१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

बाढी

सिउँडी
विमल निभा

कमरेड माधवकुमार नेपालको घर डुबानमा परेको खबर सुनेर मलाई बडो दुःख लाग्यो । योभन्दा बढी म अरु के गर्न सक्छु ? त्यसैले आफ्नो दुःख प्रकट गर्न म उनीकहाँ जानै लागेको थिएँ, एक्कासी रोकिएँ । यसको कारण के हो भने यो चलन पुरानो भइसक्यो । अब ता दुःखको साटो सुख पो प्रकट गर्ने गरिन्छ क्यारे !

जे होस्, म कमरेड माधवकहाँ यसका लागि अर्थात् सुख प्रकट गर्न कहिल्यै गएको छैन । यस्तोमा म जस्तोलाई दुःख प्रकट गर्ने के अधिकार छ ? यही सोचेर म उनीकहाँ नगएको हुँ । तर यो एकदमसँग प्रकट हुन खोजिरहेको मेरो दुःखको के गरुँ म ? यसको दुई उपाय हुनसक्छ ।


एक, यसलाई बेसरी थिचथाच पारेर प्रकट गर्ने झन्झटैबाट मुक्त हुन सकिन्छ । तर यो मलाई त्यति व्यावहारिक लागिरहेको छैन । र अर्को उपाय के भने मैले एकैचोटी माधव कमरेडकहाँ नगएर उनकै गुटको कुनै कमरेडकोमा दुःख प्रकट गर्न किन नजाने ? यही दोस्रो सोचबाट नै राम्ररी काम चल्ने भएकोले म आफ्नो दुःखसहित घरबाट निस्किएँ ।


यसका लागि मैले धेरै परसम्म हिँंड्नु परेन । किनभने मेरो टोलमा एक माधव गुटका कमरेडको घर रहेको छ । (पेट्रोल पम्पनेर) । त्यहाँ पुगेर मैले कलबेल थिचेंँ । एक अपरिचित अनुहारले ढोका खोल्यो । र उसले मलाई अपरिचयको भावले सरसर्ती हेर्‍यो । मैले पनि सोही प्रकारले उसलाई हेरेँं । त्यसपछि पनि हाम्रो अपरिचय कायम नै रहेकोले मैले भनेंँ, ‘यो कमरेडको घर हो ?’


‘कुन कमरेड ?’ उसले उल्टै मसँग नै प्रश्न गर्‍यो ।

‘कमरेड फलानाको घर

होइन यो ?’

‘होइन, यो त कमरेड ढिस्कानाको घर हो ।’


यो कस्तो संयोग पर्‍यो भने कमरेड फलानाजस्तै कमरेड ढिस्काना पनि माधव गुटकै कमरेड हुन् । कुनै विजातीय कमरेड होइनन् । मेरो भन्नुको मतलव के हो भने उनी ओली गुट अथवा प्रचण्ड गुट अथवा झलनाथ गुट अथवा वामदेव गुट अथवा नारायणकाजी गुटका नभएर खासा माधव गुटका कमरेड हुन् । अझ कमरेड ढिस्कानालाई माधव गुटमा कमरेड फलानाभन्दा उच्च स्तरको गुटीय कमरेड मानिने गरिन्छ । त्यसकारण मैले कमरेड ढिस्कानालाई नै भेटेर आफ्नो दुःख प्रकट गर्ने निधो गरेँं । अँ, कमरेड ढिस्कानाको घर पनि यही टोलमा रहेको थाहा थिएन, अब थाहा भयो ।


कमरेड ढिस्कानाको घरमा निकै चहलपहल थियो । केही महिला र बच्चाहरू यताउता गरिरहेका थिए । एक प्रकारको रमाइलो वातावरण थियो । (यस्तै लाग्यो) । केही बेरपछि के थाहा पाएँ भने आज कमरेड ढिस्कानाको जन्मदिन हो । धत्तेरिका ! म त विलकुलै गलत समयमा आफ्नो दुःख प्रकट गर्न आइपुगेको रहेछु । त्यसैले फर्कन के लागेको थिएँ, कमरेड ढिस्काना देखापरे ।


‘आउनोस्, आउनोस् ।’ उनले अघि बढेर भने, ‘कहाँ जान लाग्नुभएको ?’

‘माफ गर्नोस्, मलाई कमरेडको जन्मदिन भनेर थाहा थिएन ।’ मैले विस्तारै भनेंँ, ‘म त दुःख प्रकट गर्न आएको हुँ कमरेड ।’

‘कस्तो दुःख ?’ उनी एकाएक सतर्क भए ।


‘मैले आज बिहानै कमरेड माधवको घर डुबानमा परेको सुनेंँ ।’ मैले दुःखपूर्ण अनुहार बनाएर कमरेड ढिस्कानाको अनुहारमा हेरेँं ।

‘कुन घर ?’ उनी पनि मेरो अनुहारमा हेरिरहेका थिए ।


‘माधव कमरेडको गौरमा रहेको घर डुबानमा परेको होइन कमरेड ?’

‘ए, तराईको घर, त्यो घर डुबेर के भयो ?’ उनी मुस्कुराए, ‘यहाँका घरहरूलाई त केही भएको छैन नि ।’

‘कहाँका घर कमरेड ?’


‘नयाँबानेश्वरको घर, कालिमाटीको घर, महाराजगन्जको घर, कमलादीको घर, भैंसेपाटीको घर, बसुन्धराको घर, जोरपाटीको घर, बूढानीलकण्ठको घर, कलंकीको घर, थानकोटको घर, त्रिपुरेश्वरको घर, नयाँसडकको घर, बौद्धको घर, जावलाखेलको घर, चावहिलको घर, पुतलीसडकको घर, कपनको घर, दरबारमार्गको घर ।’


‘कमरेड माधवका घरहरू ?’ मेरो स्वरमा आश्चर्य थियो ।

‘होइन, मेरो घर । (हाँसेर) तर छाड्नोस् घर–सरको कुरा ।’ उनले मेरो हात समातेर भने, ‘आज मेरो जन्मदिन हो ।’


यसपछिको कुरो के हो भने मैले जन्मदिनको उपलक्ष्यमा माधव गुटका कमरेड ढिस्कानालाई ‘ह्याप्पी वर्थ डे टु यु’ भन्नुपर्‍यो । यसको बलमा उनले मलाई बैठक कोठामा लगेर केकको एक ठूलो टुक्रा खुवाए । (यति नै) । अब यसलाई म आफ्नो शौभाग्य भनुँ अथवा दुर्भाग्य, म गएको थिएँ, कमरेड माधवकुमार नेपालको घर डुबानमा परेको दुःख प्रकट गर्न, तर स्वादिष्ट केक खाएर ‘ह्याप्पी वर्थ डे’ भनी आफ्नो घर फर्किएँ ।

प्रकाशित : श्रावण ४, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?