मदन दाइको शताब्दी यात्रा

अभि सुवेदी

काठमाडौँ — एक शताब्दीमा झन्डै ८० वर्ष सक्रिय भएर जीवन र जगत भोग्ने मदनमणि दीक्षित/माडसा’प उर्फ मदन दाइ (१९७९ फागुन ६–२०७६ साउन ३०) को कथा सबै दीर्घजीवीको जस्तै हो । जीवनको विडम्बना र जीवन र मृत्युको विषयमा अनेकौं समाचार र छोटा विचार पढेँं । मलाई एउटा ट्विटको भाष्यले समात्यो ।

साहित्यकार खगेन्द्र संग्रौलाले लेखेको ट्विटमा जीवन, लेखन र कालको त्रिवणी भेटेँं । उनले लेखेका छन्, ‘मेरा प्रिय रिपु डीपी भण्डारीले लेखेर र बोलेर भनेका थिए– म मृगस्थलीमा हिँड्दाहिँड्दै हृदयाघातले मर्छु ।

दुर्भाग्यवश, आफू आफैंसँग नरहनेगरी विस्मरणले उनलाई बितायो । सौभाग्यवश, मदनमणि माड्सा’पको लेख्दालेख्दै मर्न पाऊँ भन्ने इच्छा पूरा भयो । न जन्म आफ्नो बशमा छ न मृत्यु । हैट् जिन्दगी ।’ यो ट्विट पढेपछि आफूले डीपी भण्डारीमाथि लेखेको लामो लेख र एकाध महिनाअघि मदन दाइलाई भेटेको सम्झना भयो । मदन दाइ त्यो बेला एक सक्रिय लेखकजस्तै कुरा गर्दै थिए । मेरो एउटा सानो संस्मरण राखेर त्यसपछि उनको बारेमा केही कुरा लेख्न चाहन्छु ।
मदन दाइ भनेर आफूले सधैं सम्बोधन गर्ने यी व्यक्तिको यात्रा अलिक भिन्न थियो । ती यथार्थ र मिथक, भविताको काल्पनिकी, आफ्नो समाजको परिवर्तन गर्ने विचार र कर्मले गर्दा आफ्नो युगका धेरै मानिसभन्दा भिन्न थिए । यो सामन्ती युगबाट जुर्मुराएर उठ्न संघर्ष गरिरहेको समाज, हिजोदेखिका सांसारिक र अधिभौतिक ज्ञानका परम्परा अनि जर्मन दार्शनिक कार्ल मार्क्सले समाज बदल्ने भनेर प्रतिपादन गरेका दर्शन मदन दाइको जीवनमा भिडका यात्रीहरू जस्तो कुम ठोकेर सँगसँगै हिंँडेको कथा हो यो ।

मदन दाइले लामो जीवन यात्रामा यथार्थ जीवनलाई आफ्नो मूल आधार माने पनि जीवनलाई सार्थक गराउन साहित्य, वैदिक दर्शन र समाजवादी चिन्तनको संयोग हुनुपर्छ भन्ने मान्यता राखे । यही धारणाले गर्दा उनले विविध विषयमाथि रचना गरे । उनको जीवन र काममाथि समालोचक र अध्येताहरूले धेरै काम गरिसकेका छन् । ती आलेख वा शोधप्रबन्धहरूमा छरिएका छन् । त्यसैले यो छोटो लेखमा म केवल आफूले जानेका र बुझेका मदन दाइको विषयमा केही लेख्ने जमर्को गर्छु ।

जेठ ३१, २०७६ को दिन भाटभटेनीको अमूक पार्टीप्यालेसमा मेरो मदन दाइसँग पछिल्लो भेटघाट भएको थियो । लेखक दम्पती द्वारिका श्रेष्ठ र जलेश्वरी श्रेष्ठले स्थापना गरेको पुरस्कार वितरणको कार्यक्रम थियो । मैले मदन दाइलाई त्यहाँ भेटेको थिएँ ।

मदन दाइसँगको मेरो त्यो भेटघाट र संक्षिप्त कुराकानीबाट उनी चेतनशील अनि साहित्य र कलाका मर्मज्ञ थिए भन्ने प्रस्टै बुझिन्थ्यो । पुरस्कारद्वारा सम्मानित तीनजना मदनमणि दीक्षित, मदन रेग्मी र किरण मानन्धरका कृति र रचनामाथि समीक्षात्मक परिचय दिने कर्म मलाई दिएका थिए, द्वारिका श्रेष्ठले ।

