निवास, यात्रा र कांग्रेस

समय रेखा
अभि सुवेदी

केही समयदेखि नेपाली समय विम्बमा देखिने गरेको छ । समयलाई विम्बमा देख्नु साहित्यिक काल्पनिकी हो । अर्कोतिर विचारका महत्त्वपूर्ण छलफल पनि भएका छन् । यी सबै कुराले हल्लाएको छँदो म तिनै केही कुरा यो पत्रमा राख्दैछु । यस निम्ति केही किताब र अखबारलाई आधार मानेको छु । अखबारमा कान्तिपुर र नयाँ पत्रिकाका प्रसङ्ग छन् ।

‘सुन्दरीजलको माटो बोकेर कोइराला निवासको भुइँ ढोग्न पुगे कार्यकर्ता’ शीर्षकको एउटा सचित्र समाचारले बिहानै ध्यान खिच्यो । २०७६ असार २ को नयाँ पत्रिकाको मुखपृष्ठमा भावविभोर कांग्रेसजनहरू कुनै पवित्र मन्दिर अगाडि भक्तिभावमा प्लावित भए जस्तो अवस्थामा हात टेकेर शिरले कोइराला निवासको भूमि ढोगिरहेका छन् ।

झन् ठूलो अक्षरको उपशीर्षक बोल्छ, ‘तर निवासको जग्गा कित्ताकाट गरेर बेचे कोइरालाकै सन्ततिले ।’ सँगै छापेको छ, अर्को चित्र । इन्सेटमा मातृकाप्रसाद कोइरालादेखि सुजातासम्म वा पछिका गरी ७ जनाका चित्र छन् । एउटा झुरुप्प चित्रमा बीपीका ३ पुत्रका चित्र पनि छन् । किञ्चित् पीडाको भावमा विराटनगरकी कवि सीमा आभास लेख्छिन्, ‘बीपीका तीनवटै छोरा प्रकाश, श्रीहर्ष र शशांकले उनीहरूको भागमा आएका जमिन व्यापारीलाई बेचे ।’ (२०७६ जेठ ३२) । समाचारले इन्सेटका सबै चित्रको व्याख्या गर्छ । यसले बीपी र अरु जस्ता राष्ट्रिय नेताका नाममा म्युजियमहरू कसरी राख्नुपर्छ र व्यवस्था गर्नुपर्छ भन्ने कुरा उठाउँदैन ।

संस्मरण जोडौं । अभिनारायण नामधारी मैले विराटनगरमा १९ सालतिर आएको विद्यार्थी हुँदा बाहिर ‘मानृड’ वा मातृकाको गुँड लेखिएको मातृका निवासमा केही समय बिताएको हुँ । मोरङ कलेजको एउटा संघर्ष समितिको सदस्य भएकाले अलिक पछि उग्र भएको ठानी पुलिसको धरपकड छल्न संघर्ष समितिका अध्यक्ष मातृकाका ज्येष्ठ पुत्र विमल कोइराला उर्फ विमल दाइको सल्लाहले त्यहाँ बसेको थिएँ ।

उतातिर अभयनारायण भन्ने मेरा अग्रवाल साथीलाई मेरो नाममा पक्रेर पुलिसले निकै पिटेछ । साथी पछिसम्म मैले तेरो नाममा पिटाइ खाएको छु पुलिसको, ‘अब के गर्छस् हँ ?’ भनेर मलाई सोध्थे । पुनरावृत्ति गर्न नमिल्ने कालक्रमको घटना भएकाले मैले मेरा अत्यन्त प्रिय साथीको मन बुझाउन केही गर्नसक्ने कुरै थिएन । कोइराला निवास त्यो बेला पनि मेरानिम्ति एउटा संघर्षशील अभिव्यञ्जना बोकेको थलो थियो ।

कोइराला निवासको भुइँ चुम्ने ती यात्रीहरूले त्यो दलमा कत्रो असर पार्न सक्छन् ? प्रश्न उठेको सुनेको छु । ‘महासमितिका सदस्यले भेला भएर पास गरेका प्रस्ताव त तिनीहरू घर पुगेपछि आफ्नो खुसी फेर्ने केन्द्रीय समितिले निवासको माटो चुम्ने अकिञ्चन कांग्रेसजनको सन्देश केको सुन्थे र सर !’ मेरा एकजना पोस्टग्राजुयट कांग्रेस मान्ने विद्यार्थीले भने ।

