डरको अन्तर्कथा

समय रेखा
अभि सुवेदी

हिजोआज नेपालमा हामी राजनीतिमा लोकतन्त्र र समाजवादका चर्चा गर्छौं । त्यो सिद्धान्तको रूपमा गरिने विषय हो । सबैतिर यिनै स्थुल विषयका छलफल हुन्छन् । नेपालको संविधानले नै यो राज्यका स्थापित मूल्य के हुनेछन् भन्ने लिपिबद्ध गरेको छ । सबै राज्यका हुन्छन्, स्थापित मूल्य । तिनको पालना गर्नुपर्छ भन्ने मान्यताहरू नै त्यो देशलाई डोर्‍याउने आधार मानिन्छन् ।

म यो लेखमा संविधान वा राजनीति होइन, डरको विषयमा केही लेख्न लागेको छु । तर फेरि संविधानकै एकाध चर्चा गर्नु सान्दर्भिक छ । किनभने अमूक राज्यका मानिसका भर र डर दुबै संविधान भन्ने एउटा लिखित दस्तावेजसँग जोडिएका हुन्छन् । त्यसो त संविधान डरका स्रोत पनि हुन्छन् ।

संसारको प्रजातान्त्रिक संविधान र प्रयोगको जननी मानिने ब्रिटेनको अलिखित संविधान अनि सामन्ती युगबाट निस्किनसकेको अनि क्रान्तिहरू र उथल–पुथलबाट बनेको नेपाली संविधानले मेरो मनमा प्रश्नहरू जन्माएको छ । ब्रिटेनको ३० मे २०१९ को इकोनोमिस्ट पत्रिकाले ब्रिटेनको संविधान विषयमा लेखेका यी कुराले मलाई तरङ्गित पार्‍यो । लेखेको छ, असंख्य चलन, परम्परा र नित्य गतिशील परिवर्तनमुखी प्रयोगले बनेको संविधान अहिले भताभुङ्ग हुने खतरामा पुगेको छ ।

पत्रिका अझ थप्छ, देश विखण्डित पनि हुनसक्छ । चलन र परम्परा अनि कानुनको साम्य गरेर बनेको संसारकै बलियो मानिएको संविधान अहिले ब्रिटेनबाट अलग हुनलागेको वा ब्रेक्सिटको कारणले भत्किने त होइन भन्ने त्यो देशको त्यत्रो उत्तरदायी पत्रिकाले यस्ता कुरा लेख्नुको कारण एउटै हुनसछ । त्यो हो, अब संविधानजस्तो मूल कानुन पनि स्थायित्वको आधार नहुन सक्छ ।

त्यसैले नेपालको संविधान पूर्ण छैन, यो धेरै प्रयोग र चक्रवात पार गरेर आएको र यसमा संशोधन हुँदै जानेछन् भन्ने हामी सबैलाई बोध हुनु र यसको भित्री सामर्थ्यको सबैले सम्मान गर्नु समाधानको एकमात्र उपाय हो । यसमा संशोधनका विषयमा बहस सांसदहरूले नै गर्दै आएका छन् । विभिन्न राजनीतिक दलका माग त्यस्तै महत्त्वपूर्ण संविधान बलियो बनाउने विषय हुन् । अरु बहस पनि छन् । यो लिखित संविधानलाई पूर्ण गर्दै जाने माग, सुझाव र चिन्ता सबै सिर्जनशील छन् ।

हामीकहाँ धेरै किसिमका छलफल हुन्छन्, अनि तरङ्गहरू उठ्छन् । अहिले चर्चामा आउने विषयमा सरकारका नीति, पूरा नभएका ठेक्का, आसेपासे पुँजीवाद, जसरी पनि राज्यको वा जनताको धन खान गरिने प्रपञ्च र भूमिका, छलछाम गर्ने प्रयोग अनि शिक्षा, संस्कृति, मिडिया र अरु तीसँग जोडिएका विषयहरूमाथि नियन्त्रण गर्ने सरकारका प्रपञ्च पर्छन् । आमसञ्चार, छलफल, घर, सडक र सेमिनारमा यिनका खुला चर्चा भइरहनुले देखाउँछ, नेपाल प्रजातन्त्रको युगमा प्रवेश गरेको छ ।

