कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अपरिचित रूप, अपरिमेय डर

सुभेच्छा भण्डारी

‘तिम्रो जस्तो मुटु मेरो पनि...नबोलाउ मलाई निठुरी भनी...’, पृष्ठभूमिमा नारायण गोपालले आफ्नो स्वरको जादुले गीतमा समेटिएका हरेक शब्दलाई इन्साफ दिँदै थिए भने मचाहिँती शब्दहरूमा रमाउँदै लेसन प्लानिङलाई इन्साफ दिने प्रयासमा तल्लिन थिएँ ।
कपासझैँ मुलायम आफ्नै दुनियाँमा रमाउने ती बादलहरू त्यो दिन खै कोसँग रुष्ट थिए।

अपरिचित रूप, अपरिमेय डर

काला र निला हुँदै रुन्चे अनुहार बनाउँदै हरिया डाँडासँग सहयोगको अपेक्षा गर्दै थिए । तिनीहरूको भलाकुसारी धेरै बेर नै चल्यो । डाँडाले पनि त्यो दिन ती बादललाई आफूसँगै बस्ने निम्तो दिएछन् कि खै बादल त्यहाँबाट हटेनन् । बेलुका पखको त्यो सिरेटोले अनुहारभरि छरपस्ट पारिदिएको कपाल र भुइँभरि खलबल पारिदिएका कापीका पानालाइ समेट्दै गर्दा घडीले सवा सात भएको संकेत गर्‍यो । सोचेँ आजलाई यति नै ।

बरन्डासँगको दुई घन्टाको साथपछि कापी–किताबको सानो चाङ बनाएर कोठामा छिर्ने मेसोमेलो गर्दा नगर्दै एउटा अन्जान आवाजले मेरो होश उडाइदियो । ‘नानी, घरमा एक्लै हौ ?’ नौलो अनुहार न कहिल्यै देखेको नत भेटेको । अनुहारमा फिँजारिएका रेखाहरू देख्दा लाग्यो, अर्धशताब्दी पार गरेर रमाइरहेको वा किशोरावस्थाका दिन सम्झेर बुढेसकाल लाग्दाको दुःखमा छट्पटाइरहेको पुरुष चरित्र हुनुपर्छ ।

जति भयानक प्रश्नलाई पनि सजिलै हल गरेर परीक्षा कोठाबाट निस्कने मलाई त्यो प्रश्नले पहाडझैँ थिच्यो । अन्जान मुखबाट निस्किएको प्रश्न भएर पनि होला । हुन त बोर्ड परीक्षामा प्रश्नपत्र निकाल्ने शिक्षक ’नि सबै परिचित कहाँ हुन्थे र ? मुटु पृथ्वी हाइवेमा ड्राइबरले कुदाएको हाइसझैँ हाँकिन थाल्यो । पावरलेसनेस स्वस्तिका दिदीले इन्स्टिच्युटमा कैयौँपटक उच्चारण गरेको शब्दको अर्थ त्यो दिन सिँढीमा मलाइ घोरिएर हेर्दै प्रश्न गरेको व्यक्तिलाई देख्दा मैले महसुस गरेँ ।

उत्तरमा के भनुँ ? मुटुको रफ्तारलाई उछिन्दै मस्तिष्कको रफ्तारले जित हासिल गर्‍यो । त्यो दिन थाहा भयो, हाम्रो मस्तिष्क कति रफ्तारमा चल्छ भनेर । केही सेकेन्डको अवधिमै सयौँ विचारहरूको ओइरो लाग्यो । महेन्द्रपुलको भिडलाई छिचोल्दै ५० प्रतिशत सेल लागेको दोकानमा आत्तिँदै पुगेको व्यक्तिझैँ एउटा विचारले मस्तिष्क हुँदै मुखसम्म बाटो बनायो । फ्याट्ट जवाफ आयो, कहाँ एक्लै हुनु, हुनुहुन्छ नि अरू पनि । केही काम थियो र ? भोलि आउनुहोस् न । बाआमा आउन अलि ढिला होलाजस्तो छ ।

धान बारीको बीचमा घर अनि एक्ली म । आमा र बा कुनचाहिँ आफन्त बिरामी परेर उतै बस्नेगरी जानुभएको थियो र सहकर्मी साथी भने राजधानी । मेरो उत्तरपश्चात त्यो व्यक्ति चारैतिर आँखा डुलाउँदै मुस्कुराउँदै सिँढीबाट ओर्ली तगारोतर्फ लाग्यो । सूर्यले पनि त्यतिन्जेलसम्म बिदाइ मागेर डाँडापारि गैसकेको थियो। मेरो मुटुमा सिर्जिएको भयावह अवस्थाको जानकारी र मस्तिष्कमा उब्जिएका परिकल्पनाको भेउमात्र मलाई थियो र म छु यहाँ भन्दै मैतिर ढल्किएर म बस्ने धन्सारलाई घेरिरहेका धानलाई ।

