गर्ने निकाय मौन छन्, गीत बजिरहेका छन् ।

तीजलाई महिलाको पर्व भनिन्छ । सुख–दुःख बाँड्ने, पारिवारिक जमघट, मेलमिलापको प्रतीकको रूपमा यस्ता चाडबाडलाई लिइन्छ । तर तीजका गीतले त मौलिक मूल्य–मान्यतालाई गलहत्याएर उपभोगवादी, महिलाको यौनिकता र पूर्णरूपमा उपयोगको साधन र परनिर्भर बनाई होच्याउने संस्कृतिलाई भित्र्याएका छन् ।

गीतहरू सुन्दा लाग्छ— यो महिलालाई होच्याएर अपमानित रूपलेप्रस्तुत गर्ने पर्व हो । महिलाको पर्व भए त महिलाका हकहित, अधिकार र आत्मसम्मानको गीतहरू गुन्जिनुपर्ने हो । तर यस्ता खालका गीतहरू बजारमा आएकै छैनन्वा आए पनि बजाइएका छैनन् । सरकारी सञ्चारमाध्यमले समेत महिलालाई अपमान गर्ने यस्ता गीत बजाइरहेका छन् ।

तीजका प्रायः गीतले महिलालाई परनिर्भर वस्तुको रूपमा चित्रित गरेका छन् । महिला भनेको श्रीमान वा पुरुषको अधीनमा चल्नुपर्छ, उनीहरूले भनेको मान्नुपर्छ, उनीहरूकै पैसामा राम्री, चिटिक्क पर्नुपर्छ, पुरुषमै निर्भर हुनुपर्छ भन्ने आशय व्यक्त गरेका छन् । यी कुरालाई माथिका केही गीतको अंशले नै प्रस्ट पार्छन् । महिलाको स्वाभिमान, आत्मनिर्भरता, स्वतन्त्रता, पहिचानसँग तीजका गीतहरू जोडिएका छैनन् ।

के महिलाहरूले साडी, चुरा, पोते, घडी, स्कुटर किन्नलाई श्रीमान वा अरूमाथि नै निर्भर हुनुपर्ने हो ? उनीहरू आफै किन्न सक्दैनन् र, के यी सबै कुरा किन्न उनीहरू स्वयम् आत्मनिर्भर भइसकेका छैनन् त ? कि हाम्रो मानसिकताले अझै पनि महिलाको आत्मनिर्भरता, स्वन्त्रतालाई स्वीकार्न नसकेको हो ? या अझै पनि हामीले महिलालाई एउटा वस्तुको रूपमा– जसको अस्तित्व अरूमा निर्भर हुन्छ, अरूबाट परिचालित हुन्छ— चित्रित गर्न खोजेका हौं ?

यदि हो भने अब यस्तो भ्रममा अल्मलिनु हुँदैन । यसले समाजलाई अघि बढाउँदैन, पछि नै धकेल्छ । समाज धेरै बदलिसकेको छ । यो बदलिँदो समाजले सधैँ एउटै कुरालाई एउटै रूपले हेर्दैन । हो, अझै धेरै महिलाहरू परनिर्भर हुनुपरेको छ, पढ्न पाएका छैनन्, रोजगारी छैन ।

घरको काम गर्ने, छोराछोरी स्याहार्ने, अरूले ल्याइदिएको खाने–लाउने, अरूकै नियन्त्रणमा बस्नुपर्ने अवस्था छ । तर हाम्रा तीजका गीत त यस्ता महिलालाई पनि यो जञ्जालबाट बाहिर निकाल्नेगरी आउनुपर्छ । महिलालाई अझै सशक्त बनाउनेगरी आउनुपर्छ ।

छोरीहरू पनि शिक्षित बन्दैछन्, पढ्दै–लेख्दैछन् । आफ्नो खुट्टामा आफै उभिँदैछन्, केही कुरा गर्न र लेख्न सक्ने भएका छन्, निडर र स्वतन्त्र हुँदै गएका छन् । परम्परागत सामाजिक मूल्य–मान्यता विरुद्ध प्रश्न उठाउन सक्ने भएका छन्, लक्ष्मणरेखालाई नाघेर बाहिर आइसकेका छन् ।

महिला हिजो जति कमजोर र लाचार थिए, आज त्यस्तै छैनन् । महिलाहरू पनि देशको अग्र अथवा शक्तिशाली ठाउँमा पुगिसकेका छन् । काम गरेर पनि देखाएका छन् । त्यसैले यस्ता गीत बनाउँदा पुरानो मानसिकताबाट उठेर हेरौं, केही नयाँ, उत्प्रेरणा दिने खालको सोचसहित गीत बनाऔं ।