तर अहिले नेपालमा हामीले खासै त्यति ध्यान नदिएको अर्को विषय छ । त्यो हो– डर । हामी त साहित्यमा डरको प्रयोग गर्छौं । हामी पात्रका रचना गर्छौं । तिनका भित्री भय र खुसी, पीडा र आल्हादित अवस्थाको चित्रण गर्छौं । कवितामा आक्रोश र कुण्ठा भन्ने हाम्रा शब्द धेरै चल्तीमा छन् ।

साहित्यमा डरको प्रयोग गर्दा त्यसलाई एउटा रचनाभित्र राखेर त्यसमा एउटा समाज र विश्व चेतनाको प्रयोग गर्ने व्यक्तिलाई पात्र बनाउँदै ती मानिस डराएको चित्रण हुन्छ । तिनले डराउने कारण अनेक हुन सक्छन् । जस्तो– युद्धको कारणले ती मानिस डराउँछन् । त्यस्तो डरको विषय कि त उपन्यास र कथामा लेखिन्छ कि कविता र नाटकमा । तर त्यस्तो डर संस्मरणहरूमा पनि लेखिन्छ । नेपालको माओवादी युद्धसँग जोडिएका अनेकौं संस्मरण मैले पढेंँ । आफूले पीएचडी शोध गराएका विद्यार्थीले प्रयोग गरेका त्यस्ता पाठका विश्लेषण पनि भए । तर अवस्था फरक हुन्छन् । हेरेका र भोगेका मनहरू फरक हुन्छन् ।

एकाध उदाहरण लिन्छु । दीनानाथ शर्मा नामका एक भद्र र शान्त लेखक छन् । ती उच्च तहका माओवादी नेता हुन् । अहिले मिलेको कमिनिष्ट पार्टीमा पनि ती माथि नै छन् । यी मानिसले लेखेका दसवटा कृतिमध्ये झन्डै पाँचवटा पढेको छु । तिनका किताब विमोचनहरूमा बोलेको पनि छु । यी क्रान्तिकारी नेताका सबै निबन्ध र संस्मरण शान्त छन् । ती कुनैमा पनि युद्ध संस्मरणमा जस्तो आगोका लप्का कहीं भेटिँंदैनन् । भर्खरै शमी साहित्य प्रतिष्ठानले प्रकाशन गरेको शर्माको संस्मरणात्मक र अन्य निबन्धहरूको त शीर्षकै झरीको सौन्दर्य (२०७६) छ । तर त्यही युद्धमा संलग्न मानिसका मनस्थिति कसरी फरक हुन्छन्, त्यो आफैंमा खोजको विषय हो ।

युद्धले डरको मानसिकता जन्माउँछ । त्यसलाई ‘ट्रउमा’ भनिन्छ । त्यसलाई नेपालीमा अभिघात भनेर अनुवाद गरिएको छ । शान्तिमाया गिरी नामकी एक पीएचडी शोधार्थीले युद्धसापेक्ष नेपाली कथामा अभिघातको विश्लेषण गरेर तयार पारेको शोधप्रबन्ध बाह्य परीक्षकको रूपमा अध्ययन गरेपछि मलाई लाग्यो, नेपालमा युद्धले सिर्जना गरेको मनस्थितिको साहित्यमा प्रयोग भएको छ र त्यसको सम्यक् अध्ययन पनि हुँदैछ । गिरीको त्यो शोधप्रबन्ध आधुनिक नेपाली कथामा अभिघात (२०७५) शीर्षकको किताब भएर आइसकेको छ ।

म यो लेखमा ‘ट्रउमा’ वा अभिघातबारे छलफल गर्न लागेको होइन । ‘ट्रउमा’ अध्ययनकी मलाई सबभन्दा मनपर्ने विश्लेषक क्याथी कारुथले पनि दाबी नगरेका अनुभूतिको विषय आजको विश्वमा भयानक रूपले आइरहेको छ । त्यसबाट विश्वका कुनै पनि मुलुक र तिनका समाज, तिनका राजनीति र राजनेता अनि सरकार मुक्त छैनन् । मिडियाका जुनसुकै माध्यम खोलेर वा सुनेर बस्ने बित्तिकै अहिले यो एक्काइसौं शताब्दीको विश्व पहिले अनुभूति नगरिएको डर बोकेर हिँंडिरहेको छ । त्यो राजनीतिसँग सम्बन्ध राख्छ ।

