यस कारण भ्याउँदैनन् विद्यार्थी गृहकार्य

मोइन उद्दिन

आजभोलि मेरो समय सोच्दै बित्छ । जुन दिनदेखि ‘टिच फर नेपाल’ मा फेलोको रूपमा अनुबन्ध भएँ, त्यही समयदेखि नै आफ्नो विद्यालय, विद्यार्थी, त्यहाँको समाजको हित सोच्न थालें । अचम्म लाग्थ्यो जब गृहकार्य दिँदा मेरा विद्यार्थीले नगरेको देखेर । उनीहरूले सर ‘भ्याउँदै भ्याउँदैन’ भन्दा साह्रै रिस उठ्थ्यो । ‘बाबु/नानु कसरी भ्याउँदैनौ, के भएर भ्याउँदैनौ, अझै झूटो बोल्छौ’ भनेर गाली नगरेको दिन थिएन ।

विद्यार्थीहरू अल्छी भएर गृहकार्य नगर्ने बहाना बनाएको होला भन्ने लाग्थ्यो । सधैंजसो उही प्रश्न र हरेक दिनको उस्तै जवाफमा मेरा दिनहरू घुमिफिरी बगिरहेका थिए, तालामराङको खोलासरि ।

समय बित्दै जाँदा म मेरा विद्यार्थीहरूको मनमा बस्न सफल भैसकेको थिएँ । पहिलो त्रैमासिक परीक्षा चलिरहेको थियो । शुक्रबारको दिन थियो । केही दिनदेखि नै कक्षा आठमा पढ्ने विनिताले मलाई आफ्नो घरमा बस्नका लागि बोलाइन् । नाइँनास्ती गर्दागर्दै पनि तिनले नमानेपछि सहमति जनाएँ ।

जानुभन्दा अगाडि सोधें— घरमा अभिभावकलाई सोधेकी छौ नि, उहाँहरूले के सोच्नुहोला, के भन्ने होला ? उनले ‘त्यस्तो केही नि भन्नुहुन्न’ भनिन् । मेरो डर स्वाभाविक थियो । एक त पुरुष शिक्षक अनि केटी विद्यार्थीको घरमा एक दिन बस्न जाँदा । समाजको डर थियो । झन् म त नौलो मान्छे । मेरा लागि परिवेश नै नवीन थियो ।

झोला बोकें, कोठाको ढोकामा ताला लगाएँ । म विद्यालयमै बस्ने गर्छु । अनि विनितासहित अरू विद्यार्थीसँग पञ्चकन्यातिरको यात्रामा हानिएँ । गफ गर्दै अगाडि बढ्दै थियौं । साना भाइबहिनीका एकर्का सँगको ठट्टा र हँसाइ । सँगसँगै मीठो हावाको स्पर्श । मनोरम दृश्य र अनगिन्ती गफमा हामी पहाड उक्लिँदै गयौं ।

यात्राको क्रमसँगैका विद्यार्थीहरू पातलिँदै थिए कारण उनीहरूको घर आइसकेको थियो । बाटो साँघुरो थियो र सुनसान । भर्खर भर्खैर पहाड चढ्न सिक्दै थिएँ । विनिता अलि उक्कालो चढेपछि बेलामौका पछाडि मलाई हेर्दै उक्लिरहेकी थिइन् । लगभग एक घण्टाको हिडाँइपछि हामी विनिताको घर पुग्यौं । घरमा पहिलेदेखि नै विनिताको भाइबहिनी विद्यालयबाट आइवरि लुगा फेरेर खाजाका लागि विनितालाई पर्खिराखेका रहेछन् ।

घर सानो थियो, लाम्चो खालको, काठले बनेको । अगाडि भान्सा र त्यही पछाडि बस्ने कोठा । पाँच जना सदस्य त्यहीं बस्ने–सुत्ने रहेछन् । भुइँचालोले उनीहरूको घरलाई पनि नछोडेको रैछ । नजिकै केही दिनअघि घर बनाउन डीपीसी गरिएको रैछ । विनिताले कोठामा गएर पहिरन परिवर्तन गरेर आएसि मलाई भान्सामा बस्न आग्रह गरिन् र खाजा बनाउन लागिन् । मीठो लाग्यो मलाई विनिताले बनाएको चाम्रे । त्यसपछि जुठो भाँडा संकलन गरिन् । त्यही बेला हामी राम–लक्ष्मणको घरतिर गयौं । राम–लक्ष्मण मेरा दस कक्षामा पढ्ने विद्यार्थी थिए । यसपालि उनीहरूले एसईईको परीक्षामा उत्तीर्ण भएर कलेज जान कस्सिँदै छन् ।

