३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एक कान दुई कान यौन

बालिका थपलिया

काठमाडौँ — आजकाल एउटा विषय-वस्तुले मलाई सताइरहेेको छ, अनि केही सोच्न र लेख्न बाध्य बनाइरहेको छ । त्यो विषय हो- विवाहइतर सम्बन्ध । मेरो छिमेकमा यस्तै घटना भयो । श्रीमान विदेश गएको बेला श्रीमती अर्कै पुरुषसँग नजिक भइन् । यो कुरा घरपरिवार हुँदै विदेशिएका श्रीमानले सम्म थाहा पाए ।

एक कान दुई कान यौन

श्रीमान फर्किएपछि उनलाई स्वीकार्न मानेनन् । दुवैको छोडपत्र भयो । श्रीमानले अर्को बिहे गरे । उनी घरपरिवारबाट विछोड भएर एक्लो जीवन बाँचिरहेकी छन् ।


यस्ता घटना खोज्न हामी टाढा जानु पर्दैन । हाम्रै घरपरिवार र समाजको सत्य घटना हो यो । एकछिनको आवेशले हाम्रो जीवनको सबै खुसी तहसनहस गरिदिएको छ ।


हामीलाई थाहा नै छ, हाम्रो देशको धेरै जनसङ्ख्या वैदेशिक रोजगारको सिलसिलामा विदेश पलायन भएको छ । श्रीमान एकातिर श्रीमती अर्कोतिर । यस्तो अवस्थामा श्रीमानलाई केटी साथी र श्रीमतीलाई केटा साथीको चाहना बढ्न थाल्छ । आफ्नो भौतिक आवश्यकता पूरा गर्न उनीहरू सक्रिय बन्न थाल्छन् ।


हुन त विदेशिएका श्रीमतीको परपुरुषसँगको सम्बन्धलाई मात्र विभिन्न सञ्चार माध्यममा हाइलाइट गरिएको छ, तर के ती श्रीमानहरू पत्नीव्रतमा सीमित छन् होला त ? यो प्रश्नले बारम्बार मेरो मस्तिष्कलाई झकझक्याउँछ । अनि आफै जवाफ खोज्न मन लाग्छ, 'पक्का छैनन् ।' उनीहरू पनि आफ्नी श्रीमतीझैं यौनको तिर्खा मेटाउन यत्रतत्र भड्किइरहेका हुन्छन् ।


भनाइ छ : सेक्स भोकजस्तै हो । जसरी भोक लाग्दा हामी खानेकुरा खान्छौँ, त्यसैगरी सेक्स गर्न पाउनु पनि मानव अधिकार हो । यो सृष्टिको जग हो । त्यही सेक्सको अपरिहार्य आवश्यकता पूरा गर्न हाम्रो समाजमा विवाहलाई वैधानिकीकरण गरिएको छ । तर बढ्दो महँगीसँगै दैनिक जीवनका आवश्यकता पूर्ति गर्न पैसाको खोजीमा अधिकांश श्रीमान बाहिरिएका छन् ।


श्रीमतीहरू नानी पढाउने भन्दै सहर पसिरहेका छन् । छोरा-बुहारी सम्झिँदै गाउँमा बुढाबुढी रोइरहेका छन् । श्रीमानले कमाएको पैसा गुटमुट्याएर परपुरुषसँग प्रेमसम्बन्ध गाँसेर मोजमस्ती गर्दै श्रीमतीहरू फरार भइरहेका छन् । अन्तिममा श्रीमानलाई हात लाग्यो शून्य । नत श्रीमती न सम्पति । त्यतिबेला टाउकोमा हात राखेर झोक्राउनु बाहेक श्रीमानसँग अरु उपाय हुँदैन ।


हाम्रो संस्कार अनुसार विवाहित महिला र विवाहित पुरुषले एकअर्कासँग यौनसम्बन्ध राख्नु पापकर्म हो । त्यसैले यो वर्जित छ, हाम्रो कानुनमा । तर लुकिछिपी भए पनि यो सम्बन्धले प्रश्रय पाइरहेको छ । हाम्रो समाज पितृसत्तात्मक भएकाले पुरुष महिलाहरूभन्दा बढी स्वतन्त्र छन् । त्यसैले बहुविवाह गर्दा पनि कसैले औँला उठाउन सकिरहेको छैनन् । यदि श्रीमतीले आफ्नो मनपरेको मान्छेसँग नजिक भएमा मात्र पनि नानाभाँती आरोप लगाइन्छ । घरबाट गलहत्याएर निकालिन्छ । अन्तिममा उनलाई घरको न घाटको बनाइन्छ ।


