कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डाक्टरको बाबु

सिउँडी
विमल निभा

काठमाडौँ — नेपाली साहित्यका वरिष्ठ साहित्यकारद्वय खगेन्द्र संग्रौला एवं नारायण ढकाललाई विशुद्ध ‘डाक्टरको बाबु’ भएकोमा मेरो तर्फबाट हार्दिक बधाई ! केही दिनअघि ‘मेडिकल लिटरेचर मेला, सौराहा, चितवनले दुवै साहित्यिक बन्धुलाई यही योग्यताको आधारमा ससम्मान आमन्त्रित गरेको थियो । अब योभन्दा उम्दा तथा मौलिक सम्मान साहित्यकारहरूका निम्ति अरु कुन हुनसक्छ ?

यदाकदा यस्तो सम्मान अडाक्टरका पिताहरूले पनि नपाएको भन्ने होइन । म नै एक ‘सहिद पिता’को सम्मानमा आयोजित सभामा सामेल भएको छु । तर त्यो विलकुलै साहित्यविहीन घटना हो । नेपाली साहित्यमा बरोबर भइरहने लिटरेचर मेलासँग यसको कुनै सम्बन्ध छैन । अचेल यस प्रकारका लिटरेचर मेलाहरूका भयंकर बिगबिगी रहेको छ ।


कहिले सुन्दर नगरी पोखरामा साहित्यिक उत्सव भइरहेको छ भने कहिले झापामा त्योभन्दा भव्य साहित्यिक महोत्सव नै । यसले नेपाली कवि, कथाकार, समालोचक, उपन्यासकार आदिलाई अपूर्व शुभलाभको स्वर्णिम अवसर जुराइदिएको छ । यही सन्दर्भमा ‘डाक्टरको बाबु’ भएर मेरा दुवै साहित्यिक मित्र (यो शब्दप्रति खगेन्द्र दाइको कुनै आपत्ति नभए) लाभान्वित भएका हुन् । कदाचित मास्टर अथवा मजदुर अथवा क्लर्क अथवा किसानको बाबु भएका भए के हुन्थ्यो ? यहाँनेर स्मरणीय के छ भने खगेन्द्र संग्रौलाको संयुक्त राज्य अमेरिकास्थित छोरी डेजी संग्रौला र हालसम्म नेपालमै रहेका नारायण ढकालका छोरा रमेश ढकाल कुशल डाक्टर हुन् ।


नेपाली साहित्यमा दोसल्ला, फूलमाला, नगद पुरस्कार, सम्मानपत्र आदि प्राप्त गर्न डाक्टर छोराछोरी जन्माउनु पनि एक अतिरिक्त गुण हुनसक्छ, यो ‘मेडिकल लिटरेचर मेला, सौराहा, चितवनले प्रमाणित गरेको छ । तर यस्तै डाक्टर छोरीका बाबु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का साहित्यकार कमरेड प्रदीप नेपालचाहिँं अहिलेसम्म किन सम्मानपूर्ण हुनसकेका छैनन्, यो एक कठिन पहेलिका बनेको छ । यही लाममा डाक्टर छोराछोरी हुने अन्य साहित्यकारहरू पनि कम्ता छैनन् ।


जस्तो मेरो परम मित्र कवि अविनास श्रेष्ठलाई नै लिनोस् । उनको छोरी निहार श्रेष्ठ पनि डाक्टर हुन् । यस्तै डाक्टर सन्तानका पिता कवि आहुति, कथाकार राजेन्द्र पराजुली, उपन्यासकार आत्माराम पुडासैनी आदि पनि नभएका होइनन् । यिनीहरू प्नि ‘डाक्टर बाबु’ भएको नाताले यथोचित सम्मानका बलिया हकदार होइनन् त ? म पनि आफूलाई सम्मानित हुन अयोग्य ठान्दिन ।


अझ म त डाक्टरको बाबु नभएर डाइरेक्ट डाक्टर नै हुँ । किनभने म एक कवि हुँ । र कविहरूलाई शब्द, भाव र कल्पनाका निपूण डाक्टर मानिने गरिन्छ । अरुहरूले नमाने पनि म मान्छु । किन नमान्ने ? यस आधारमा मलाई पनि ‘मेडिकल लिटरेचर मेला सौराहा, चितवनले संग्रौला र ढकाल सरह सम्मान गरेको भए के विगार हुन्थ्यो र ? तर दुर्भाग्यवश यस्तो भएन ।


डाक्टरको साहित्यकार बाबु सम्मानित भएको छ भने डाक्टरको साहित्यकार छोराछोरीलाई चाहिँं किन यस्तो सम्मानबाट वञ्चित गरिएको हो, यो बुभिनसक्नु छ । उदाहरणस्वरुप नेपाली साहित्यका अप्रतिम साहित्यकार स्वर्गीय पारिजातलाई लिन सकिन्छ । उनी शत–प्रतिशत डाक्टर बाबुकै सुपुत्री हुन् । उनलाई यही आधारमा कुनै साहित्यिक उत्सव–महोत्सवमा मरणोपरान्त सम्मानित किन नगर्ने ? यद्यपि पारिजातजस्तो साहित्यकारलाई यस्तो सम्मान–फम्मानको कुनै आवश्यकता छैन ।


