राजधनेशलाई देऊन वनमा बास

कृष्णप्रसाद भुसाल

सन् २०१८ को अन्त्यमा बर्डलाइफ इन्टरनेसनलले प्रकाशित गरेको चराहरूको वर्तमान संरक्षण अवस्था प्रतिवेदनमा राजधनेशलाई संवेदनशील सूचीमा राखिएको छ । नेपालमा पनि पाइने राजधनेश विश्वमै दुर्लभको सूचीमा परेसँगै संरक्षणकर्मीहरू चिन्तित छन् । पछिल्ला दशकमा मानवीय क्रियाकलापहरूको परिणामस्वरुप बासस्थान संकुचन तथा विनाश, वन फँडानी र अतिक्रमण, डढेलो, घाँसे मैदानको नाशका कारण थुप्रै प्रजातिका चराले संकट झेलिरहेका छन् ।


अवैध चरा सिकार तथा व्यापार, रासायनिक मल र विषादीको बढ्दो प्रयोग, बदलिँदो तापमान र मौसम परिवर्तनजस्ता अन्य कारण पनि छन्। नेपालबाट आठ प्रजातिका चरा लोप भैसकेका छन् । १६७ प्रजातिका राष्ट्रिय रूपमा संकटापन्न अवस्थामा छन् । विश्वमै दुर्लभ मानिएका ४४ प्रजातिका चरा नेपालमा पाइन्छन् । बासस्थान विनाश यहाँ चराका लागि मुख्य खतरा हो । यही कारण, ८६ प्रतिशत चरा संकटापन्न अवस्थामा पुगेका छन् ।

विश्वका ५७ प्रजातिका धनेशमध्ये नेपालमा चार प्रजाति पाइन्छन् । होमराई धनेश विश्वमै पहिलोपटक नेपालमा सन् १८५० मा रेकर्ड गरिएको थियो । त्यो नेपालबाट भने २० औं शताब्दीमा लोप भैसकेको छ । बाँकी तीन प्रजाति सानो धनेश, कालो धनेश र राजधनेश हुन् । तीमध्ये राजधनेश लोपोन्मुख अवस्थामा पुगेको हो । फलफूलका रुखहरू भएको तराईका सदावहार विकसित चौडापाते जङ्गलमा बस्ने राजधनेश मुख्यतया पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यस आसपासका क्षेत्रमा पाइन्छ ।

संरक्षित क्षेत्र बाहिर झापा, सुनसरी, मकवानपुर, कपिलवस्तु र कैलाली जिल्लाको जंगलमा मात्र पाइन्छ । अन्यत्र चरा भारत, चीन, भूटान, बङ्गलादेश, मलेसिया, थाइल्यान्ड, म्यानमार, लाओस, भियतनाम, कम्बोडिया र इन्डोनेसियाको सुमात्रा टापुमा पाइन्छ । अंग्रेजीमा ग्रेट हर्न बिल भनिने हेलमेटजस्तो रङ्गिन शिर भएको राजधनेश सबैभन्दा ठूलो धनेश हो । प्रायःजसो सानो–सानो झुन्डमा देखिने यो पन्छी निकै आकर्षक देखिन्छ । नेपालमा राजधनेश डेढ सय वटाभन्दा कम रहेको अनुमान छ । वन्यजन्तु संरक्षण ऐनद्वारा संरक्षित ९ पन्छीमध्ये यो पनि एक हो । यो साइटिस अनुसूची–१ मा सूचीकृत छ । यस अनुसूचीमा अन्तर्राष्ट्रिय व्यापारका कारण लोप हुने अवस्थामा पुगेका प्रजातिहरू पर्छन् र तिनको व्यापारमा पूर्ण प्रतिबन्ध लगाइएको हुन्छ ।

राजधनेशले गुँड निर्माण र ओथारो प्रक्रियामा रोचक र अनौठो स्वभाव देखाउँछ । यसले ठूला र बूढा रुखको टोड्कोमा गुँड बनाई वर्षायाममा प्रजनन गर्छ । भालेले पोथीलाई अन्डा पारेपछि बच्चा नहुर्कन्जेलसम्म टोड्कोमा रहेको गुँडमै थुनेर राख्छ । धनेश दम्पतिले हिलो र पोथीको विष्टाको सहयोगमा टोड्काको मुख पुरै टाल्छन् । त्यसमा बनाइएको सानो प्वालबाट पोथीले हावा र आहारा लिने गर्छे । ओथारो अवधिभर पोथीलाई र पछि बच्चालाई भाले राजधनेशले नियमित आहारा खुवाउँछ ।

