वैज्ञानिक र वैदिक ज्ञान 

नारायण घिमिरे

जब हामी कुनै वस्तुलाई हेर्छौं, त्यसको लेखाजोखा लम्बाइ, चौडाइ, उचाइ, तौल, शक्ति, गति, तातोपन लगायतका कुराहरूबाट राख्ने गर्छौं । महसुस भने वस्तुको रङ्ग, स्वाद, गन्ध, ध्वनि, छुँदा प्राप्त हुने अनुभव आदिबाट हुने गर्छ । विज्ञानले विषय–वस्तुलाई भौतिक मापदण्डका आधारमा बुझ्ने गर्छ । 

वैज्ञानिक र वैदिक ज्ञान 

विज्ञानमा व्यक्तिले महसुस गर्ने वस्तुको प्रकृति परीक्षणका बखत प्रतिपादित सिद्धान्तको स्वीकार्यताको मूल्याङ्कनमा उपयोग भइरहेको हुन्छ । सिद्धान्त प्रतिपादन र परीक्षणपश्चात् स्थापित हुने निष्कर्षमा भने अटाउने गर्दैन । फलतः भौतिक मापदण्डभन्दा अनुभव र महसुसमार्फत ज्यादा स्वीकार्य हुने उत्कृष्ट वैज्ञानिक विधाहरू जस्तै– ज्ञान, प्रतिभा, साहित्य, कला र सङ्गीत आदिलाई स्वयम् विज्ञानले कला भनेर सीमित परिभाषाको दायरामा कोचिदिएको छ ।


वैज्ञानिक ज्ञान परीक्षणमा खरो उत्रेको प्रमाणित ज्ञान हो । विचारलाई प्रयोगात्मक परीक्षणद्वारा प्रमाणित गरिएपछि विचार वैज्ञानिक ज्ञान बन्छ । सर्व–स्वीकार्य हुने गर्छ । विचारको उत्पत्ति कसरी हुन्छ, विचार वैज्ञानिक बनिसकेपछि सर्व–स्वीकार्यताको अनुभूति मानिसमा कसरी हुन्छ आदि बारेको ज्ञान भने राख्दैन विज्ञान ।


संस्कृतमा वेद शब्दको अर्थ ज्ञान भन्ने हुन्छ । वैदिक ज्ञानलाई आध्यात्मिक प्रकृतिको ज्ञान मानिन्छ । जुन अनुभव र अनुभूतिबाट प्राप्त हुन्छ । वैज्ञानिक रूपमा पुष्टि नहुँदा–नहुँदै पनि आध्यात्मिक ज्ञान व्यक्ति र समाज दुवैको जीवन्त अनुभवको माध्यमबाट मानिसले अनुभूति गर्छ ।


विज्ञानले वस्तुको वास्तविक उपस्थितिको बोध गराउँछ । वैदिक ज्ञानले वस्तुको उपस्थितिले दिने अनुभूतिको अनुभवबारे सचेतना दिलाउँछ । वस्तुको मापन गर्न सकिने सूचनाहरूको अध्ययन गर्ने गर्छ विज्ञान । वैज्ञानिक सूचना लगायत वस्तुको उक्त समयमा अर्को वस्तुको सन्दर्भको सूचना, सूचनाको प्रकृति र तत्कालीन सन्दर्भको अर्थ र प्रझाव बारेको जानकारीको समेत हेक्का राख्ने गर्छ वैदिक ज्ञानले ।


पाकेको आँपको वास्तविकता भनेर विज्ञानले त्यसको कडापन, नरम पन, तौल, संख्या, लम्बाइ, चौडाइ, रसिलोपन जस्ता गुण आदि मापन गर्छ । मापनका लागि भौतिक औजारहरूको प्रयोग गर्छ । वैदिक ज्ञानले आँपको रङ्ग, स्वाद, छाम्दा महसुस हुने नरमपन, वासना आदिबारे हामीलाई अनुभूति गराउँछ । जसको लागि हाम्रा इन्द्रियहरू र चेतना उपयोगमा आउँछन् ।


वैदिक सूचनाहरूमा उक्त समयमा आँपको रङ्ग, रसिलोपनको तपाईंको आँखा अगाडि घुमेको चित्र, तपाईले महसुस गर्नुभएको वासना, आँप खाने इच्छा र चाखिहेर्दा अनुभूति भएको गुलियो, अमिलोपन आदिले तपाईमा छाडेको असरको अनुभूतिबाट प्राप्त अनुभवको समेत लेखाजोखा राख्ने गर्छ ।


