तीन तलाकको त्रास

लीला लुइँटेल

काठमाडौँ — हरेक राष्ट्र वा जातिको सामाजिक जीवन, राजनीति, अर्थनीति, चालचलन, गीत, नृत्य, वाद्यवादन, चाडबाड, जात्रा, कला आदिमा प्रतिविम्बित हुने तथा तिनका कलाकौशल, बौद्धिक विकास आदि झल्काउने सम्पूर्ण क्रियाकलापको परिष्कृत रूपलाई संस्कार भन्ने गरिन्छ ।

चीर कालदेखि देशकाल सापेक्ष भई आन्तरिक, वैचारिक एवं परम्परागत धारणाका रूपमा विकसित हुँदै आएको तथा जीवनशैलीमा पचिसकेको रहन–सहन, आचार–विचार सम्बन्धी भावना र तिनका माध्यमबाट कुनै राष्ट्र, वर्ग, समाज, जातिआदिको पहिचान गराउने मूल्य–मान्यता, भौतिक अभिव्यक्ति, परम्परित, रीतिरिवाज, चालचलन,धर्म, संस्कार, आस्था, व्यवहार, इतिहास, पूर्वजन्म, पुनर्जन्म, कर्म, भाग्य, ईश्वरीयता, लोकोक्ति, लोकप्रचलन आदिको सामूहिक नाम नै संस्कार हो । कला, भाषा, साहित्य, दर्शन, धर्म, नीति, इतिहास आदि विभिन्न विषय पनि संस्कारभित्र समेटिन सक्छन् । मानिसलाई अनुशासनभित्र रहन प्रेरितगर्नु नै संस्कारको अभीष्ट भएकाले यो कर्म पनिहो र आस्था पनि ।

संस्कार कुनै जातिको सिर्जनात्मक खुबीको परिचायक र समाजका निम्ति अनियन्त्रणीय आवश्यकता पनि हो । आफ्नो संस्कारमा हरेक मानिसले सन्तुष्टि, सुनिश्चितता र स्थायित्वका साथै जीवनयापनमा सहजता प्राप्त गर्न सक्छ । यसको निर्माण एक दिनमा नभएर सामाजिक–ऐतिहासिक विकासक्रममा खास समाजको सामूहिक व्यवहारका अनुभवका आधारमा हुन्छ र निरन्तर अविच्छिन्न सांस्कारिक परम्परा स्थापित हुँदै जान्छ ।

कुनै व्यक्तिको भौगोलिक अवस्थिति, रहन–सहन, लवाइ–खवाइ, शिक्षादीक्षा आदिजस्ता सन्दर्भले संस्कार निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन् । यिनै कारणबाट सांस्कारिक विविधताको जन्म हुन्छ । समयसँगै परिवर्तनशील हुनाका साथै संस्कार एक पुस्ताबाट अर्को फुस्तामा हस्तान्तरणीय हुने गुणयुक्त हुन्छ । समयत्रममा देखिने राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा देखापर्ने राजनीतिक–आर्थिक घटना तथा परिवर्तनले पनि संस्कारलाई प्रत्यक्ष प्रभाव पार्छन् ।

सामाजिक प्रचलनबोधक संस्कारलाई वैभिन्य तुल्याउन स्थान, समय, जात, धर्म आदिले पनि महत्त्वपूर्ण भूमिका खेल्छन् । कुनै ठाउँ, समय, जात र धर्मको संस्कार अर्को ठाउँ, समय, जात र धर्मका लागि बेठिक, विपरीत र अस्वीकार्यसमेत हुने देखिन्छ । यसका साथै राम्रो–नराम्रो, असल–खराब, ठिक–बेठिक भन्ने कुरा पनि समय एवं स्थान सापेक्षित हुन्छन् ।