नेपाली कांग्रेसको पछिल्लो गतिहीन अवस्थामा आएका विचारमध्ये बाहिरतिर कांग्रेसी विचार फैलाउँदैहिंँड्ने एउटा सुझ देखियो । पार्टीको निर्णयमाठूलठूला खालका नेताको नेतृत्वमा देशका विभिन्न भागमा ती हिंँडे । अनि टीभी र अखबारले भने, जहाँ गयो त्यहीं एकअर्कालाई पाँडेगाली गरेर तिनका यात्रा असरल्ल भए ।

राजनीतिमा अभियान भन्ने एउटा पदावली छ । निकै समय लगाएर पछिपछि पर्दै गरिएको, अङ्ग्रेजीमा ‘लङ्ग मार्च’ नामले परिचित सन् १९३४–१९३५ को ३७० दिन लगाएर सम्पन्न ५ हजार ६ सय माइलको माओत्सेतुङहरूको यात्रा त्यसमा सबभन्दा प्रसिद्ध छ । अंग्रेजलाई थर्काउनुपर्‍यो कि लुरे खुट्टा भएका गान्धी लौरो टेकेर रवीन्द्रनाथ टेगोरको ‘आक्ला चलु आक्ला चलु’ वा एक्लै हिंँड् भाइ अब भन्ने कविता बोल्दै निस्कन्थे ।

गान्धीका अनेकौं विरोधको शैलीको अंग्रेज सामना गर्थे । तर ती लुरे महात्मा हिंँडेपछि अंग्रेजलाई पिनास हुन्थ्यो । साम्राज्यवादीको शक्ति भनेको यात्रा हो । इम्पेरियल आई (२००३ दोस्रो) भन्ने हामीले प्रयोग गर्ने मेरी लुई प्राटको किताबमा युरोपेलीहरूले कसरी अफ्रिका र ल्याटिन अमेरिकामा यात्रा गरेर शक्ति हात पारे भन्ने लेखिएको छ । त्यो किताब पढेपछि गान्धी किन अंग्रेजलाई तर्साउन हिंँड्थे भन्ने बुझिन्छ । गान्धीले अंग्रेजको त्यो कमजोरीको पाटो त्यही बेला बुझेको कुराले म चकित पर्छु ।

नेपाली राजनीतिमा यात्रा भएका छन्, तर तिनको खासै इतिहासबाट झिकेर अर्थ लगाउन मिल्ने चरित्र त्यति भेटिँदैनन् । नेपालको भूभागलाई पहाड, मैदान, जङ्गल र नदीहरूलाई प्रभावित पार्ने अत्यन्त चलायमान शक्ति भनेका यो दशका कमिनिष्ट हुन् । तर यिनका यात्राका गति र नक्साका आकार खासै निश्चित थिएनन् ।

माओवादी ‘जनयुद्ध’का यात्राका नक्सा र केही पश्चिमदेखि पूर्वतिर हुँदै बढ्ने पद्धति देखिए, तर ती खासै भूगोल र राजनीतिका सम्बन्ध देखाउने किसिमका थिएनन् । उनीहरूको यात्रा पछि गएर उनीहरूकै शब्दमा, राजधानी केन्द्रित भयो । त्यसले गर्दा सिद्धान्तको हिसाबले त्यो यात्राको नक्सा प्रस्ट भएन । जस्तो कि कमिनिष्टले यो देशका विपन्न र निमुखा मानिस, खासगरी गरिब किसानदेखि तिनको उद्धार गर्नेतिरको राजनीतिक यात्रा गरेको मानिनुपर्ने हो, तर तिनको सरकारका नीति र बजेटले त्यस्तो यात्रा देखाएन भन्ने आलोचना गर्नेमा कमिनिष्ट अर्थशास्त्री र पत्रकारहरू नै पर्छन् ।

