वृद्धावस्थाको खानपान

डा. प्रकाश बुढाथोकी

हाम्रो ६२.६८ प्रतिशत जनसंख्या १५–६४ वर्ष अर्थात उत्पादनशील उमेरका भएकाले यो युग युवाहरूको भन्न सकिन्छ । २०८४ मा नेपाल प्रौढ र ३५ वर्षपछि वृद्धहरूको देशमा प्रवेश गर्दैछ । आश्रितभन्दा उत्पादनशील जनसंख्या धेरै भएको अहिलेको अवस्था न इतिहासमा थियो नत भविष्यमा हुनेछ ।

विश्वमा हाल प्रत्येक १० व्यक्तिमा एकजना ६० वर्ष र सोभन्दा माथिको उमेरका छन् भने सन् २०५० मा २ अर्ब वा प्रत्येक ५ व्यक्तिमा एकजना वृद्ध हुनेछन् । त्यसबेला वृद्धहरूको जनसंख्याले १४ वर्षसम्मका बालबालिकाहरूको संख्यालाई पनि उछिन्नेछ । र १५–५९ वर्षका समूह बराबर हुनेछ ।

परिवार गाउँको होस् वा सहरको, विकसित होस् वा अविकसित, आर्थिक रूपले सम्पन्न होस् वा विपन्न सबैमा पुस्तान्तर छ । त्यो अन्तरसँगै परिवर्तन हुने सांस्कृतिक सोचका कारण पारिवारिक जीवनमा अप्ठ्याराहरू पर्छन् । त्यस्ता अप्ठ्यारा परिवारभित्रै व्यवस्थापन नभए बुढाबुढीको जीवन असुरक्षित बन्छ । बुढाबुढीको भावना र चाहनालाई युवा पुस्ताले नबुझ्नु अन्याय र अपमान हो ।

वृद्धावस्थामा शारीरिक, मानसिक र रोगसँग लड्ने क्षमतामा कमि आउँछ । यसले मानिसको पोषण स्तरलाई प्रभाव पार्छ । जति उमेर बढ्दै जान्छ, शरीरको काम गर्ने क्षमतामा कमी आउँछ, पाचन प्रणाली कमजोर हुँदै जान्छ । हड्डी करकर खान्छ । आँखाले धमिलो देख्न थाल्छ । दाँत हल्लिन्छन्, झरेर थोते बन्नुपर्छ । वृद्धावस्थामा मोटोपन धेरै खतरनाक हुने भएकाले मोटो मानिसमा क्यालोरीको मात्रा कम गरेर शारीरिक तौल घटाउनुपर्छ ।

वृद्धावस्थामा खाने रुचि कम हुन्छ । माछामासु छाड्ने, पाचनतन्त्र कमजोर र मिर्गौलाको काम कम हुने भएकाले खाद्य पदार्थ पचाउन हम्मे हुँदै जान्छ । प्रोटिनको कमी हुन्छ । त्यसले गर्दा सुन्निने, रगतको कमी हुने र रोगसँग लड्ने क्षमतामा कमी भई संक्रामक रोगहरू लाग्ने सम्भावना बढी हुन्छ ।

क्यालोरीको कम आवश्यकतासँगै कार्बोहाइड्रेट र चिल्लो पदार्थको आवश्यकता पनि घट्छ । चिल्लो पदार्थको रूपमा तोरी, सूर्यमुखी, भटमासजस्ता वनस्पति तेल राम्रो मानिन्छ । ४०—५० ग्राम चिल्लो पदार्थ दैनिक एउटा वृद्धले खान सक्छन् । धेरै तेलमा तारेको भन्दा थोरै तेलमा भुटेका खाद्य वस्तु नै वृद्धहरूका लागि राम्रो मानिन्छ ।

ज्येष्ठ नागरिकमा हाड कमजोर हुने भएकाले शरीरलाई बढी मात्रामा खनिज पदार्थ विशेषगरी क्याल्सियमको आवश्यकता पर्छ । क्याल्सियमजन्य खाद्य वस्तुहरू मुख्यतः दूध र दूधबाट बनेका खाद्य पदार्थ खानु उपयुक्त हुन्छ । एउटा वृद्धले दैनिक ४ सयदेखि ५ सय मिलिलिटर दूध खाए भने क्याल्सियमको मात्रा पूर्ति हुन्छ ।

