विश्व राजनीतिका बदलाव

प्रेमसिंह बस्न्यात

संसारको राजनीतिको चक्र घुम्ने क्रममा फ्रान्सको राज्य क्रान्ति, युरोपको औद्योगिक क्रान्ति, प्रथम र दोस्रो विश्वयुद्धले निकै तलमाथि पार्‍यो । खासमा, दोस्रो विश्वयुद्धले उपनिवेश र दासत्वको युगबाट ‘मानव युग’ मा बदल्यो । त्यसपछिका दिनहरूमा सार्वभौम देशहरूको पुनर्जन्म भयो भने मानिसको लागि विभिन्न अधिकारहरूको व्यवस्था गरियो ।

विश्व राजनीतिका बदलाव

धनी देशहरूले चलाएको सामन्ती युगलाई मानव युगमा परिवर्तन गरिएको यस पाटोलाई ‘मानवताको लागि भएको विश्व राजनीतिक स्वरुप’ मान्न सकिन्छ । पहिलो र दोस्रो विश्वयुद्धमा हतियार प्रयोग र दोस्रो विश्वयुद्धका विजेता देशहरूले राजनीतिक आस्थाका आधारमा साम्यवाद र पुँंजीवाद गरी दुई ध्रुवमा बाँडेर संसारलाई शीतयुद्धकालीन अर्धसामन्ती व्यवस्थामा ढाले ।

धनी राष्ट्रहरूले संसारलाई हतियार, बम, हमलाको त्रासमा राखे । केही राष्ट्रहरू भने असंलग्न परराष्ट्र नीतिमा लागे । साम्यवादी धारको सोभियत संघ र पुँजीवादी धारमा अमेरिकाका पकडमा दुई ध्रुवीय विश्व राजनीतिको जन्म भयो । यसले कोरिया, भियतनाम, जर्मनी, भारत, मध्यपूर्व, अफ्रिका, चीन लगायतका कतिपय देशहरूलाई टुक्र्याइदियो पनि । जर्मनी बाहेक अरु देशहरूको प्रायजसो वर्तमान द्वन्द्व भनेको त्यही शीतयुद्धकालीन समयका अवशेष हुन् । अमेरिका धनी र चलायमान बन्दै गयो भने सोभियत संघ गरिब बनी अन्ततः टुक्रिएर र रूस नामको देश बन्यो ।

शीतयुद्धको स्मारकको रूपमा रहेको बर्लिनको पर्खाल ढालियो र एउटै जर्मनी बन्यो । अनि शीतयुद्ध काल समाप्त भई अमेरिकाको एकल ध्रुवीय विश्व राजनीतिको जन्म भयो । अनि संयुक्त राष्ट्रसंघ माथिको पकड पनि अमेरिकाकै हातमा पुग्यो । अमेरिकी चाहनामा संयुक्त राष्ट्रसंघ बग्न थालेपछि यसको विश्वसनीयतामा ह्रास आउन थाल्यो ।

हतियारको व्यापारले अमेरिकी अर्थतन्त्र अझै सुध्रियो र आफ्ना मित्र र शत्रु, चिनेका–नचिनेका हरेक राष्ट्र वा आन्तरिक द्वन्द्वकर्ताहरूसम्म पनि हतियार व्यापार गर्ने संस्कारले संसारमा आतंकवाद अर्थात अति कमजोर समूहले अति बलियो दुश्मनमाथि मार गर्ने युद्धकला ‘एसेमेट्रिक वारफेर’ बढे ।

एकल ध्रुवीय राजनीति कालमा विशेषगरी भारतले आफूलाई विकास केन्द्रित राजनीतिमा लगायो भने चीन चुपचाप बसेर शीतयुद्धकालीन ब्यारेकलाई औद्योगिक कारखानामा र रेड आर्मीहरूलाई सीपपूर्ण नागरिक बनाई आफ्नो विकासमै केन्द्रित रह्यो । मध्यपूर्वका मुलुकहरूमा भने व्यापक अशान्ति जन्मिए, अफ्रिकी मुलुकहरूमा जातीय र धार्मिक गन्ध फैलाएर अकल्पनीय नरसंहार भए । ती द्वन्द्वहरूले अमेरिका लगायत हतियार उत्पादन गर्ने शक्तिराष्ट्रहरूलाई निकै फाइदा दिलायो ।