यो एउटा चाखलाग्दो चुनौती थियो । एक दार्शनिक र उपन्यासकार, एक आधुनिक कवि र एक आधुनिक पेन्टरको परिचय एकैपटक एउटै मञ्चमा दिनुको सन्दर्भलाई मैले अन्तरकलाको विषय बनाएर प्रस्तुत गर्ने अवसर पाएँ । मदनमणि दीक्षित र मदन रेग्मीका कविताको आधुनिक चित्रकलासँग के साम्य छन्, खोज्न सजिलो थिएन । तर प्रयास गरेंँ ।

आधुनिक कवितासँग आधुनिक चित्रकलाको सम्बन्धबारे बोल्न अपेक्षाकृत सजिलो हुन्छ । मैले किरण मानन्धरका चित्रकलाको भाष्यको अमूर्त अभिमुख रचना र मदन रेग्मी दाइका कविताको त्यस्तै जटिल रचनाबारे आफ्ना कुरा राखेंँ । तर मदन दीक्षितका रचनाको विषयमा भन्न त्यही मापदण्डले काम दिने थिएन । तर एउटा साझा कुरा त्यसमा थियो ।

मदन दाइका रचनाको कलेवर सरल र ज्यामितीय छैन, मैले भनेँ । यस अर्थमा मदन दाइले चित्रण गरेको समाजका विविध चित्र उनका रचनामा भेटिन्छन् । तिनले जीवनका झन्डै ८० वर्षसम्म जुन विषयका यात्रा गरे, त्यो एउटा महायात्रा हो र त्यो एउटा परिभाषाभित्र पर्दैन । मदन दाइको यात्रा मूलतः वैचारिक, आस्थाजनिन र समाज सुधार उन्मुख छ । उनी वैदिक युगका शास्त्र र विचारका ज्ञाता हुन् ।

संस्कृतका एक विद्वान हुन् । एक दार्शनिक हुन् । उनको लेखन द्वन्द्वको सम्वादबाट अघि बढ्छ । त्यस अर्थमा मदन दाइको लेखन एक निकै जटिल र अर्को अर्थमा किरणको आधुनिक चित्रकला जस्तो छ । एउटा मदन दाइको भनाइ मैले कमल रेग्मीको स्मृतिका छालहरू ( २०७५, पृष्ठ १०२) बाट उद्धरण गरेंँ, मदन दाइ भन्छन् :

‘मानव समाजलाई कुनै एउटा समाधानले या भूमण्डलमा कहिल्यै पनि कहीँ पनि चित्त बुझाउन सक्दैन, सकेको छैन र सकेको थिएन । समाजमा परिवर्तनको द्वन्द्वात्मक प्रक्रिया कुनै एउटा समाधानमा अडेर गतिहीन तथा अवरुद्ध अवस्थामा बस्नु पनि हुँदैन, आध्यात्मिक, मनोगत र हास्यमय अदृश्य शक्तिबारे सबै किसिमका अनुमान सत्य हुन जत्तिको सम्भव छ, असत्य हुन पनि त्यत्तिकै सम्भव छ, अतः वेद, पुराण, उपनिषद्, महाकाव्य र जातकका उल्लिखित सबै व्यक्तित्व र घटना निराधार कल्पना, कोरा दन्त्यकथा र गफमात्र हुन सक्दैनन्, वैज्ञानिक शोधद्वारा ती अतिरञ्चना, प्रतीक र मिथकका पत्रहरूलाई उघारेर हामी आफ्ना सांस्कृतिक–आध्यात्मिक जीवनका प्राचीनतम मूल जराहरूसित परिचित हुन सक्नुपर्छ ।’

