एभरेस्टमा ठेलमठेल सपना

समय रेखा
अभि सुवेदी

काठमाडौँ — गणतन्त्र दिवस, समारोह कहीं हुँदै छन् । ठूलो जाम पार गरेर फर्केको छु । यसै अन्यमनस्क, बीबीसी रेडियो खोल्छु । भन्दैछ, झन्डै २५० जना आरोही ठेलमठेल गरेर एभरेष्ट चढ्दैछन् । त्यसो त २ सय जनाले चढिसके । ‘देथ जोन’ अथवा ८००० मिटरमाथिको मृत्यु क्षेत्रमा पालो पर्खेर उभिनु आफैंमा डरलाग्दो कुरा हो । त्यसमा एघारौं एभरेष्ट आरोहीको शिखरमा पुगेपछि हृदयगति बन्द भएर मृत्यु हुन्छ । सुनेर दिक्क लाग्छ ।

अझ एकाएक समाचार वाचकले थप्छ– नेपालका नीति बनाउनेहरूको अव्यवस्थाको कारणले यसरी दुर्घटना भएको हो । भन्छ, नेपालमा भ्रष्टाचार धेरै छ । संसारको सर्वोच्च शिखरमा ज्यान बचाउन पनि घुस दिनुपर्ने अवस्था छ । अनि लाग्छ, म पनि कुनै हिमपहिरोबाट चिप्लेर खस्तैछु ।

यसरी खस्तैछु, जसमा खसेर कुनै दैहिक चोट लाग्दैन, कुनै अर्को सतहमा पुगिँंदैन । कुनै अभियान बीचैमा रोक्नुपर्ने पनि हुँदैन । यो यस्तो चिप्लेँटी हो, जसबाट हामी प्रभावित छौं । मलाई दिक्क लाग्छ, सम्झिन्छु, हाम्रोमा भ्रष्टाचार अब एउटा शब्दमात्रै रहेन । झस्किन्छु, त्यो एउटा राष्ट्रिय यथार्थ भैसक्यो कि ।

पर्यटकहरू हिमाली यात्रामा बिमारी भएर हेलिकप्टरबाट ल्याएको, अस्पतालहरूमा भर्ना गरेको आदि प्रपञ्चका न्यारेटिभ पनि पढ्दै र सुन्दै आएको छु । ‘इन्भेस्टिगेटिभ’ पत्रकारहरूले यो कथाले अन्तर्राष्ट्रिय रूप लिएको वर्णन निकालिसकेका छन् । लाग्छ, यस्तो अवस्था आउनुमा खासै योजनामा ध्यान नदिने सरकार, आरोहण गराउने संस्था र स्वयं आरोही पनि जिम्मेवार छन् ।

एउटा कुरा प्रस्ट छ, एभरेष्टले अब २९ मे १९५३ मा तेन्जिङ नोर्गे र एडमन्ड हिलारी पहिलोपटक शिखरमा पुगेको उत्तेजना बोक्दैन । आफैंले पहिले लेखेको ‘फ्लानको डायरी’ (२०७२) मा संग्रहित निबन्धका यी हरफहरूका पुनः पाठ गर्छु, ‘एभरेष्ट विजयको रजत जयन्तीको उपलक्ष्यमा अलजजिरा टीभीले त्यो बेला खिचेका एकाध छोटा फिल्मका झलक देखायो । त्यसमा एउटा दृश्यले मलाई छोयो ।

त्यसमा तेन्जिङ र हिलारीलाई विजय यात्राबाट फर्केपछि लिन गएका मानिस फटाफट हिंँडेको देखियो । तीमध्ये नाटककार बालकृष्ण सम साथै हिंँडेको दृश्यले भूगोल र नेपाली चिन्ताको सह–नाटक गराएको देखियो । समले सूत्रधार भएर बोले, ‘अब सगरमाथामाथि एकजना मानिसको उचाइ थपिएको छ ।’ त्यस घटनापछि हजारौं मानव उचाइहरू उठ्दै र बिलाउँदै गएको त्यो महान चुचुरो अहिले पुँजीयुगका उपभोक्ताको तारो भएको छ । एभरेष्टको नामकरण अनि उचाइका मोहको विषयमा धेरै उत्तर–औपनिवेशिक छलफल भएका छन् ।

