बिचौलिया

सिउँडी
विमल निभा

काठमाडौँ — यतातिर पार्टी र सरकारको कुरा मिलिरहेको छैन भन्ने कुरा बाहिर आएको छ । यो कुरा बाहिर आइसकेपछि मैले झट्ट समातेर एक पार्टीको कमरेडसँग सोधेंँ, ‘के तपाईंहरूका सरकारसँग कुरा मिलिरहेको छैन कमरेड ?’ ‘कुन सरकार ?’ उनले पनि मसँग झट्ट सोधे ।

‘तपाईंहरूकै सरकार, अरु कुन सरकार ?’

‘म आफैं सरकारमा छु ।’ उनको निधार खुम्चियो, ‘मेरो मसँग कुरो किन मिल्दैन ?’
कमरेड भर्खरै मन्त्री बनेकाले मसँग यस्तो चुक हुनगयो । तर मन्त्री पनि पार्टीकै हुन् नि ! अनि पार्टीसँग कुरो किन मिलिरहेको छैन त ? त्यसैले मैले म अघि उभिएका मन्त्रीसँग भनेंँ, ‘तपाईहरूका पार्टीसँग कुरो मिल्दैन मन्त्रीज्यू ?’
‘के कुरा गर्नुभएको ?’ उनले मेरो कुराको आशय बुझ्न खोजे ।

‘मेरो कुरा स्पष्टै छ नि, सरकार र पार्टीको कुरो किन मिलिरहेको छैन ?’
‘वास्तवमा कुरो के हो भने हामीले यो कुरा बुझ्नसकेको छैन, पार्टीको कुरो के हो ?’ उनले गम्भीर भएर भने, जब कुरा नै बुझिँदैन भने कुरो कसरी मिल्छ ?’

‘त्यसो भए, पार्टीको कुरो कसरी बुझ्ने त मन्त्रीज्यू ?’
यसको जवाफमा सरकारका तर्फबाट सरकारी मन्त्रीले म सम्मुख जे–जे कुरा गरे, त्यो कुरा मैले बुझ्न सकिन । त्यसउसले कुरा बुझ्नैपर्‍यो भनेर मैले एक वरिष्ठ पार्टी कमरेडसँगकुरा गरेँं, ‘आखिर कुरो केहो कमरेड ?’
‘के कुरा ?’ उनले उल्टै मसँग नै सोधे ।
‘पार्टी र सरकारको कुरो के हो ?’
‘के पार्टी र सरकारको कुरा ?’

‘सरकार र पार्टीको कुरो किन मिलिरहेको छैन कमरेड ?’ मैले कुरा स्पष्ट पार्न खोजेँं, ‘कुरो के हो ?’
‘यसमा कुरो नै यही हो कि सरकारसँग हाम्रो कुरो मिलिरहेको छैन, अरु कुरो के छ ?’
‘तर सरकारका मानिसहरू भनिरहेका छन्, पार्टीको कुरो नै बुझिएको छैन, कुरोके हो ?’

‘जब सरकार हाम्रो कुरा नै बुझ्दैन भने अरु कुरा के गर्ने र ?’ वरिष्ठ पार्टी कमरेडले एउटा लामो सास फेरेर भने, ‘असलमा कुरो यही हो ।’

मलाई पार्टी र सरकारको कुरा गजब लाग्यो । सरकार एउटा कुरा गर्छ र यसको जवाफमा पार्टी अर्को कुरा । जब दुवैका कुरा नै बेग्लाबेग्लै छ भने त्यो कुरा कसरी मिल्छ त ? यो कुरा मिलाउन पार्टी र सरकारले एउटै कुरा गर्नुपर्‍यो, अनि कुरा त्यसै मिल्नेछ । यसमा गाह्रो कुरा के छ ? अब सरकार र पार्टीले दुई थरीका कुरा गरेर मिलेन भन्न मिल्छ त ? त्यो कुरा त मिल्दैमिल्दैन नि ! अँ, एउटा कुरा, असलमा कुरो के हो भने मैले भेटेको वरिष्ठ पार्टी कमरेडको पनि मन्त्री बन्ने कुरा चलिरहेको छ । यस्तो हुने हो भने त सरकारसँग कसो कुरा नमिल्ला ? तर यो पनि आंशिक समाधान हो ।
ठूला–ठूला सरकारी ठेक्का लिने ठेकेदार र सरकारको कुरा मिलाउने एक बिचौलियासँग मेरो भेट भयो । अचेल उनी पार्टी र सरकारको कुरा मिलाउन लागिरहेका छन् । मलाई पनि पार्टी र सरकारमा दिलचस्पी लिएको देखेर उनी मुस्कुराए, ‘तपाईं कुरै बुझ्नुहुन्न ।’