कुनै स्थान वा जाति विशेषको संस्कृति अर्को स्थान वा जाति विशेषका लागि अनौठो र अग्राह्य हुन पनि सक्छ । तापनि सत्य, अहिंसा, परोपकार, त्याग, बलिदान, मानवतावादी भावनाजस्ता विषय–वस्तुमा आधारित संस्कारचाहिँ सर्वपक्षीय, सर्वजातीय, सर्वराष्ट्रिय, सार्वभौम र सार्वकालिक हुन्छ । अझ स्पष्ट रूपमा भन्दा मानवतावादी आदर्श बोकेको संस्कार नै सबैभन्दा महत्त्वपूर्ण, दीर्घजीवी, शाश्वत् तथा सत्यका निकट हुन्छ ।

संसारमा चलेका अनेक संस्कारमध्ये इस्लामिक कानुनमा रहेको तीन तलाकको प्रथा पनि एक हो । पितृसत्तात्मक मानसिकताको बोलवाला रहेको मुस्लिम समुदायमा धर्म, रीतिरिवाज वा परम्पराको आडमा महिलामाथि अनेक प्रकारका कुप्रथा थोपरिएका छन् । एक्काइसौँ शताब्दीको विद्युतीय सञ्चारको युगमा समेत कुनै पनि दृष्टिबाट औचित्य पुष्टि गर्न नसकिने अनि त्यसका बारे सकारात्मक व्याख्या गर्न नसकिने अति हास्यास्पद र उदेकपूर्ण संस्कार मुस्लिम महिलाले बेहोर्दै आएका छन् ।

कुनै पतिले आफ्नी पत्नीलाई छोड्न चाह्यो भने वा उसले वैधानिक रूपमै सम्बन्धविच्छेद गर्न चाह्यो भने तीन पटकसम्म मौखिक रूपमै ‘तलाक’ उच्चारण गरे सम्बन्धविच्छेद हुने कुप्रचलन मुस्लिम समुदायमा छ । धार्मिक मान्यतामा आधारित भनिएको यस तीन तलाकको व्यवस्थाले लामो समयदेखि महिलाहरू अन्यायमा परेक छन् । यस्तो कुप्रथा महिलामाथि हुने गरेका अपमानको पराकाष्ठा हो ।

यस्तो अमानवीय क्रियाकलापको प्रावधान कुरानमा नै भएको हवाला दिँदै नेपालमा पनि मुसलमान युवकहरूले आफ्ना पत्नीलाई तलाक दिने गरेको पाइन्छ । अझ केही समययता वैदेशिक रोजगारमा रहेका युवकहरूले टेलिफोन गरी उतैबाट तलाक दिनथालेको तथ्यबाहिर आएको छ ।

राज्यले सबै धर्म, जाति एवं संस्कारको सम्मान गर्नुपर्छ । तर सिङ्गो मानवकै उपहास गर्ने यस्ता संस्कार नामधारी कुरीतिलाई चाहिँ जरैदेखि उखेलेर फाल्नुपर्छ । पहिलो कुरा यो व्यवस्था धार्मिक ग्रन्थ कुरानमा उल्लेख नभएको तथ्य बाहिर आइसकेको छ ।

तीन तलाक प्रथा विरुद्ध विधेयक पास गर्ने क्रममा लामो समयको अध्ययन र विभिन्न धर्मका गुरुकै गहन परामर्शबाट यो प्रावधान कुरानको मूल भावना र मर्म विरुद्ध भएको भन्दै यसलाई अवैधानिक र अमान्य ठहर गर्दै पुरुषले महिलामाथि निर्मम रूपले थोपर्ने यस खाले एकतर्फी अन्यायलाई भारतको सर्वोच्च अदालतले अवैधानिक घोषणा गरिसकेको छ । पीडित मुस्लिम महिलालाई मुक्ति दिने सर्वोच्च अदालतको प्रशंसित तीन तलाक खारेजीको वर्तमान फैसलाको सर्वत्र स्वागत गरिएको छ ।