नापी विभागका कर्मचारीहरू यही बेला एभरेष्टको उचाइ नाप्न ज्यान जोखिममा पारेर त्यहाँ पुगेको अनि काम सम्पन्न गरेर फर्किंदा भीडमा झन्डै ज्यान गएको कथा अहिले व्याप्त छ । नवऐतिहासिक चेतनाले हेर्दा यी नेपाली कर्मचारीहरूको महत्त्व धेरै छ । यिनीहरूमध्ये एकजनाले दुइटै पाउ आधा–आधा गुमाएका छन् । यिनीहरूले नापेको उचाइ सार्वजनिक हुनेछ । इतिहासतिर फर्किनुपर्छ । एभरेष्टको उचाइ पहिले पत्ता लगाउने एकजना राधानाथ सिक्दार (सन् १८१३–१८७०) थिए ।

ती साधारण बंगाली गणकले एक सपना देखेका थिए । सर्भे अफिसका यी सबाल्टर्न कर्मचारीले एभरेष्टको उचाइको हिसाब निकाल्ने जिम्मा पाएका थिए । निकै प्रयासपछि तिनले एभरेष्टको मूलतः अहिले मानिएको उचाइ पत्ता लगाए । अनि उनका हाकिम कर्नेल एन्ड्रयु वगलाई अत्यन्त खुसी भएर पत्र लेखे ।

पत्रमा यसो भने, ‘सर, मैले संसारको सबभन्दा उच्च शिखर पत्ता लगाएँ ।’ उनले सोझै ठाने, अब यो शिखरको नाम राधानाथ सिक्दार चुचुरो रहनेछ । उचित सपना थियो, वैध सपना थियो । तर औपनिवेशिक भारतमा त्यो कसरी लागू हुन्थ्यो र ? शिखरको नाम राधानाथ सिक्दार पर्वत नराखेर एन्ड्रयु वगले जर्ज एभरेष्ट नामका एकजना साधारण कर्नेलको नाममा नाम राख्ने प्रस्ताव गरे । ती एभरेष्ट एक असम्बद्ध मानिस थिए । कथा छन् ।

यहाँ लेख्ने ठाउँ छैन । तर त्यो कुरा ब्रायन हडसन भन्ने त्यहांँका एक तल्लो तहका युवक अफिसरले यतैतिरका मानिसको नाम राखिनुपर्छ भनेर विरोध गरे । ती मानिस पछि नेपालमा ब्रिटिस रेजिडेन्ट दूत भएर निकै वर्ष बसे । तिनको विषयमा धेरै लेखिएको छ । त्यो चुचुरो नेपालमा थियो, तर खासमा त्यो नेपालीलाई नै थाहा थिएन । पछि बाबुराम आचार्यले सगरमाथा भनी नेपालमा यसको नामकरण गरे । यस चुचुराको स्थानीय नाम चोमोलोङमा हो । तर त्यो नाम शेर्पाहरू आफैंले पनि त्यति प्रयोग गरेको देखिएन ।

एभरेष्टको उचाइ, यसको उत्तुङ कलेवरले खिचिएर इतिहासमा कीर्ति स्थापना गर्ननिम्ति होइन, यसमाथि चढेर एउटा सामर्थ्यको पहिचान दिने, औपनिवेशिक भाष्यमा भन्दा एउटा जितको परिचय दिने चाहनाको रूपमा चढेका छन्, इतिहासमा आरोहीहरू । यो चेतना उन्नाइसौं शताव्दीमा अंग्रेजी उपेनिवेशको चेतनासँग जोडिएको छ । जसरी पनि जित्नुपर्ने, केही ज्ञान छ भने त्यो जान्नैपर्ने, आफैंले जित्नुपर्ने अंग्रेजी चेतनासँग जोडिएको थियो, यो विषय ।