सन् १९९० को अन्त्यमा आइपुग्दा पश्चिमा जालझेलमा इराकी राष्ट्रपति सद्दाम हुसेनलाई ग्रेटर इराकको अवधारणामा उक्साएर कुवेतमाथि हमला गराइयो । त्यस लगत्तै अमेरिकी नेतृत्वमा इराकबाट कुवेतलाई स्वतन्त्र गराउने नाममा, राष्ट्रसंघको स्वीकृति लिएर पहिलो खाडीयुद्ध सुरु भयो र कुवेत स्वतन्त्र बन्यो । बर्लिनको पर्खाल ढलेपछि अमेरिकाले अरु राष्ट्रको बाधा–व्यवधान विना नै हमला गर्न पाएको यो पहिलो अवसर थियो । जसमा अमेरिकी सैनिक उपकरण र सेनाको श्रेष्ठता विश्वमै एकछत्र रह्यो ।

परम्परादेखि दोस्रो विश्वयुद्धसम्म मानवशक्ति प्रयोगमा युद्ध गरेको विश्व सैनिक संस्कारलाई चिरेर पहिलो खाडीयुद्धले विश्व सैन्य उपकरणमा नयाँ आयाम जन्मायो र अमेरिका झनै एकल ध्रुवस्य विश्वको शक्तिकेन्द्र बन्यो । तेलको भण्डार रहेको मध्यपूर्वलाई आफ्नो नियन्त्रणमा लिँदै गर्दा इराकमाथिको दोस्रो हमलापछि त अमेरिका झनै बलियो बन्यो । पहिलो खाडी युद्धपछि नै अमेरिका बाहेक अन्य मुलुकहरूले सैनिक संख्या र व्यारेक कटौती गरेर सैन्य उपकरण बढाउन लागे । त्यसबाट पनि अमेरिकालाई आर्थिक फाइदा भयो ।

एकल ध्रुवीय विश्व राजनीतिमा गिरावट

सेप्टेम्बर ११ मा अमेरिकामा अलकायदाहरूले हमला गरेपछि संसारको राजनीतिमा दुई घटनाले स्थान पाउँछन् । पहिलो, विश्व आतंकवादमा नयाँ तरिकाको सुरुवात र दोस्रो, अमेरिकी शक्तिको ह्रास । संसारमा आतंकवादको वृद्धि भयो । गैरसैनिक सामग्रीलाई सैनिक प्रयोगमा लगाई जन–धन क्षति गर्ने कलाको प्रयोग अनि परम्परागत तरिका र साधनले आतंकवादमा कुनै बन्देज राखेन ।

आजका दिनहरूमा राज्यविहीन शक्तिहरू र आन्तरिक द्वन्द्वको जगजगी हुनुमा ९/११ को नजिरले ठूलो काम गरेको छ । अर्कोतर्फ अमेरिकाले तुरुन्तै ‘वार अन टेरर’ घोषणा गरी अफगानिस्तान विरुद्ध हमला गर्छ र यो युद्ध ‘जित्न नसक्ने युद्ध’मा परिणत भएपछि अमेरिकी शक्ति श्रेष्ठतामा ह्रास सुरु हुन्छ ।

त्यसपछि अमेरिकाले दोस्रोपटक इराकमाथि हमला गर्न ‘प्रमाणविहीन आरोप’ लगाएर अमेरिकी राष्ट्रपति जर्ज बुस र बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले झुटको खेती गर्छन् । त्यसले अमेरिकी साख झार्छ । राष्ट्रसंघले इराकमाथि दोस्रोपटक हमला ‘नगर’ भन्दाभन्दै जबर्जस्ती हमला गरेर सद्दाम हुसेन र इराकलाई बर्बाद पारिन्छ । यसले राष्ट्रसंघको अस्तित्वलाई नै समाप्त पारेको भान हुन्छ ।

अन्तर्राष्ट्रिय र राष्ट्रिय कानुनमा नजिर हेर्ने हो । पहिलो विश्वयुद्धपछि जन्मेको ‘लिग अफ नेसन्स’ले जुन दिन हमला नगर भन्दा पनि जर्मनीले पोल्यान्ड विरुद्ध हमला गरेर दोस्रो विश्वयुद्धको सुरुवात हुन्छ, त्यसपछि नैतिकताको आधारमा लिग अफ नेसन्सको भंग हुन्छ ।