मानिसले अनुभूतिबाट प्राप्त गर्ने अनुभवलाई मानिस कुन अवस्था र सन्दर्भ बाट गुज्रिरहेछ, त्यसको निकै ठूलो असर हुने गर्छ । उदाहरणका लागि यदि उक्त समयमा तपाईँ भरपेट आँप खाइसकेर बस्नुभएको अवस्था रहेछ भने तपाईँलाई त्यो आँपको नत वासनाले लोभ्याइरहेको हुन्छ, न खाने इच्छा नै जागेको हुनसक्छ । यस अर्थमा अनुभूतिका साथसाथ सन्दर्भसमेत महत्त्वपूर्ण हुने ठानी तिनीहरूको सूचना राख्ने गर्छ, वैदिक ज्ञान । सबैलाई समग्रमा ‘कन्सस्नेस’ वा चेतना भनिएको छ ।


विज्ञानले कुनै पनि वस्तुबारे हामीलाई पहिचान गराउन निकै ठूलो सहयोग गर्ने गर्छ । वैदिक ज्ञानले उक्त वस्तुले हाम्रो निजी र सामाजिक जीवनमा पुर्‍याउन सक्ने प्रभाव, विभिन्न सन्दर्भको महत्त्व, मूल्य तथा अर्थबारे जटिलतम सूचनाबारे हामीलाई सचेत पारिदिन्छ ।


आजको ‘कटिङ ऐज’ दुनियाँको सैद्धान्तिक र व्यावहारिक अनुसन्धानहरू विज्ञान र वैदिक ज्ञान नियमित जरुरतका विषय बनेका छन् । जब अनुसन्धान निकै गहिरो र जटिल मोडमा पुग्छ, वैदिक ज्ञानले राख्ने सूचनाको लेखाजोखाबाट अनुसन्धानकर्ता तुलनात्मक रूपमा निकै चाँडो अनुसन्धानको निचोडमा पुग्ने गरेको भेटिन्छ । विज्ञानका क्षेत्रमा लागेका नयाँ पिढीका लागि वैदिक ज्ञान नयाँ सुवर्ण अवसर हो । जुन आजको हाम्रो नयाँ पिढीसँग पुग्न सकिरहेको छैन । पुर्‍याउन जरुरी छ ।


वेद, उपनिषद र पुराण आदिबारे जान्न पहिले श्रुति र स्मृतिबारे जान्नु जरुरी छ । शास्त्रको सुरुवात बिन्दुका बारेमा जानकारी नरहेको परम्परागत रूपमा सुन्दै वा सञ्चारित हुँदै आएको शास्त्रलाई श्रुति भन्ने गरिन्छ । जस्तै– वेद र उपनिषदहरू श्रुति हुन् । यो विश्वास गरिन्छ कि वेदको ज्ञान अलौकिक हो ।


मतलब वेद कुनै व्यक्तिको सम्झना वा लेखनद्वारा तयार गरिएको नभई श्रष्टा सन्त तथा ऋषिहरूले समय क्रममा सिधै ब्रह्मबाट प्राप्त ज्ञान परम्परागत रूपमा लिपिबद्ध हुँदै शास्त्रको स्वरुपमा विकसित बनेको हो । ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद गरी चारवटा वेद छन् । वेदजस्ता अलौकिक ज्ञान अध्ययनबाट विकसित मानव अन्तर–ज्ञानको उपयोग गरिँदै व्यक्तिको सम्झना वा लेखनद्वारा तयार गरिएको शास्त्रलाई स्मृति भनिन्छ । जस्तै– वेदाङ्ग, उपवेद, उपांग, धर्मसूत्र, पुराण, रामायण, महाभारत आदि सबै स्मृति हुन् ।


वेदमा कुनै पनि संस्कृति विरोधी, समाज विरोधी, दर्शन वा धर्म विरोधी कुण्ठा, इर्ष्या, कुटिलता, घृणा वा तिरस्कार छैनन् । छ त व्यक्तिगत र समाजको समेत लाभ पुग्ने जीवनको अर्थ, अस्तित्व लगायतका व्यावहारिक ज्ञानका विषयहरू । अर्को मुख्य चुरो कुरा वेद कुनै अमूक संस्कृतिको वा धर्मको ग्रन्थ हैन । यथार्थमा हिन्दु, जैन र बुद्धजस्ता संस्कृति र दर्शनहरूमा वैदिक ज्ञानको निकै प्रगाढ प्रभाव भेटिन्छ ।