पहिले एभरेष्ट चढे कि भन्ने आशंका गरिएका तर बेपत्ता भएका युवक आरोही जर्ज मेलोरीलाई सोधियो, ‘तिमी किन एभरेष्ट चढ्छौ ? उनले भनेका थिए, ‘प्रस्टै छ नि त्यो महान आकार ऊ त्यहाँ ठडिएको छ, त्यसैले ।’ त्यो छ र चढ्नुपर्छ भन्ने ब्रिटिस साम्राज्य चेतनाको पर्याय थियो । उत्तर र दक्षिण ध्रुव पत्ता लगाइसकिएको अवस्थामा यो एभरेष्ट तेस्रो ध्रुवको रूपमा रहेकाले यो पनि हामीले नै पहिले जित्नुपर्छ भन्ने आङ्ल चेतना थियो । कर्णेल हन्टले महारानीलाई यो विजयको कथा यसरी नै सुनाएका थिए ।

दार्जिलिङ निवासी तेन्जिङको राष्ट्रियताको विषयमा तरङ्ग उठे । जुलाई ४, १९५३ को डेली मिरर अखबारमा दुइटै हातमा नारी घडी बाँधेका हातले हँसिलो अनुहारले नमस्कार गर्दै नेहरूले दिएको खद्दरको लुगा लगाएका तेन्जिङको श्रीमतीसहितको लन्डनमा पुगेको फोटो छापियो । दुबै हातका घडीको एउटा सरल चित्रका अनेका व्याख्या भए । नेपाल त्यो बेला धर्मराज थापाको ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ भन्ने गीतले गुञ्जायमान थियो ।

तर आज एभरेष्ट उपभोक्तावादी युगमा नेपालमा घुस दिइन्छ भन्ने कथा बोक्दै मानिसको भीड चढाएर के हासिल गर्दैछ र यसले अहिले नेपालको कीर्तिमानलाई कसरी कायम गरेको छ भन्ने कुरा बुझिनसक्नु छ । त्यसो त तेन्जिङकै शेर्पा परम्परामा एभरेष्ट चढ्ने ४९ वर्षका कामिरिता शेर्पा २४ पटक शिखरमा पुगे । जेठ १, २०७६ को दिन तिनले एक हप्तामै दुईपटक एभरेष्ट चढे । एभरेष्ट चढाउने शेर्पाहरूको निजत्व र उनको योगदानबारे त्यति जानकारी प्रकाशित हुँदैनन् ।

एभरेष्ट आरोहण रूपक र बहादुरीको ‘मेटाफोर’ मान्नेहरू अब पश्चिमीमात्रै रहेनन् । पर्वत आरोहणलाई भन्ने विषय नेपाली राजनीतिमा चर्चामा आइबस्छ । राजनीतिक दलका कार्यकर्ताहरू, कीर्तिमान कायम गर्ने युवा वर्गका मानिस अनि देशले समर्थन गरेका समूहहरू एभरेष्ट चढेर आएको इतिहास छ । केही वर्षअघि एकजना अंग्रेजी एमफिल कक्षाकी थोरै बोल्ने, शान्त प्रकृतिकी माओवादी आन्दोलनकी अन्तरङ्ग महिला विद्यार्थीले भनिन्, ‘म एभरेष्ट आरोहणका महिलाका अन्तरकथामाथि थेसिस लेख्न चाहन्छु ।’