उनीहरू बाँस काटेर छाप्रो बनाउन लागेका रहेछन् । पानी पर्ने मौसम भएकाले वस्तुलाई बँचाउन गोठ बनाइरहेका रहेछन् । केही बेरमै विनिताकी आमा आउनुभयो । नजिकै आएपछि चिनापर्ची गर्‍यौं र घरतिरै गयौं । विनिताको आमाले करेसाबाट मुन्टा ल्याइन् र केलाउन थालिन् । विनिता त्यही अघिको जुठो भाँडा लिएर परको धारोमा धुन गइन् । मैले विनिताकी आमालाई मुन्टा केलाउन सघाउन खोजें, उहाँले दिनुभएन ।

साझँ पर्न थालिसकेको थियो । विनिताले भाँडा माझिसकेकी थिइन् । आमाले उनलाई खाना बसाल्न अह्राउनुभयो । विनिता भान्सामै व्यस्त हुन थालिन् । म उनका भाइ र बहिनीसँग गफिन थालें । उनका दुवै भाइ–बहिनी पढाइमा मेधावी रहेछन् । जे प्रश्न सोधे पनि फ्याट्टै उत्तर दिने । मीठो परिकारको बास्ना आइराथ्यो । विनिताले भान्साबाट बोलाइन्— मोइन सर खाना खान आउनुस् । मैले ‘ल ल आएँ हैं’ भनें । भाइबहिनीलाई नि जाम भनें । हुन्छ सर भनेर भने तिनीहरूले । खाना गज्जब बन्या रैछ । सबैलाई खुवाएपछि मात्र विनिताले खाइन् ।

विनिताको बुवा भने नौ बजेपछि मात्र आउनुभयो । अलि परैबाट विनिताको आमाले सर आउनुभाछ भनेको सुनें मैले । मेरो नजिक आएर विनम्रपूर्वक अभिवादन गर्नुभो र मैले पनि गरें । केही बेर हामी गफियौं । रमाइलै भयो । हस् त सर आराम गर्नुस् भनेर उहाँ भान्सामा लाग्नुभयो । विनिताले नै खाना पस्किइन् । त्यसपछि बल्ल गणितको अभ्यास गर्न थालिन्, जतिखेर रातिको दस बज्दै थियो ।

मलाई निद्राले बोलाउँदै थियो । विनिताले चाल पाइन् र मेरा लागि ओछ्यानको व्यवस्था गरिन् । म खाटमा पल्टिँदै थिएँ तर निद्राले पूरै ममाथि विजय प्राप्त गरिसकेको थिएन । विनिता अभ्यास गर्न खोज्दै थिइन् तर आफ्नो थकाइसँग पराजित भइन् अनि अभ्यास कापीलाई त्यत्तिकै थाती राखेर सुत्न गइन् ।

भोलिपल्ट बिहान पाँच बजे मैले लोग्ने मान्छेको स्वर सुनें । त्यो स्वर विनिताको बुवाको रहेछ । विनितालाई उठ्न भनिरहनुभएको थियो । विनिताले एकै छिन त टारिन् तर नउठी धर पाइनन् । उठ्नासाथ, टुथब्रसमा मञ्जन लाएर हिजो रातिको जुठो भाँडा लिएर परको धारातिर लागिन् । हातमुख धुन र भाँडा माझ्न पैंतालीस मिनेट लाग्नै रैछ । आएपछि खाना बनाएर सबलाई खुवाइन् । यत्तिकैमा बिहानको सातदेखि सवा सात बज्यो । अनि आठ बजेको अतिरिक्त कक्षाका लागि विद्यालय जान हतार–हतार पोसाक लगाएर दौडिइन् । उनको सधैंको दैनिकी यस्तै हो ।

त्यसपछि मैले बल्ल चाल पाएँ किन मेरा विद्यार्थी गृहकार्य गर्न भ्याउँदैनन् भनेर । त्यो उनीहरूको बहाना नभएर बाध्यता रहेछ । बुझ्दै आएँ कि पढ्न रहर भएर पनि अवस्थाले पेल्दोरहेछ उनीहरूलाई ।

यसो सोच्छु— उनीहरूले राम्ररी पढ्न नपाउनु कसको दोष र यसको जिम्मेवारी कसले लिने ? सधैं अवस्थालाई दोषी ठहर्‍याइराख्ने कि परिवार, समाज, विद्यालय, शिक्षक र राज्य आफैंले पनि अलि अलि भए पनि जिम्मेवारी लिने ? यसको समाधान खोजी गर्दै विनिताजस्तै लाखौंको भविष्यलाई सुनिश्चित र सहज पार्न कदम चाल्न अग्रसर हुने कसरी होला ?

