२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

ऊ नसामा फँसिसकेछ

सुभेच्छा भण्डारी

छ पल्याङ– विकासको पूर्वाधारमा बनेको ठूलो पानी जमेको खाडलमा विशाल काय भएको सेतो चारपांग्रे मोटरको एउटा पाङ्ग्रो अड्कियो । ६ वर्षे कान्छो भरर्र फुला उठेका मकै भएको थाल छोडेर, कट्टु समाउँदै त्यही खाडलतर्फ दगुर्‍यो । आत्तिँदै दगुर्‍यो । हर्सित हुँदै दगुर्‍यो ।

ऊ नसामा फँसिसकेछ

नदगुरोस् पनि किन, त्यो उसको सबैभन्दा मनपर्ने मोटर थियो । टिलिक्क टल्किएको रातो र पिरो मकैफुला ल्याउने मोटर । घरको जस्तो साधा र फिक्का हैन ।


डाँको ठूलो थियो । पल्लो भवनबाट वल्लो भवनसम्म सुनिने । हाजिरी मात्र भए पनि लिएर निस्कन्छु सोचेर हाजिरी कापी खोल्न नपाउँदै मिस भनेर गुञ्जिएको चिच्याहटले हाजिरी कापी त्यहीँ छोडेर अर्को भवनतिर दौडिन आह्वान गर्‍यो । पुस्तकालय बाहिर ठूलो भिड थियो । सबैका आँखा आश्चर्यले बडेमानका भएका ।


मानौँ जादुगरको जादुमा तल्लिन थिए । भिडलाई छिचोल्दै म भित्र पसेँ । कति त म भित्र पस्ने क्रमको ठेलमठेलमा होशमा आए । कतिलाई भने वरपर के भैरहेछ चेत थिएन । टमक्क मिलेका दाँतजस्तै सजिएका किताबका र्‍याकहरूको बीचमा, चकटी–चकटी जोडेर बनाइएको सुत्नलायक डसनामा लम्पसार थिइन् उनी । गहुँगोरो वर्ण, सानो कध र हँसिलो अनुहार भएकी उनको आँखामा यो तेस्रोपटक आँसु देख्दै थिएँ म ।


आँसु बगिरहेका ती आँखा छट्पटीमा बन्द थिए । बिरामी सम्हाल्न बसेका कुरुवालाई सम्हाल्न अर्को आधा दर्जन सहयोगी हात जुटाउन पर्ने जस्तो अवस्था थियो । दुखाइ पेटको थियो भन्ने आँकलन गर्न सकिन्थ्यो । ती कलिला हातले तल्लो पेट निचोर्दै थिए । पेट निचोर्दा–निचोर्दै त्यो सर्टमा हाम्रो विद्यालयमा टुसा बेच्न आउने बाजेका चाउरी परेका गालाजस्तै मुजा परेका थिए । यो तेस्रो पटक थियो । उनी यसरी तड्पिएको । उनी पाँचौँ बिरामी थिइन्, सोही हप्तामा मात्रै ।


साधारण प्राथमिक उपचारपश्चात उनका सहपाठी साथीहरूसँगको अन्तरक्रियामा थाहा भयो कि २–३ पोका चाउचाउ बिना उनको दिन बित्दैनथ्यो । राता बुट्टा भएको सेतो खोलमा बेरिएको मैदाको ढिकोले त्यो दिन रातो बत्ती बल्ने सेतो गाडीलाई निम्तो दियो । त्यो दिन त गुड्ने एम्बुलेन्स आयो । दुई दिन अगाडि त चारजना हाड र छालाले बनेका हिँड्ने एम्बुलेन्सले कालो स्ट्रेचरमा काँधको छाला जानेगरी बोकेर स्वास्थ्यचौकी लगेका थिए । कति शक्तिशाली रहेछ, यो अजिनोमोटो भन्ने तत्त्व, खानेलाई मात्र नभएर उसलाई माया मान्ने सबैलाई सताउने ।