मैले भने, ‘यसको विषयमा तिमी कसरी जानकारी लिन्छ्यौ ?’ उनले भनिन्, ‘म केही समयअघि एभरेष्ट चढेर आएकी ।’ मेरो सामु मेलोरी, तेन्जिङका दुई नाडीमा बाँधेका घडी, अनि एभरेष्ट र उत्तर–औपनिवेशिक डिस्कोर्स एकैसाथ चक्रवात भएर आए । मैले पहिलो कुरा उनलाई केही किताब र लेख पढ्न लगाएँ ।

८ वर्षअघि, पहिले नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य, २०१७ सालपछि जेल बसेका, पछि पञ्चायत शासन प्रणाली मानेर मन्त्री र कूटनीतिक सेवामा काम गरेका, प्रेमराग र राजनीतिलाई जोडेका अनि जीवनको अन्तिम प्रहरमा एभरेष्ट चढ्न जाने मान्छे शैलेन्द्रकुमार उपाध्यायको एभरेष्ट आरोहणको क्रममा मृत्यु भएको समाचार मेरोनिम्ति वाचाल विषय थियो । त्यसो त वृद्धहरूले एभरेष्ट यथाकदा चढेका छन् ।

तर मैले कान्तिपुर (२ जेठ २०६८) मा एउटा ओबिचुअरी शैलीमा शैलेन्द्रकुमारको यसरी शव्दचित्र उतारेको थिएँ, ‘राजनीति र कूटनीतिमा आधुनिक नेपाली समयकै चर्चित एउटा बयासी वर्षको वृद्ध मानिस एभरेष्ट अभियानमा जाँदा आधार शिविरको परिवेशमा हृदयगति बन्द भएर दिवंगत भएको कुराले मलाई निकै तानेको छ । एउटा वृद्ध मानिसका झिना खुट्टामा पर्वतारोहीले लगाउने सुरुवाल यसो बाङ्गो भएको अनि उसले याक्स बोकेर चढ्न लागेका चित्र छापामा आए ।’

एभरेष्टको सपनाबाट एकाएक निस्किन्छु । हामीलाई ‘अल्टिच्युड सिकनेस’ होइन, उचाइ पार गर्ने उत्तेजना धेरै भएको छ । हामी एभरेष्ट र हिमालको उतापट्टि जोडिन आतुर मानिसका अभियानका सपना रेलमार्गले पूरा गर्ला कि त । तर एभरेष्ट एक प्रिय पर्वत हो, जहाँ विश्वभरिकै मानिस उनका सपनाका कुँडाकर्कट लगेर थुपारिन्छन् । यसलाई मर्यादा, माया र इज्जतले प्रयोग गरौं, बेथितिका योजनाले होइन । यसमा हाम्रै दायित्व ठूलो छ ।

प्रकाशित : जेष्ठ १८, २०७६ ०८:३८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

गुगल डाक्टर !

डा. प्रवीण नेपाल, आर.पी. मैनाली

काठमाडौँ — जसरी चास्नीमा झिँगाहरू पर्छन्, त्यसैगरी अचेल हामी इन्टरनेटको जालोमा पर्न थालेका छौं । त्यहीँ रम्छौं त्यहीँ भुल्छौं । यसले हाम्रो ज्ञान परम्परा नै फेरिदिएको छ । सामान्यदेखि जटिल ज्ञान पनि हामी यसमै खोजिरहेका हुन्छौं । विज्ञान प्रविधिका साथसाथै चिकित्सा विज्ञानका अन्योल र कौतूहल पनि यसैलाई सोध्छौं ।

चिकित्सा विज्ञानबारे सामान्य वा सतही जानकारी लिन गुगल गर्नु जायज होला । तर त्यसकै आधारमा चिकित्सा प्रयोगका तौरतरिका अवलम्बन गर्नु, इन्टरनेटकै निर्देशनमा चल्नुचाहिँ कति उपयुक्त हो ? यसलाईछुट्याउन सक्नुपर्छ ।