यो नजिरलाई समात्दा इराकमाथिको दोस्रो हमला रोक्न असफल बनेको राष्ट्रसंघको वैधानिकतामाथि पनि प्रश्न उठेको छ । शीतयुद्धकालीन समयमा राष्ट्रसंघ बढी विश्वासिलो र शक्तिशाली थियो । आजको दिनमा संसारको बुझाइ के छ भने ‘अमेरिका र संयुक्त राष्ट्रसंघ भनेको एक सिक्काको दुई पाटा हुन्’ ।

त्यसपछि आएर सिरिया, लिबिया, टर्की, हाइटी, क्युबा, भेनेजुयला, उत्तर कोरिया, साउथ चाइना सी, युक्रेन लगायतका अमेरिकी रणनीतिले उसलाई विस्तारै संसारबाट एकल्याउँदै लगेको छ । दोस्रो विश्वयुद्ध पहिला बेलायतले लिएको विश्व रणनीति र हाल अमेरिकाले लिएको रणनीतिको रूप फरक हो, तर सार उस्तै छ ।

अर्कोतर्फ ‘वार अन टेरर’ ले संसारकै मुस्लिमहरू अमेरिका विरोधी बन्दै जानु भनेको एकल ध्रुवीय शक्तिको पतन हुनु हो । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रमको व्यक्तिगत र नीतिगत कारणले त झन् अमेरिका एसिया र युरोपबाटै आलोचित बन्दै गएको छ । अरुको होइन, आफ्नै कारणले अमेरिका विश्व राजनीतिबाट टापु बन्दै गएको प्रस्टै देखिन्छ ।

नयाँ देखिएको विश्व राजनीतिक स्वरुप

आज आएर संसारले के बुझ्यो भने अमेरिकी रणनीति अनुसार उसले उत्तर कोरियाली हाउगुजी देखाएर दक्षिण कोरिया लगायतका दक्षिणपूर्वी एसिया, रूसको डर देखाएर पश्चिमी युरोप र इरानको हाउगुजी देखाएर मध्यपूर्वमा आफ्नो हतियारको व्यापारसहित सैनिक उपस्थित गराउन चाहन्छ । युद्ध व्यापारमा घाटा बढेर हाल अमेरिका संसारको सबैभन्दा ऋणी राष्ट्र बनिइसकेको छ ।

अर्कोतर्फ चुपचापमा रहेका चीन, रूस र भारतको आर्थिक वृद्धि हुँदैछ । यी ३ वटा देशहरूको सामिप्यता बढिरहेको देखिन्छ । हालै एसिया क्षेत्रमा अमेरिकाले बढाएको इन्डो प्यासिफिक स्ट्राटेजीलाई शीतयुद्धकालीन समयको पुनरागमनको रूपमा लिइएको छ । रूससंँगको रणनीतिक सम्बन्ध र इरानको तेलको कारण अनि चीनसँंग नमिलेका सीमा विवादलाई थाती राखेर भारतले अमेरिकी रणनीतिमा मात्र लाग्न सजिलो छैन । वर्तमान अमेरिकी रणनीतिकै कारण चीन, भारत र रूसको मिलनलाई नजिक ल्याएको हो भन्न सकिन्छ ।

भारत, चीन र रूस बीचको त्रिकोणात्मक सम्बन्ध विस्तार हुँदै गयो भने अवश्य पनि संसारको राजनीतिक शक्तिकेन्द्र यसैको वरिपरि घुम्नेछ । भारतको रणनीतिक भूमि, चीनको धन र रूसको हतियारले एउटा बलियो संगठन बन्न सक्नेछ र संसारको शक्ति एसिया केन्द्रित हुने सम्भावना प्रबल छ । अमेरिकी पकडको एकल ध्रुवीय विश्व राजनीतिको भविष्य चिरायु देखिँदैन ।

लेखक नेपाली सेनाका अवकाश प्राप्त सहायक रथि हुन् ।

प्रकाशित : श्रावण ११, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?