रगतको कमी नहोस् भन्नाका लागि आइरन बढी भएको खाद्य पदार्थ खानुपर्छ । आइरन पूर्ति गर्नुका साथै पाचनतन्त्रलाई स्वस्थ राख्न हरियो सागपात, कोसेदाल, क्वाँटी आदि खानु राम्रो हुन्छ । आइरन प्रशस्त पाइने कलेजो, रातो मासु, फूलको पहेंँलो भागमा कोलेस्ट्रोल पनि बढी हुने भएकाले वृद्धहरूले यस्ता खाद्य वस्तुहरूको प्रयोग नगर्नु नै उत्तम हुन्छ । गर्नैपरे पनि थोरै मात्रामा गर्नुपर्छ ।

दाँत कमजोर र केही झर्ने, पाचन प्रणाली कमजोर हुने, खाना चपाउन गाह्रो हुने भएकाले सजिलैसित पचाउन सक्ने खालका नरम, सजिलोसित चपाउन मिल्ने खालको खाना हुनुपर्छ । सुख्खा रोटी, सुख्खा चिउराको सट्टा चामल, दाल मिसाएको जाउलो, खिर, सावुदाना, सेवाइ, दूधमा भिजाएको चिउरा आदि खाने कुरामा सम्मिलित गर्न सकिन्छ । हरियो सागपात, फलफूल, फलफूलको रस, तरकारी वा मासुबाट बनाइएको सुप, प्रशस्त मात्रामा पानी खानाले कब्जियत हुन पाउँदैन र खानामा रुचि बढेर जान्छ ।

वृद्धहरूले एकैचोटी धेरै खानेकुरा खान र पचाउन नसक्ने भएकाले थोरै–थोरै गरेर दिनभरिमा ५–६ पटकसम्म खानुपर्छ । दालको झोल, फलफूलको जुस, पानीजस्ता झोलिलो खाना प्रशस्त खानुपर्छ । थोरै भए पनि खानामा दिनहुँ रायो, तोरी, चम्सुर, पालुङ्गोजस्ता हरिया सागपात समावेश गर्नुपर्छ । यसले कब्जियत हुन पाउँदैन । आइरन, भिटामिन बी कम्प्लेक्स, सी आदिको कमी हुन दिँदैन ।

दिउँसोको खानापछि अलिअलि भए पनि हिँड्ने भएकोले खाना सजिलैसित पच्छ । तर रातिको खानापछि छिट्टै सुत्ने भएकाले अलि उकुस–मुकुस हुन्छ र भारी खानाले निद्रामा कमी ल्याउँछ । त्यसैले वृद्धहरूको रातिको खाना दिउँसोको भन्दा हल्का, किसिमको हुनुपर्छ । राति सुत्ने बेलामा एक गिलास तातो दूध खाँदा राम्रोसँग निद्रा लागि दिनभरि जोश, जाँगर बढे जस्तो अनुभूति दिन्छ । खाना पारिवारिक खानासँग मेल खाने तर नरम, पचाउन सक्ने दिनुपर्छ । सँगै खाना खानाले, बच्चालाई जस्तै माया, प्रेम गर्नाले उनीहरूलाई सुरक्षाको भावना दिन्छ ।

राष्ट्रिय योजना आयोग र युनिसेफको अध्ययनमा नेपालको जनसांख्यिक लाभ सन् १९९२ देखि ५५ वर्षको थियो । ६५ वर्ष वा त्योभन्दा बढी उमेरको जनसंख्या कुल जनसंख्याको ७ प्रतिशत वा बढी भएमा त्यसलाई बुढ्यौलीमा प्रवेश गरेको देश सन् २०२८ मा प्रवेश गर्ने प्रक्षेपण छ । ६५ वर्षभन्दा माथिको जनसंख्या १४ प्रतिशत वा बढी भए समाजलाई वृद्ध समाज भनिन्छ, जुन सन् २०५४ मा हुँदैछ । जापानको ‘एजिङ’ गति द्रुत छ । हाल ११ जना सक्रियमा १ वृद्ध छन् । अबको ५० वर्षमा हरेक ३ जना सक्रियको भागमा १ जना वृद्ध आश्रित हेर्ने दायित्व पर्नेछ ।

शरीरमा बल रहुन्जेल परिवार, समाज र राष्ट्रका लागि पसिना बगाउने र सन्तानप्रति त्याग र संघर्ष गर्ने वृद्ध जीवनको उत्तरार्द्धमा एकधरो कपडा र एकछाक खानका लागि तिनै सन्तानबाट अपहेलित छन् । विपन्नताले ९० प्रतिशत जतिको जीवनयापनको विकल्प रहँदैन, जसले गर्दा वृद्धवृद्धाको जीवन दयनीय, कारुणिक त छँदैछ, त्यसमा पनि परिवार, समाज र राष्ट्रले समेत उचित कदर र सम्मान गर्नसकेको छैन ।