इन्टरनेटमा उपलब्ध थोरबहुत सूचनाकै आधारमा कतिपय आफूलाई विज्ञ ठान्छन् । आफ्ना स–साना समस्या र झिनामसिना पीडामा पनि उनीहरू गुगलको शरणमा पर्छन् । यस्तो व्यक्ति जचाउन गइहाल्यो भने पनि चिकित्सकले सिफारिस गरेको औषधी किन्न र खान हिच्किचाउँछ । यसो गर्नु कदापि ठीक होइन । गुगलमा पाइने सबै किसिमका सूचना तपाईंको भूगोल, रहनसहन, जीवनशैली, शरीरको रासायनिक प्रक्रिया (चाय–पचाय), रोग प्रतिरोधात्मक क्षमता, रोगको अवस्था एवं प्रकृति र अन्य मनो–शारीरिक अवस्थामा पटक्कै मेल नखान सक्छन् । तपाईंका रोगका लक्षण एवं सङ्केत केवल तपाईसँग मात्रै मेल खान सक्छन् ।

एउटा व्यक्तिले पूर्ण सक्षम चिकित्सक बन्न दशकौँ विषयगत गहन अध्ययन, तालिम, कठिन परीक्षाकाखुड्किलाहरू पार गरेको हुन्छ । कार्यानुभव र प्रयोगको आवश्यकता पनि त्यतिकै पर्छ । चिकित्सा विज्ञानमा दिनानुदिन नयाँ–नयाँ आविष्कारहरू थपिँदै गएका छन् । नयाँ–नयाँ मानकहरू सिद्धान्तले परिलक्षित हुन्छ, नयाँ–नयाँ अनुसन्धान र प्रयोगबाट खारिएको हुन्छ । विज्ञान विकासको क्रमसँगै आ–आफ्नो विषयका विशेषज्ञ, चिकित्सक निर्देशित हुन्छन् ।

एउटा चिकित्सकले बिरामीलाई कुनै औषधी सिफारिस गर्नुपूर्व बिरामीको रोगको प्रकृति, गाम्भीर्य, अवस्था, बिरामीको रोग प्रतिरोधात्मक क्षमता, बिरामीमा पर्ने ‘साइड इफेक्ट’ सबै विचार गरेकै हुन्छ । कतिपय अवस्थामा साइड इफेक्ट ठूलै भए पनि बिरामीलाई उक्त औषधी नदिई नहुने अवस्था आइपर्न सक्छ । बिरामीको ज्यान जोगाउनु चिकित्सकको प्रथम दायित्व/कर्तव्य हो, अनि नैतिक बन्धन पनि ।

रोगीमाथि औषधीहरूको नकारात्मक प्रभाव कसरी न्युनीकरण गर्ने वा त्यसको खराब नतिजालाई कसरी राम्रोमा परिणत गर्ने भन्ने सोच, कौशल र दायित्व स्वयम् चिकित्सकको हुन्छ । तसर्थ चिकित्सकले आफूले दिएको औषधी सम्बन्धित बिरामीलाई मेल खाँन्छ/खाँदैन, अध्ययन गरेकै हुन्छ ।

निम्न अवस्थामा चाहिँ नेटले सहयोगीकै भूमिकाखेल्न सक्छ :
चिकित्सकीय सुझावको पुनर्पुष्टि
चिकित्सकको सल्लाहलाई बेवास्ता गरेर गुगलकै सूचनालाई आधिकारिक मान्दै उपचार गर्ने/गराउनेतर्फ लाग्नु सोह्रैआना गलत हो । गुगलको सूचनालाई पूरक मानेर त्यसका आधारमा चिकित्सकसँग सल्लाह गर्नुचाहिँ राम्रै हुनसक्छ । गुगलमा दिएको सूचनाले रोग सम्बन्धी तपाईंको जानकारी बढाउन धेरै हदसम्म मद्दत गर्छर् । विशेषतः छोटो समयको परामर्शमा चिकित्सकलाई सबै प्रश्न सोध्न नमिल्ने परिस्थितिमा तयारीका साथ जाँदा परिस्कृत रूपमा प्रश्न राख्न भने गुगलले मद्दत नै गर्छ।

