कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

मूत्रथैलीको क्यान्सर

डा. अर्जुनदेव भट्ट

काठमाडौँ — मूत्रथैलीमा विभिन्न किसिमका अर्बुद रोग लाग्न सक्छ । परिवर्तित कोष क्यान्सर सबैभन्दा बढी देखिने गर्छ । यो मृगौलाको पेल्भिसदेखि मूत्रनलीको दुई तिहाइ ठाउँमध्ये जहाँ पनि देखापर्न सक्छ । सबैभन्दा बढी ९० प्रतिशत मूत्रथैलीमा देखिन्छ । ८ प्रतिशत मृगौलाको पेल्भिस र २ प्रतिशत मूत्रनलीमा पनि देखिन्छ । 

मूत्रथैलीको क्यान्सर पुरुष तथा स्त्री दुबैमा देखिए पनि पुरुषमा ४ गुना बढी हुन्छ । यो रोग सामान्यतया ५० वर्ष नाघेकामा देखापर्छ । तमाखुजन्य पदार्थ सेवन गर्नेमा यो क्यान्सर धेरै गुणा बढी हुन्छ । यो रोग लागेका ५० प्रतिशतभन्दा बढी बिरामी आफूले चुरोट पिउने गरेको स्वीकार्छन् ।


रङ कारखानामा काम गर्ने, फेनासेटिन औषधि अधिक प्रयोग गर्ने तथा विकिरण प्रभावित व्यक्ति पनि यो रोगबाट बढी ग्रस्त हुन्छन् । सिसटोसोमिआसिस भन्ने जुकाबाट हुने रोग, मूत्रथैलीको पत्थरी र केही केमोथेरापीमा प्रयोग हुने औषधि पनि मूत्रथैली क्यान्सरका कारण हुन सक्छन् । खेतीपातीमा प्रयोग हुने विषादीले पनि यस्तो हुनसक्छ । जीन तथा अरू विभिन्न कारणतत्त्वको अनुसन्धान जारी छ ।


प्रकार

मूत्रथैली क्यान्सर ३ प्रकारका हुन्छन् । १) सतही २) मांसपेशीमा लाग्ने ३) स्थलान्तरण गर्ने । ७५ प्रतिशत मूत्रथैली क्यान्सर सतही हुन्छ । यो भित्रसम्म जरो नहाल्ने, नगिचका रक्तनलीहरूसम्म पहुँच नराख्ने र अरु ठाउँ नफैलिने हुन्छ । यस्तो रोग वर्षौंसम्म बारम्बार देखापर्छ तर ज्यानलाई खतरा हुँदैन । यी अर्बुद रुखजस्तो भएर उम्रन्छन् । धेरै ठूलो भएपछि रक्त सञ्चारको कमी महसुस गर्न थालेपछि केही भाग मृत भई झर्ने गर्छ ।


यो क्यान्सरले २० प्रतिशत मांसपेशीमा आक्रमण गर्छ । मांसपेशीभित्र जरा हाल्ने र रक्त सञ्चारलाई छिटो प्रभावित गर्छ । गहिरिँदै जाँदा छोटै समयमा ज्यानै जान सक्ने अवस्था आउन सक्छ । मांसपेशीमा लाग्नमध्ये केही प्रतिशत स्थानान्तरण गर्ने क्यान्सरमा परिणत भई शरीरका विभिन्न भागमा फैलिन्छ ।


लक्षण

बिना पीडा पिसाबमा रगत देखापरे त्यसलाई मूत्रथैली क्यान्सर लक्षणको रूपमा लिएर जाँच गर्नुपर्छ । मूत्र तथा रक्त परीक्षण बाहेक अल्ट्रासोनोग्राफी तथा सिस्टोस्कोपी जाँच गरेर मात्र थैलीमा क्यान्सर भए–नभएको यकिन गर्न सकिन्छ ।