वेदको आधिकारिक प्रयोगात्मक ज्ञान र अवधारणा जान्न र मनन गर्न यसको अध्ययन जरुरी छ । वेदको नत अध्ययन, न मनन गरेका कतिपय धर्मगुरुहरूले वेदका व्यावहारिक, आधिकारिक र प्रमाणिक ज्ञानबाट विचलित गलत सूचना सञ्चार गरिदिँदा अक्सर वेद विवादास्पद बन्दै सामाजिक सर्व–स्वीकार्यता गुमाउँदै गएको भेटिन्छ ।


वेदपश्चात् प्रचलनमा ल्याइएका स्मृति शास्त्रहरूमा वेदको मर्मको निरन्तरता रहेको भनी वेदबारे जिज्ञासा राखिँदा, स्मृति शास्त्रहरूको उद्धरण गरी जवाफ फर्काउने हाम्रो गलत अभ्यासले वेदलाई विवादास्पद बनाइदिएको छ । धार्मिक भक्तिका नाममा गुरु आशक्ति अभिवृद्धि गर्ने नियतमा वेदमा उल्लेख गरिएको भन्ने दुहाइ दिँदै नियमित उपाङ्ग, धर्मसूत्र, रामायण, महाभारत, पुराणहरू पाखण्डीपूर्ण वाचन गरिने र यसरी वाचन गर्ने धर्मगुरुहरू अद्वितीय, अभिजात, ईश्वरको दूत हुने धारणाले वेदप्रति नयाँ पुस्ताको विकर्षण हुनुको प्रमुख कारक बनिदिएको छ ।


वैदिक ज्ञान यथार्थमा मानिसको दैनिक सोच र कर्मलाई व्यक्तिगत तथा सामाजिक उत्थानको दिशा निर्देशका खातिर उपलब्ध उत्कृष्ट व्यावहारिक ज्ञान हो । वैदिक ज्ञानले व्यक्ति र समाजको लाभ पुग्नेगरी निजी तथा सामाजिक गतिविधिहरू कार्यान्वयनमा नभई नहुने व्यावहारिक सोच विकास गर्न आवश्यक पूर्वाधार उपलब्ध गराउँछ भन्ने यथार्थ आजसम्म पनि हाम्रो समाजमा पुगिरहेको भेटिन्न ।


वेदको यथार्थता हाम्रो समाजमा वाचन गरिने र सुनाइनेभन्दा निकै भिन्न भेटिन्छ । नितान्त निजी र सामाजिक जीवनका व्यावहारिक पक्षहरू र सुदृढ मानव जीवनयापनमा अर्थ राख्ने स्वस्थता, खानपान, तन्दुरुस्ती, अर्थशास्त्र, राजनीति, संस्कृति आदिजस्ता सबै पक्ष व्यावहारिक ज्ञान समावेश छ, वैदिक ज्ञानमा ।


आजका दिनको मानिसको जीवनयापनलाई उल्लेखनीय रूपमै सरलीकृत पार्न सफल बनेको विज्ञानले आगामी पुस्ताको रोजाइ र आवश्यकताको पूर्ति गर्न जरुरी पर्न गएको सीप, ज्ञान र प्रविधि पहिल्याउन वैदिक ज्ञानको सहारा लिँदैछ । यसै प्रयोजनका लागि विज्ञानले मानवीय बुद्धि, मन र सचेतनाको भौतिक वस्तुसँगको सम्बन्धको सिद्धान्त प्रतिपादन गर्नेतर्फ समय खर्चिरहेको छ ।


प्रकृति, समय र भौतिक वस्तुहरूको चेतनासँगको सान्दर्भिकता विकास गर्न अब वैदिक ज्ञानको उपयोग गरिनुपर्ने बेला आएको छ । जुन हाम्रो रैथाने परम्परागत कौशल र कार्यशैलीको विश्व समृद्धिका लागि आवश्यक महसुस गरिएको छ ।


लेखक क्यानाडामा कार्यरत खाद्य वैज्ञानिक हुन् ।

प्रकाशित : श्रावण ११, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?