लेखक वीर अस्पतालका चिकित्सक तथा नेपाल चिकित्सक संघका कोषाध्यक्ष हुन् ।

प्रकाशित : श्रावण २५, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्

मञ्जुरी विना हुने अनलाइन हिंसा

रीताश्री बरामु

हामीकहाँ सम्बन्धमा ‘कन्सेन्ट’ अर्थात् सहमति र मञ्जुरीका कुरा त्यति बहसमा आउने गर्दैन । प्रेम सम्बन्धलाई त्यति खुला रूपमा नस्वीकार्ने र यौनलाई अश्लील मानिने हुँदा यस्ता विषयको बहस घोषित/अघोषित रूपमा सतहमा आउन पाएको छैन । त्यसो त व्यक्ति–व्यक्तिबीच असमान शक्ति सम्बन्ध भएको हाम्रो समाजमा सहमतिको नियमलाई पालन गरी आफूमा निहित शक्ति बाँड्न को तयार होस् र मञ्जुरीका कुराले सम्बन्धमा स्थान पाउन् ?

त्यसमा पनि अनलाइनमार्फत निर्वाह गरिने सम्बन्धमा मञ्जुरीका कुरा उठ्नु त अझ परको विषय हो । तर सोच्दा सानो लागे पनि यी विषय महत्त्वपूर्ण छन् र सबैले यसको ख्याल गरेमा इन्टरनेट सबैका लागि सहज र सुरक्षित स्थान बन्न सक्छ ।

अनलाइनमा मञ्जुरीका कुरा गर्दा केही उदाहरण हेरौं । जस्तो– हामी इन्टरनेटको दुनियाँमा दैनिक सयर गरिरहेका हुन्छौं । कोही काम विशेषले, कोही मनोरञ्जन वा कोही ज्ञानगुनका कुरा सिक्न । यस्तो बेला साथीहरूले हामीलाई हत्त न पत्त अनलाइन देखेर अडियो वा भिडियो कल गर्छन् ।

उनीहरू आफूले सम्पर्क गर्न चाहेको व्यक्ति के गर्दैछ ? कुन हालतमा हुन सक्ला ? त्यतिबेला उसलाई कुरा गर्ने इच्छा हुन सक्ला वा नसक्ला ? वा ती व्यक्ति अडियो/भिडियोमा सहज छ वा छैन आदि केही कुराको ख्याल गर्दैनन् । त्यस्तै कोही व्यक्ति तपाईंसँग भर्खर फेसबुक वा भाइवरमा जोडिएको छ । तपाईंलाई उसको इच्छा बमोजिम जतिबेला मन लाग्यो कल गर्छ । तपाईंलाई त्यो व्यक्ति मनपर्छ वा काम लाग्न पनि हुनसक्छ । तर उसका व्यवहारले तपाई हैरान हुनुभएको छ । अब के गर्ने ?

केही समयअघि यस्तै भयो । साथीहरूले हाइ–हेल्लो भन्नलाई नै कल गरेका थिए । तर म आफूलाई क्यामेरा वा भ्वाइसमैत्री ठान्दिन । त्यस्ता कलहरू म अफिसियल बाहेक सकेसम्म उठाउँदै उठाउँदिन । पछि मैले आपत्ति जनाउँदै तिमीहरू किन त्यसरी अकस्मात कल गर्छौ भन्दै म्यासेज लेखेँ । उनीहरूले मेरो आपत्तिको गहिराई बुझ्दै बुझेनन् । एउटाले भने, ‘के भो त कल गर्दा ?’

अर्कोले ए, कल नगर्नु पर्नेथ्यो ? लौ अबदेखि नगरौंला नि भनेर घुर्क्यायो । मेरो मतलब त्यो थिएन । सकेसम्म त म व्यक्तिले आफ्नो सहजता अनुसार म्यासेज हेरोस् र जवाफ पठाओस् भनी टेक्सट म्यासेजमै कुरा गर्छु । अपर्झट परेका बेला फोनमा कुरा गर्ने हो भने फुर्सद छ/छैन, कुराकानी गर्न मिल्छ/मिल्दैन अनुमति लिएर मात्र गर्छु । र म आफूमाथि पनि त्यस्तै व्यवहारको अपेक्षा गर्छु । जुन विरलै मात्र भेटिन्छ । त्यसैले हरसम्भव यस्तो जबर्जस्तीबाट बच्ने उपाय लगाउने गर्छु । तर पनि आफूले केही गल्ती गरेकै जस्तो भाग्दै, लुक्दै हिँड्नुमा हैरानी त हुन्छ नै ।