चिकित्सकले व्याख्या गरेकोभन्दा फरक तथ्य तपाईंले पत्ता लगाउनुभए ऊक्त कुरा नलुकाई चिकित्सकसामु राख्न सक्नुहुनेछ । यसले बिरामी र चिकित्सक दुवै गुमराहबाट मुत्त हुन सक्नेछन् । इन्टरनेटमा जसले पनि, जहिले पनि र जेसुकै पनि पोस्ट गर्न मिल्ने भएकाले त्यस्ता सूचनाको विश्वसनीयतामा जहिले पनि प्रश्न उठेकै हुन्छ । तसर्थ तपाईंले कुन सूचना कस्तो स्रोतबाट प्राप्त गर्न खोज्नुभएको हो, सोचाहिँ आफैँलाई सोध्नुपर्छ । किनकि गुगल स्वयम् चिकित्सक होइन, यसले त औसत रूपमा रोगका बारेमा सामान्य जानकारीमात्रै दिन्छ ।

के विश्वास गर्ने, के नगर्ने ?
सबै अनलाइन सूचनालाई झट्टै र ठयाक्कै विश्वास गर्न सकिँदैन । फेरि गुगलमार्फत चिकित्सा सम्बन्धी सूचना प्रवाह गर्ने व्यक्ति या समूह चिकित्सकीय रूपमा दक्ष र योग्य होलान् भनेर ठोकुवा गर्न पनि सकिँदैन । तपाईंलाई चिकित्सकले दिएको चाहिँ पहिलो विश्वस्त सुझाव हो ।

इन्टरनेटमा प्राप्त सूचनाकै आधारमा निर्णय गर्ने बानीका कारण धेरैमा ठूलो नकारात्मक असर परेको पाइन्छ । यस्तो असरलाई साइवर कोन्ड्रिया भनिन्छ । आफ्नो रोगका लक्षण गुगलमा खोजी स्वनिर्णयमा रोगको निदान र उपचार गर्नेमा आउने समस्या हो यो । यो प्रक्रिया अपनाउँदा कहिलेकाहीँ आफूमा देखापरेको रोगको सामान्य लक्षण पनि कुनै खतरनाक रोगसँग मिल्न सक्छ । र रोगी भयानक रूपमा तनावमा पर्ने वा मानसिक रोगी बन्नसक्ने सम्भावनासमेत हुन्छ ।

उदाहरणका लागि, कसैले वाक्वाक् लाग्दा त्यसको कारण नेटमा खोजेमा गर्भवती भएको वा थाइराइड सम्बन्धी गडबडी देखिएको बुझाउँछ । तर त्यस्तो समस्या आमाशयको सामान्य गडबडीमा समेत देखिन्छ । अनि भएन त व्यक्तिले अनाहकमै अनावश्यक विषयतिर सोच्नुपर्ने अवस्थाको सिर्जना ?

यदाकदा हामीले त्यस्ता घटनासँग पौंठेजोरी खेल्नुपर्ने नै हुन्छ, खेलिराखेका हुन्छौं । केही उदाहरणीय घटना :
गत डिसेम्बर अन्तिमसाता नेपालमा ट्रेकिङ गरिरहेका २५ वर्षीय एक अमेरिकी नागरिक लेक लाग्ने रोग (हाई अल्टिच्युड सिकनेस) का कारण श्वास–प्रश्वासमा कठिनाइ भएर र शरीरभर व्यापक डाबर/खटिरा आएर जटिल अवस्थामा अस्पताल ल्याइए । आवश्यक आकस्मिक उपचारपश्चात् उनलाई अस्पताल भर्ना गरियो ।