थैलीको क्यान्सर मांसपेशीभित्र घुस्रेको तथा थैली बाहिर फैलिएको थाहा पाउन छातीको एक्सरे, सिटिस्क्यान वा एमआरआई परीक्षण गर्नुपर्ने हुनसक्छ । पिसाबमा अर्बुद कोषिका जाँच गरेर पनि हेर्नुपर्छ । कोखा दुख्ने, ज्वरो आउने, खान मन नहुने तथा तौल घट्ने जस्ता लक्षण प्रायः अर्बुद शरीर भित्रका विभिन्न ठाउँमा फैलिएको अवस्थामा मात्र देखिन्छ ।


उपचार

मूत्रथैली क्यान्सरको कुन अवस्था छ, त्यो अनुरुप नै उपचार गर्नु पर्छ । सतही/मांसपेशीसम्म जरा नहालेको क्यान्सरलाई मूत्रनलीबाट भित्र थैलीमा औजार पुर्‍याएर काटेर निकालिन्छ । त्यस्तो उपचारपछि पनि क्यान्सर फेरि दोहोरिने प्रक्रिया करिब ५० प्रतिशत हुन्छ । त्यसरी दोहोरिँदै आउने क्यान्सरमध्ये ५ देखि २० प्रतिशत मांसपेशीभित्र जरा हाल्ने तथा अरु अङ्गमा फैलिने संभावना हुन्छ ।


सतही प्रकारका क्यान्सरलाई शल्यक्रिया बाहेक दुई अवस्थामा मूत्रथैलीभित्र औषधि हालेर थप उपचार गरिन्छ । बारम्बार पलाएर आउने र धेरै ठाउँमा उम्रेको क्यान्सरलाई सम्भव भए सम्पूर्ण रूपमा काटेपछि बीसीजी हप्तैपिच्छे कम्तीमा ५ हप्ता हालेर थप उपचार गरिन्छ ।


सतहमा फैलिने तर बढी खतरनाक सीआईएस नामका मूत्रथैली क्यान्सर पनि शल्यक्रियापछि मूत्रथैलीभित्र औषधि हालेर तथा विकिरण तरिकाले पूर्ण निको पार्ने प्रयत्न गरिन्छ । यस्तो उपचारपछि बिरामीलाई पहिलो वर्ष प्रत्येक ३ महिना, दोस्रो वर्ष ६–६ महिना र त्यसपछि ५ वर्षसम्मै वर्षको एकपल्ट सिस्टोस्कोपी गरेर निगरानीमा राख्नुपर्छ ।


मांसपेशीभित्र जरो हाल्ने क्यान्सरलाई मूत्रथैलीको पूर्ण वा आंशिक शल्य विधिबाट निकालेर उपचार सुरु गर्नु पर्छ । पूर्ण लाभ निम्ति क्यान्सरका कोषिकाहरू थैलीबाट बाहिर फैलिएको हुनु हुन्न । शल्यक्रियापछि यस्ता बिरामीलाई विकिरण तथा केमोथेरापी पनि अनिवार्य हुन्छ । शरीरका विभिन्न अङ्गमा फैलिएको मूत्रथैली क्यान्सर केमोथेरापी, शल्य उपचारको उद्देश्य क्यान्सरको लक्षण शमन गरी जीवन लम्व्याउनु हुन्छ ।


निचोड

मूत्रथैलीको क्यान्सर चुरोट खाने पुरुष तथा स्त्री दुबैमा प्रायः ५० वर्षपछिको उमेरमा देखापर्ने रोग हो । अल्ट्रासोनोग्राफी तथा सिस्टोस्कोपी परीक्षणबाट रोगको गम्भीरता थाहा पाउन सकिन्छ । सतही, मांसपेशीभित्र जरा हाल्ने र शरीरका विभिन्न अङ्गमा फैलिने गरी ३ प्रकारका मूत्रथैली क्यान्सर लाग्छ । यीमध्ये कुन प्रकारको क्यान्सर भएको हो यकीन गरी शल्य, केमोथेरापी, इम्युनोथेरापी र विकिरण जस्ता प्रविधिबाट उपचार गरिन्छ ।

प्रकाशित : जेष्ठ २५, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?