यही स्वभावका कारण यसलाई पत्नीवर्ता पन्छी भनिन्छ । बढीमा दुइटासम्म अन्डा पार्ने पोथी चालीस दिनसम्म ओथारो बस्छे । ओथारो अवधिमा प्वाँखहरू झरेर कुरूप बनेकी पोथी त्यसपछि पलाएका प्वाँखहरूले भने झन् सुन्दर बन्छे । करिब दुई महिनापछि मात्र बच्चा उड्न सक्षम हुन्छन् । जोडी बनिसकेपछि राजधनेशका भाले–पोथीले एकअर्कालाई दीर्घकालसम्म साथ दिन्छन् । तीस वर्ष वा त्यसभन्दा बढी आयु हुने यो पन्छीले उडानको बेला पखेटाको फटफटावट आवाज निकाल्छ । करिब एक किलोमिटर टाढासम्म पनि सुन्न सकिने उक्त आवाजको मद्दतलेटोड्कोमा थुनिएर बसेको पोथीले भालेको आगमन र क्रियाकलाप पहिचान गर्छे ।

प्रकृतिमा भएका कतिपय हानिकारक किराफट्याङग्रा, मुसा तथा छिपकलीहरू खाई राजधनेशले पर्यावरणीय सन्तुलन तथा खाद्यचक्र गतिशील राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । विभिन्न बिरुवा तथा फलफूलको विउ विस्तार र वितरणमा पनि यसले योगदान पुर्‍याएको हुन्छ । खास किसिमको बासस्थानमा मात्र पाइने यो चरा त्यस्ता क्षेत्रहरूको वातावरणीय सूचक मानिन्छ । पछिल्ला दशकमा वन विनाश र अतिक्रमणले ठूला र पुराना रुखहरूको अभावमा राजधनेशको संख्या दिनानुदिन घटिरहेको हो ।

चोरी सिकारी पनि चुनौती हो । मासु र यसको आकर्षक शिरका लागि अवैधानिक सिकार र व्यापार गरेको भेटिन्छ । ओथारो अवधिभर थुनिएर बसेको पोथी कमजोर र कम चलायमान हुने हंँदा मानव सिकारी र प्राकृतिक सिकारी जीवजन्तुको आक्रमणमा पर्ने सम्भावना हुन्छ । नेपाल तथा भारतका कतिपय आदिवासी समुदायले यसको ठोँड, प्वाँख र शिरलाई परम्परागत संस्कार तथा रीतिरिवाजमा प्रयोग गर्ने गर्छन् ।

राजधनेश जैविक विविधताको महत्त्वपूर्ण सूचक र पर्यापर्यटनको प्रमुख आकर्षण हो । बूढा र सुकेका धोद्रा रुखहरू नै राजधनेशका घर हुन् । यसर्थ यस्ता रुख जोगाउन जरुरी छ । सामान्यतया हामीले पुराना र सुकेका रुखहरूलाई त्यति महत्त्व दिँदैनौं । वन व्यवस्थापनका अभ्यासमा त्यस्ता रुखहरू मास्ने वा जंगलबाट निकाल्ने गरिन्छ ।

संरक्षित पन्छी राजधनेशको चोरी सिकार गरेमा १५ देखि ३० हजारसम्म जरिवाना वा ३ देखि ९ महिनासम्म कैद वा दुवै सजाय हुने कानुनी प्रावधान छ । चरा संरक्षण विशुद्ध एकल अभियान होइन, यसलाई सहभागितामूलक जैविक विविधताको संरक्षण तथा दिगो व्यवस्थापन एवं पर्यटन उद्योग र विकास सँगसँगै हेरिनुपर्छ । नेपालमा चरा अवलोकनका लागि थुप्रै बाह्य पर्यटक आउँछन् ।

खास प्रकारका चराहरूको संरक्षण, बासस्थान व्यवस्थापन र प्रचार–प्रसारले देशलाई चरा अवलोकनका लागि आकर्षक गन्तव्य बनाउन सकिन्छ । स्थानीय निकायले राजधनेश जस्ता चरा र तिनको बासस्थान संरक्षणमा समन्वयकारी तथा अभिभावकीय भूमिका निभाउन सक्छन् । यस कार्यमा केन्द्र सरकार र सरोकारवाला निकायले पहल गर्नुपर्छ । अन्यथा राजधनेश यस धर्तीबाटै लोप भएर जानेछ । त्यसको कारक पुस्ता हामी हुनेछौं ।

प्रकाशित : वैशाख ७, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्

पाहुना चरा विस्थापित 

बसाइँ–सराइ गर्ने पाहुना चराहरूको आहार, बासस्थान र उडान मार्गको सुरक्षा साथै आश्रयस्थल हाम्रा सिमसारको दिगो संरक्षण तथा व्यवस्थापन जरुरी छ ।
कृष्णप्रसाद भुसाल