‘के कुरा बुझिन मैले ?’ साँच्चिकै कुरा नबुझेरभनेंँ मैले ।
‘यो अरुका कुरामा नचाहिँंदो इन्ट्रेस्ट लिने व्यंग्यकार–स्यंग्यकारले बुझ्ने कुरै होइन ।’
‘के कुरा ?’
‘मैले सरकारसँग कत्रो–कत्रो ठेक्काको कुरा मिलाइसकेँं भने यो के कुरा हो र ?’ उनको स्वरमा आत्मविश्वास थियो, ‘म भोलि नै बालुवाटारजाँदैछु ।’

‘सम्माननीय प्रधानमन्त्रीज्यू पार्टीका अध्यक्ष पनि होइनन् र ?’ मलाई चुपचाप टोलाइरहेको पाएर उनले थपे, ‘तपाईंहरू कुरै बुझ्नुहुन्न ।’

‘के कुरा ?’ मेरो बकफुट्यो ।
‘हेर्नोस्, पार्टी अध्यक्ष रहेका सम्माननीय प्रधानमन्त्रीज्यूसँग कुरा मिले सबै कुरा मिलेन त ?’ उनले हाँसेर भने, ‘पार्टी र सरकारको कुरा जरुर मिल्नेछ ।’

प्रकाशित : श्रावण ३२, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्

बाढी

सिउँडी
विमल निभा

कमरेड माधवकुमार नेपालको घर डुबानमा परेको खबर सुनेर मलाई बडो दुःख लाग्यो । योभन्दा बढी म अरु के गर्न सक्छु ? त्यसैले आफ्नो दुःख प्रकट गर्न म उनीकहाँ जानै लागेको थिएँ, एक्कासी रोकिएँ । यसको कारण के हो भने यो चलन पुरानो भइसक्यो । अब ता दुःखको साटो सुख पो प्रकट गर्ने गरिन्छ क्यारे !

जे होस्, म कमरेड माधवकहाँ यसका लागि अर्थात् सुख प्रकट गर्न कहिल्यै गएको छैन । यस्तोमा म जस्तोलाई दुःख प्रकट गर्ने के अधिकार छ ? यही सोचेर म उनीकहाँ नगएको हुँ । तर यो एकदमसँग प्रकट हुन खोजिरहेको मेरो दुःखको के गरुँ म ? यसको दुई उपाय हुनसक्छ ।

एक, यसलाई बेसरी थिचथाच पारेर प्रकट गर्ने झन्झटैबाट मुक्त हुन सकिन्छ । तर यो मलाई त्यति व्यावहारिक लागिरहेको छैन । र अर्को उपायके भने मैले एकैचोटी माधव कमरेडकहाँ नगएर उनकै गुटकोकुनै कमरेडकोमा दुःख प्रकट गर्न किन नजाने ? यही दोस्रोसोचबाट नै राम्ररी काम चल्ने भएकोले म आफ्नो दुःखसहित घरबाट निस्किएँ ।

यसका लागि मैले धेरै परसम्म हिँंड्नु परेन । किनभने मेरो टोलमा एक माधव गुटका कमरेडको घर रहेको छ । (पेट्रोल पम्पनेर) । त्यहाँ पुगेर मैले कलबेल थिचेंँ । एक अपरिचित अनुहारले ढोका खोल्यो । र उसले मलाई अपरिचयको भावले सरसर्ती हेर्‍यो । मैले पनि सोही प्रकारले उसलाई हेरेँं । त्यसपछि पनि हाम्रो अपरिचय कायम नै रहेकोले मैले भनेंँ, ‘यो कमरेडको घर हो ?’