यस्ता व्यवहारको सिकार साधारणतया सबै हुन सक्छन् । तर हाम्रो समाजको शक्ति संरचना र प्रचलनका कारण महिला र अल्पसंख्यकहरू बढी प्रभावित छन् । कुराकानीको सुरुवात नगर्दै अकस्मात उनीहरूको इनबक्समा आउने अप्रत्यासित पुरुष यौनाङ्गका फोटाहरू कैयौं उदाहरण मध्येको एक हो ।

दुबैको मञ्जुरीमा त्यस्ता फोटाहरू सेयर गर्ने हो भने कुनै पक्षलाई पनि आफ्नो अपमान भएको महसुस हुँदैन होला । बरु ती क्षण सुखमय बन्छन् होला । बस्, यसमा दुबैको सहमति हुनुपर्‍यो । फेरि एक पटकको सहमति पटक–पटकका लागि हुँदै होइन भन्ने पनि बुझ्नुपर्छ । सहमतिको हरेकपटक ख्याल गरिनुपर्छ । तर माथिका घटनामा दोस्रो व्यक्तिको मञ्जुरीको बेवास्ता गरिएकोप्रस्टै देखिन्छ ।

कतिले इन्टरनेट भित्र (अनलाइन) र इन्टरनेट बाहिरको (अफलाइन) दुनियाँ अलग–अलग मान्ने गर्छन् । कति हिसाबमा यी दुई अलग पनि हुन् । तर मानवीय व्यवहार झल्किने क्रममा यो भिन्नता यहींनिर आएर नामेट हुन्छ । अफलाइन दुनियाँमा हामीमध्ये कति अस्तव्यस्त छौं । साथीको कपडा/व्याग/जुत्ता उसलाई नसोधीकनै प्रयोग गर्नु त साधारण हो ।

उसले आपत्ति जनायो भने ह्या कस्तो खाइदिने जस्तो गर्छ यार फिर्ता गर्दिहाल्छु नि भनेर उल्टो घुर्क्याइन्छ । कसैलाई इच्छा होस्/नहोस्, जबर्जस्ती मद्यपानका लागि कर गरिएको पनि प्रशस्तै देखिएकै हो । हामीलाई लाग्छ, साथी हो यति त चलिहाल्छ नि । साथीको लागि त्यति पनि नगरिदिने ? यही घम्साघम्सीमा कसैको व्यक्तिगत घेराभित्र पसी उसको सहमतिलाई हामी कुल्चिन पुग्छौं ।
त्यस्तै अफलाइनका व्यवहार नै अनलाइनमा झल्किने हो ।

अरुको होइन, आफ्नो अनुकूलता र इच्छा बमोजिम मात्र चल्न खोज्दा अनलाइन र अफलाइन दुबै स्थानमा हामी अनुमति वा मञ्जुरीका कुरालाई कुल्चिन्छौं । त्यसो गर्नु भनेको जानी/नजानी अरुमाथि हिंसा गर्नु हो । यसरी धेरै कारणमध्ये मञ्जुरी विना पनि अनलाइन हिंसा भइरहेका छन् । फलस्वरुप इन्टरनेटमा गलत मान्छे छन् । तिमीहरूमाथि शोषण, अपमान वा हिंसा हुनसक्छ भन्ने कारण देखाई महिला र अल्पसंख्यहरूमाथि उनीहरूका आफन्त परिवारजनबाट इन्टरनेट चलाउनमै बन्देज लाग्न सक्छ ।
इन्टरनेट आज ज्ञान र सूचनाको स्रोत हो । यो शक्तिको पनि स्रोत हो । कुनै समुदायलाई इन्टरनेटको दुनियाँबाट बञ्चित गरिनु भनेको उनीहरूलाई महत्त्वपूर्ण स्रोतबाट बञ्चित गरिनु हो । यसर्थ हामीले इन्टरनेटको दुनियाँलाई सुरक्षित र मर्यादित बनाई सबैलाई त्यसमा सहज पहुँच मिल्न सक्ने वातावरण तयार गर्नुपर्ने हुन्छ । जसको सुरुवात अनलाइनमा अरुका सहमति/ मञ्जुरीको कदर गरेर गर्न सकिन्छ ।

लेखिका जेन्डर स्टडिजमा स्नातकोत्तर गर्दैछिन् ।

प्रकाशित : श्रावण २५, २०७६ ०८:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्