जथाभावी गीत बनाउँदा त्यसले सिँगो नारी जगतमाथि नै आँच पुर्‍याउन सक्छ । त्यो भनेको आमा, बहिनी, छोरी र श्रीमतीमाथिको अपमान हो । देवी शक्तिमाथिको प्रहार हो । जसले सन्देश राम्रो जाँदैन । जुन कसैको लागि पनि हितकारी हुँदैन ।

मान्छेलाई छिटै र सजिलै प्रभाव पार्ने शक्ति गीतमा छ । तर तीजका गीतले कस्तो सन्देश दिइरहेका छन्, मनन गरौं त ? अहिलेका नयाँ पुस्ता यस्तै गीत सुनेर हुर्किंदैछन् । उनीहरूले यिनै गीत गुनगुनाउँछन् । यस्तै गीतमा नाच्न तयार हुन्छन् । यस्ता गीतले उनीहरूको मनोभावमा कस्तो प्रभाव पार्ला ? उनीहरूले के बुझ्लान् र सिक्लान् ?

योपक्कै पनि विचारणीय कुरा हो । टीका, चुरा, पोते तअरूले नै किनेर दिनुपर्ने रहेछ भनेर सिक्दैनन् र ! ‘टीका, चुरा, पोते, धागो त केटामान्छेले ल्याइदिनुपर्ने रहेछ’ भन्ने ठाउँमा ‘चुरा, पोते, साडी, धागो त आफ्नै पैसाले किन्ने हो, आत्मनिर्भर बन्ने हो’ भन्नेजस्ता गीत बने अवश्य राम्रै सन्देश जाने थियो ।

प्रकाशित : भाद्र ७, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्

सानालाई तपाईं कि तिमी ?

विष्णुमाया सिग्देल

कसैलाई भेट्दा हामी ‘गुड मर्निङ’ वा ‘गुड आफ्टर्नुन’ भन्छौं । नमस्कार भनेर दुई हात जोड्न छोडेका छौं । हामीलाई नमस्कार भन्दा अलि असहज महसुस लाग्न थालिसकेको छ । कसैलाई भेट्दा हात जोडेर नमस्कार गर्नु हाम्रो संस्कार हो ।

विस्तारै हाम्रो संस्कारलाई पश्चिमा संस्कारले पछाडि पारेको छ । दुई हात जोड्नुको आफ्नै अर्थ छ । हात जोड्दा अरुप्रति सम्मानभन्दा बढी आफूलाई नै लाभ छ । दुई हात जोड्दा हातबाट ऊर्जा पैदा हुन्छ र त्यसले आफू अगाडिको मानिसमा समेत सकारात्मक प्रभाव पार्ने कुरा योगशास्त्रले बताउँछ ।

हात जोडेर नमस्कार गर्नु एक किसिमको औपचारिक सम्बोधन हो । कुनै परिचित वा अपरिचित मानिससँगको पहिलो संवाद नै नमस्कारबाट सुरु हुन्छ । त्यसपछि मात्र हामीलाई कुरा गर्न सहज हुन्छ । नमस्कार विना अपरिचित
होइन्छ । सायद नचिने पनि नमस्कारले चिनजान गराउँछ ।

कुरो एक वर्ष पहिलेको हो । मेरा एक अभिभावकले भन्नुभयो, ‘मिस मेरो छोराले घरमा आएका कुनै पाहुनालाई नमस्कार गर्दैन । बाबु नमस्कार भन भन्दा उल्टो किन नमस्कार गर्ने ? भनी प्रतिप्रश्न गर्छ । घरमा कोही पाहुना आएमा चिनेको नचिनेजस्तै गर्छ ।’ ती अभिभावकले छोरालाई सम्झाइदिन आग्रह गर्नुभयो । मसँग समाधानको सजिलो उपाय भने थिएन । मनमनै आँट गरेँ, कसो नसकुँला मनाउन । अभिभावकका गुनासो तथा आग्रहमध्ये यो पहिलो त थिएन, तरफरक भने पक्कै थियो ।

घरमा आफूले गराउन नसकेकाकुरा शिक्षकलाई भन्दा समाधान हुने ठान्नुहुन्छ, उहाँहरू ।संस्कार, चालचलन, रहनसहन रीतिरिवाज सिक्ने पहिलो स्कुल घर नै हो । मौलिक चालचलन, संस्कारभन्दा अरुको देखावटी नक्कल गर्नतिर हाम्रो ध्यान बढी जान्छ । हाम्रो संस्कारमा बाबुआमालाई मान्नुपर्ने आफूभन्दा ठूलालाई तपाईं, हजुर भन्ने, नमस्कार, ढोग प्रणामका कुरा एकादेशका कथा भइसकेको छ ।

