कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सानालाई तपाईं कि तिमी ?

कसैलाई भेट्दा हामी ‘गुड मर्निङ’ वा ‘गुड आफ्टर्नुन’ भन्छौं । नमस्कार भनेर दुई हात जोड्न छोडेका छौं । हामीलाई नमस्कार भन्दा अलि असहज महसुस लाग्न थालिसकेको छ । कसैलाई भेट्दा हात जोडेर नमस्कार गर्नु हाम्रो संस्कार हो ।

विस्तारै हाम्रो संस्कारलाई पश्चिमा संस्कारले पछाडि पारेको छ । दुई हात जोड्नुको आफ्नै अर्थ छ । हात जोड्दा अरुप्रति सम्मानभन्दा बढी आफूलाई नै लाभ छ । दुई हात जोड्दा हातबाट ऊर्जा पैदा हुन्छ र त्यसले आफू अगाडिको मानिसमा समेत सकारात्मक प्रभाव पार्ने कुरा योगशास्त्रले बताउँछ ।


हात जोडेर नमस्कार गर्नु एक किसिमको औपचारिक सम्बोधन हो । कुनै परिचित वा अपरिचित मानिससँगको पहिलो संवाद नै नमस्कारबाट सुरु हुन्छ । त्यसपछि मात्र हामीलाई कुरा गर्न सहज हुन्छ । नमस्कार विना अपरिचित

होइन्छ । सायद नचिने पनि नमस्कारले चिनजान गराउँछ ।


कुरो एक वर्ष पहिलेको हो । मेरा एक अभिभावकले भन्नुभयो, ‘मिस मेरो छोराले घरमा आएका कुनै पाहुनालाई नमस्कार गर्दैन । बाबु नमस्कार भन भन्दा उल्टो किन नमस्कार गर्ने ? भनी प्रतिप्रश्न गर्छ । घरमा कोही पाहुना आएमा चिनेको नचिनेजस्तै गर्छ ।’ ती अभिभावकले छोरालाई सम्झाइदिन आग्रह गर्नुभयो । मसँग समाधानको सजिलो उपाय भने थिएन । मनमनै आँट गरेँ, कसो नसकुँला मनाउन । अभिभावकका गुनासो तथा आग्रहमध्ये यो पहिलो त थिएन, तर फरक भने पक्कै थियो ।


घरमा आफूले गराउन नसकेका कुरा शिक्षकलाई भन्दा समाधान हुने ठान्नुहुन्छ, उहाँहरू । संस्कार, चालचलन, रहनसहन रीतिरिवाज सिक्ने पहिलो स्कुल घर नै हो । मौलिक चालचलन, संस्कारभन्दा अरुको देखावटी नक्कल गर्नतिर हाम्रो ध्यान बढी जान्छ । हाम्रो संस्कारमा बाबुआमालाई मान्नुपर्ने आफूभन्दा ठूलालाई तपाईं, हजुर भन्ने, नमस्कार, ढोग प्रणामका कुरा एकादेशका कथा भइसकेको छ ।


आफूभन्दा साना तथा वृद्धवृद्धालाई माया, ममता, हेरविचार गर्ने जस्ता कुराहरूलाई सानै उमेरदेखि घरबाटै सिकाउनुपर्छ । यी कुराहरू सिक्न कुनै विद्यालय/कलेज गइराख्नु पर्दैन । हामीलाई यी सबै थाहा छ, तर व्यवहारमा लागू गरेका छैनौं । बाबा, आमा तथा आफूभन्दा ठूलालाई तपाईं/हजुर भनेर सम्बोधन गर्ने हाम्रो संस्कार हो । अहिले बालबालिकाले बाबाआमालाई तिमी भनेर सम्बोधन गर्न थालेका छन् ।


छोराछोरीले तिमी भनेर सम्बोधन गर्लान्, किनकि हामीले उनीहरूलाई तिमी भन्ने गरेका हुन्छौं । अथवा सुरुमै तपाईं/हजुर भन्न नजान्नु अस्वाभाविक होइन । छोराछोरीले बाबुआमालाई तिमी भनिरहँदा हामी विचार नगर्ने तर पाहुनालाई नमस्कार गरेन भन्ने—यसमा विरोधाभास छ ।


