कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

शंखधर, छन्द र पहिचान

अभि सुवेदी

गतसाता म काठमाडाैंका दुइटा साहित्यिक घटनामा सहभागी भएँ, एउटामा सक्रिय, अर्कोमा लुप्त र ध्यानातित भएर । पहिलो साहित्यिक घटना मेरोनिम्ति अप्रत्यासित र नौलो थियो, सिर्जनात्मक चुनौती बोकेर आएको थियो । दोस्रो कार्यक्रमको विषय परिचित, बहुचर्चित र काव्यिक थियो । प्रयोगात्मक थियो ।

शंखधर, छन्द र पहिचान

पहिलो कार्यक्रम नेपाल भाषा उर्फ नेवारी भाषाका उपन्यासकार मल्ल के सुन्दरको नेपालीमा रूपान्तरण गरिएको उपन्यास 'शंखधर' को विमोचनमा मैले प्रमुख वक्ता भएर बोल्नु थियो । मैले निकै प्रश्नका उत्तर, नेपाल सम्वत् र अध्ययनका प्रसङ्गहरू खोजेर तयार हुनुपथ्र्यो, १३ बैसाखको दिन ।

भोलिपल्टै दोस्रो कार्यक्रम, युवा पुस्ताकी साधक, पत्रकार र कवि भूषिता वशिष्ठको उनैले छानेका नेपाली छन्द कविताहरूको वाचन थियो । नेपालयका सीईओ र मेरा पूर्वविद्यार्थी एवं मित्र किरण श्रेष्ठले एक शान्त ध्यानानित क्षणको निम्ति उदारतापूर्वक पठाइदिएको निम्तोबाट प्राप्त भएको थियो, त्यो अवसर । यी दुवै कार्यक्रम केही साम्य र केही भिन्नता लिएर नसोचेको किसिमले आएका थिए ।

मल्ल के सुन्दरको उपन्यासले दुईपटक पढेपछि मलाई तरङ्गित बनाइदियो । नेपाल भाषाका यी लेखक यस्ता सूक्ष्म दृष्टि र वर्णन शैलीलेे उपन्यास लेख्ने मानिस हुन् भन्ने मैले थाहा पाएको थिइन । देबे्र ढल्कुवा मल्ल के सुन्दरलाई नेवार भाषा र संस्कृतिको निम्ति संघर्ष गरिआएका व्यक्तिका रूपमा चिनेको थिएँ ।

व्यक्तिगत रूपमा नजिकबाट जानेका मानिस भए पनि ती सिर्जनशील लेखक हुन् भन्ने मलाई थाहा थिएन । एउटै देशको अर्को भाषामा लेखिएका समृद्ध साहित्य नेपालीमा रूपान्तरण भएर पढिएका उदाहरण थोरै छन् । म यो उपन्यासले सहजै तानिएँ । जसबारे यहाँ लामो लेख्ने ठाउँ छैन ।

म नेपालयको सानो सुन्दर हलभित्र १४ बैसाखको साँझमा पस्दा वरिष्ठ सङ्गीतकार आभास हार्मोनियम लिएर ससाना लयका तरङ्ग यसै उडाएर बसेका थिए । छेउमा शुभ्र वस्त्र लाएर बसेकी उज्यालो अनुहार भएकी भूषिता अध्र्दमुदि्रत आँखाले एउटा काव्यिक ध्यानको तरल मुद्रा अभिनय गरिरहेकी थिइन् । अर्केष्ट्रा वादक कलाकारहरू तयार बसेका थिए । घिमिरे युवराजको निर्देशनमा माघ २०७५ मा कुमार नगरकोटीको नाटक 'बाथटब'मा अभिनय गर्दा मुण्डन गरेको कपाल केही बढेको अवस्थाकी भूषिता त्यो मुद्रामा झन् ध्यानातित देखिन्थिन् ।

भूषिताले आफूले छानेका छन्दोबद्ध कविताका शृङ्खला गाउन आरम्भ गरिन् । मैले स्कुल वयदेखि कण्ठै गाउँदै आएका कवि भीमनिधि तिवारीका मेरा अत्यन्त पि्रय कविताले गाउन थालेपछि उत्तेजित भएर पछाडि कुनामा कवि मञ्जुलसँगै बसेको म पनि खुलेर गाउन थालेंँ, जसले एउटा काव्यको हार्मोनी, लय र त्यसको सम्वादिक क्षणको रचना भएको अनुभव गरेंँ । भूषिताले लक्ष्मीप्रसाद देवकोटा, भानुभक्त आचार्य, लेखनाथ्ा पौड्याल, माधवप्रसाद घिमिरे र अरू कविका विभिन्न छन्दका कविता दुई घन्टाभन्दा बढीे पाठ गरिन् ।

