नेपालले चिनेन, जापानले चिन्यो

डा. हिमलाल घिमिरे

काठमाडौँ — सम्पन्नता, विज्ञान/प्रविधिको विकास र शक्तिलाई नै शान्ति र प्रगति ठान्नेहरूका चिन्तनको उपज आज विश्वमा अशान्ति छ । सुख छैन । द्वन्द्व छ । हार्दिकता छैन । मानवता हराएको छ । व्यक्तिलाई जीवन के हो भन्ने अनुभूति हुनछाडेको छ ।

भगवान बुद्धले दिएका शान्ति, अहिंसा, परोपकार, सदाचार, अपरिग्रह, निर्मोहजस्ता सद्गुण मानवजीवनका लागि महत्त्वपूर्ण छन् । मानिसको भव तृष्णा, विभव तृष्णा र काम तृष्णाका कारण दुःख उत्पत्ति हुन्छ । त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्छ । यो नै बुद्ध धर्मको सार हो । बुद्धका अनुसार चार आर्य सत्यको ज्ञान र अष्टाङ्गकिमार्गको पालनाबाट संसारभरि ब्याप्त आर्थिक, सामाजिक, धार्मिक, राजनीतिक द्वन्द्व समाधान हुनसक्छ ।


बुद्धले आफूलाई न भगवान हुँ भने न उनले दिएको शिक्षालाई धर्म नै । उनले प्रतिपादन गरेको ज्ञान, करुणा, स्नेह, दया, क्षमा, अहिंसा, सत्यको मार्ग सर्वस्वीकार्य हुँदै गयो । कालान्तरमा बुद्ध धर्मको रूपमा परिणत भयो । फलस्वरुप उनको सम्झनामा स्तूप, चैत्य, गुम्वा, छोर्तेन, विहार, मन्दिरहरू बन्दै गए ।


बौद्ध धर्म नेपाल र भारतबाट चीन, कोरिया हुँदै छैटौं शताब्दीमा जापान पुगेको भए पनि यसको विकास, संरक्षण र प्रयोग जापानमा राम्रोसँग भएको छ । सातौं शताब्दीको प्रारम्भमा राजकुमार सोतोकुले बौद्धधर्म र दर्शनको गहिरो अध्ययन गरेपछि जापानमा बौद्ध धर्मले ब्यापकता पाएको देखिन्छ ।


बौद्ध धर्म र बौद्ध दर्शनलाई नै आदर्श मान्दै सबैजसो जापानीले आत्मसात गरेका छन् । जापानीहरूका जीवनमा बौद्ध धर्मले निकै प्रभाव पारेको प्रमाण तिनका कला, साहित्य, वास्तु, नैतिक दृष्टिकोण, विचार, आदर-सत्कार गर्ने व्यवहार, नम्रता आदिबाट प्रस्ट हुन्छ ।


बौद्ध र हिन्दु संस्कृतिको संयोग जापानका विभिन्न बौद्ध मन्दिरमा देख्न सकिन्छ । जापानीहरू हिन्दु देवीदेवता जस्तै- गणेशको प्रतीकको रूपमा शोतेन, सरस्वतीको प्रतीकको रूपमा वेन्जालटेन वा वेतेन, विश्वकर्माको रूपमा विशुकाट्सुमा -काष्ठकलाका देवता), यमदूतको रूपमा इम्मा-ओ (नर्कका राजा) लाई पूजा गर्ने गर्छन् । बौद्ध र हिन्दु संस्कृतिको संयोगको एक अनुपम नमुना जापानको नागोयामास्थित तोगान्जी बौद्ध मन्दिर परिसरमा देख्न सकिन्छ ।


उक्त बौद्ध मन्दिर परिसरमा शिवलिङ्ग स्थापना गरिएको छ । मन्दिरमा दर्शन गर्न, पूजा गर्न आउने भक्तहरू उक्त शिवलिङ्गमा जल चढाएर मात्र मूल मन्दिर प्रवेश गर्ने गर्छन् । मन्दिर परिसरमै हिन्दु देवी सरस्वतीको प्रतीकको रूपमा वेन्जालटेन समेत स्थापना गरिएको छ । जापानको शिकोकु तीर्थ सञ्जालमा रहेका बौद्ध मन्दिरहरूमा बौद्ध बाहेक अन्य धर्म मान्नेहरू पनि बौद्ध सूत्रपाठ गर्छन् । यो धार्मिक सहिष्णुताको नमुना हो ।


अन्तर्राष्ट्रिय जगतमा नेपाल चिनाउने प्रमुख माध्यम बुद्ध र लुम्बिनी हुन् भने बुद्ध चिन्ने र बुद्धका सन्देशलाई अनुशरण गर्ने देश जापान हो । जापानका मन्दिरहरू, बौद्ध मूर्तिहरू, वरिपरिको शान्त वातावरण, स्वच्छता, सुन्दरता हेर्दा साँचो अर्थमा बौद्ध दर्शनलाई व्यवहारमा उतारेको अनुभव गर्न सकिन्छ । स्वर्गझैं लाग्ने मन्दिर परिसरको बगैंचा, बौद्ध मन्दिरको भब्य सजावट र सुगन्धित धुप एवं संरक्षणको व्यवस्थापन हेर्दा शान्ति र आनन्द प्राप्त हुन्छ ।