वामपन्थी अर्थशास्त्री हरि रोकाका सरकारको नीति र बजेटको आलोचनाका नयाँ पत्रिकाका विस्तृत र सटिक लेखबाट कमिनिष्ट विचार यात्राका समस्या देखिन्छन् । त्यस्तै विचार पूर्व माओबादी नेता हरिबोल गजुरेलको ‘राजनीतिक आकाशमा कालो बादल’ शीर्षक (कान्तिपुर २०७६ असार ११) लेखमा भेट्न सकिन्छ । अहिले विचार र व्यवहारको अनौठो द्वन्द्व चलेको अवस्था छ, नेपालमा । यही कारणले गर्दा व्याप्त भ्रष्टाचारको संस्कृतिको निरुपण गर्ने तरिकाको अभावमा विचारको संकट देखिँदै गएको छ । दलाल पुँजीवाद यसको कारक हो ।

सुन्दरीजलको बीपी संग्रहालयका परशुराम पोखरेलको समूहले गरेको यो यात्राको कुराले मलाई तानेको प्रसङ्ग अर्को पनि छ । मैले बीपीका उपन्यास र संस्मरणमा आधारित नाटक ‘सान्दाजुको महाभारत’ लेखेंँ । त्यो बेला नाट्यकलाकारहरू र निर्देशकसँग म फेरि पनि भदौ २०७२ मा सुन्दरीजल पुगेँं । लेखेको छु, ‘आधीउधी भत्केको बन्दीगृहमा आफ्नो घर भत्केर यसो बसेका परशुराम पोखरेल, धरापजस्तो बन्दीगृहको संरचना अनि शक्तिलाई होर्डिङ गरेर क्षीण बनाउँदै गरेका सांसद र राजनीतिज्ञहरू, अनि देशैभरि... धनजनको नाश भइरहेको यो अवस्था...।’

त्यही बेला परशुराम पोखरेल मलाई प्रचण्डका भावात्मक उद्गार देखाउँछन् । प्रचण्डले लेखेका छन्, ‘... विश्वेश्वरप्रसाद कोइरालाको यो संग्रहालयको अवलोकनले मलाई इतिहाससँग वर्तमानको वार्तालाप महसुस भयो । यथार्थमा मैले नयाँ ऊर्जा प्राप्त गरेको अनुभूत गरेंँ । अविस्मरणीय क्षण ।’ (कान्तिपुर २०७२ भदौ २१)

प्रचण्डलाई बीपीको संग्रहालय र बन्दीगृह देखेपछि इतिहाससँग वर्तमानको वार्तालाप महसुस भएको थियो । प्रचण्ड प्रधानमन्त्री भएको बेला किञ्चित निराश भएको अवस्थामा बीपीको त्यो संग्रहालयमा आएर दिनभरि बसेका थिए भनी सुनाए, परशुराम पोखरेलले ।

पोखरेलसँगै बीपीको निवास विराटनगर पुगेका कांग्रेसजनको इतिहाससँग कसरी वार्तालाप भयो, त्यो भन्ने आधार छैनन् । एउटा सुन्दरीजलको संग्रहालयको त त्यो हालत छ भने कोइराला निवासमा कस्तो संग्रहालय बन्ने होला भन्ने कल्पना गरिरहनु पर्दैन । तर त्यो थलोमा कवि सीमा आभासले लेखेजस्तो स्वतन्त्र नारीका कथा पनि जोडिएका छन् । कृष्णप्रसाद कोइरालादेखिका इतिहास छन् । नेपाली कांग्रेसका यी यात्री मनुवाहरूले यो मार्चबाट गान्धीको जस्तो शक्ति जन्माउने सोझो चाहना नराखे पनि यिनका केही चेतना जगाउने चाहना भने प्रस्ट देखिन्छन् ।