यो छोटो लेखमा धेरै छलफल गर्न सक्दिन । तर यी युवा प्रस्तोताले छन्दका कविता छानेर यसरी आकर्षक शैलीमा गाउनुले नेपाली कवितामा चलेका केही समालोचकीय मान्यतालाई फेरि बहसमा ल्याएको छ । नेपाली समालोचनामा छन्दोबद्ध कविता र गद्य कविताको भेद नै एउटा मानक ठानिँदै आएको छ ।

विडम्बना यस्तो छ- छन्दोबद्ध कविता गेय हुन्छन्, गद्य कविताका लय हुन्छन् र ती पाठ गरिन्छन् । छन्दोबद्ध कविताको गेयपक्ष नै गौण हुँदै जानु आश्चर्य हो । आधुनिकता र परम्पराजस्ता धारणा जोडिएका छन्, यसमा । मलाई पोखरा, झापा र अरू ठाउँमा गएको बेला त्यहाँ छन्द कवितालाई उत्थान गर्ने समाजका अभियन्ताहरूले दिएका किताबहरू निकै भइसके । म कहिले-कहिले तिनमा समावेश भएका छन्द कविताहरू सस्वर पढ्छु ।

नेपालमा छन्द कविताले बोकेको पहिचान व्यापक, कालिक र अर्थपूर्ण छ । मान्यताहरू बनिसकेका छन् । सिर्जनशील उक्ति भनेकै अन्त्यानुप्रास भएको गेय छन्द रचना मानियो, जसले सिर्जनाको पहिचान बनायो र निकै कालसम्म त्यो एकमात्र सम्वादिक माध्यमको रूपमा रह्यो । त्यो मात्र मानक भएको कथा विचित्रको छ र त्यत्तिकै महत्त्वपूर्ण पनि ।

छन्दोबद्ध कविता रचना गर्नेहरूले एकतन्त्री राणा शासनकालमा यसलाई एक वाचाल रचनाको माध्यम बनाएको कुरा अत्यन्त महत्त्वपूर्ण छ । नेवारी भाषाप्रति राज्यले विभेदकारी नीति लिएको बेला अनि नेपालीमा रचना गर्नेहरूका अभिव्यक्तिमाथि निगरानी राखेको बेला छन्दोबद्ध कवितामात्र अभिव्यक्तिको यस्तो माध्यम थियो, जसको अनुशीलन कविहरूले नगरेका भए नेपालीमा सिर्जनाको बोली नै रहने थिएन । यो वाङ्मय वञ्जर हुने थियो । नेवारी वा नेपाल भाषाका कविहरूले नेपालीमा छन्दोबद्ध कविता लेख्ने यो आवश्यकता र एकमात्र विधि बुझेर यसको निम्ति काम गरेको कथा वाचाल र महत्त्वपूर्ण छ ।

'जोग-मण्डलीका कवि र कविता' -२०५२) शीर्षकमा स्व. शरद्चन्द्र शर्माले खोज, सम्पादन र पाण्डुलिपि खोजी तयार गरेको एउटा ऐतिहासिक किताबको वाचाल उदाहरण लिने हो भने मैले भन्न खोजेको कुरा प्रस्ट हुनेछ । जोगवीर सिंह उदास उर्फ योगवीर सिंह कंसाकार -१९४२-१९९८) नेपाल भाषाका कवि, चित्तधर हृदयका पनि गुरु थिए, जसले नेपाली छन्द कविताको माध्यमिककालीन परम्परालाई निरन्तरता दिएका थिए ।

उनले मोतीमण्डली पछिको शून्य समय भर्न 'रसिक समाज' बनाए, जसको नामकरण शरद्चन्द्र शर्माले जोगमण्डली राखिदिएका छन् । छोरी विद्यावतीलाई नर्स तालिमका निम्ति इलाहबादसम्म पठाउने प्रगतिशील व्यक्ति थिए, जोगवीर । मछिन्द्रबहालमा कपडाको पसल थियो, उनको । जोगवीर नेपाल भाषामा महाकवि भनेर मानिन्छन्, तर उनी आफूलाई नेपाली कवितामा 'सुन्दरी' पत्रिका काल -१९६३-१९६५) का समस्या पूर्तिकार कविका रूपमा पनि परिचित गराउँथे ।