यही मूल जरासम्म पुग्ने धारणा नै मदन दाइको सम्पूर्ण जीवन दर्शनको आधार हो । उनले त्यही अर्थमा वैदिक पात्रहरूलाई जीवन्त बनाउन चाहे । माधवी उपन्यासमा वर खोजिदिन सहयोग गरी हिंँडेको गुरुपुत्र गालवको उनीतिरै तानिने जीवन शक्तिको खेल, मेरी नीलिमा, विदुषी गार्गी, त्रिदेवी आदि नारी पात्रहरूको त्यो वैदिक ज्ञानलाई यथार्थमा अवतरण गराउने रोमानी सामर्थ्यलाई मदन दाइले आफ्नो साहित्य, त्यसमा पनि औपन्यासिक र फिकसन लेखनको विषय बनाए ।

म भन्दै गएँ, यसरी जीवनसँग मिथक र वैदिक ज्ञानको आधुनिक समयमा प्रयोग गर्ने मदन दाइ सर्वथा मौलिक र नेपालीमा अद्वितीय लेखक हुन् । अथवा यसरी लेख्ने अर्को लेखक भेटिएको छैन । उनले माधवी उपन्यासमा उत्तर भारतको पञ्जावदेखि बंगालसम्म फैलिएको दसौं शताब्दीको समाजको चित्रण गरेको कुरा आफैं भनेका छन् । तर त्यो चित्रण पौराणिक मात्र नभएर आजका मानव सम्बन्धका विषयलाई सम्बोधन गर्न लेखिएको छ ।
मैले मदन दाइका रचनाहरूको विस्तृत छलफल गरिन । तर उनका २०१८ सालदेखि प्रकाशित रचनाहरूका केही सार निकाल्न प्रयास गरेको थिएँ । उनका कथा संग्रह कसले जित्यो कसले हार्‍यो (२०२२) अनि मेरी आमाको प्रश्नलाई अझै जवाफ चाहिएको छ (२०२९), लाखौं शिशुहरू लिफ्ट मागिरहेछन् मा राखिएका यथार्थवादी र समाज सुधारका धारणाले लेखेका निबन्ध अनि त्यो युग (२०४७) मा वैदिक विषयमाथि लेखेका निबन्ध र माधवी (२०३९) उपन्यासका सम्बन्ध र प्रकृतिमाथि छलफल गर्दै भनेँ, मदन दाइ निबन्धलाई विचार सोझै राखेर छलफल गर्ने माध्यम मान्छन् ।

अनि यी तीनवटा निबन्धमा उठाइएका विषय फरक–फरक भए पनि तिनको एउटा साझा चरित्र छ । त्यो हो, निबन्ध निजात्मक अनुभूतिको अभिव्यक्तिको माध्यममात्र नभएर विचार लेखिने गद्यात्मक माध्यम हो । अनि उपन्यासले जीवनको बृहत्तर चित्र दिएको छ ।

त्यसो त मदन दाइका निबन्ध र अरु फुटकर लेखहरूमा नेपालभित्र, त्यसमा पनि परिवार, बाबुबाजे, मणि दीक्षित काकाहरू, तिनका लेखन अनि बनारसतिरका व्यक्ति र विषयहरू ठेलमठेल गर्दै आउँछन् । उनको लेखनीको शैली वार्तामूलक र सरल हुन्छ । उनले धर्म र आफूले ३० वर्ष काम गरेको कमिनिष्ट पार्टीको प्रोपगन्डा वा धर्म अनुशीलनमा आग्रह गर्दै लेखिएको त्यति भेटिंँदैन ।

उनले जसरी वैदिक दर्शनलाई अहिले हामीले भोगेको जीवन दर्शनको नजिक ल्याएर देखाउन खोजे, उनको कमिनिष्ट विचारधारालाई पनि उनले २०१६ साल चैत ३० गते सुरु गरेको समीक्षा साप्ताहिकमा सुधांशु, मदनमणि नामबाट अनि सामयिक चर्चाबाट लेखिएका लेखहरूद्वारा व्यक्त गरे । उनको कमिनिष्ट सिद्धान्त उनका सामयिक समस्याका समाधान, समाज सुधारका विषयलाई लिएर लेखिएका लेखहरूमा देखियो ।

मैले समीक्षा २०१८ सालदेखि विराटनगर आदर्श पुस्तकालयमा सधैं पढेंँ । त्योसँगै भारतका वामपन्थी विचारका विख्यात पत्रकार आर.के. करन्जियाको द ब्लिज साप्ताहिक पनि पढ्थेंँ । मदन दाइलाई करन्जियाको यो पत्रिका, यसको शैली, यसको वामपन्थतिर झुकेको विचारको ठाडै प्रभाव थियो भन्ने कुरा म अहिले पनि भन्न सक्छु ।

