छाती चर्किंदा मन चस्किन्छ

काठमाडौँ — भर्खर नौ महिना पुगेकी छोरी घरमै छोडेर म कार्यालय जाने गर्छु । घरबाट निस्कने समय आमालाई भन्दा पहिले छोरीलाई थाहा हुन्छ । मैले लुगा लगाउन नपाउँदै उसले आफू दिनभरि छाडिने सुइँको पाइसकेकी हुन्छे । मुख अमिलो बनाउँदै फकाउन खोज्छे, ढोकासामुन्ने पुगेर थचक्क बसिदिन्छे ।

तर आमालाई छोरीसँग दिनभर बस्न कहाँ फुर्सद मिल्छ र ? घडीको सुईले दस बजाउँदा विद्युतीय हाजिरी दबाइसक्नुपर्छ, एक घण्टा लाग्ने बाटोमा डेढ–दुई घण्टा अगाडि नहिँडे कार्यालय पुगिँदैन । छोरीलाई हतार–हतार दूध चुसाएर घरबाट निस्कने गर्छु । भर्खर ‘आमा’ भन्न सिकेकी छोरीसँग साँझ छ बजेभन्दा अगाडि भेट हुँदैन ।


कार्यालयमा दिउँसो तीन–चार पटक मेरो छाती चर्किन्छ । त्यो बेला सबैभन्दा बढी पीडा महसुस हुन्छ, मुटु नै छियाछिया हुन्छ । घरमा छोरी आमाको दूध चुस्ने तलतलमा हुन्छे, यता आफूले शौचालयमा गई निचोरेर फाल्नुपर्छ । सरकारी कर्मचारीका हैसियतले बेतलबी प्रसूति बिदासहित जम्मा नौ महिना आठ दिन छोरीले आमासँग एकै छिन अलग नभइकन बिताई । आमाको दूध अमृतसमान त्यसै भनिएको होइन रहेछ । नौ महिनामा एक दिन पनि औषधी खुवाउनुपरेन । निकै स्वस्थ, फुर्तिली छे छोरी ।सबै कामकाजी आमाले मैलेजति बिदा बस्न पाउँदैन । निजी क्षेत्रमा कार्यरत आमाहरूको पीडा निकै हृदयविदारक देखिन्छ ।


मेरी साथी निजी क्षेत्रको एउटा कार्यालयकी सहायक अधिकृत स्तरकी कर्मचारी थिइन् । उनी मभन्दा दुई महिनापहिले आमा बनिन् । बच्चा जन्मिने दिनसम्म उनी कार्यालय गइन् । दिनभरि काम गरिन्, राति छोरो जन्मियो । निजी क्षेत्रको नियम बमोजिम उनले दुई महिना प्रसूति बिदा पाइन् । बिदा सकिएको भोलिपल्ट उनी कार्यालय पुग्दा उनको ठाउँमा अर्कै कर्मचारी राखिसकिएको रहेछ । सम्भव भएजति ठाउँमा भनसुन गर्दा पनि उनको सुनुवाइ भएन । अप्रेसन गरेकी सुत्केरी, दुई महिनामा काममा जाँदा पनि चित बुझाउने जवाफ नपाएपछि उनले जागिरै त्यागिन् ।


उनले मलाई सुनाइन्, ‘बिहान नौ बजेदेखि साँझ छ बजेसम्म गर्नुपर्ने काम गर्छु भनेर जाँदा पनि हाकिम सा’बलाई चित्त बुझेन । अब छोरो स्कुल जाने नभएसम्म जागिर गर्दिनँ भनेरै म पछि हटेँ ।’ उनकै दुई जना सहकर्मी आमा बन्नै लागेका रहेछन् । उनको भोगाइबाट झस्किएकी एक सहकर्मी भन्दै थिइन् रे, ‘चार–पाँच वर्ष काम गरेको भनेर के गर्नु, बच्चा जन्मिएको थाहा पाउनासाथ अर्को कर्मचारी राखिहाल्ने रैछन् ! काठमाडौंको ठाउँ, एक जनाको कमाइले बस्न–टिक्न गाह्रो छ । पति–पत्नी नै आत्मनिर्भर बन्न खोज्दा सकभर बच्चा नपाउने कर्मचारी आइदिए हुन्थ्यो भनेजस्तै गर्छन् हाकिमहरू !’


कामकाजी आमाका पीडा धेरै छन् । घरमा बच्चा हेर्दिने आफन्त हुँदा त ठीकै छ, अझ दुई–तीन महिनाका बच्चा शिशु स्याहार केन्द्रमा छोडेर काममा जाने आमाका व्यथा व्यक्त गरिसाध्य छैनन् । जागिर नगरूँ, सहरको महँगीमा एक जनाको कमाइले बाँच्न मुस्किल छ, बल्लतल्ल पाएको जागिर फेरि पाउन मुस्किल छ ! जागिर गरूँ, बच्चालाई स्तनपानसमेत नगराइकन उसैको भविष्यका लागि भनेर कुन आधारमा काम गर्नु ? कार्यालयहरू महिलामैत्री छैनन्, कार्यालयमा शिशु स्याहार कक्ष छैनन्, नत्र बच्चा बोकेरै जान्थे आमाहरू । सिंहदरबारमा शिशु स्याहार कक्ष हुँदा त्यहाँभित्रका आमाहरूलाई धेरै राहत पुगेको छ, कम्तीमा बच्चाले तलतल लाग्दा आमाको दूध खान पाएका छन् ।


अन्य क्षेत्रमा यस्तो व्यवस्था कहिले होला ? सरकारले ‘सुनौला हजार दिन’ को नारा त लगाएको छ, तर तीन महिनाभन्दा बढी आमाको पर्याप्त दूध खान नपाएको बच्चाको हकमा कुनै कार्यक्रम बनाउन सकेको छैन ।

पोहोर दुई महिनाकै प्रसूति बिदा सकेर एक परिचित दिदी कार्यालय पुगिन् । त्यो दिन मैले भेट्दा उनको अनुहार अँध्यारो थियो, कुर्ताको माथिल्लो भाग पूरै भिजेको थियो ।


मैले कारण सोध्दा बल्लबल्ल उनले मुख खोलिन्, ‘बैनी, दुई दिन भयो, अफिस आएको । दुई–दुई घण्टामा दूध चर्किएर खपिसक्नु भएन, आज त लुगै भिज्यो । सासू आमालाई छोरी छोडेर आ’ छु ।


उता बट्टाको दूध घोलेर खान्छे छोरी, यता आफ्नो दूध बगेर गइरा’ छ । छोरीलाई दूध खुवाएर आउँछु भन्दा फाँटवाला हाकिम उल्टै कराइन् । बरु महिलाको ठाउँमा पुरुष हाकिम भएको भए नजिकै छ भने खुवाएर आउनू भन्थे होला, तर महिला हाकिमले उल्टै थर्काइन् । टाढा पनि थिएन, आधा घण्टामा पुगेर आइहाल्थेँ । तर हामिकलाई नभा’ कुरा लगाउलिन् झनेर घर जाने आँट गरिनँ ।’ आमाका बह, कसलाई कह !

प्रकाशित : असार २३, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?