उनी नेपाली र नेपाल भाषामा कविता लेख्थे । उनले नेपाल भाषामा लेखेका थोरै कविता जोगमण्डलीमा सुनाएका देखिन्छन् । शर्माले ती कविता पनि संकलनमा राखेका छन् । त्यसमा केही हरफ पढ्दा रमाइलो लाग्छ । रोमानी भावमा उनले हामीलाई पनि सुन्दरीहरूले यसो हेरिदिए राम्रो हुने थियो भन्ने भावमा लेखेको छन्द लय यसरी बग्छ : 'अतिछि हिसी दु नानी सोय जिम्त मगानी ।/भति-भति थुख सोसा खुसी जुये जिपिंनी ।।' जोगमण्डलीमा त्यति प्रस्तुत नभएका भए पनि नेपाल भाषाका कविहरूले छन्दमा सुन्दर कविता लेखेका धेरै उदाहरण छन् ।

जोगमण्डलीमा सहभागी कविहरू नाम चलेका र नचलेका दुवैथरीका थिए । चक्रपाणि चालिसे -१९४०-२०१४) पढाइ सकेर 'आजीविकाको खोजीको' निम्ति केलटोलमा डेरा गरी बस्न थालेपछि सिध्दिदास अमात्य -१९२४-१९८६) र जोगवीर उनीसँंग काव्य शिक्षा ग्रहण गर्न आए ।

उनैले लेखेका छन्, 'सिध्दिदास कविश्रेष्ठ अमात्य पनि मैसँग/पढ्थे छन्द अलङ्कार ध्यान दी प्रेमको सँग ।' जोगमण्डलीमा आउने नेपाली छन्द काव्यका कविहरूमा शम्भुप्रसाद ढुङ्ग्याल -१९४६-१९८६), बाबुराम आचार्यर् -१९४४-२०२९) लेखनाथ पौड्याल -१९४१-२०२२), को सहभागिता महत्त्वपूर्ण थियो । यसमा लेखनाथ पौड्यालका कवितामा किञ्चित नेवारलाई होच्याउने र केही अतिरोमानी भाव देखिए पनि त्यो उनले जोगमण्डलीको 'स्पिरिट'मा एक आनन्दी 'फलानर' हुनखोजेको र नेपाल भाषाका कविहरूसँगको मैत्रीपूर्ण छेडछाडको रूपमा लेखेको देखिन्छ । शम्भुप्रसाद ढुङ्गेलले जोगवीरको यसरी प्रशंसा गरेका छन्- 'खासा बोली-वचन् मिजायस असल् 'जोग्विर सिं' साहुको ।/ बेपारी भई बस्नुहुन्छ, खुसीले प्रेमी भई भित्रको ।।/ प्रेमीजन्हरू आई बैठकमहाँ जम्बा सदा काल् हउन् ।।/लक्ष्मीले परिपूर्ण होस् ढुकुटीमा रक्षा हरिले गरून् ।।१।।'

नेपालमा छन्द कविता व्यापक, बलियो र एक अमिट गेय संस्कृतिको नाम हो । अनुप्रास र लययुक्त भाषामा भूगोल, समय, नक्सा, दर्शन, सम्बन्ध र प्रणयका बहुलचित्र जसरी छन्द कविताहरूले प्रयोग र प्रस्तुत गरेका छन्, नेपाली साहित्यमा । त्यसको सम्यक् परिपूर्ति छन्देतर कविताहरूले गर्नको निम्ति निकै ठूलो साधना, लगनशीलता र इमानदारिता चाहिन्छ । इटलीका दार्शनिक गियोर्गियो आगाम्बेनका भनाइले निकै प्रभावित मानिस भएकोले उनको एउटा उद्धरण यहाँ राख्छु, 'दर्शन ढल्न थालेपछि पनि कविता जीवित रहन्छ ।' नेपाली वाङ्मयमा त्यो सोझै देखिन्छ । भूषिताको एक साँझको प्रस्तुतिले मलाई ध्यानातित बनाएको पक्कै हो, यो छलफल भने मेरो त्यत्ति अनुभवबाट निःसृत होइन ।

आजको साहित्यिक छलफलका विषयमा चाख राख्ने समीक्षक र अध्येताले बुझ्नुपर्ने विषय- छन्दमा कविता लेख्ने कविहरूले साधना गरेको एउटा बलियो पक्ष हो, कविताका प्रत्येक हरफहरूलाई पूर्ण र वाचाल बनाउनु । त्यो सम्वादिक लयको रचना गर्नु हो । त्यसभन्दा पनि पछिल्ला सिद्धान्तहरूले भन्नुभन्दा पहिल्यै नेपालका कविहरूले लय र गेय काव्यको माध्यमले एक निर्वयैक्तिक काव्यिक कला सिर्जना गरेका हुन् । भूषिताले त्यही गाएकी थिइन्, त्यो साँझ ।

प्रकाशित : वैशाख २१, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?