मदन दाइले नेपालमा आफ्नो चेतनालाई आन्दोलन र प्रतिरोधको रूपमा प्रस्तुत गरे, जीवनभर । त्यो आन्दोलन उनले आख्यान, निबन्ध अनि ‘समीक्षा’को माध्यमबाट प्रस्तुत गरे । एकजना नेपाली मानवले जीवनमा यसरी विचारका कुरा लेख्ने मात्रै होइन, त्यसको माध्यमको पनि रचना गर्नु भनेको चानचुने कुरा थिएन । उनले लेख्नुलाई जीवन माने अनि माध्यम पनि ।

उनले राज्यबाट हिजोआज जस्तो गुटमिलाएर लिने खासै च्वाँक नियुक्तिहरू पाएको मलाई जानकारी छैन । उनले पाएको ठूलो नियुक्ति भनेको नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति (२०५१ देखि २०५६ सम्म) हो, जुन कालमा घुमाउनेहरूको चक्करमा परेर मैले खासै काम गर्न सकिन भनेर मदन दाइले मलाई भनेको सम्झना छ ।

मदन दाइको विषयमा जानकारी राख्ने अच्युतरमण अधिकारीले निकालेको उन्नयन पत्रिकाको मदनमणि विशेषाङ्क (२०५१ माघ–चैत) लाई मैले उपयुक्त प्रकाशन मानेको छु । कमलराज रेग्मीको माथि उल्लेखित किताबका दुई अध्याय अत्यन्त पठनीय छन् । उनले लेखेका कृतिहरूका परिचय विष्णु प्रभातले सम्पादन गरको एकेडेमीको साहित्यकार–कलाकार परिचय कोश (२०७०) मा राखिएको छ ।

कार्यक्रम सकिएपछि म मदन दाइको छेउमा गएँ । उनले मलाई जे भने त्यसले म अहिलेसम्म तरङ्गित छु । अस्ति जेठको कुरा हो । मदन दाइले भने, ‘तपाईंले कला र साहित्यलाई एक ठाउँमा राखेर जुन प्रस्तुति गर्नुभो, त्यो अत्यन्त राम्रो र आवश्यक कुरा हो । मेरो माधवीको आजको युगको सापेक्षतामा व्याख्या गर्नुभएको धेरै राम्रो लाग्यो ।’

यी शब्दहरू अहिले मेरो मनमासङ्गीत भएका छन् । मैले आफ्नो साहित्य र कला हेर्ने पद्धतिलाई मदन दाइले दिएको समर्थन मेरोनिम्ति धेरै ठूलो शक्ति हो । उनी खगेन्द्र भाइले भनेजस्तै लेख्दै अनि साहित्यलाई जीवनका अनुरागले भरेर बुझ्दै र बुझाउँदै गए । श्रद्धाञ्जी, मदन दाइ ।

प्रकाशित : श्रावण ३२, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्

डरको अन्तर्कथा

समय रेखा
अभि सुवेदी

हिजोआज नेपालमा हामी राजनीतिमा लोकतन्त्र र समाजवादका चर्चा गर्छौं । त्यो सिद्धान्तको रूपमा गरिने विषय हो । सबैतिर यिनै स्थुल विषयका छलफल हुन्छन् । नेपालको संविधानले नै यो राज्यका स्थापित मूल्य के हुनेछन् भन्ने लिपिबद्ध गरेको छ । सबै राज्यका हुन्छन्, स्थापित मूल्य । तिनको पालना गर्नुपर्छ भन्ने मान्यताहरू नै त्यो देशलाई डोर्‍याउने आधार मानिन्छन् ।

म यो लेखमा संविधान वा राजनीति होइन, डरको विषयमा केही लेख्न लागेको छु । तर फेरि संविधानकै एकाध चर्चा गर्नु सान्दर्भिक छ । किनभने अमूक राज्यका मानिसका भर र डर दुबै संविधान भन्ने एउटा लिखित दस्तावेजसँग जोडिएका हुन्छन् । त्यसो त संविधान डरका स्रोत पनि हुन्छन् ।