जातीयता, धर्म, अनुहार, रङ्गसँग सम्बन्ध राख्छ । राजनीतिक सिद्धान्तमा भन्दा राजनीतिको बाटोबाट शक्ति हत्याउने मनोग्रन्थिसँग सम्बन्ध राख्दैछ, त्यसले । त्यो हरेक दिन र रात जटिल र खराब हुँदै गइरहेको छ । अहिले हाम्रा विशाल शक्तिशाली छिमेकी देशहरू भारत र पाकिस्तान संयुक्त रूपले डढेलो उद्घाटन गर्ने अवसर खोज्दैछन् ।

मलाई हिजोआज लागेको छ, नेपालमा डर भन्ने कुरा अहिले व्याप्त र शक्तिशाली बन्दै गएको छ । एउटा यस्तो देश जहाँका विपन्न मानिस, किसानलाई डर लाग्ने भनेको मौसम, बाढी आउने खोला, रोग, खेतीपाती सप्रिने हो कि होइन भन्ने कुरामा मात्र हो । साधारण खेती गरेर घाम, जून र तारामुनि स्वाभिमान बोकेर खुसीले बसेका ती मानिसकोमा राज्य, दल, क्रान्तिकारी अनि सैनिक पुगेपछि अनौठा डर जन्मिन सुरु भएका हुन् ।

ती साधारण विपन्न मानिसका मनमा डर पछिल्तिर केही आशा पनि थिए । त्यसका निम्ति उनले सकेका सहयोग पनि गरे । तर तिनीहरू छिटै विस्मृतिमा परे । कतिले ज्यान गुमाए, गुमाइरहेका छन् । यथार्थ डरसँग बाँच्ने धेरै छन् । राजनीति भन्ने अमूक विषय छ र त्यो सबैतिर छाएको छ, उनीहरूले बुझे ।

तर अहिले नेपालमा डराउनेमा राजनेताहरू पनि पर्छन् । सरकार पनि डराउँछ । म कुनै राजनीतिक दलसँग असम्बद्ध एक शिक्षक । नेपालको भव्य समयको भव्य सरकारका धेरै नीति र बिलहरूका अन्तर्यमा डर देख्न थालेको छु । मलाई लाग्न थालेको छ, सायद मिडियालाई नियन्त्रण गर्न खोज्नु डरै हो । राम्रा सांस्कृतिक र कलात्मक रचना बन्ने सन्दर्भहरूमा पनि नियन्त्रणका सपना बुन्नु डरै हो । स्वतन्त्र विश्वविद्यालयहरू बनुन्, स्वतन्त्र चिन्तकहरू बनुन् भन्नुको सट्टा तिनलाई नियन्त्रणमा राखौं भनेर तिनको छेकथुन गर्न पार्टीबाट डिठ्ठाहरू खटाएर पठाउनु डरै हो ।

किताब आयातमा कर लगाउनु डरै हो । गतिला स्वतन्त्र सिनेमाहरूमाथि नियमका भारी बोकाउन खोज्नु डरै हो । हिजोको इतिहास सम्झेर तर्सिनु डरै हो । दलहरूभित्र समस्या समाधान गर्न नसक्नु एकअर्काबाट डराउनु हो । डर इच्छाबाटै जन्मिने हुन्, जसको चरित्र पुँजीवादले निर्माण गर्छ । तिनै इच्छालाई दबाउन र आफूले मात्र परिपूर्ति गर्न कानुन बन्छन् ।

पछिल्लो पुँजीवादले जन्माएका अनियन्त्रित, दिशाहीन अनि लगाम नलागेका इच्छा परिपूर्ति हुँदैनन् कि भन्ने शंका नै नेपालमा डरको मूल कारण हो । त्यसैले धनका जति भ्रष्ट खेल हुन्छन् र तिनका चरित्रहरू प्रकटभन्दा लुप्त हुँदै जान्छन्, त्यति नै डर बढ्छन् । तर यस्ता डराउने इच्छा प्रताडित शक्तिशालीहरू सर्वसाधारण मानिसका निम्ति डरलाग्दा पात्र हुन सक्छन् ।

अन्त्यमा, डरको अर्को कारण पनि उच्चारण गर्न चाहन्छौं । साहित्यिक भावनाले पनि भन्छौं । नेपालमा डरको मूल कारण विश्वास र मानवताबाट टाढा हुँदै जानु हो । तर डर र लोभबाट एकैपटक काम गर्न थाल्ने मानिस र संस्था आफू पनि सकिन्छन्, अरुलाई पनि भत्काउँछन् । तर यत्ति भनौं, नेपालमा हामी डरबाट मुक्त हुन सक्षम छौं, किनकि हामीसँग मानव तत्त्व जीवन्त छ । विश्वास गर्नु, माया गर्नु, माफी माग्नु अनि माफ दिनुमा जति मुक्ति र स्वतन्त्रता छ, त्यो कुनै हतियार र हिंसाको बाटोबाट पाउन सकिंँदैन भन्ने प्रमाणित भैसकेको छ ।

