कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वंशको वर्ग, नश्लको नालीबेली

राम गुरुङ

काठमाडौँ — १४ औं शताब्दीमा शासकले पेसालाई ब्राह्मण, क्षत्री, वैश्य र शूद्र बनाइदिएपछि रैतीले जातको भारी बोके । मुलुकी ऐन १८५४ मा शुद्ध र अशुद्ध बनाइएको उही जात, १९९० पछि खस–आर्य र जनजाति भए । मजदुर, किसान, व्यापारी र दलितको विभाजन भयो । र भौगोलिक एवं जैविक जनसंख्याको एउटा हिस्सा, वंशप्रधान अर्थ–राजनीतितिर लागे । 

वंशको वर्ग, नश्लको नालीबेली

वर्ग बहुआयामिक हुन्छन् । तर हामी जातले नै वर्ग बनायो भन्छौं । अर्थतन्त्र र राजनीति अनुसार बदलिने जात, नश्ल वा वंशजस्तो निरन्तर हुँदैनन् । युरोपमा इन्जिन आविष्कार भएपछि वर्ग पनि गतिशील भयो । मेसिन र प्रविधिको शोषण, बजारीकृत वस्तु, नाफाको सट्टेबाजी र वाणिज्य सञ्जाल वंश नियन्त्रित भए । नेपालमा भने जमिनमाथिको वंशीय बर्चस्व र शिल्पको विकासले वर्ग अस्तित्वमा आयो । तर चल्तीको वर्गीय विश्लेषणमा वंश, पेसा र वर्गको झन्डै ५४० वर्ष लामो अन्तरसम्बन्धको हिसाब–किताब भने अद्यापि छुटिरहेको छ ।


वंशीय अर्थराजनीतिक संघर्षले वर्ग जन्मन्छन् । अतः एउटै नश्ल भए पनि सबै वंश शासक र सम्पन्न हुन सक्दैनन् । हल्यान्ड निवासी गोराहरूमध्ये क्यारालिन्जियन वंश सबैभन्दा शक्तिशाली थिए । चौधौं शताब्दीमा वर्गन्डी वंशसँग पराजित यो वंशले पश्चिम युरोपभर साम्राज्य गर्‍यो ।


सन् १६६७ मा ब्रिटिस अधीनस्थ भएपनि वर्गन्डी वंशको आर्थिक साम्राज्य आज पनि युरोप र अमेरिकाभर प्रभुत्वशाली छ । कन्फुसियस दर्शनले सिंगापुर, ताइवान, हङकङ र दक्षिण कोरिया सम्पन्न भए भनिन्छ । चिनियाँ दार्शनिक कन्फुसियसद्वारा संश्लेषित कन्फुसियस दर्शनमा पनिसाङ, झाउ र हानजस्ता राजवंशीय अर्थराजनीतिक मान्यता थिए । अर्थात् वर्ग जातीय नभई वंशीय अर्थराजनीतिक स्वार्थका विस्तारित रूप र चरित्र हुन् ।


वर्गको मुहान

समाजसँगै वर्गको धार, बनोट र चरित्र पनि बदलिन्छन् । यसरी १४ औं शताब्दीदेखिको समाज र अर्थतन्त्र केलाउँदा नेपाली वर्गका ४ मुख्य मुहान भेटिन्छन् ।


पहिलो, शासकीय प्रभुत्व । जयस्थिति मल्लद्वारा १३७४ मा भोट पराजित भएपछि काठमाडौ–तिब्बतबीच नयाँ वाणिज्य सन्धि भयो । ढुवानी कठिन भएपछि प्रताप मल्लले १६५० मा उक्त सन्धि हेरफेर गरे । यसले कुलिन शासकको सुनचाँदीको मौजदात बढ्नगई अर्थराजनीतिक हैसियत बढ्यो । १८ औं शताब्दीको मध्यमा राजनीतिक एकीकरणले नेपाल बनाएपछि कुत र अधियाँ बढाउन रैकर जमिन र कुत एवं झाराबेठी पनि थपिए । सीमा विस्तार तथा सुरक्षा र शासन व्यवस्थापनमा खर्चेर बचेको कुत, झाराबेठी प्रथाले नयाँ रैती र कुलिन जन्मिए ।