तर नेपाली कांग्रेसलाई हेर्दै जाँदा अहिले यी रूपकहरूले बुझाउने, भित्रबाट निःसृत हुने लोकतान्त्रिक सिर्जनशील शक्ति खोज्ने खासै क्रियाकलाप देखिएका छैनन् । अहिले सरकारसँग जनताका छलफल र मुद्दा अनि केही समाजवादी, मिडिया स्वतन्त्रता सम्बन्धी विषयमाथि आधारित छन् । युवा र जनतामा ती विषयका छलफल, लोकतान्त्रिक संस्कारका बहस, प्रकाशन र अति नै विकृत रूप लिंँदै गएका शैक्षिक संस्थाका ह्रास र विचलन रोक्ने विषयमा चेतना फैलाउने, तिनलाई दलका दलदलबाट बचाउने कुनै काममा पनि प्रतिपक्षी नेपाली कांग्रेसको शक्ति खर्च भएको देखिँंदैन ।

संसदमा नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका खेलेकै छ, तर त्यो पनि त्यति प्रभावकारी छैन । पूर्व सभामुख दमननाथ ढुङ्गानाले त सभामुखले बोल्ने समय दिएका प्रधानमन्त्रीलाई बोल्न नदिएर डङ्क मच्चाउने नेपाली कांग्रेसले आफ्नो राजनीतिक सिद्धान्त र आचारलाई मिल्ने संस्कार देखाएको थिएन भनी आलोचना गरे । निष्कर्ष हो, आक्रोशमात्र होइन, विवेकले काम गर्ने बेला हो, कांग्रेसले । त्यस्तो काम क्रान्तिभन्दा जटिल हुन्छ । कांग्रेसले बुझ्ने हो ।

नेपालमा अहिले कोही पनि यात्रा गर्दैनन्, न विचारमाथि न भूतलमाथि । अहिले अस्थायी थलाहरूमा सकेसम्म कसेर आफ्नो नाम र दाम राख्ने होड चलेको छ । त्यसैले यस देशका स्थापित संस्कृति, जीवनशैली र यथार्थ उपेक्षित हुँदै गएका हुन् । मैले बाल्यकालदेखि किसानको शक्ति, संस्कार र समय देखेंँ ।

भन्छौं, नेपालको यात्रा विपन्न किसान र निमुखा नरनारीको मुक्तिविना सम्पन्न हुँदैन । त्यसैले सुन्दरीजलदेखि समाजवादी कोइरालाको निवाससम्म पुगेर भूमि चुम्नेहरूको यात्रा प्रतीकात्मक हो, कविता हो, जसको सन्देश कांग्रेस पार्टीका मानिसले बुझुन् ।

प्रकाशित : असार १४, २०७६ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्

गुठी, फोक्लोर र बहस

समय रेखा
अभि सुवेदी

नेपाली लोकवार्ता समाज/नेपाली ‘फोक्लोर सोसाइटी’को तेस्रो राष्ट्रिय सम्मेलन २०७६ जेठ ३१–३२ मा काठमाडौंमा भइरहेछ । यसमा खासै हलचल हुँदैन, किनकि यो अर्जुन अप्पादुराईको हामीले दोहोर्‍याउने गरेको ‘सेलुलर’ समाज हो । यो राजनीतिक दल र संस्था बाहिरका मानिसले चलाउने समाजको सम्मेलन हो ।

अहिले त सानातिना सम्मेलनमा कसैका आँखा लाग्दैनन् । त्यही कारण केही समस्या र केही उपलब्धि दुबै हुन्छन् । यो अवस्था गतिशील हो । हामीलाई थाहा छ, अब नेपालमा संस्थाका स्वरूप निर्मित भइसकेका छन् । तिनका राजनीतिक सम्बन्ध हुन्छन् । त्यसैले तिनका धनप्रवाहका स्नायु प्रणाली हुन्छन् । यो प्रणालीभन्दा बाहिर चल्ने संस्था संरक्षित हुँदैनन् भनिन्छ ।

‘क्रोनी क्यापिटलिजम’ वा आसेपासे पुँजीवादका प्रभाव क्षेत्र हुन्छन् । ती बाहिरका संस्थालाई अस्मिता धान्न सजिलो छैन । तैपनि चलिरहेका छन् । तर अमूक संस्थाका केही जमिन छन् भने र ती सहरी क्षेत्रमा छन् भने समस्यामा पर्छन् । उनीहरूका केही आयका स्रोत छन् भने तिनमाथि आँखा पर्छन् ।