प्रकाशित : श्रावण २५, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्

'पिँजडामा काश्मीर’

मोहम्मद हानिफ

काठमाडौँ — पाकिस्तानी बालबालिकालाई विद्यालयमा काश्मीर हाम्रो ‘गर्धनको नशा’ हो भनेर पढाइन्छ । यस्तै भारतीयहरू काश्मीर आफ्नो ‘अटुट अंग’ हो भन्ने विश्वास गर्छन् । उर्दु र फारसी कविताहरूमा काश्मीरको सुन्दरताको गाथा कुँदिएको छ । यदि यो धर्तीमा स्वर्ग छ भने ‘त्यो यही हो, यही हो, यही हो,’ १४ औं शताब्दीका कवि अमिर खुस्रोले लेखेका छन् ।

७२ वर्षअघि भारत र पाकिस्तान विभाजित भएको दिनदेखि नै काश्मीरका लागि दुई देशीबीच युद्ध भइरहेको छ । दुवैले एकअर्कालाई काश्मीरीहरूमाथि ज्यादती गरेर अधिकार जमाएको आरोप लगाइरहेका हुन्छन् ।

कहिलेकाहीं काश्मीरीहरू त्रासदीबीच आफ्नो स्वर्गमा आफूले मनलागेको गर्न पाउनुपर्ने आवाज उठाउँछन् । सन् १९४८ मा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले काश्मीरीहरूको धारणा बुझ्न जनमत संग्रह गर्नुपर्ने बताएको थियो । तर अहिलेसम्म भएको छैन । विवादित काश्मीरको दुवैतर्फ मेरा केही साथीहरू छन्, उनीहरू दुवै देशबाट विशेष राज्यको मान्यता पाउनुको साटो आफूहरूलाई अलग्गै रहन दिनुपर्ने बताउँछन् । भारत र पाकिस्तान दुवैबाट अलग ।

ती र अन्य काश्मीरीहरूले जे चाहेको भए पनि यो साता जे प्राप्त गरे, त्यो भने कुनै पनि हालतमा चाहेका थिएनन् । भारतको संविधानमै उल्लेख भएर पाएको विशेष राज्यको मान्यता र सापेक्ष स्वतन्त्रता खोसिएको छ । विश्वमा केही अति सैन्यकरण भएका क्षेत्रहरू मध्येको एक काश्मीरमा अहिले ३५ हजार बढी सुरक्षाकर्मी तैनाथ गरिएका छन् । विद्यालय, कार्यालय, इन्टरनेट, फोन सबै बन्द गरिएका छन् । प्रायः सबै स्थानीय राजनीतिक नेताहरूलाई पक्राउ गरिएको छ । त्यो घानमा नयाँदिल्लीसँग समन्वय गरेरै अगाडि बढ्न चाहने केही नेताहरू पनि परेका छन् ।

पक्राउ पर्नुअघि त्यस क्षेत्रका एक पूर्व मुख्यमन्त्रीले भनेका छन्, ‘विभाजनको बेलामा भारतसँग हात मिलाउनु नै गल्ती थियो ।’ अहिले भारतले काश्मीरलाई आफूमा समाहित गर्दै लाखौं नागरिकलाई जेल हालेर पुनः विभाजनको स्थितिमा ल्याइपुर्‍याएको छ ।
धेरै भारतीयले यो प्रक्रियाको स्वागत गरेका छन् । कलाकार अनुपम खेरले ट्विट गर्दै ‘काश्मीर प्रकरणको अन्त्यको राम्रो सुरुवात’ भएको उल्लेख गरेका छन् ।

विज्ञहरूले काश्मीरी जनताले भारतसँग जोडिएकै धेरै सुविधा उपभोग गरे पनि त्यसैमा प्रश्न गर्ने गरेको भन्दै आलोचना गरेका छन्, ‘तपाईंहरूलाई थाहाछ, काश्मीर उपत्यकामा युवाहरू पाकिस्तानको समर्थनमा नाराबाजी गर्छन् र पाकिस्तानी क्रिकेट टोली विजयी हुँदा उत्सव नै मनाउँछन् र पाकिस्तानी झण्डा फहराउँछन् ।’

