कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

कुकुरबारे किन यति धेरै किताब ?

न्युयोर्क टाइम्स

‘संगीत वा खोलानाला वा हरियाली र मुलायम घाँसबिना यो विश्व कस्तो होला ?’ कवि म्यारी ओलिभर आफ्नो किताब ‘डग संग्स’मा प्रश्न गर्छिन्, ‘कुकुर बिना यो संसार कस्तो होला ?’कुकुर बिनाको विश्वबारे सोच्न पनि मुस्किल छ  । कुकुरसँगको हाम्रो सम्बन्ध कुनै लिखित दस्तावेज र युगभन्दा पहिल्यै सुरु भएको हो  ।

कुकुरबारे किन यति धेरै किताब ?

कुकुर बिनाको विश्वबारे सोच्न पनि मुस्किल छ । कुकुरसँगको हाम्रो सम्बन्ध कुनै लिखित दस्तावेज र युगभन्दा पहिल्यै सुरु भएको हो । उनीहरू हाम्रा सिकारका साथी भए । खाट तताउने माध्यम बने । कहिलेकाहीं केही नभेटेका बेला खाना नै पनि हुन्थे । कुकुरहरू हाम्रो घरभित्र, भान्छा कोठामा डुल्छन् र सोफामा सुत्छन् । व्यावहारिक भएर विचार गर्दा ६ करोड अमेरिकी घरमा कुकुर बस्छन् । कुकुरबारे प्रकाशित किताबहरू अधिकांश कसरी कुकुर चयन गर्ने, तालिम दिने र स्याहर गर्ने भन्ने छन् ।


यो शताब्दी अझ भिन्न छ । जोन ग्रोगानद्वारा लिखित २००५ को मेगा बेस्ट सेलर ‘मार्ले एन्ड मी’ले कुकुरबारे हामीले के सोच्छौं भन्ने विषयमा महत्त्वपूर्ण बदलाव ल्याइदिएको छ । सन् १९९० मा कुकुर पाल्न थाल्दाको हाँसोउठ्दो अवस्थाबाट सुरु हुन्छ । कसरी ठूलो, बलिष्ठ मासु खाने जनावरलाई रेस्टुरेन्टमा वा हावाहुरी र चट्याङका बेला शान्त भएर बस्ने तथा समुद्र किनारमा डुल्दा दिसा नगर्ने भनेर सिकाउने ? किताबको अन्त्यसम्ममा ग्रोगान पूर्णरूपमा आफ्नो ल्याब्रोडर जातको कुकुर मार्लेको आन्तरिक जीवनमा केन्द्रित थिए । मार्लेले विश्वका बारे के सोच्छ, महसुस गर्छ र बुझ्छ भन्नेमा उनी चिन्तित थिए ।


यो शताब्दीको सुरुदेखि नै कुकुरहरूको दिमागमा के चल्छ भन्ने किताबहरू धेरै प्रकाशित भए । हाल एम्याजोनमा मात्रै कुकुरबारे लेखिएका ७० हजारजति किताब उपलब्ध छन् । केही दर्जन चर्चित उपन्यास पनि छन् । ‘द आर्ट अफ रेसिङ इन द रेन’, ‘ए डग्स पर्पोज’ पाठकहरूको आँखाबाट आँसु झार्न सफल उपन्यास हुन् । कुकुरहरूको दिमागमै आधारित भएर आख्यान लेखन बढ्दो छ ।
कुकुरहरूसँग १४ हजार वर्षसम्म सँगै रहेर अहिलेमात्रै किन हामी तिनीहरूले के सोच्छन् भन्ने विषयमा केन्द्रित भएका छौं ? यसबारे धेरै व्याख्या हुनसक्छ । त्यस मध्येको एक भनेको विज्ञानले दुई शताब्दीयता कुकुरहरूबारे धेरै अनुसन्धान गरेकोले हो । सन् १९०० देखि १९९९ सम्म अधिकांश मानसिक क्षमता सम्बन्धी अनुसन्धानकर्ताले कुकुरबारे अध्ययन गर्न रुचि नै राखेनन् । घरपालुवा बनाइएकाले यसको सम्पूर्ण क्षमता क्षय भइसकेको उनीहरूको अनुमान थियो ।