‘कुन कमरेड ?’ उसले उल्टै मसँग नै प्रश्न गर्‍यो ।
‘कमरेड फलानाको घर
होइन यो ?’
‘होइन, यो त कमरेड ढिस्कानाको घर हो ।’

यो कस्तो संयोग पर्‍यो भने कमरेड फलानाजस्तै कमरेड ढिस्काना पनि माधव गुटकै कमरेड हुन् । कुनै विजातीय कमरेड होइनन् । मेरो भन्नुको मतलव के हो भने उनी ओली गुट अथवा प्रचण्ड गुट अथवा झलनाथ गुट अथवा वामदेव गुट अथवा नारायणकाजी गुटका नभएर खासा माधव गुटका कमरेड हुन् । अझ कमरेड ढिस्कानालाई माधव गुटमा कमरेड फलानाभन्दा उच्च स्तरको गुटीय कमरेड मानिने गरिन्छ । त्यसकारण मैले कमरेड ढिस्कानालाई नै भेटेर आफ्नो दुःख प्रकट गर्ने निधो गरेँं । अँ, कमरेड ढिस्कानाको घर पनि यही टोलमा रहेको थाहा थिएन, अबथाहा भयो ।

कमरेड ढिस्कानाको घरमा निकै चहलपहल थियो । केही महिला र बच्चाहरू यताउता गरिरहेका थिए । एक प्रकारको रमाइलो वातावरण थियो । (यस्तै लाग्यो) । केही बेरपछि के थाहा पाएँ भने आज कमरेड ढिस्कानाको जन्मदिन हो । धत्तेरिका ! म त विलकुलै गलत समयमाआफ्नो दुःख प्रकट गर्न आइपुगेको रहेछु । त्यसैले फर्कन के लागेको थिएँ, कमरेड ढिस्काना देखापरे ।

‘आउनोस्, आउनोस् ।’ उनले अघि बढेर भने, ‘कहाँ जान लाग्नुभएको ?’
‘माफ गर्नोस्, मलाई कमरेडको जन्मदिन भनेर थाहा थिएन ।’ मैले विस्तारै भनेंँ, ‘म त दुःख प्रकट गर्न आएको हुँ कमरेड ।’
‘कस्तो दुःख ?’ उनी एकाएक सतर्क भए ।

‘मैले आज बिहानै कमरेड माधवको घर डुबानमा परेको सुनेंँ ।’ मैले दुःखपूर्ण अनुहार बनाएर कमरेड ढिस्कानाको अनुहारमा हेरेँं ।
‘कुन घर ?’ उनी पनि मेरो अनुहारमा हेरिरहेका थिए ।

‘माधव कमरेडको गौरमा रहेको घर डुबानमा परेको होइन कमरेड ?’
‘ए, तराईको घर, त्यो घर डुबेर के भयो ?’ उनी मुस्कुराए, ‘यहाँका घरहरूलाई त केही भएको छैन नि ।’
‘कहाँका घर कमरेड ?’

‘नयाँबानेश्वरको घर, कालिमाटीको घर, महाराजगन्जको घर, कमलादीको घर, भैंसेपाटीको घर, बसुन्धराको घर, जोरपाटीको घर, बूढानीलकण्ठको घर, कलंकीको घर, थानकोटको घर, त्रिपुरेश्वरको घर, नयाँसडकको घर, बौद्धको घर, जावलाखेलको घर, चावहिलको घर, पुतलीसडकको घर, कपनको घर, दरबारमार्गको घर ।’

‘कमरेड माधवका घरहरू ?’ मेरो स्वरमा आश्चर्य थियो ।
‘होइन, मेरो घर । (हाँसेर) तर छाड्नोस् घर–सरको कुरा ।’ उनले मेरो हात समातेर भने, ‘आज मेरो जन्मदिन हो ।’

यसपछिको कुरो के हो भने मैले जन्मदिनको उपलक्ष्यमा माधव गुटका कमरेड ढिस्कानालाई ‘ह्याप्पी वर्थ डे टु यु’ भन्नुपर्‍यो । यसको बलमा उनले मलाई बैठक कोठामा लगेर केकको एक ठूलो टुक्रा खुवाए । (यति नै) । अब यसलाई म आफ्नो शौभाग्य भनुँ अथवा दुर्भाग्य, म गएको थिएँ, कमरेड माधवकुमार नेपालको घर डुबानमा परेकोदुःख प्रकट गर्न, तर स्वादिष्टकेक खाएर ‘ह्याप्पी वर्थ डे’ भनी आफ्नो घर फर्किएँ ।

प्रकाशित : श्रावण ४, २०७६ ०८:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्