लोकवार्ता समाज/‘फोक्लोर सोसाइटी’को यो राष्ट्रिय सम्मेलन चलिरहेका बेला अर्को संजोग परेको छ । सरकारले ल्याउन लागेको गुठी विधेयकमा गुठीको होइन, भोगाधिकार गरिरहेका किसानको संरक्षण गर्ने भनिएको छ । तर यसमा सरकारको नियत अर्कै रहेको भन्ने विषयले विरोधका अनेकौं चक्रवात चलाइरहेको अवस्था छ ।

यो विषयमा कान्तिपुरको जेठ २६ को सम्पादकीयले ‘सरकारले देशका गुठीहरू व्यवस्थापनका नाममा प्राधिकरण गठन गर्न स्वार्थ समूह पोस्ने प्रावधानसहित विधेयक ल्याएको छ । गुठी परम्परा बचाउनभन्दा गुठीका नाममा रहेका अमूल्य जग्गा उपयोग गर्ने रणनीति देखिएकाले सरोकारवालाहरू आन्दोलित भएका छन्’ भन्ने निष्कर्ष निकालेको छ । यो विवादको कडी यिनै व्याख्यामा देखिएको छ ।

लोकवार्तासँग यो गुठी व्यवस्थाको सोझो सम्बन्ध नदेखिए पनि मानिसका चलन, विश्वास, संस्कृति र तिनका सूक्ष्म पद्धतिसँग यसको सोझो सम्बन्ध छ । खासगरी नेपाल उपत्यकामा अनि बाहिर पनि संस्कृति र त्यसलाई चलाउने पद्धतिका स्वरूप छन् । ती राम्ररी व्यवस्थित नभएका कथाहरू पनि बाहिर नआएका होइनन् ।

तर नेपाल उपत्यका वा नेपाल मण्डलमा भने गुठी प्रणालीको यहाँको सांस्कृतिक कलेवरसँग अत्यन्त नजिकको सम्बन्ध रहिआएको छ । गुठी जमिन हो, गुठी मठमन्दिरको नाउँ हो । गुठी समय कालक्रम अनुसार आकाश र मौसमले देखाए अनुसार गरिने जात्रा र उत्सव, सामाजिक लय र चलनको नाम हो । यस अर्थमा लोकवार्ता वा फोक्लोरका आधार छन्, यी चलनमा । हाम्रो सम्बन्ध त्यसैले लोकजीवन अनि परम्परासँग छन् ।

सम्पादकीय र अन्य विज्ञहरूले लेखेका भाष्यमा किन आलोचना देखिन्छ ? त्यसको उत्तर हो, सरकारी प्रस्तावमाथि अविश्वास । अविश्वास किन छ ? किनभने यो सरोकारवालाहरूसँग छलफलै नगरी एक्कासी आएको छ । धेरै वर्ष बिते । एकादेशको कथा होइन । अथवा लोककथाको भाष्यमा भन्दाखेरि एकादेशमा गुठीका ठिक प्रयोग भए, जीवन चले, संस्कृतिका संरचना भए । जीवनको लय त्यही अनुसार चल्यो । तर त्यही पद्धतिभित्र गरिब किसानहरू पीडित पनि भए ।

भूदास जस्तो अवस्थामा कति गरिबका पुस्तौं गुज्रिए । सामन्ती पद्धति बलियो थियो, हावी थियो । नेपालमा राजनीतिक परिवर्तन भए । राणाको एकतन्त्री शासन सकिएको झन्डै ७० वर्ष बित्यो । अनेकौं राजनीतिक उथल–पुथल भए । तर गुठी संरचनाले धानेको संस्कृतिको इतिहास, भूमिको सही उपयोग गर्ने इतिहास, त्यसको आधारमा मठमन्दिर र चलन चलेको इतिहास चलिरह्यो । तर त्यो व्यवस्थाभित्र त्यसलाई अझ राम्ररी संगठित गरेर, सुधार गरेर, हिजोदेखि प्रयोगमा आएको, कामयावी भएको यो व्यवस्थालाई राम्ररी सबैलाई भलो हुनेगरी, मठमन्दिरको संरक्षण हुनेगरी, गरिब किसानको शोषण नहुनेगरी व्यवस्था गर्ने काम सरकार र सरोकारवालाहरूले किन गरेनन् ?