नेपाल भ्रमण गर्ने पहिलो जापानीको रूपमा जेन धर्मका गुरु (भिक्षु) इकाइ कावागुची हुन् । बौद्ध धर्मको अध्ययन, संस्कृत र पाली भाषामा लेखिएको सूत्रको पाण्डुलिपि संकलन, तिब्बती भाषामा लेखिएका ग्रन्थहरूको खोज तथा उल्था गर्ने, बौद्ध दर्शन, ग्रन्थ र संस्कारको अध्ययन, पुराना मठ, मन्दिर, चैत्य तथा विहारहरूमा संस्कृतमा लेखिएको शिला, ताम्रपत्र तथा आधिकारिक बौद्ध ग्रन्थको अध्ययन गर्ने उद्देश्यले सन् १८९९ माउनी नेपाल आएको देखिन्छ ।

हिमालय पार गर्दै तिब्बत पुगेका कावागुचीले 'हे हिमाल, हे उत्तुङ, हे महान्, हे बुद्ध, हे पवित्र तिम्रो दर्शनले कृतकृत भएँ' भनी लेखेका थिए । सन् १९१३ मा चौथोपटक नेपाल आउँदा लुम्बिनी पुगेकाका वागुचीले मायादेवी मन्दिरमा पशुपन्क्षी बलि दिएको देखे । 'मायादेवी बलि खाने देवता होइनन्, बुद्धकी आमा हुन्' भने । फलस्वरुप प्रधानमन्त्री चन्द्रशमशेरले बलि रोक्न हुकुम दिएका थिए ।


अहिले जापान बौद्ध धर्म, संस्कृति र परम्पराको आदर गर्ने, जगेर्ना गर्ने, पालना गर्ने र विश्व जगतलाई यसप्रति आकषिर्त गर्ने देशको रूपमा विकसित भएको छ । बौद्ध धर्मलाई अंगिकार गर्ने र व्यवहारमा ल्याउने कार्यमा सबैभन्दा अगाडि जापान र त्यसपछि श्रीलंका, कोरिया, चीन, थाइल्यान्ड लगायतका देश छन् । बौद्ध धर्मको विश्वव्यापीकरण यसरी भएको छ कि नेपाल र भारतमा भन्दा बढी एसियाका अन्य देश, युरोप र अमेरिका लगायतका पश्चिममा यसप्रति बढी चासो, उत्सुकता, अनुशरण र संरक्षण तथा सौहार्द राख्नेहरूको संख्या बढ्दो छ ।


बौद्ध धर्मको अनुपम केन्द्र बन्नुपर्थ्याे , नेपाल । बुद्धकै जन्मभूमिमा रहेका अधिकांश अध्येता, बौद्ध धर्मका विद्वान भनिएकाहरू चाहे नेपालमै अध्ययन गरेका हुन् वा विदेशमा कर्मकाण्डी भए । बौद्ध धर्म र दर्शनको अध्ययन, अध्यापन गराउनुपर्नेमा एउटामात्र भएको बौद्ध विश्वविद्यालय पनि नाम मात्रको छ ।


लेखकले 'बौद्ध पर्यटन : लुम्बिनी र शिकोकु जापानको तुलनात्मक अध्ययन'मा विद्यावारिधि गरेका छन् प्रकाशित : जेष्ठ ४, २०७६ ०८:०२

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पर्यटन प्रवर्द्धनमा प्रविधि

डा. हिमलाल घिमिरे

काठमाडौँ — मानिसमा नयाँ–नयाँ ठाउँ घुम्ने, अध्ययन गर्ने, रमाउने, खर्च गर्ने संस्कृति विकास भइरहेको छ । सूचना प्रविधिको चरम विकासले पर्यटन क्षेत्रमा परिवर्तन ल्याएको छ । कर्मचारी वा कुनै मानवीय सहयोग विना मोबाइल वा कम्प्युटरमार्फत इन्टरनेट प्रयोग गरेर पर्यटकीय आकर्षणबारे जानकारी लिने चलन बढेको छ ।


इन्टरनेटबाटै हवाई टिकट र होटल बुकिङ गर्न थालिएको छ । खाना तथा अन्य आवश्यक कुरा मगाउन र पैसा तिर्न सकिन्छ । ठूला र स्तरीय होटलले आफ्नै एप बनाएका हुन्छन् । एपमार्फत सेवा, सुविधा, खाने, मनोरञ्जनका कार्यक्रम/साधन थाहा पाउन सकिन्छ । केही होटल, रेष्टुरेन्टमा यन्त्र–मानव (रोबट) ले पर्यटकलाई सेवा दिन्छ ।