संसारको प्रजातान्त्रिक संविधान र प्रयोगको जननी मानिने ब्रिटेनको अलिखित संविधान अनि सामन्ती युगबाट निस्किनसकेको अनि क्रान्तिहरू र उथल–पुथलबाट बनेको नेपाली संविधानले मेरो मनमा प्रश्नहरू जन्माएको छ । ब्रिटेनको ३० मे २०१९ को इकोनोमिस्ट पत्रिकाले ब्रिटेनको संविधान विषयमा लेखेका यी कुराले मलाई तरङ्गित पार्‍यो । लेखेको छ, असंख्य चलन, परम्परा र नित्य गतिशील परिवर्तनमुखी प्रयोगले बनेको संविधान अहिले भताभुङ्ग हुने खतरामा पुगेको छ ।

पत्रिका अझ थप्छ, देश विखण्डित पनि हुनसक्छ । चलन र परम्परा अनि कानुनको साम्य गरेर बनेको संसारकै बलियो मानिएको संविधान अहिले ब्रिटेनबाट अलग हुनलागेको वा ब्रेक्सिटको कारणले भत्किने त होइन भन्ने त्यो देशको त्यत्रो उत्तरदायी पत्रिकाले यस्ता कुरा लेख्नुको कारण एउटै हुनसछ । त्यो हो, अब संविधानजस्तो मूल कानुन पनि स्थायित्वको आधार नहुन सक्छ ।

त्यसैले नेपालको संविधान पूर्ण छैन, यो धेरै प्रयोग र चक्रवात पार गरेर आएको र यसमा संशोधन हुँदै जानेछन् भन्ने हामी सबैलाई बोध हुनु र यसको भित्री सामर्थ्यको सबैले सम्मान गर्नु समाधानको एकमात्र उपाय हो । यसमा संशोधनका विषयमा बहस सांसदहरूले नै गर्दै आएका छन् । विभिन्न राजनीतिक दलका माग त्यस्तै महत्त्वपूर्ण संविधान बलियो बनाउने विषय हुन् । अरु बहस पनि छन् । यो लिखित संविधानलाई पूर्ण गर्दै जाने माग, सुझाव र चिन्ता सबै सिर्जनशील छन् ।

हामीकहाँ धेरै किसिमका छलफल हुन्छन्, अनि तरङ्गहरू उठ्छन् । अहिले चर्चामा आउने विषयमा सरकारका नीति, पूरा नभएका ठेक्का, आसेपासे पुँजीवाद, जसरी पनि राज्यको वा जनताको धन खान गरिने प्रपञ्च र भूमिका, छलछाम गर्ने प्रयोग अनि शिक्षा, संस्कृति, मिडिया र अरु तीसँग जोडिएका विषयहरूमाथि नियन्त्रण गर्ने सरकारका प्रपञ्च पर्छन् । आमसञ्चार, छलफल, घर, सडक र सेमिनारमा यिनका खुला चर्चा भइरहनुले देखाउँछ, नेपाल प्रजातन्त्रको युगमा प्रवेश गरेको छ ।

तर अहिले नेपालमा हामीले खासै त्यति ध्यान नदिएको अर्को विषय छ । त्यो हो– डर । हामी त साहित्यमा डरको प्रयोग गर्छौं । हामी पात्रका रचना गर्छौं । तिनका भित्री भय र खुसी, पीडा र आल्हादित अवस्थाको चित्रण गर्छौं । कवितामा आक्रोश र कुण्ठा भन्ने हाम्रा शब्द धेरै चल्तीमा छन् ।

साहित्यमा डरको प्रयोग गर्दा त्यसलाई एउटा रचनाभित्र राखेर त्यसमा एउटा समाज र विश्व चेतनाको प्रयोग गर्ने व्यक्तिलाई पात्र बनाउँदै ती मानिस डराएको चित्रण हुन्छ । तिनले डराउने कारण अनेक हुन सक्छन् । जस्तो– युद्धको कारणले ती मानिस डराउँछन् । त्यस्तो डरको विषय कि त उपन्यास र कथामा लेखिन्छ कि कविता र नाटकमा । तर त्यस्तो डर संस्मरणहरूमा पनि लेखिन्छ । नेपालको माओवादी युद्धसँग जोडिएका अनेकौं संस्मरण मैले पढेंँ । आफूले पीएचडी शोध गराएका विद्यार्थीले प्रयोग गरेका त्यस्ता पाठका विश्लेषण पनि भए । तर अवस्था फरक हुन्छन् । हेरेका र भोगेका मनहरू फरक हुन्छन् ।