१९३१ मा प्रकृतिविद फ्रान्सिस पिटले कुकुरहरूको बुद्धि नभएको दाबी गरेका थिए । ‘कुकुरहरूमा बाँच्न आवश्यक पर्ने सम्पूर्ण क्षमता मानिसहरूको संरक्षणका कारण हराइसकेको विभिन्न प्रकारका प्राकृतिक परीक्षणबाट देखिएका छन्,’ उनले भनेका थिए । १९७१ मा पशु चिकित्सक माइकल फक्सले पाल्तु बनाइएकै कारण तिनमा नैराश्यता, अत्तालिने जस्ता मानसिक समस्या, दम, झाडा र पक्षाघातको समस्या देखिन थालेको उल्लेख गरेका थिए ।


१९५० देखि जनावरको मानसिक क्षमता जान्न गरिएका विभिन्न प्रयोगले तिनमा भएको बुद्धिको स्तर देखाउन थालेका थिए । सन् १९८० सम्म डल्फिनले कम्प्युटरको आवाजको नक्कल गर्नसक्ने पत्ता लागेको थियो । परेवाहरूमा विभिन्न वस्तुको तस्बिर हेरेर
छुट्याउन सक्ने क्षमता रहेको थाहा भएको थियो । हाम्रो पुर्खा मानिएका बाँदरहरूको मानसिक क्षमता मानिस जतिकै तेज हुने पनि देखिएको थियो । कुकुरको क्षमताबारे भने धेरै कुरा पत्ता लागेको थिएन । १९५० देखि २००० सम्म कुकुरको मानसिक क्षमताबारे केही लेखिएको छैन भने पनि हुन्छ ।


त्यसपछि भने एक्कासी कुकुरको मानसिक क्षमताबारे लेखिएका सामग्री छ्यापछ्याप्ती प्रकाशित हुनथाले । मनोविज्ञान, मानवशास्त्र र मस्तिष्क विज्ञानका अध्येताहरूले पनि यस विषयमा लेखे । मनोवैज्ञानिक एलेक्सान्ड्रा होरोविजको २००९ मा प्रकाशित ‘इन्साइड अफ ए डग’ यो क्षेत्रमा कोशेढुंगा नै बन्यो । त्यसले कुकुरहरूले आफू वरपरको संसारलाई कसरी हेरिरहेका हुन्छन् भन्ने थाहा पाउन महत्त्वपूर्ण भूमिका खेल्यो । सन् २०१३ मा प्रकाशित गर्जोरी बर्न्सको ‘हाउ डग्स लभ अस’ले कुकुरहरूको दिमागी क्षमताबारे नयाँ आयाम उजागर गर्‍यो । उनी पहिलोपटक जीवित कुकुरको दिमागको एमआरआई गर्न सफल भए । उनले कुकुरको दिमागमा रहेको पुरस्कार–केन्द्रले खानेकुरामा मात्रै नभई प्रोत्साहन गर्दा पनि समान प्रतिक्रिया जनाउने पत्ता लगाए । कुकुरको दिमागमा मानिसहरूको अनुहार चिन्नका लागि छुट्टै भाग हुने उनको अध्ययनले देखायो ।


कुकुरबारे हाम्रो सोच अग्रगामी छ । सँगै बसेपछि उनीहरूप्रतिको मनोवृत्ति परिवर्तन हुने हाम्रो इतिहासले नै देखाउँछ । कुनै बेला हामी कुकुरलाई उपयोगी माने पनि सफा जनावरका रूपमा लिँदैन थियौं । कुनै बेला हामी आफ्नै बच्चाहरूलाई पनि त्यही रूपमा हेर्थ्यौं । १८ औं शताब्दीको सुरुमा युरोपमा काम गराउनका लागि बच्चा जन्माइन्थ्यो । जन्मिएका सबै बच्चा जीवित नरहने भएकाले पनि त्यसबेला अभिभावक धेरै बच्चा पाउँथे र जीवित रहेकालाई काममा लगाउँथे ।


१९ औं शताब्दीमा बाल मृत्युदर घट्यो । त्यसपछि काम गर्नेको संख्या पनि बढ्यो । अभिभावकहरूले उनीहरूलाई कामदारको रूपमा मात्रै हेर्न छाडे । बालबालिकाका लागि १९ औं शताब्दी परिवर्तनको युग भएझैं २१ औं शताब्दी कुकुरका लागि हो । अहिले अधिकांश कुकुरलाई धेरै काम लगाइँदैन । उनीहरूको काम केवल हामीलाई माया गर्ने भएको छ । उनीहरू त्यसो गर्न माहिर पनि छन् ।
उड्स र हेयर विकासवाद सम्बन्धी मानवशास्त्रका प्राध्यापक हुन् । उनीहरूको ‘द जिनियस अफ डग्स’ पुस्तक प्रकाशित छ ।


न्युयोर्क टाइम्सबाट अनुदित ।

प्रकाशित : वैशाख २८, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?