पहिला पनि रोग ठम्याउन नसकेको स्वास्थ्य संस्थाले त्यो पटक पनि विभिन्न दुखाइ कम गर्ने दबाइको पोकोसँगै पानी प्रशस्त पिउनु भन्ने सल्लाहसाथ घर फिर्ती पठायो । अजिनोमोटोले सिर्जाएको स्वादको दलदलमा फँसेकी उनी आज पनि चाउचाउको नाममा उजेली हुन्छिन्, अनि विगतको दुखाइको यादमा अँधेरी ।


विद्यालय आउँदा होस् वा घर फर्कँदा, पसलको त्यो झिलिमिलीले उनलाई डाकिरहन्छ । भन्छ, म बिना तिम्रो अस्तित्व छैन । म तिम्रो नसा–नसामा छु, कतिन्जेल मबाट आँखा छल्दै जान सकौली र ? दुखाइले सिर्जाएको त्यो विछोडमा चिन्तित हुँदै उनी आफ्नो बाटो लाग्छिन् । तर चाउचाउ भने ढुक्क छ, उनी दुखाइ बिर्सेको दिन फेरि आउँछिन भनेर ।


देशमा भएको तीव्र विकाससँगै गाउँ–गाउँका कुनाकन्तरामा, वर्षायाममा तीव्र गतिमा खनिएका धुलौटे बाटाले बाढी र पहिरोसहित चाउचाउका पोका र मकैका फुला भित्र्याउँदा आज विकास केलाई भन्ने म अनविज्ञ छु । आमाको दूध चुस्ने उमेरको बालक कोब्रा साँपझैँ प्लास्टिकभित्र बेरिएका जिब्रो रङ्गाउने तत्त्वमा तल्लिन हुँदा आउने पुस्ताले आमाको दूधको भारा तिर्ने संस्कृतिलाई अङ्गाल्न सक्लान् र भन्ने सोचले आज म वेचैन छु ।


आज पनि कान्छो त्यही सेतो मोटरलाई कुरिरहन्छ । मोटर अड्किन्छ भन्ने पीरले त्यति ठूलो खाडल आफ्ना ती साना हातले ढुङा बोक्दै पुरिसकेछ । त्यो रङ्गीचङ्गी फुला ल्याउने मोटरलाई बाधा नआओस् भनेर ऊ डोजर बनेर ढुङ्गा बोक्न तयार छ ।


ऊ आमासँग पाँच रुपैयाँ माग्छ र खर्चिन्छ, अजिनोमोटोको पोकोमा । ऊ कापीमा आफ्नै हातले रङगाएका बुट्टाभन्दा रसायनले जिब्रोमा भरिदिएका बुट्टामा रमाउँछ । आज उसको विद्यालय आउने मुख्य कारण भनेको त्यो मकैको फुला बनेको छ । ऊ त्यो फुलाबिना छट्पटिन्छ, एउटा प्रयोगकर्ता छट्पटिएझैँ लागुऔषध बिना ।


ऊ अजिनोमोटोको प्रयोगकर्ता भइसकेछ । ऊ यो सानो उमेरमै नसामा फँसिसकेछ । त्यही नसाबाट सिर्जित बेला–बेलाको दुखाइलाई कम गर्न कान्छोकी आमा उसलाई झाँक्रीकोमा लान्छिन्, कालो भाले काट्छिन् । देवीलाई चढाउँछिन् । अनि बिरामी छोराले तातो झोल खानुपर्छ भनेर ताततातो चाउचाउको सुप अगाडि टक्र्याउँछिन् ।


आजको हाम्रो आधुनिक समाज अजिनोमोटोको चक्रमा घुमिरहेछ । ढिँडो लुकाएर पाहुनालाई चाउचाउ पस्किँदा आधुनिकताको परिचय दिएको भान हुने समाजले आधुनिकतालाई खै कसरी परिभाषित गरेको होला ? अजिनोमोटोमा तल्लिन युवा पुस्तालाई त्यो नसाबाट मुक्त गर्न अब के सुधार केन्द्रकै आवश्यकता परेको हो त ?


लेखक टिच फर नेपालमार्फत श्री त्रिभुवन माध्यमिक विद्यालय, लमजुङमा अध्यापन गर्छिन् ।

प्रकाशित : श्रावण ११, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?