अर्कोतर्फ यो धर्मशास्त्र भित्रकै व्यवस्थाहो भने पनि समय–सापेक्ष ढङ्गले धर्मशास्त्रएवं संस्कार परिष्कार गर्दै जानुपर्छ । यस्ताविवेकहीन, लज्जास्पद एवं मानवता विरोधी क्रियाकलापको अन्त्य तुरुन्तै हुनुपर्छ । नेपालमा
केही समयअघि प्रचलनमा रहेको सतीप्रथा ररजस्वला नहुँदै छोरीको कन्यादान गर्नुपर्ने सन्दर्भपनि संस्कारकै रूपमा व्याख्या गरिन्थे । तरयस्ता कुप्रथा हाम्रा अहिलेका छोरीहरूका लागि एकादेशको कथा बनिसकेका छन् ।

अझ हास्यास्पद कुरा त इस्लामिक कानुन अवलम्बन गर्ने मुस्लिम राष्ट्रको रूपमा परिचित पाकिस्तान र बङ्गलादेशमा ‘तीन तलाक’को प्रावधान खारेज भइसक्दा पनि नेपालमा चाहिँ यस्तो कुरीतिको अवशेष देखिनु विवेकहीनता एवं लज्जाहीनताको पराकाष्ठा हो । किनकि संस्कार भनेकै मानव समाजले आफ्नो जीवनलाई विवेकशील, सुखमय र समृद्धिपूर्ण बनाउनका लागि हो, कसैलाई अन्यायको जाँतोमा पिस्न र अपमान गर्न होइन ।

यस उद्देश्य पूर्तिका निम्ति मानवको भौतिक वा आत्मिक विकासका निम्ति संस्कारहरूको निर्माण र विकास गर्ने हो । संस्कारहरूको निर्माणका क्रममै उसले पुराना एवं मानवता विरोधी क्रियाकलाप त्याग गर्दै समय–सापेक्ष आवश्यक क्रियाकलाप थप्दै जानुपर्छ र परम्परालाई निरन्तरता दिँदै जानुपर्छ । अन्यथा यो सुन्दर धर्ती बर्बर बस्तीमा परिणत हुन बेर लाग्दैन ।

नेपालका थुप्रै महिला यसबाट पीडित छन् भन्ने तथ्य बाहिर आइसकेपछि पनि सम्बन्धित समुदायको हकहितका लागि खोलिएका सङ्घ–संस्था निष्क्रिय देखिनु विडम्बना नै हो । अझ महिला आयोग तथा महिलाको हकहितका लागि आवाज उठाउनेहरूले यस खाले क्रियाकलापलाई गम्भीरतापूर्वक लिएर कारबाही अघि बढाउन ढिलो भइसकेको छ ।

यस्ता कुप्रथाहरू निमिट्यान्न पार्नाका लागि राज्यले हस्तक्षेपकारी भूमिका खेलेर दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ । यसका लागि पर्याप्त कानुनी व्यवस्था नभए तुरुन्तै नीति–नियम बनाएर यस प्रकारका अपराध रोकेर मुस्लिम समुदायका महिलालाई मानवका रूपमा जिउन सक्ने वातावरणको सिर्जना गर्नुपर्छ ।

प्रकाशित : चैत्र १६, २०७५ ०७:५५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

डिजिटल मित्रता

स्टेफेन टी आस्मा

काठमाडौँ — ‘म केही मिनेटमा आइहालेँं,’ मेरो १५ वर्षीय छोरो आफ्नो कोठाबाट चिच्यायो, ‘म साथीसँग एक्सबक्स (भिडियो गेम) खेलिरहेको छु । ‘को हो, तिम्रो साथी ?’ मैले सोधेंँ । ‘उसको नाम स्कुजबल हो ।’ ‘ए, स्कुजबलको वास्तविक नाम के हो ?’ मैले उसको साथीबारे थप बुझ्न चाहेंँ ।‘मलाई थाहा छैन,’ उसले थोरै झिँजो मान्दै उत्तर फर्कायो ।