काठमाडौँ — नेपालमा पाइने चराका ८ सय ८६ प्रजातिमध्ये सबै चरा वर्षभरि नै नेपालमा भेटिँदैनन् । जाडो मौसममा अन्यत्रबाट बसाइँ–सराइ आउने हिउँदे आगन्तुक र गर्मी मौसममा आउने ग्रिष्मकालीन आगन्तुक पाहुना चराहरूको आवत–जावत वर्षभरि चलिरहन्छ ।

विश्वमा पाइने चराका ११ हजार १ सय २१ प्रजातिमध्ये करिब २२ सय २५ प्रजातिका चरा मौसम अनुसार बसाइँ–सराइ गर्ने गर्छन् ।

वर्षेनि करिब १ सय ५० प्रजातिका हिउँदे आगन्तुक चरा उत्तरी मुलुकहरू रूस, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गर्छन् । करिब ५० प्रजातिका बटुवा चरा नेपालको बाटो हँुदै भारत, पाकिस्तान र श्रीलंकातिर जाने गर्छन् । उत्तरी धु्रवमा हिमपातको सुरुवातसँगै हिउँद यामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा तालतलैया र नदी आसपासमा हजारौं पाहुना चरा बसाइँ सरी आउने गर्छन् ।

जाडो छल्न आउने हिउँदे आगन्तुक चराहरूको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छ, जुन नेपालका प्रमुख सिमसार क्षेत्र– कोसीटप्पु, चितवन, बिसहजारी ताल, जगदीशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटाका ताल क्षेत्र तथा कोसी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीहरूमा मूल रूपमाआफ्नो समय व्यतित गर्छन् । जाडो सकिँदै गर्दा हिउँदे आगन्तुक चराहरू आआफ्नो स्थायी बासस्थान फिरिसकेका हुन्छन् भने दक्षिणी मुलुक र अफ्रिकासम्मबाट हजारौं ग्रिष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आइसकेका हुन्छन् । यसरी आउने करिब ६० प्रजातिका पाहुना चराको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसे मैदान तथा कृषि भूमि हुन् ।

सिमसार क्षेत्रमा आश्रित हिउँदे पाहुना चराहरू पछिल्ला वर्षमा सिमसार क्षेत्रको संकुचन तथा विनाश, उडान मार्गमा हुने अवरोध, कृषिमा रासायनिक मलको बढ्दो प्रयोग, जलस्रोतमा विषादीको प्रयोग, अवैध चरा सिकार तथा व्यापार, बदलिँदो तापमान र मौसम परिवर्तन जस्ता कारणले विस्थापित हँुदै गएका छन् । बसाइँ–सराइ गरी आउने चराहरू लामो दूरीको यात्राले थकित हुने तथा आश्रयस्थल नयाँ स्थान हुने हुँदा प्राकृतिक तथा मानवीय सिकारको अत्यधिक जोखिम हुन्छ । सिमसार क्षेत्र आफैमा बहुआयामिक र जैविक महत्त्वको क्षेत्र हुँदाहुँदै पनि सबैभन्दा बढी ह्रास हँदै गएको सम्पदा हो ।

सिमसारको अतिक्रमण, वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादीको चुहावट, ढल तथा धार्मिक पर्वहरूमा पूजाका सामान विसर्जन, बाह्य तथा मिचाह प्रजातिको संक्रमण, भूक्षय र वरपरबाट बगेर आउने भलसँगै ढुंगा, बालुवा, पांगो माटो थुप्रिनुका साथै पछिल्ला दिनहरूमा पर्यटन प्रबद्र्धनका नाममा तालतलैयामा डुङ्गा सञ्चालन, भौतिक संरचना निर्माण र वनभोज जस्ता पर्यावरण अमैत्री क्रियाकलापले सिमसारको गुणस्तर रआयु छोट्याइदिएको छ । उदारणका लागि काठमाडौंको टौदह र कपिलवस्तुको जगदीशपुर ताललाई लिन सकिन्छ ।

हाल विश्वबाटै लोप भैसकेको अनुमान गरिएको गुलाफी टाउके हाँस, विश्वमै दुर्लभ कैलो टाउके हाँस लगायत कैयौं पाहुना चरा कुनै समय टौदह क्षेत्रमा अभिलेख गरिएका थिए । आज पोखरी सिमेन्टी पिढी र वरिपरि कटेजले सिँगारिएको त छ, तर पाहुना चरा आउनै छाडे । किनकि यो सब उनीहरूका लागि उपयोगी छैन । जगदीशपुर जलाशय देशकै सबैभन्दा उत्कृष्ट पाहुना चराको आरक्ष क्षेत्र हो । तर पछिल्ला दिनहरूमा तालमा बन्दै गरेका भौतिक संरचना र डुङ्गा चलाउने कार्यको सुरुवातले विस्थापित भएका छन् ।