मेरो विचारमा गुठीको सिर्जनात्मक प्रयोग गर्ने नियत र चाहना खासै कुनै सरकारका पनि थिएनन् । अहिले राजारजौटा नभएको गणतान्त्रिक संविधानमा गुठीको व्यवस्थालाई हेर्न सकिने सुन्दर अवसर थियो । अझ छन् । अहिलेको सरकारको निम्ति भूमिको ठिक उपयोग, गुठीले धानेका महान संस्कृतिको रक्षा, गुठीका अत्यन्त महत्त्वपूर्ण ठाउँमा रहेका भूमिमा तिनै गुठीको परम्पराको जनमुखी संस्कृतिको रक्षा र संरचना बनाउने पद्धति, गरिब किसानको रक्षा र उद्धार गर्ने धेरै अवसर छन् । कुरा कहाँ बिग्रियो त ?

एउटा मुख्य विषय भनेको भूमि भनेपछि जसरी पनि हत्याउने मानिसको जगजगी भएका बेला अब माथि सम्पादकीयले शंका गरेजस्तो गुठीका जमिनको दुरुपयोग हुने शंका देखियो । अर्को कुरा, यो नेपाल उपत्यकाका संरचनाहरू रक्षित हुनुपर्छ भन्ने धारणा र भावना कमजोर हुँदै गयो । त्यसले जन्माएको अविश्वास र असुरक्षाको भावना बलियो भएकाले विरोध हुनथालेका हुन् । एउटा अर्को कुरा पनि छ । नेपाल उपत्यकाका नेवारहरूको संस्कृति, नागर सभ्यता, कला र निर्मित मठमन्दिर, मूर्ति बहाः, चोक र पुराना सहर क्षेत्रमाथिको अवहेलनाको मनोग्रन्थि । त्यो सबभन्दा घातकमनोग्रन्थि हो ।

मैले अहिलेको लोकवार्ता सम्मेलनमा प्रस्तुत गरेको विषय २०७२ सालको भूकम्प र त्यसले जन्माएको‘फोक्लोर’ हो । यसै सिसिलामा यहाँ त्यो भूकम्पले उठाएका केही मूल विषय गुठीको कुरासँग जोड्न चाहन्छु । भूकम्पपछि यो नेपाल उपत्यकाको सबभन्दा जटिल र डरलाग्दो विषय यहाँका सम्पदाहरू नष्ट भएको कुरा थियो ।

ती सम्पदाहरू, मन्दिर, खुला ठाउँ र परिवेशमात्र भग्न भएनन्, तिनको व्यवस्थाको पाटो पनि भताभुङ्ग हुने स्थितिमा पुग्यो । एउटा खुुुसीको कुरा पनि छ । निकैवटा मन्दिर र भवनहरू पुनर्निर्माण भए र हुँदैछन् । तर ती मठमन्दिरसँग जोडिएका प्राचीन व्यवस्थाको विषयमा कति सोच गरियो ? उत्तर छ, कत्ति पनि गरिएन ।

रानीपोखरी जस्तो महत्त्वपूर्ण सम्पदा झन्डै कङ्क्रिटको पार्क भएको । स्थानीय जनता र अरुले बहस उठाएपछि चेतना भएको कुरा सर्वविदितै छ । अरु अनेकौं उदाहरण छन् । आफू विज्ञ नभएकाले लेख्ने धृष्टता गर्दिन । तर यत्ति भन्छु, केही आशावादी छु । यहाँ बहस हुन्छन्, भएका छन् र गल्ती सुधार भएका छन् । अहिलेको गुठी विवादमा पनि दृष्टि खुल्नेछन् भन्ने मेरो विश्वास छ ।

भूकम्पपछि कहाँबाट सुरु गर्ने र कस्तो सम्पदा बचाउने अनि कसले बचाउने भन्ने विषय मुख्य थियो । मार्टिन चौतारीमा त्यो बेला एउटा प्रस्तुति गर्दा आर्किटेक्ट विद्वान सुदर्शन तिवारीले देखाएका केही स्लाइडका चित्रहरूले हामी झस्केका थियौं । उनले एकाध साना सुन्दर कुँदिएका टुँडालजस्ता आकारहरू देखाएर भने, ‘यो लिच्छविकालीन कला हो ।