एकाध उदाहरण लिन्छु । दीनानाथ शर्मा नामका एक भद्र र शान्त लेखक छन् । ती उच्च तहका माओवादी नेता हुन् । अहिले मिलेको कमिनिष्ट पार्टीमा पनि ती माथि नै छन् । यी मानिसले लेखेका दसवटा कृतिमध्ये झन्डै पाँचवटा पढेको छु । तिनका किताब विमोचनहरूमा बोलेको पनि छु । यी क्रान्तिकारी नेताका सबै निबन्ध र संस्मरण शान्त छन् । ती कुनैमा पनि युद्ध संस्मरणमा जस्तो आगोका लप्का कहीं भेटिँंदैनन् । भर्खरै शमी साहित्य प्रतिष्ठानले प्रकाशन गरेको शर्माको संस्मरणात्मक र अन्य निबन्धहरूको त शीर्षकै झरीको सौन्दर्य (२०७६) छ । तर त्यही युद्धमा संलग्न मानिसका मनस्थिति कसरी फरक हुन्छन्, त्यो आफैंमा खोजको विषय हो ।

युद्धले डरको मानसिकता जन्माउँछ । त्यसलाई ‘ट्रउमा’ भनिन्छ । त्यसलाई नेपालीमा अभिघात भनेर अनुवाद गरिएको छ । शान्तिमाया गिरी नामकी एक पीएचडी शोधार्थीले युद्धसापेक्ष नेपाली कथामा अभिघातको विश्लेषण गरेर तयार पारेको शोधप्रबन्ध बाह्य परीक्षकको रूपमा अध्ययन गरेपछि मलाई लाग्यो, नेपालमा युद्धले सिर्जना गरेको मनस्थितिको साहित्यमा प्रयोग भएको छ र त्यसको सम्यक् अध्ययन पनि हुँदैछ । गिरीको त्यो शोधप्रबन्ध आधुनिक नेपाली कथामा अभिघात (२०७५) शीर्षकको किताब भएर आइसकेको छ ।

म यो लेखमा ‘ट्रउमा’ वा अभिघातबारे छलफल गर्न लागेको होइन । ‘ट्रउमा’ अध्ययनकी मलाई सबभन्दा मनपर्ने विश्लेषक क्याथी कारुथले पनि दाबी नगरेका अनुभूतिको विषय आजको विश्वमा भयानक रूपले आइरहेको छ । त्यसबाट विश्वका कुनै पनि मुलुक र तिनका समाज, तिनका राजनीति र राजनेता अनि सरकार मुक्त छैनन् । मिडियाका जुनसुकै माध्यम खोलेर वा सुनेर बस्ने बित्तिकै अहिले यो एक्काइसौं शताब्दीको विश्व पहिले अनुभूति नगरिएको डर बोकेर हिँंडिरहेको छ । त्यो राजनीतिसँग सम्बन्ध राख्छ ।

जातीयता, धर्म, अनुहार, रङ्गसँग सम्बन्ध राख्छ । राजनीतिक सिद्धान्तमा भन्दा राजनीतिको बाटोबाट शक्ति हत्याउने मनोग्रन्थिसँग सम्बन्ध राख्दैछ, त्यसले । त्यो हरेक दिन र रात जटिल र खराब हुँदै गइरहेको छ । अहिले हाम्रा विशाल शक्तिशाली छिमेकी देशहरू भारत र पाकिस्तान संयुक्त रूपले डढेलो उद्घाटन गर्ने अवसर खोज्दैछन् ।