मन र मस्तिष्कको रफ्तार सँगसँगै हातको रफ्तारले पनि बढाउँदै कापीको चाङलाई उठाउँदै कोठाभित्र पसेँ । ढोका र झ्याल बन्द गरेर तिनको निरीक्षण गरिसकेपछि ढोका छेउमा आएर बसेँ। जेको डर थियो, त्यही भयो । मोबाइल खोलेर हेर्छु, मेरो होशजस्तै त्यसको टावर पनि उडेको रैछ । हुन त बरन्डामा त नटिप्ने टावर कोठाभित्र, म पनि सपना देख्दै थिएँ । ग्यालेरी खोलेर भएभरका पावर र मोटिभेसनका कोट्स पढ्न थालेँ । तर आँखाले जति नै कोट्स पढे पनि मस्तिष्कमा सावधान इन्डियाका कथा र विद्यार्थीहरूले मिस, हजुर बस्ने घरमा त डरलाग्दो घटनाहरू भाछ भन्ने कुराहरू घुम्न थाले ।

आँखाले मोबाइलको स्क्रिन बाहेक केही हेर्न खोजेन । लेखेर पठाएका एउटा मेसेज डेलिभर भएनन् । ढोकामा बसेर मोबाइल हेर्दाहेर्दा डेढ घन्टा भयो । आँखा पोल्न थाले । घाँटी मरुभूमिझैँ सुक्खा भयो । तर ज्यानले पानी ल्याउने त के ढोका खोल्नेसम्म पनि आँट गरेन । मुटु ज्वालामुखीझैँ पोलिरहेको थियो । त्यही छट्पटीमा अर्को आधी घन्टा पनि बितेछ । केही बेरपछि आँगनमा सर्याक् सुरुक् गरेको आवाजले मेरो शरीरको तापक्रम बढाइदियो ।

लाग्यो, रगत उम्लेर नसा राफमा जलिरहेछन् । बाँच्नुछ भने एक मिनेटमा जे गर्छस् गर, आफूलाई बचाउन भनेझैँ मैले भकारी पछाडि भएको गोर्खालीले दुश्मनको घाँटी छिनालेपछि नपखाली राखेर खिया लागेको खुकुरीजस्तै खुकुरी झिकेर हातमा समाएँ । अनि विस्तारै गएर बत्ती निभाएर खाटमा पल्टिएँ ।

आँगनबाट सिँढीतर्फ आउँदै गरेको आवाज बरन्डानिर आएर रोकिएको आभास भयो मलाई । लामो श्वास फेरेर आफूलाई होशमा ल्याउने प्रयास गरेँ । सपना भैदियोस् भनेर प्रार्थना पनि गरेँ । तर त्यो नितान्त विपना नै थियो। मेरै ढोका अगाडि आएर रोकिएका ती पाइलाले खै कस्तो कदम अघि सार्ने सोचमा थिएँ । शरीरमा बढेको त्यो तापक्रमले मेरा भावहरूलाई पगालिदिए र आँखाबाट खोला बनेर कानको बाटो गर्दै घाँटी बनेर सिरानीमा मिसिन गए मेरा भावहरू ।

एउटा हातमा खुकुरी र अर्को हातमा मोबाइल। आँसु पुछ्नलाई कुनै हात बेरोजगार थिएनन्, त्यो रात । बादलले जति रुष्ट भए पनि त्यो दिन किन आँसु झारेनन् भनेको त त्यो दिन रुने पालो मेरो थियो । ढोकामा आएको हल्का धक्काले मलाइ गेटसेटको पोजिसनमा बस्न आह्वान गर्‍यो । लामो सास तानेँ, फेरि खुकुरीलाई कस्सिएर समाएँ, अनि जुरुक्क उठेर सिधा बसेँ । लाग्यो, गोर्खालीकै सन्तति हुँ, आइलागे जे पनि गर्न सक्छु । तर त्यसपछि निकै बेरसम्म कुनै आवाज आएन । मन दह्रो पारेर खाटमा के पल्टिएकी मात्र थिएँ, पाइला अघि बढेर अर्को कोठा भएसम्म पुगी फर्किएँ ।

तर मेरो होश भने त्यो रातभर फर्किएन । हातमा खुकुरी लिएर काठको सिलिङतिर हेर्दै मन र मस्तिष्कमा हजारौँ कुरा खेलाउँदै बिहानको घामको झुल्कोको पर्खाइमा बसिरहेँ ।

घडीले ५ बजेको संकेत गर्न नपाउँदै र आमाबाको आवाज सुन्न नपाउँदै म जर्‍याक–जुरुक उठेँ। हातबाट खुकुरी के तल राख्न लागेको थिएँ, औँलाहरू त कुँजिएझैँ भए । औँलाका हरेक कोस दुखाइमा तड्पिरहेका थिए । तर पनि खुकुरी भुइँमा फालेर बाहिर निस्किएँ । नयाँ दिन अनि नयाँजीवन । नयाँ हिम्मत अनि नयाँ सिकाइ। डरलाइ जितेर त्यो दिन म त्यो कोठाबाट बाहिर निस्किएँ । आमाबालाई आँखा अगाडि देख्दा भक्कानो फुट्नेगरी रुन पनि मन लाग्यो, तर आँसु त राति नै सकिएछन् । त्यसैले मुसुक्क हाँसिदिएँ, अनि ठिक छ भनी जवाफ दिएँ, के छ मिसको प्रश्नमा ।

बादल पनि शान्त भएर डाँडासँग बिदाइ मागेर गइसकेछन् र म पनि शैक्षिक असमानता हटाउने लडाइँमा खुकुरी हैन, कलम लिई त्यस दिनको तयारीमा जुटेँ ।

लेखक टिच फर नेपालमार्फत श्री त्रिभुवन माध्यमिक विद्यालय, लमजुङमा अध्यापन गर्छिन् ।

प्रकाशित : श्रावण ४, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?