ग्यास्ट्राइटिस र श्वास–प्रश्वास नियमन गर्ने औषधीका साथ उनलाई प्रतिजैविक औषधी (एन्टिबायोटिक्स) पनि चलाइयो । तीन दिनको औषधोपचारपछि उनी पूर्णतया निको भए र डिस्चार्ज पनि । डिस्चार्जका दिन उनलाई दिइएको प्रतिजैविक औषधी थप दुई दिन खानुपर्ने सल्लाह दिइयो । तर उनले थप औषधी खान इन्कार गरे । कारण थियो, गुगलले भने अनुसार उक्त औषधीले पार्ने साइड इफेक्ट । जुन औषधीले उनी निको भए, त्यही औषधी थप दुई दिन लिन उनले मानेन् र अमेरिकातर्फ हुइँकिए ।

अर्को उदाहरण अमिट्रिप्टिलिन भन्ने औषधी ज्यादा टाउको दुखाइ र मानसिक चिन्ता कम गर्न दिने गरिन्छ । कहिलेकाहीँ मांसपेशीको दुखाइ निवारणमा समेत यसको प्रयोग गरिन्छ । तर बिरामीले यो औषधी किन प्रयोग गर्ने भनेर नेटमा हेर्न थाल्यो भने मानसिक रोगमा प्रयोग गरिने औषधी भन्ने सूचना पाएर चिकित्सकसँग ठाडै झगडा गर्न आइपुग्छ ।

त्यस्तै प्रिग्यावलिन नामक औषधी छारेरोगको उपचारमा प्रयोग गरिन्छ । यद्यपि स्नायु सम्बन्धी पीडामा समेत यसको प्रयोग गरिन्छ । नसाका कारण शरीरका अंगहरू दुख्ने समस्याका धेरै अवस्थामा यसको प्रयोग हुन्छ । एक पटक यही औषधी एकजना बिरामीमा प्रयोग गर्दा उनी ‘मलाई छारेरोगको औषधी दिने ?’ भनी हामीसँग झगडा गर्न आएका थिए ।

गुगल हाल आएर मान्छेहरूको स्वास्थ्य सम्बन्धी आवश्यक जानकारीको स्रोत बन्नथालेको पाइन्छ । तर यो भरपर्दो र विश्वसनीय भने हुँदैन । यसले केवल मान्छेमा थप शङ्का–उपशङ्का बढाउने, चिकित्सकको मौलिक चिकित्सा पद्धतिमा भाँजो हाल्ने र रोगीलाई अप्ठ्यारो परिस्थितितिर धकेल्ने सम्भावना बढाउँछ । कारण, डाक्टर गुगलले दिएका लक्षणहरू केवल साङ्केतिकमात्रै हुनसक्छन् । यसले आमरोगका लक्षण र औसत निदानमात्र बताउँछ ।

रोगीको खास रोगको लक्षण र उपचार बताउन सक्तैन । यो चिकित्सक होइन, सामान्य सूचना प्रवाहकमात्र हो । गुगल डाक्टरले प्रस्तुत गरेको लक्षणहरू अद्यावधिक नहुन सक्ने, चिकित्सा विज्ञानले परिमार्जन गरेका नवीनतम तथ्यहरू यात उपलब्धै नहुने, भैहालेमा पनि पर्याप्त नहुने सम्भावना त्यत्तिकै रहन्छ ।

तसर्थ कुनै रोग लाग्दा डाक्टर गुगलकै सल्लाहमा भर परेर चिकित्सकको सल्लाह–सुझाव र औषधोपचारलाई नकार्दा भयावह समस्या आइपर्न सक्छ । यसबारे सचेत हुने/नहुने व्यक्तिविशेषकै निर्णयमा भर पर्छ ।

डा. नेपाल हाड–जोर्नी विशेषज्ञ हुन् भनेमैनाली सञ्चारकर्ता ।

प्रकाशित : जेष्ठ १८, २०७६ ०८:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×