मलाई हिजोआज लागेको छ, नेपालमा डर भन्ने कुरा अहिले व्याप्त र शक्तिशाली बन्दै गएको छ । एउटा यस्तो देश जहाँका विपन्न मानिस, किसानलाई डर लाग्ने भनेको मौसम, बाढी आउने खोला, रोग, खेतीपाती सप्रिने हो कि होइन भन्ने कुरामा मात्र हो । साधारण खेती गरेर घाम, जून र तारामुनि स्वाभिमान बोकेर खुसीले बसेका ती मानिसकोमा राज्य, दल, क्रान्तिकारी अनि सैनिक पुगेपछि अनौठा डर जन्मिन सुरु भएका हुन् ।

ती साधारण विपन्न मानिसका मनमा डर पछिल्तिर केही आशा पनि थिए । त्यसका निम्ति उनले सकेका सहयोग पनि गरे । तर तिनीहरू छिटै विस्मृतिमा परे । कतिले ज्यान गुमाए, गुमाइरहेका छन् । यथार्थ डरसँग बाँच्ने धेरै छन् । राजनीति भन्ने अमूक विषय छ र त्यो सबैतिर छाएको छ, उनीहरूले बुझे ।

तर अहिले नेपालमा डराउनेमा राजनेताहरू पनि पर्छन् । सरकार पनि डराउँछ । म कुनै राजनीतिक दलसँग असम्बद्ध एक शिक्षक । नेपालको भव्य समयको भव्य सरकारका धेरै नीति र बिलहरूका अन्तर्यमा डर देख्न थालेको छु । मलाई लाग्न थालेको छ, सायद मिडियालाई नियन्त्रण गर्न खोज्नु डरै हो । राम्रा सांस्कृतिक र कलात्मक रचना बन्ने सन्दर्भहरूमा पनि नियन्त्रणका सपना बुन्नु डरै हो । स्वतन्त्र विश्वविद्यालयहरू बनुन्, स्वतन्त्र चिन्तकहरू बनुन् भन्नुको सट्टा तिनलाई नियन्त्रणमा राखौं भनेर तिनको छेकथुन गर्न पार्टीबाट डिठ्ठाहरू खटाएर पठाउनु डरै हो ।

किताब आयातमा कर लगाउनु डरै हो । गतिला स्वतन्त्र सिनेमाहरूमाथि नियमका भारी बोकाउन खोज्नु डरै हो । हिजोको इतिहास सम्झेर तर्सिनु डरै हो । दलहरूभित्र समस्या समाधान गर्न नसक्नु एकअर्काबाट डराउनु हो । डर इच्छाबाटै जन्मिने हुन्, जसको चरित्र पुँजीवादले निर्माण गर्छ । तिनै इच्छालाई दबाउन र आफूले मात्र परिपूर्ति गर्न कानुन बन्छन् ।

पछिल्लो पुँजीवादले जन्माएका अनियन्त्रित, दिशाहीन अनि लगाम नलागेका इच्छा परिपूर्ति हुँदैनन् कि भन्ने शंका नै नेपालमा डरको मूल कारण हो । त्यसैले धनका जति भ्रष्ट खेल हुन्छन् र तिनका चरित्रहरू प्रकटभन्दा लुप्त हुँदै जान्छन्, त्यति नै डर बढ्छन् । तर यस्ता डराउने इच्छा प्रताडित शक्तिशालीहरू सर्वसाधारण मानिसका निम्ति डरलाग्दा पात्र हुन सक्छन् ।

अन्त्यमा, डरको अर्को कारण पनि उच्चारण गर्न चाहन्छौं । साहित्यिक भावनाले पनि भन्छौं । नेपालमा डरको मूल कारण विश्वास र मानवताबाट टाढा हुँदै जानु हो । तर डर र लोभबाट एकैपटक काम गर्न थाल्ने मानिस र संस्था आफू पनि सकिन्छन्, अरुलाई पनि भत्काउँछन् । तर यत्ति भनौं, नेपालमा हामी डरबाट मुक्त हुन सक्षम छौं, किनकि हामीसँग मानव तत्त्व जीवन्त छ । विश्वास गर्नु, माया गर्नु, माफी माग्नु अनि माफ दिनुमा जति मुक्ति र स्वतन्त्रता छ, त्यो कुनै हतियार र हिंसाको बाटोबाट पाउन सकिंँदैन भन्ने प्रमाणित भैसकेको छ ।

प्रकाशित : श्रावण २५, २०७६ ०८:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्