आफूभन्दा साना तथा वृद्धवृद्धालाई माया, ममता, हेरविचार गर्ने जस्ता कुराहरूलाई सानै उमेरदेखि घरबाटै सिकाउनुपर्छ । यी कुराहरू सिक्न कुनै विद्यालय/कलेज गइराख्नु पर्दैन । हामीलाई यी सबै थाहा छ, तर व्यवहारमा लागू गरेका छैनौं । बाबा, आमा तथा आफूभन्दा ठूलालाई तपाईं/हजुर भनेर सम्बोधन गर्ने हाम्रो संस्कार हो । अहिले बालबालिकाले बाबाआमालाई तिमी भनेर सम्बोधनगर्न थालेका छन् ।

छोराछोरीले तिमी भनेर सम्बोधन गर्लान्, किनकि हामीले उनीहरूलाई तिमी भन्ने गरेका हुन्छौं । अथवा सुरुमै तपाईं/हजुर भन्न नजान्नु अस्वाभाविक होइन । छोराछोरीले बाबुआमालाई तिमी भनिरहँदा हामी विचार नगर्ने तर पाहुनालाई नमस्कार गरेन भन्ने—यसमा विरोधाभास छ ।

हामी घरमा छोराछोरीले पाएको वातावरण संस्कार हामीले बिर्सिंदै गएका छौं । स्कुलमा हामी बालबालिकालाई तपाईं/हजुर भन्न थालेका छौं । उता बाबाआमालाई छोराछोरीले तिमी भन्ने चलन भएका घरहरू पनि छन्, तिनमा छोराछारीलाई बाबाआमाले तपाईं/हजुर भनेर सम्बोधन गर्ने कुराअमिल्दो लाग्छ ।

मेरो घरमा बाआमाका हामी पाँच सन्तान छौं । सबैलाई बुबाले ‘तिमी’ भन्नुहुन्छ, आमाले ‘तँ’ । मेरो दौंतरीहरू सबैका बाबाआमाले आफ्ना छोराछोरीलाई ‘तँ’ नै भनेर बोलाउनुहुन्छ । यस्तोमा मलाई बुबाले ‘तिमी’ भनेर सम्बोधन गर्दा आफूलाई निकै गर्व लाग्थ्यो ।

कुनै बेला, बुबाले कहिलेकाहीं रिसाएर ‘तँ’ भन्नुहुन्थ्यो । त्यो ‘तँ’ शब्दले दिनभरि नै मलाई सकसक हुन्थ्यो । अप्ठ्यारो लागिरहन्थ्यो । किन आज बुबाले ‘तँ’ भनेको होला भन्ने कुरा मनमा खेलिरहन्थ्यो ।

अचेल प्रायः विद्यालयमा साना बालबालिकाहरूलाई तपाईं/हजुर भन्ने गरिन्छ । यस्तो चलन निकै राम्रो हो । तिनै बालबालिकाहरूलाई घरमा बाआमाहरूले तपाईँ/हजुर भन्ने गरेको पाइँदैन । स्कुलमा शिक्षकले मात्र तपाईं सम्बोधन गर्दा उनीहरू दुविधामा पनि परेका छन् ।

यस्तो दुविधाबारे मैले बालबालिका सम्बन्धी लेख लेख्ने लेखक उषा पोख्रेलसँग कुरा गरेकी थिएँ । उनका अनुसार घर र विद्यालय मिलेर साना बालबालिकालाई गरिने सम्बोधनमा एकरूपता ल्याउनसके असल संस्कार दिन सजिलो हुन्छ । उहाँका अनुसार विद्यालयहरूले बालबालिकाहरूको लागि तपाईं/हजुर भन्ने चलन ल्याउनु राम्रो हो । तर यही चलन हाम्रो घरमापनि हुन जरुरी छ ।

मान्यजन, बाबुआमा, गुरुलाई सम्मान तथा आदर गर्ने सनातन परम्परा छ । आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी होस् कि बाबाको मुख हेर्ने दिन कुसेऔंसी अथवा गुरुलाई पूजा गर्ने दिने गुरुपूर्णिमा । यी सबै दिनमा हामीले ती–ती मान्यजनप्रति कृतज्ञ हुन सिक्ने संस्कार सिक्छौं ।

यी संस्कृति र पर्वबारे हामीले बालबालिकालाई बुझाउन सक्नुपर्छ । यस्तै अतिथि देवो भवको मर्म र भाव पनि छोराछोरीलाई बुझाउनसकेमा मेरो अभिभावकले चाहेको जस्तो छोराछोरीले पाहुनालाई आदर सत्कार गर्न सिक्लान्कि ! हामी अभिभावकहरू आफैंले नै नमस्कारको सट्टा विदेशी शैलीमा ‘हाई’ गर्ने वा हातमात्रै मिलाउने गरेका छौंभने छोराछोरीले पनि त्यस्तै सिक्लान् ।

लेखक शिक्षिका हुन् ।

प्रकाशित : भाद्र ७, २०७६ ०८:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्