विश्व इतिहास पल्टाउने हो भने धेरै महान मानिस पनि यस्तो सम्बन्धको अघि झुकेका थिए । अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन र मोनिका लेविन्सकीको प्रेम प्रसङ्गले एकपटक संसारभर चर्चा पाएको थियो । बिल क्लिन्टन विवाहित थिए । उनी हिलारी क्लिन्टनका श्रीमान थिए । बेलायतकी राजकुमारी डायना पनि यस्तो सम्बन्धमा खप्पिस थिइन् ।


पाकिस्तानी विदेश मन्त्री हिना रब्बानी खार विवाहित र बच्चाकी आमा भए पनि आफूभन्दा १२ वर्ष कान्छा विलावल अली भुट्टोको प्रेममा प“mसेकी थिइन् । विलावलले पनि रब्बानीका लागि आफ्नो बुबा आसिफ अली जर्दारीसँग सम्बन्ध बिगारेका थिए । मर्ने बेलामा पनि हिटलर भर्खरकी प्रेमिकासँग थिए भन्ने उनको जीवनीबाट थाहा पाउन सकिन्छ ।


विवाह अतिरिक्त क्रियाकलापले संसारलाई भित्रभित्रै हल्लाइदिएको छ । विश्व चर्चित रोमान्टिक कवि लर्ड बायरनलाई प्रेम गर्ने अधिकांश विवाहित महिला थिए भन्ने उनको जीवनीमा उल्लेख छ । विवाह अतिरिक्त क्रियाकलापले संसारलाई भित्रभित्रै हल्लाइदिएको छ ।


विवाह-इतर सम्बन्ध चुम्बकझैँ बनेको छ, हाम्रालागि । यसले समस्या निम्त्याउँछ भन्ने हामीलाई थाहा छ । तर पनि जानी-जानी हामी जोखिम मोलेर यो हवनकुण्डमा होमिइरहेका छौँ । वैदेशिक रोजगारमा जाने श्रीमान र श्रीमतीको घरपरिवारमा मात्र नभई स्वदेशमै पनि यो सम्बन्धले उत्कर्ष लिइरहेको छ । हामी यसको जञ्जालबाट उम्किन सकिरहेका छैनौँ ।


मानौँ, यो पहेलिकाको बीचमा हामी घर न घाटका भएर भड्किइरहेका छौँ र सही बाटो पहिल्याउनसकेका छैनौँ । आफू यो अवस्थामा छौँ भन्न पनि हामीलाई हिम्मत छैन र आफ्नो अवस्थालाई गुपचुप राख्ने प्रयत्न गरिरहेका छौँ । हामीले किन नबुझेको होला, वास्तविकता एकदिन छताछुल्ल भएर पोखिन्छ भन्ने ? हामी किन आँखा देख्दादेख्दै पनि दृष्टिविहीन भइरहेका छौं ?कुनै पनि काम गर्नु अघि त्यसको परिणामको बारेमा सोच्नसकेमा हामी आफ्नो धरातलबाट खस्किने थिएनौं कि ?


त्यस्तो सम्बन्ध पो राम्रो जसले कसैको भावनामा ठेस नपुर्‍याओस् । कसैको जिन्दगीसँग खेलवाड नगरोस् । घरबार नबिगारोस् । यस्तो कार्यबाट आउन सक्ने समस्यालाई प्राथमिक तहमै रोकथाम गर्न हाम्रोे गम्भीर सोचले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । यो हामीसँग नैसर्गिक रूपमा जोडिएको संवेदनशील विषय हो ।


हामीले लुकाउनुको साटो एकापसमा साटासाट गरेर अन्तरक्रिया, छलफल गरेर केही हदसम्म भए पनि समस्या निराकरण गर्न सकिन्छ । सडक नाटकको माध्यमबाट गाउँका कुना-कुनामा यसबारे सन्देश प्रवाह गर्न सकिन्छ । आफ्नो समस्या नलुकाऊँ । व्यक्तिगत घटना नै सार्वजनिक अर्थात समाजको घटना हो ।


हामीलाई थाहै छ, समाज हाम्रै विस्तारित रूप हो । हाम्रो सकारात्मक कदमले समाजमा शान्ति ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । त्यसैले यो शान्तिपि्रय देशमा वैवाहिक अशान्ति छाउन नदिऔँ ।

प्रकाशित : जेष्ठ ४, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?