यो ट्रकमा उठाएर फालिएका कुँडाकर्कटमा हामीले भेटेका हौं ।’ भूकम्पपछि सम्पदाको रक्षा गर्ने विषय जटिल भयो । तर त्यो बेला र अहिले पनि सरकार, नगरपालिकाहरूले गर्नसक्ने विषय भनेको हिजोको गुठी व्यवस्था, पहिलेदेखि चलेको संरक्षण व्यवस्थालाई सक्रिय बनाएर तिनका कमी–कमजोरी, ती भित्रका बेथिति सुधार गरेर कामयावी बनाउनु सबभन्दा आवश्यक हो । तर अहिलेको विधेयकको भाष्य, सरोकारवालाहरूसँग छलफल नगर्ने अभ्यास र यो हिजोको सभ्यता हो र जे गरे पनि हुन्छ भन्ने भित्र लुकेको मनोग्रन्थि सबभन्दा गम्भीर विषय हो ।

हामी ‘फोक्लोर’को राष्ट्रिय सम्मेलनमा कुनै कसैलाई हल्लाउने नीतिका छलफल गर्दैनौं । यो समाजका अध्यक्ष तुलसी दिवस, मुख्य सेक्रेटरी चूडामणि बन्धु, सेक्रेटरी भीम रेग्मी तीनजना लुरुलुरु हिँंडेर भनसुन गर्दै सम्पन्न भइरहेको यो सम्मेलनको आफ्नै नैरन्तर्य छ । म कुनै संस्थामा बस्दिन, तर यो संस्थासँग जोडिएको छु । त्यसैले यो समाजलाई राम्ररी बुझ्छु । यसका अन्तर्राष्ट्रिय संस्करणमा हामीकोमा विश्वभरिबाट विद्वान, विदूषी आइपुग्छन् ।

अहिलेको राष्ट्रिय सम्मेलनमा मुख्य दलहरूसँग पनि निकट र स्वतन्त्र सबै थरीका विद्वत् मानिस आएर आफ्ना अध्ययनका निचोड राख्छन् । यसको संगठन कुनै दलको नजिक भएका मानिस राखेर गरिँंदैन । ‘फोक्लोर’को आत्मा बुझेका नरनारी यसमा आउँछन् । अनि अर्को कुरा यसको भविता कस्तो छ र कतिसम्म के गर्दै जान्छ, त्यो पनि ठेगानै गर्न नसकिने विषय हो । सबै थरीका अध्ययनले एकाध चुनौती सामना गर्नुपर्छ । ती हुन्, अहिले स्वतन्त्र संस्थाका अस्मिता नरहने समय आइरहेकाले ‘फोक्लोर सोसाइटी’ जस्ता संस्थाले आफ्नो काम कसरी गर्न सक्छन् ?

गुठी र तिनले संरक्षण गरेका संस्कृति र कलाको अन्तर्यमा लोवार्ताको शक्ति लुकेको थियो र छ । त्यो भनेको सिर्जनशील काल्पनिकीको दृष्टिगोचर प्रयोग हो । ‘फोक् आर्किटेक्चर’/लोक वास्तुकला भन्ने प्राज्ञिक विषय छ । त्यो नेपालमण्डलमा छ । अर्को चलनमा देखिन्छ । ती चलन यहाँको हावापानी, भूमि र खोलानालाको चरित्रमा भेटिन्छन् । जमिनको लोभमा गुठीहरूमात्र भत्किँंदैनन्, खोलाहरू पनि थुनिन्छन्, नदीहरू निस्सासिन्छन् र फोहोर जम्मा हुन्छन्, रुखहरूनिमिट्यान्न हुन्छन्, पानीका सपना बोकेर यो
उपत्यका काकाकुल हुन्छ । यी सबै कुराको अन्तरसम्बन्ध हुन्छ । लोकवार्ता कथा भन्ने र सुन्नेको साझा गति र कर्मको नाम हो ।

प्रकाशित : जेष्ठ ३२, २०७६ ०८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्