इन्टरनेट प्रयोग गरेर लिइने/दिइने सेवा–सुविधा र ग्राहकको विवरण सजिलै तथ्याङ्कीकरण गर्न मिल्ने हुनाले सरकार वा सेवाप्रदायक संस्थालाई योजना बनाउन सजिलो भएको छ । सेवाग्राहीले आफ्नो भ्रमण, अनुभव, सेवा–सुविधा जस्ता कुरा सामाजिक सञ्जाल फेसबुक, वेबसाइट, ट्रिप एड्भाइजर, युट्युब आदिमा राख्ने हुँदा गुणस्तरीय सेवा–सुविधामा प्रतिस्पर्धा हुन्छ । यसबाट पर्यटक तथा सेवाप्रदायक कम्पनीले फाइदा लिन सक्छन् । पर्यटन संसारको एउटा कुनामा बसेर अर्कै कुनामा रहेको सेवा–सुविधाको जानकारी लिने, तुलना गर्ने, बुकिङ गर्ने, लेनदेनको कारोबार हुने र त्यो सेवा लिने व्यवसाय हो । प्रविधि विना पर्यटन सम्भव छैन ।


पर्यटन र प्रविधि उचित संयोजन गर्न जरुरी छ । नेपालमा पर्यटन उद्योगको अथाह सम्भावना छ । पर्यटन प्रबद्र्धन गर्दै अवसर सिर्जना गर्न यो उद्योगलाई प्रविधि मैत्री बनाउन आवश्यक छ । पर्यटकीय आकर्षण थप्न, पर्यटकलाई दिइने सेवासुविधामा गुणात्मक सुधार गर्न, शान्ति–सुरक्षामा सुधार्न ध्यान दिनुपर्छ । पर्यटन उद्योगबाट विदेशी मुद्रामात्र आर्जन हुँदैन, प्रत्यक्ष–अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना हुन्छ । यसले नेपालको प्राकृतिक छटा, बहुसंस्कृतिलाई विश्वसामु परिचित गराउन सक्छ ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०१७ मा नौ लाख पचास हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । यसबाट पर्यटन क्षेत्रले झन्डै एक खर्ब नेपाली रुपैयाँ आर्जन गर्‍यो । पर्यटन क्षेत्रमा पाँच लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । नेपालीमा पनि घुम्न जाने, रेष्टुरेन्टमा खाने, रमाइलो गर्ने संस्कार विकास भएको छ । त्यसैले नेपाली पर्यटन उद्योगमा आन्तरिक पर्यटकको ठूलो योगदान छ ।


नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत पर्यटन विकासका लागि ५ अर्ब २० करोड ३४ लाख रुपैयाँ छुट्याएको छ । आगामी २ वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य र सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने योजना छ । तर सरकारी स्तरबाट भएका पर्यटन विकास र प्रबद्र्धनका कार्य त्यति सकारात्मक र उपलब्धिमूलक छैनन् । पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख १ गते रारा तालको किनारबाट ‘कर्णाली–रारा पर्यटन वर्ष’ घोषणा गरेका थिए, तर कार्यान्वयन फितलो देखियो ।


हिमाल आरोहण र ट्रेकिङमा गएका पर्यटकलाई गरिने जाली उदार प्रकरण, अन्तर्राष्ट्रिय विमानस्थलको अव्यवस्था लगायतले पर्यटन क्षेत्रमा असर पारेको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले थिलथिलो पारेको नेपालको पर्यटन सबल बनिसकेको छैन । क्षति भएका पर्यटकीय आकर्षणका सम्पदाको पुनर्निर्माण सकिएको छैन । विश्व जगतलाई नेपाल पर्यटकीय आकर्षणका विविधताले भरिएको सुरक्षित र भरपुर मनोरञ्जन लिन सकिने गन्तव्य हो भन्ने सन्देश दिन सकिएको छैन ।


नेपालमा धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक, प्राकृतिक, जैविक, सामाजिक, शैक्षिक, कृषि, साहसिक खेलकुद पर्यटकीय आकर्षणका क्षेत्र हुन् । भूकम्प र १० वर्षे राजनीतिक द्वन्द्वजस्ता विषयले पनि पर्यटकलाई तान्छन् । तर सरकार, राजनीतिक दल र नेता–कार्यकर्ता, पर्यटन व्यवसायी, पर्यटन सम्बन्धी संघ–संस्था सबैले कम आँक्नाले अपेक्षित उपलब्धि हाँसिल भएको छैन ।


नेपाली पर्यटनलाई प्रविधि मैत्री बनाउँदै अन्तर्राष्ट्रिय बजारमा आक्रामक प्रचार–प्रसार गर्न जरुरी छ । विदेशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगलाई पर्यटन प्रबद्र्धनमा सक्रिय बनाउनुपर्छ । गैरआवासीय नेपाली संघ, विदेशमा रहेका नेपालीले पनि यसमा मद्दत गर्न सक्छन् । भारत, चीनजस्ता छिमेकी देशका पर्यटकलाई आकर्षित गर्ने खालका प्याकेज तयार गर्नुपर्छ । नेपाल सुरक्षित पर्यटकीय गन्तव्य हो भन्ने सन्देश पनि प्रवाह गर्नुपर्छ ।


लेखकले धार्मिक पर्यटन र लुम्बिनी विषयमा विद्यावारिधि गरेका छन् ।

प्रकाशित : आश्विन १०, २०७५ ०७:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×