यो साता संविधानको धारा ३७० हट्नु पूर्व काश्मीरीहरूसँग आफ्नोलागि कानुन आफैं बनाउने र आफ्नो झण्डा फहराउने ‘सुविधा’ थियो । र त्यो यस्तो ‘सुविधा’ थियो, जसको उपभोग गरेबापत धेरैले दशकौंसम्म कारबाही भोगे । हजारौं काश्मीरीहरू बेपत्ता पारिए, केही भारतीय सेनाका बन्दी बने ।

काश्मीरीहरूमाथि गरिएका अत्याचार केहीलाई अपुग लाग्यो । त्यसैले अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका समर्थकहरू विभाजन अघिको अवस्था सिर्जना हुँदा खुसीले गदगद छन् । हिन्दु अधिनायकवादको शक्तिमा रमाउनेहरूको आफ्नै तर्क छन् । उनीहरूले काश्मीरीहरूको भविष्यलाई मात्रै बेवास्ता गरेका छैनन्, बरु इतिहासमा भारतप्रति कटिबद्ध नभएकोमा अपमानित गर्दै कारबाही गर्न चाहन्छन् । उता भारतीय मुसलमानहरूलाई देशभर नै गाई काटेर खाएकोमा हिन्दु अतिवादीहरूले कुटेर मारिरहेका छन् ।

काश्मीरमा कुनै सीमा विवाद नरहेको भारतले यसै साता उद्घोष गरेको थियो । ‘काश्मीरीहरू तिमीहरूको जमिन हाम्रो जमिन हो,’ उसले निशंकोच भनिदियो । यससँगै पाकिस्तानको गर्धनको नशा पनि काटियो ।

यति हुँदा पनि पाकिस्तानसँग यस विरुद्ध उभिने केही उपाय भएको देखिएन । उसले आफ्नो दुवै हात उठाउँदै अन्तर्राष्ट्रिय समुदायका अगाडि दुखेको मात्रै जनाउन सक्यो । पाकिस्तानी सेनाले काश्मीरी दाजुभाइलाई सहयोग गर्न आफू कुनै पनि हदसम्मको सहयोग गर्नका लागि तयार रहेको बताएको छ । तर त्यसको उपादेयता कतिको छ भन्ने पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसदमा गरेको सम्बोधनबाटै स्पष्ट हुन्छ । ‘तपाईंहरू मबाट के चाहनुहुन्छ ?’ उनले भने, ‘के म भारतसँग युद्ध गरौं ? हामीले त्यो चारपटक गरिसक्यौं र अहिले हामी त्यो मुडमा छैनौं ।’

पाकिस्तानले विश्व समुदायलाई यस विषयमा एकमत बनाउन आग्रह गरे पनि त्यो सम्भव नभएको देखिइसकेको छ । अमेरिकाले पिंजडा भित्रको स्वर्गमा हुने कामकारबाही भारतको अन्तरिक मामिला भएको इंगित गरिसकेको छ । आफ्नै देशको वालमार्ट सुरक्षित राख्न नसक्ने देशले काश्मीरीहरूको इन्टरनेट सुचारु गर्न र इज्जत जोगाउन आवाज उठाउँछ भनेर कल्पना गर्नुको कुनै तुक छैन ।

चीन पाकिस्तानको पुरानो मित्र भए पनि ऊआफ्नो देशको श्रम शिविरमा बन्द उइघुर मुसलमानहरूलाई क्यामेरा अगाडि कसरी मुस्कुराउने भनेर सिकाउनमै व्यस्त छ । रूस र इजरायल भारतकै मित्र हुन् । मुसलमान समुदायको पहिलो राजकुमार साउदीका मोहम्मद बिन सलमानले त मोदीलाईआफ्नो दाजु नै मानेका छन् । भारतीय सरकारको निर्णय विरुद्ध आवाज उठाइरहेका पाकिस्तानीहरू पनि भारतले आफ्नै भूभाग कब्जा गरेझैं चिच्याइरहेका छन् । ‘काश्मीर हाम्रो हो,’ उनीहरूले सामाजिक सञ्जालमा लेखेका छन् ।

न्युयोर्क टाइम्सबाट अनुदित

प्रकाशित : श्रावण २५, २०७६ ०८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्