हामी घरमा छोराछोरीले पाएको वातावरण संस्कार हामीले बिर्सिंदै गएका छौं । स्कुलमा हामी बालबालिकालाई तपाईं/हजुर भन्न थालेका छौं । उता बाबाआमालाई छोराछोरीले तिमी भन्ने चलन भएका घरहरू पनि छन्, तिनमा छोराछारीलाई बाबाआमाले तपाईं/हजुर भनेर सम्बोधन गर्ने कुरा अमिल्दो लाग्छ ।


मेरो घरमा बाआमाका हामी पाँच सन्तान छौं । सबैलाई बुबाले ‘तिमी’ भन्नुहुन्छ, आमाले ‘तँ’ । मेरो दौंतरीहरू सबैका बाबाआमाले आफ्ना छोराछोरीलाई ‘तँ’ नै भनेर बोलाउनुहुन्छ । यस्तोमा मलाई बुबाले ‘तिमी’ भनेर सम्बोधन गर्दा आफूलाई निकै गर्व लाग्थ्यो ।


कुनै बेला, बुबाले कहिलेकाहीं रिसाएर ‘तँ’ भन्नुहुन्थ्यो । त्यो ‘तँ’ शब्दले दिनभरि नै मलाई सकसक हुन्थ्यो । अप्ठ्यारो लागिरहन्थ्यो । किन आज बुबाले ‘तँ’ भनेको होला भन्ने कुरा मनमा खेलिरहन्थ्यो ।


अचेल प्रायः विद्यालयमा साना बालबालिकाहरूलाई तपाईं/हजुर भन्ने गरिन्छ । यस्तो चलन निकै राम्रो हो । तिनै बालबालिकाहरूलाई घरमा बाआमाहरूले तपाईँ/हजुर भन्ने गरेको पाइँदैन । स्कुलमा शिक्षकले मात्र तपाईं सम्बोधन गर्दा उनीहरू दुविधामा पनि परेका छन् ।


यस्तो दुविधाबारे मैले बालबालिका सम्बन्धी लेख लेख्ने लेखक उषा पोख्रेलसँग कुरा गरेकी थिएँ । उनका अनुसार घर र विद्यालय मिलेर साना बालबालिकालाई गरिने सम्बोधनमा एकरूपता ल्याउनसके असल संस्कार दिन सजिलो हुन्छ । उहाँका अनुसार विद्यालयहरूले बालबालिकाहरूको लागि तपाईं/हजुर भन्ने चलन ल्याउनु राम्रो हो । तर यही चलन हाम्रो घरमा पनि हुन जरुरी छ ।


मान्यजन, बाबुआमा, गुरुलाई सम्मान तथा आदर गर्ने सनातन परम्परा छ । आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी होस् कि बाबाको मुख हेर्ने दिन कुसेऔंसी अथवा गुरुलाई पूजा गर्ने दिने गुरुपूर्णिमा । यी सबै दिनमा हामीले ती–ती मान्यजनप्रति कृतज्ञ हुन सिक्ने संस्कार सिक्छौं ।


यी संस्कृति र पर्वबारे हामीले बालबालिकालाई बुझाउन सक्नुपर्छ । यस्तै अतिथि देवो भवको मर्म र भाव पनि छोराछोरीलाई बुझाउनसकेमा मेरो अभिभावकले चाहेको जस्तो छोराछोरीले पाहुनालाई आदर सत्कार गर्न सिक्लान् कि ! हामी अभिभावकहरू आफैंले नै नमस्कारको सट्टा विदेशी शैलीमा ‘हाई’ गर्ने वा हातमात्रै मिलाउने गरेका छौं भने छोराछोरीले पनि त्यस्तै सिक्लान् ।


लेखक शिक्षिका हुन् ।

[email protected]

प्रकाशित : भाद्र ७, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?