लेखक ‘टिच फर नेपाल’ मार्फत श्री तेर्से माध्यमिक विद्यालय, तालामराङ, सिन्धुपालचोकमा अध्यापन गर्छन् ।

प्रकाशित : श्रावण १८, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्

क्रिकेट कि कृषि विश्वविद्यालय ?

नारायण कुँवर

भरतपुर महानगरपालिकाको पहलमा रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयभित्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन सुरु गर्नुअघि नै विवादमा परेर स्थगित भएकोमा फेरि निर्माण सुरु हुँदै छ । युवामा क्रिकेट खेलप्रति अभिरुचि बढिरहेको भए पनि अन्य खेलको तुलनामा यसमा आवश्यक सुविधा विकास हुन सकेको छैन ।

स्तरीय मैदान र रंगशाला आवश्यक छ तर विश्वविद्यालयभित्र अन्तर्राष्ट्रिय स्तरको ठूलो रंगशाला बनाउने निर्णयमा भने पुनर्विचार गर्न जरुरी छ ।

कृषि विकासबिना नेपालीको जीवनस्तर उठाउन सम्भव छैन । विभिन्न कारणबाट कृषि उत्पादनमा ह्रास आएकाले बर्सेनि अर्बौं रुपैयाँको खाद्यान्न, फलफूल र तरकारीसमेत आयात गर्नुपरेको छ । यसको मुख्य कारण कृषिले प्राथमिकता नपाउनु हो । कृषिले प्राथमिकता नपाएको कुरा यसका लागि छुट्ट्याइएको वार्षिक बजेट र अध्ययन/अनुसन्धानका लागि राखिएका कृषि फार्महरूमा अस्पताल, ब्यारेक र रंगशाला बनाउनुबाट प्रस्ट हुन्छ ।

कृषि विश्वविद्यालयका तीन महत्त्वपूर्ण भूमिका हुन्छन् । देशलाई कृषिमा आवश्यक पर्ने उच्च प्राविधिक जनशक्ति उत्पादन गर्नु, कृषिका विभिन्न पक्षमा गहन अध्ययन/ अनुसन्धान गर्नु र अध्ययन/अनुसन्धानबाट प्राप्त ज्ञानलाई कृषकसमक्ष पुर्‍याउनु । अमेरिकी सरकारले प्रशस्त जमिन अनुदान दिएर प्रत्येक राज्यमा कृषि विश्वविद्यालय स्थापना गरेको इतिहास छ ।

जमिन अनुदान दिएर स्थापित गरिएकाले ती विश्वविद्यालयलाई ल्यान्डग्रान्ट विश्वविद्यालय पनि भनिन्छ । कृषिको आधुनिकीकरण र विकासमा ती विश्वविद्यालयहरूको महत्त्वपूर्ण भूमिका भएकाले अन्य देशले पनि त्यसको अनुकरण गरेका हुन् । हाम्रो कृषि तथा वन विज्ञान विश्वविद्यालयको उद्देश्य पनि ल्यान्डग्रान्ट विश्वविद्यालयहरूको जस्तै कार्यक्रम सञ्चालन गरेर कृषिलाई आधुनिकीकरण गर्न सहयोग पुर्‍याउनु हो ।

२०२८ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थान स्थापना गरेर कृषिमा उच्च शिक्षाको सुरुआत गरिएको हो । सुरुदेखि नै रामपुरमा सञ्चालित तत्कालीन पञ्चायत प्रशिक्षण केन्द्रको ठाउँमा अध्ययन संस्थानको कार्यक्रम सञ्चालन गरियो । तत्पश्चात् अध्ययन संस्थानको विकासका लागि अमेरिका र विश्व बैंकको सहयोग प्राप्त भयो ।