दोस्रो, भारदारिया राज्यप्रणाली । शासकीय प्रभुत्व बढ्दै जाँदा सुरक्षा प्रशासन फराकिलो भयो । यसबाट राज्यसंयन्त्रका प्रभावशाली विर्ता र जागिरेले थप फाइदा लिए । आर्थिक असमानता गहिरिएर सम्पन्न वर्गीय चरित्र खास वंशको नयाँ पुस्तामा हस्तान्तरण हुनथाले । शासन र सत्ताको संरक्षणमा हुने आर्थिक बाँडचुँडले वर्गीय अर्थतन्त्र संस्थागत भए ।


तेस्रो, वाणिज्य प्रशासन । प्रताप मल्लले काठमाडौं–तिब्बत सन्धि हेरफेर गरेपछि नेवार लगायत व्यापारी कुत असुली गर्ने कुलिन प्रशासक धनाढ्य हुँदै आर्थिक सम्पन्नता एकपछि अर्को वंशमा सर्दै गए । काठमाडौं बाहिर प्रभावशाली वंश आधारित जिम्मावाल जस्ता प्रशासकले तलब बापत पाउने झाराबेठीले उर्वर जमिन कब्जा तीव्र गरेर उब्जनी पनि बढायो । कृषि उत्पादनले बचतको रूप लिन थाल्यो । आर्थिक तथा राजनीतिक बदलाव पनि छिटो–छिटो बदलिए ।


चौथो, किसान एवं रैकर प्रणाली । किसानलाई रैकर जमिनमा सकेजति खेती गर्न छुट थियो । तर धेरै रैकरले कुत र झाराबेठी पनि बढ्ने भएपछि जमिन बढाउनेतर्फ किसान आकर्षित भएनन्, कृषि उत्पादन उस्तै रहे । किसानको आर्थिक, सामाजिक वृत्ति हुन नसक्दा यो चक्र दर्जनौं पुस्तासम्म एकोहोरो चलिरह्यो ।


विस्तार

सन् १७४४ पछि पृथ्वीनारायण शाह तिब्बत–काठमाडौं–भारत वाणिज्यका नाइके भए । काठमाडौं सुदखोर वाणिज्यको केन्द्र बन्यो । राज्यहरू गाभिँदै जाँदा शासकीय सदरमुकाम र प्रभावशाली वंशको प्रशासन पनि थपिँदै गए । सदरमुकाम र वरपरका वाणिज्य र कृषि उत्पादन प्रभावशाली कुलिन वंशका प्रशासक र व्यापारीले नियन्त्रण गरे । सन् १७९३ मा विहारको पुनिया, मधेस हुँदै विलियम कर्कपेट्रिक काठमाडौं आएपछि यो प्रभाव अन्तर्राष्ट्रिय वाणिज्य र सम्बन्धसम्म फैलियो । वंश नियन्त्रित सुदखोर अर्थराजनीति खास वंशको हातमा पुग्यो ।


१५ औं शताब्दीसम्म कल्याल वंश (जुम्ला) मा सीमित निजी सम्पत्तिको प्रचलन, राज्य एकीकरणसँगै अन्त पनि फैलिए । १७६० को दशकबाट विर्ता तथा रैकर जमिनको निजीकरण र किनबेच सुरु भयो । यसले जमिन बर्चस्वशाली खास परिवार र वंशको अधीनमा गयो ।


बसाइँ–सराइ र जमिनको मुद्राजन्य किनबेचले विर्ता र जागिरेहरू साहु बन्न थाले, वर्गका नयाँ रूप र चरित्र देखापर्‍यो । १४ औं शताब्दीदेखिको काठमाडौं ट्रान्जिट, तिब्बत–भारत वाणिज्यले १९ औं शताब्दीसम्म आइपुग्दा जिन्सी कुतप्रथा किनारा लाग्यो । मौद्रिक कुत असुलीले धन सञ्चित बढायो, खर्चिला भौतिक संरचना बन्न थाले । जुम्लाका राजाले कुतबाटै सन् १७५१ मा ९ हजार रुपैयाँ खर्चेर भव्य दरबार नै बनाए । यसले शासकीय उपभोक्ता वर्ग जन्मियो ।


निरन्तरता र गहिराइ

सन् १७४३ मा राजा बन्दा पृथ्वीनारायण शाहलाई २५ प्रतिशत व्याजको भारी ऋण थियो । भारतीय व्यापारीसँग लिइएका कतिपय ऋण वर्षौंसम्म तिरिएका थिएनन् । कम उब्जनी हुने जमिन र थोरै कुतवाला मौजा, कमजोर व्यापारले गर्दा गोरखाली अर्थतन्त्र बलियो थिएन ।