‘ऊ कहाँ बस्छ त ?’ मैले प्रश्न सोध्न छोडिन ।
‘खै, कतै क्यानाडातिर होला... हैन, फ्रान्स पो हो कि क्या हो । खासमा मलाई थाहै छैन । तर ऊ जहाँसुकैको भए पनि अब के मतलब, स्कुजबल खेल छोडेर बाहिरी सक्यो र उसको स्थानमा बट आयो ।’

‘त्यो त झुर भयो,’ मैले उसको कुरालाई आत्मसात गरेझैं गरेर भनेंँ, ‘तिम्रो साथीलाई आर्टिफिसियल इन्टिलिजेन्स (कृत्रिम बौद्धिकता) ले प्रतिस्थापन गर्‍यो ?’
‘त्यसले केही मतलबै राख्दैन ड्याड । त्यस्तो भइरहन्छ । खेल चलिरहन्छ ।’

मेरो छोरालाई ऊसँग वास्तविक मान्छे खेलिरहेको छ वा कुनै बट भन्ने कुराले खासै असर गर्दैन । हिजोआज अनलाइन गेम खेल्ने सबैले त्यस्तै सोच्छन् । उनीहरू आफूसँग खेलिरहेको व्यक्तिलाई साथी भनेर सम्बोधन त गर्छन्, तर उनीहरू बीचको सम्बन्ध क्षणिक हुन्छ । मेरो छोरा र स्कुजबल वास्तविक साथी होइनन् । त्यो मेरो लागि चासोको विषय हो ।
इन्टरनेटको युग सुरु हुनु पहिले हामी हुर्किंदै गर्दा साथीहरूबीच हुने सम्बन्ध, इन्टरनेटको युगमा हुर्किंदै गरेको मेरो छोराले बिर्सने भयो भन्ने मेरो चिन्ता हो । त्यो मेरोमात्रै चासोको विषय भने पक्कै होइन ।

मान्छेको इतिहास खोतल्ने हो भने पनि ‘राम्रो जीवन’का बृहत पक्षबारे बुझ्न मित्रता जीवनको अत्यावश्यक अंग भएको देखिन्छ । त्यो जान्न हामीले हजारौं वर्ष पुराना दन्त्यकथा वा पौराणिक कथाहरू पुनः पढे पनि हुन्छ ।

हरेक वर्ष विभिन्न तरिकाबाट हाम्रो जीवन ‘डिजिटल स्पेस’ (सूचना प्रविधि क्षेक्र) मा केन्द्रित हुँदै गएको छ । सामान्यतया किशोरावस्थाको एक व्यत्तिले दैनिक ९ घन्टासम्म अनलाइनमा बिताउँछ । मेरो कलेजका नयाँ विद्यार्थीले त १२ घन्टासम्म स्क्रिन हेर्ने गरेकोबताउँछन् । अहिले प्रायः गृहकार्य पनि अनलाइन नै गर्न र बुझाउन मिल्छ ।

२०१८ को पीयु रिपोर्टका अनुसार १८ देखि २९ वर्ष उमेर समूहका लगभग ९० प्रतिशतले सामाजिक सञ्जाल प्रयोग गर्छन् । केटाकेटीहरूको बढ्दो इन्टरनेट लतबारे २०१६ मा अमेरिकी बालरोग विशेषज्ञ प्रतिष्ठानले एउटा विज्ञप्ति नै जारी गरेको थियो । ‘धेरै अनलाइनमा बस्ने बालबालिका इन्टरनेटको कुलतमा फँस्ने सम्भावना छ । त्यसमा पनि धेरै अनलाइन गेम खेल्नेहरूमा अनेकौं समस्या देखिने सम्भावना रहन्छ ।’