लामो समय बितिसक्दा पनि जुन प्रकारले वा जति अध्ययन संस्थानको विकास हुनुपर्थ्यो त्यो हुन सकिरहेको थिएन । त्यसको मुख्य कारण त्रिभुवन विश्वविद्यालय अति नै ठूलो विश्वविद्यालय भएकाले यसले अध्ययन संस्थानको विकासमा विशेष ध्यान दिन सकिरहेको थिएन । अन्य क्याम्पसका लागि बनाइएका नीति, नियमहरू यस अध्ययन संस्थानका लागि उपयुक्त थिएन । छुट्टै नीति, नियमहरू बनाउन पनि सजिलो थिएन ।

कृषिसम्बन्धी एउटा छुट्टै विश्वविद्यालयको स्थापना नगरीकन यो समस्याको समाधान नहुने देखिएपछि अन्तर्राष्ट्रिय परामर्शदाताको टोलीबाट यससम्बन्धी सम्भाव्यता अध्ययन गरियो । र, टोलीले कृषि तथा पशु विज्ञान अध्ययन संस्थान र वन विज्ञान अध्ययन संस्थान मिलाएर कृषि तथा वन विज्ञान विश्वविद्यालयको स्थापना गर्न सिफारिस गर्‍यो ।

अनि सरकारले २०६७ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत रामपुरस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको केन्द्रीय क्याम्पस र हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानको शाखा क्याम्पस मिलाएर कृषि र वन विज्ञान विश्वविद्यालयको स्थापना गर्‍यो । विश्वविद्यालय स्थापना भएको एक दशक पुग्न लागिसकेको छ तर समस्या भने उस्तै छ ।

त्रिविको स्वामित्व हस्तान्तरणमा विवाद आउनु र कार्यक्रम सञ्चालनका लागि पर्याप्त बजेट नहुनु यसका कारण हुन् । योग्यता र क्षमताभन्दा पनि दलीय भागबन्डाको आधारमा पदाधिकारीहरूको नियुक्ति हुनुले पनि विश्वविद्यालयको व्यवस्थापनमा समस्या आएको देखिन्छ । ढिलो–चाँडोको कुरा मात्र हो यो विश्वविद्यालय समस्यामुक्त हुनैपर्छ, हुनेछ ।

विश्वविद्यालय राम्रोसँग सञ्चालन हुन थालेपछि हाल उपलब्ध जमिन पनि अपुग हुन सक्छ । कृषि र पशु फार्महरू विश्वविद्यालयका अभिन्न अंग हुन् । जमिनको अर्को आवश्यकता भौतिक संरचनाका लागि पनि हो । आवश्यकताअनुसार विश्वविद्यालयले कृषि सम्बन्धी अन्य कलेज पनि स्थापना गर्दै लैजानुपर्छ ।

कृषि इन्जिनियरिङ र फुड टेक्नोलोजी कलेज तत्कालै आवश्यक छन् । विद्यार्थीहरूको संख्या बढ्दै जानेछ । कार्यक्रम बढ्दै जाँदा हाल उपलब्ध जमिन पनि अपुग हुन सक्छ । त्यसकारण विश्वविद्यालयलेआफ्नो जमिन बचाएर राख्नुपर्छ । आफ्नो जमिन अरूलाई दिने अनि त्यसको सट्टामा अन्यत्र जाने कुरा पठनपाठनको हिसाबले व्यावहारिक हुँदैन । रंगशाला अन्यत्र जहाँपनि बनाउन सकिन्छ तर पठनपाठन अन्यत्र सार्न सकिँंदैन ।

एउटा कृषि विश्वविद्यालयलाई कति जमिन चाहिन्छ ? यो कुरा बुझ्न टाढा जानु पर्दैन । छिमेकी भारतकै विश्वविद्यालयहरू हेरे पुग्छ । नेपाल नजिकै रहेको गोविन्द बल्लभ कृषि विश्वविद्यालयको ९० हजार एकड जमिन छ भने चौधरी चरण सिंह हरियाणा कृषि विश्वविद्यालयको ८ हजार ६ सय ४५ एकड जमिन छ । हाम्रो कृषि तथा वन विज्ञान विश्वविद्यालयको जम्मा ६ सय २० एकड जमिन छ । यति पनि खोसिदिने ? अनि कहाँ गर्ने कृषिको अध्ययन, अनुसन्धान ?