बढ्दो खर्च र ऋणबाट उत्रिन तिब्बत–भारत वाणिज्यमार्ग हत्याउनुको विकल्प नै थिएन । मकवानपुर र नुवाकोटमाथिको जितले काठमाडौं उपत्यका र वाणिज्यमार्ग अधीनमा आयो । राज्य व्यवस्थापनमा ठूलो संख्यामा खास वंशका विश्वासिला भारदार र स्थानीय प्रशासक खटाइए । राज्य सुरक्षा र प्रशासकीय जिम्मेवारी एकोहोरो हस्तारण हुँदै जाँदा वंशीय बर्चस्व थप गहिरो भयो ।


विर्ता/जागिरले विशेषाधिकारी प्रशासनको विकास भयो । किसान वा अन्य पेसाधारीहरू रैती भए । मूल अर्थतन्त्र र राजनीति खास वंशले कब्जा गर्‍यो । यिनको वर्ग उत्थान छिटो र अस्वाभाविक झाङ्गियो । केन्द्र र वृत्तको अर्थतन्त्र नै अलग भयो । सन् १६०१ देखि नेपाल पसेको इष्ट इन्डिया कम्पनीका उपभोग्य वस्तुले उपभोग प्रणालीमा कायापलट गरिदियो । उपभोगमा आएको परिवर्तनले परम्परागत वर्गको जग हल्लियो । शासक/प्रशासक र आफन्त विलासी बन्दै गए । उत्पादन, व्यापार र राजनीतिसँग सामान्य मानिसले जोडिने मौका पाएनन् ।


वर्गको घुम्ती

औद्योगिक उत्पादन र अवसरले आधुनिक वर्ग बन्छन् । तर कुत तथा वाणिज्यप्रधान कर प्रणालीले शासक/प्रशासकको ध्यान आर्थिक सुरक्षातर्फ गयो । बाध्यकारी श्रम व्यवस्थाले किसानहरू गर्दा–खाँदाको थातथलोबाट विस्थापित हुनथाले । मूलधारको अर्थतन्त्रमा किसान वा अन्य पेसावालाको स्थायित्व भएन । यिनको आर्थिक तथा राजनीतिक हैसियत निरन्तर खस्किरह्यो ।


सन् १८३१ मा ब्रायन एच. हट्सनले दरबारका मुख्य कर्मचारीमध्ये ५२ जना नेवार र ३४ जना भारतीय व्यापारीका सन्तानलाई आधुनिक शिक्षा खाँचो भएको प्रतिवेदन इष्ट इन्डिया कम्पनीमा बुझाए । भौतिक संरचना र शिक्षाको महत्त्वको कमजोर लेखाजोखा शासकीय अन्तरकलहले गर्दा २३ वर्षपछि इष्ट इन्डिया कम्पनीको सहयोगमा सन् १८५४ मा औपचारिक विद्यालय शिक्षा सुरु भयो ।


शासक, प्रभावशाली प्रशासक एवं धनाढ्य व्यापारीका शिक्षित सन्तानले अर्थराजनीति थप कब्जा गरे । रैतीलाई यसले छोएन । सन् १९५१ मा लोकसेवा आयोग स्थापना नहुन्जेलसम्म प्रशासक/कर्मचारीको नियुक्ति प्रभुत्वशाली प्रशासकको सिफारिस र शासकीय हुकुममा हुन्थे । शिक्षाका कारण नेपालमा नयाँ वर्ग उदायो ।


सन् १९५१ पछि काठमाडौं र काठमाडौं बाहिरका स्थानीय शासक, प्रशासक र व्यापारीका सन्तान पढाउन थप विद्यालय खुले । बदलिएको शैक्षिक हैसियतमा विद्यालय शिक्षक र स्थानीय प्रशासक भएर काम गरे । प्रभावशाली सिफारिस र अख्तियारी दुरुपयोगमा तिनको वर्ग उत्थान हुँदै गयो । सन् १९३६ मा उद्योग स्थापना सुरु भयो ।


उद्योग प्रशासन, खास वंशका पढालेखाहरूले भरिए । उद्योगबाट वैकल्पिक राजनीति जन्मियो । सन् १९५० को राजनीतिक परिवर्तनको योजना र आन्दोलन यिनैको नेतृत्वमा भयो । सत्ता र राजनीति बदलिए पनि अर्थराजनीतिक वंश नियन्त्रण उस्तै छ ।


लेखक रिम इन्टरनेसनल रिसर्च नेटवर्कसँग आबद्ध छन् ।

प्रकाशित : जेष्ठ २५, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?