यसले पानी चरालाई मात्र होइन, त्यस क्षेत्रको समग्र जैविक विविधता संरक्षण, दिगो विकास र पर्यावरण–मैत्री दिगो पर्यटन प्रबद्र्धनमा चुनौती दिइरहेको छ । रामसार क्षेत्र र महत्त्वपूर्ण चरा तथा जैविक क्षेत्रजस्तो अन्तर्राष्ट्रिय महत्त्वको यस ठाउँमा पछिल्ला दिनहरूमा विकसित क्रियाकलापले विश्वव्यापी रूपमा चिन्ता जाहेर भएको छ ।

१९८७ देखि वर्षेनि गरिँदै आएको सिमसारमा आश्रित चराहरूको गणनाले हिउँदे आगन्तुक पानी चराहरूको अवस्था खतरा उन्मुख देखाएको छ । नेपालमा पाइने विश्वका दुर्लभ चराहरूमध्ये १३ प्रजाति त जलपन्छी नै छन् । नेपाल पन्छी संरक्षण संघको एक अध्ययन अनुसार संकटापन्न अवस्थामा रहेका १ सय ४९ प्रजातिका चरामध्ये ४० प्रजाति सिमसारमा आश्रित छन् ।

यी आगन्तुक चराहरू केही बीच–बीचमा बास बस्दै र केही सिधै उडेर हजारौं माइलको यात्रा अनेकौं जोखिम पार गर्दै नेपाल आउने गर्छन् । गन्तव्यसम्म पुग्ने दिशा तथा बाटो पहिचानका लागि यी चराहरू सूर्य तथा तारा, नदी, भौगोलिक शृङ्खला, चुम्बकीय दिशा आदिको सहारा लिने गर्छन् । यसरी चराहरूले बसाइँ–सराइको बेला प्रयोग गर्ने बाटोलाई फ्लाइवे भनिन्छ । विश्वमा ८ वटा यस्ता बाटा छन्, तीमध्ये नेपाल मध्यएसिया बाटोमा पर्छ ।

यसर्थ बसाइँ–सराइ गर्ने पाहुना चराहरूको दिगो संरक्षण, तिनको आहार, बासस्थान र उडान मार्गको सुरक्षा साथै आश्रयस्थल हाम्रा सिमसारको दिगो संरक्षण तथा व्यवस्थापन जरुरी छ । बसाइँ–सराइ गर्ने चराहरू एक ठाउँबाट अर्को ठाउँ, एक देशबाट अर्को देश र एक महादेशबाट अर्को महादेशमा बसाइँ सरी आउने–जाने गर्ने हुँदा संरक्षणका लागि विश्वव्यापी जनचेतना अभिवृद्धि र संरक्षणमा समन्वयात्मक क्रियाशीलता, एकीकृत सोच, अवधारणा र कार्यक्रम आवश्यक छ ।

बदलिँदो संरचनामा स्थानीय निकाय स्वायत्त र शक्ति सम्पन्न भएका छन् । कतिपय स्थानमा पर्यावरण–मैत्री दीर्घकालीन योजना र नेपाल पक्षराष्ट्र भएका वातावरण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, अभिसन्धि तथा सम्झौताहरूको प्रभावकारी कार्यान्वयनमा ख्याल गरेको
देखिँदैन । स्थानीय निकायले स्थानीय स्तरमा यीपाहुना चरा र तिनको बासस्थान संरक्षणलाई सहभागितामूलक जैविक विविधताको संरक्षण तथा दिगो व्यवस्थापन एवं पर्यटन उद्योग र विकास सँगसँगै लैजान समन्वयकारी तथा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ ।

चरा जोगाउन दशकअघि वाणगंगा जलउपभोक्ता संस्थाले लगाएको माछा पालनको ठेक्का सर्वोच्च अदालतले बदर गरेपछि सिमसारको गुणस्तरसँगै चराका प्रजाति र संख्या उल्लेख्य रूपमा बढेको थियो ।

बसाइँ–सराइ गर्ने पाहुना चरा जसले मानिस, पारिस्थितिकीय प्रणाली र राष्ट्रहरूलाई जोडी खास प्रकारको वातावरणीय सूचकको काम गरिरहेको हुँदा अभ्यासमा आधारित सहभागितामूलक संरक्षण पद्धतिलाई दीर्घकालसम्म सनातन राख्नु हामी सबैको कर्तव्य हो । पाहुनाको स्वागत, सत्कार र सुरक्षा हामी नेपालीको परम्परागत संस्कार र चलन हो । यसर्थ यी पाहुना चरालाई स्वागत गरौं, संरक्षण गरौं र स्थापित बनाई दिगो पर्यावरण–मैत्री विकास, पर्यटन प्रबद्र्धन र समृद्धिको बाटोमा बढौं ।

प्रकाशित : पुस १८, २०७५ ०८:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्