कृषिको विकास गर्ने हो भने हाम्रा युवाहरू रोजीरोटीका लागि बिदेसिनु पर्दैन । आर्थिक उन्नतिका लागि कृषि विकासमा जोड दिनैपर्छ र कृषि विकासमा कृषि विश्वविद्यालयको महत्त्वपूर्ण भूमिका हुनाले यसको जमिन अन्य प्रयोजनका लागि दिन हुँदैन ।

विचारणीय अर्को पक्ष के हो भने प्रस्तावित अन्तर्राष्ट्रिय रंगशाला अति नै ठूलो परियोजना हो । सम्बन्धित निकायले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नगरीकनै यति ठूलो परियोजना सुरु भएको छ । यसको सम्बन्धित निकाय भनेको खेलकुद परिषद् हो । रंगशाला पशु फार्मको जमिनमा बनाउन लागिएको छ । विभिन्न प्रकारका पशुपन्छीका गोठ र खोरहरू नजिकै छन् । ती पशुपन्छीहरूमाथि कस्तो वातावरणीय असर पर्छ ? कृषिको अध्ययन/अनुसन्धान र त्योसँगै रंगशाला सञ्चालन कसरी गर्ने भन्ने डीपीआरमा प्रस्ट हुनुपर्छ ।

धेरै पहिला विश्वबैंकबाट विज्ञहरूको एउटा टोली रामपुर आएको थियो । टोलीमा एक जना बेलायती आर्किटेक्ट इन्जिनियर पनि थिए । त्यसपछि विश्व बैंकको सुझावमा कृषि र पशु विज्ञान अध्ययन संस्थानको रामपुरस्थित सम्पूर्ण जमिनको भूउपयोग गुरुयोजना तयार गरिएको थियो । प्रस्तावित क्रिकेट रंगशालाको निर्माण त्यो गुरुयोजनाविपरीत छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनको कत्ति पनि आर्थिक हैसियत छैन । चन्दा संकलन गरेर रंगाशाला निर्माण गर्ने फाउन्डेसनको योजना छ तर यसमा पनि फाउन्डेसन विफल भएको लक्षण देखिसकिएको छ । फाउन्डेसनको ठूलो भौतिक संरचना निर्माण गर्ने अनुभव पनि छैन । सानातिना घरहरू बनाउनु र रंगशालाजस्तो बृहत् संरचना बनाउनुमा धेरै अन्तर छ । केही आर्थिक क्षमता र अनुभव नभएको संस्थालाई त्यति ठूलो जिम्मेवारी दिने कुरामा पुनर्विचार गर्नुपर्छ ।

केही दशकअघिसम्म पनि कृषिमा उच्च अध्ययन गर्न विदेश जानुपर्थ्यो । कृषिमा उच्च शिक्षा प्रदान गर्ने कुनै कलेज वा विश्वविद्यालय थिएनन् । कृषि र वन विज्ञान विश्वविद्यालय स्थापना गरेर कृषिमा उच्च शिक्षामा हामीले धेरै प्रगति गरेका छौं । नेपाल कृषिप्रधान देश भएकाले कृषि तथा वन विज्ञान विश्वविद्यालय हाम्रो आवश्यकता हो । राष्ट्रिय गौरव पनि ।

चितवन जिल्लाले त अझ गौरव मान्नुपर्छ । विश्वविद्यालयको प्रतिष्ठा रंगशालाभन्दा धेरै गुणा बढी हुन्छ । त्रिविको प्रतिष्ठा दशरथ रंगशालासँग तुलना गर्नै सकिन्न । त्रिवि विश्वभरि परिचित छ भने दशरथ रंगशालाको नाम देशभित्र मात्र सीमित छ । अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला यदि हाम्रो आवश्यकता वा प्रतिष्ठाको विषय हो भने अन्यत्र पनि बनाउन सकिन्छ ।

रंगशाला बनेपछि अरू थुप्रै निर्माण गर्नुपर्ने हुन्छन् । तिनका लागि चाहिने जग्गा नै हो । त्यो जग्गा जनताबाट अधिग्रहण गर्न सम्भव छैन । लिने भनेको त्यही विश्वविद्यालयको हो । त्यसले भोलि विश्वविद्यालयकै उठीबास बनाउँछ । त्यसकारण विश्वविद्यालयभित्र रंगशाला निर्माण गर्ने निर्णय फिर्ता हुनुपर्छ ।

लेखक त्रिविका अवकाश प्राप्त प्राध्यापक तथा उच्चमाध्यमिक शिक्षा परिषद्कापूर्वउपाध्यक्ष हुन् ।

प्रकाशित : श्रावण १८, २०७६ ०७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्