उनी त्यसै पनि व्यापक तवरले सम्मानित छन् नि ! आफ्नै साहित्यिक ऊर्जाले स्वतः सम्मानितलाई फेरि किन सम्मानित गर्नुपर्‍यो ? यस सिलसिलामा डाक्टर पिताका अरु साहित्यकार छोराछोरी को–को हुन्, यो साहित्यका विश्वविद्यालयीय अन्वेषकहरूका लागि पर्याप्त रोचक विषय हुनसक्छ । जब ‘फलाना महाकविका झड्केलो छोरो’ जस्तो विषयमा अनुसन्धान भएको छ भने यसमा किन

हुन सक्दैन ? जे होस्, डाक्टर ध्रुवचन्द्र गौतमका छोरा इसानचन्द्र गौतम पनि साहित्यकार हुन् । यसो ता उनी एक डाक्टर पनि हुन् ।


तसर्थ दुवै बाबुछोरा किन सम्मानका खातिर लायक नहुने ? हो, यहाँनेर एउटा समस्या के छ भने डाक्टर ध्रुवचन्द्र गौतम र डाक्टर इसानचन्द्र गौतम मेडिकल डाक्टर नभएर विद्यावारिधिवाला डाक्टर हुन् । छोरा विज्ञानका डाक्टर हुन् भने बाबुचाहिँं साहित्यकै डाक्टर । अब मेडिकली सृष्टियुक्त डाक्टरहरूलाई ‘मेडिकल लिटरेचर मेला, सौराहा, चितवन’ले सम्मानित गर्नुपर्छ भन्ने कुनै नियम– कानुन छैन ।


डाक्टरको बाबु सम्मानित भएकोमा मलाई बेसी भन्नु केही छैन । तर कतिपय महिला साहित्यकारलाई यसप्रति व्यापकतम गुनासो हुनसक्छ । एक प्रकारले आक्रोश नै भन्नोस् । यस प्रसंगमा यस्तो सवाल जायज छ– जब डाक्टरको बाबु साहित्यकार सम्मानित हुने हैसियत राख्छ भने डाक्टरको आमा साहित्यकारलाई चाहिंँ के र कति कारणले उपेक्षा गरिएको हो ? यो त सरासरी नाङ्गो लैंगिक विभेद भयो ।


नेपाली साहित्यमा डाक्टरको बाबु साहित्यकार मात्र नभएर डाक्टरका आमा साहित्यकारहरूका पनि उल्लेखनीय उपस्थिति रहेको छ । र यो निर्बल किसिमको रहेको छैन । तपाई कवि सन्ध्या पहाडीलाई नै लिनोस् । उनको छोरी पनि एक डाक्टर हुन् । त्यसकारण सन्ध्या पहाडी पनि ‘डाक्टर आमा’को समान सामर्थ्यले सम्मानको अधिकारी भएनन् र ? यसतर्फ ‘मेडिकल लिटरेचर मेला, सौराहा, चितवन’को ध्यान नजानु आश्चर्यजनक छ । मलाई त अन्यायपूर्ण पनि लागेको छ ।


‘डाक्टरका बाबु’ साहित्यकार खगेन्द्र संग्रौला र नारायण ढकाललाई एकपटक फेरि मेरो बधाई ! दुवैले लामै समयदेखि कथा, निबन्ध, उपन्यास (कहिलेकाहीं कविता पनि) को क्षेत्रमा आआफ्ना सबल कलम चलाइरहेका छन् । तर ठोस मान्यता भने ‘डाक्टरको बाबु’ भएर पाइएको छ । के यो कम हो ? यसैको सुखद परिणामस्वरुप ‘मेडिकल लिटरेचर मेला, सौराहा चितवन’द्वारा सम्मानित भएका छन् । यो दुवैका लागि सानो उपलब्धि होइन । यसका लागि ‘मेडिकल लिटरेचर मेला, सौराहा, चितवन’लाई साधुवाद भन्नैपर्छ । यो साहित्य र मेडिकल दुवै क्षेत्रका निम्ति अविस्मरणीय घटना हो । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल मेडिकल एसोसिएसनले संयुक्त रूपमा नोट गरे हुन्छ ।


अन्त्यमा,

यतातिर के सुन्नमा आएको छ भने साहित्यकार खगेन्द्र संग्रौला बिरामी भएर उपचारार्थ अस्पताल भर्ना भएका छन् । र अर्का साहित्यकार नारायण ढकाल सपरिवार छिमेकी मुलुक हिन्दुस्तानको धार्मिक नगरी काशीतर्फ प्रस्थान गरेका छन् । अतः दुवै सम्मानित साहित्यकारलाई पूर्ण स्वास्थ्यलाभ र पवित्र पुण्य लाभको कामना गर्दै बिदा माग्छु ।

प्रकाशित : चैत्र ३०, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?