सिलिकन भ्यालीका ३२ प्रतिशत व्यावसायिक प्राविधिक विज्ञसमेत आउँदो दशकमा डिजिटल जीवनले हाम्रो मानसिक स्वास्थ्यलाई असर गर्नेमा चिन्तित छन् ।

सन् २००५ तिर मानिसहरूले उनीहरूको साथीको संख्या तीन जनाबाट घेटर दुईमा झरेको बताएका थिए । २००६ को अन्त्यतिर गरिएको एक अध्ययनका २५ प्रतिशत सहभागीले आफूले पूर्णरूपमा विश्वास गर्ने कोही नरहेको जानकारी दिएका थिए । हालसालै गरिएको अर्को अनुसन्धान अनुसार उक्त प्रवृक्ति बढ्दो त्रममा छ भने किशोरावस्थामा रहेकाहरूबीच हुने आत्मीयतालाई कार्यकुशलताले प्रतिस्थापन गरेको छ ।

आत्मीयतामा देखिएको कमीप्रति इन्टरनेट युगमा हुर्किरहेका युवाहरूलाई कुनै चिन्ता वा चासो छैन । उनीहरू आफूले अनलाइन ‘साथी’को बृहत सामाजिक सञ्जालबाट सहयोग प्राप्त गरिरहेको बताउँछन् । वास्तवमा उनीहरू त्यस्ता मित्रहरूको भर परिरहेका छन्, जसलाई उनीहरूले न कहिले भेटेका छन् न भेट्ने सम्भावना नै रहन्छ । डिजिटल रूपमा प्राप्त गरिरहेको हौसला र समर्थनलाई उनीहरूले वास्तविकतासँग दाँजेर व्याख्या गरिरहेको देखिन्छ ।

के यी युवाहरूलाई आफूले के गुमाइरहेको छु भन्ने भान छ होला त ? त्यसले केही अर्थ राख्ला ?

सामाजिक एक्लोपन जापानमा निकै बढेको छ । त्यहाँका लगभग ५ लाख युवा ‘हिकिमोरी’ (घरबाट कहिल्यै
बाहिर ननिस्कने) जीवनयापन गर्छन् । यस्तै बेलायतमा पनि बढ्दो एक्लोपनको समस्याका कारण सरकारले ‘एक्लोपना मन्क्री’ नै नियुत्त गरेको छ । नयाँ सर्वेक्षणका अनुसार ८६ प्रतिशत बेलायती र अमेरिकी नागरिक
बढ्दो प्रविधि प्रयोगलाई नै एक्लोपन बढ्नुको प्रमुखकारक मान्छन् ।

मित्रता सम्बन्धी सुरुको दार्शनिक व्याख्या अरस्तुबाट गरिएको पाइन्छ । उनले ‘निकोमाचियन इथिक्स’ मा सुख र स्रोतमा आधारित मित्रता सहजै कायम हुने तर ती टिकाउ नहुने उल्लेख गरेका छन् । गहिरो मित्रतामा भने एकअर्काको सुख–दुःखको ख्याल गरिने र त्यसमा लाभको कुनै स्थान नरहने उनले बताएका छन् । त्यो भनेको स्वार्थरहित मित्रता हो । यस्तो गहिरो मित्रता भने जीवनमा केहीसँग मात्रै हुन्छ । किनकि यस प्रकारको मित्रताका लागि धेरै समय र मिहेनत लाग्छ । उनीहरूका लागि समय पनि दिनुपर्छ र केही त्याग पनि गर्नुपर्छ ।

कक्षामा सँगै पढ्ने वा कार्यालयमा सँगै काम गर्नेहरू पनि मित्र हुन सक्छन् । साथै एउटै टिमबाट खेलकुदमा प्रतिस्पर्धा गर्नेहरू, सांगीतिक समूहका संगीतकर्मी, धार्मिक क्रियाकलापका सहभागीहरू वा सैनिकहरू पनि मित्र हुन सक्छन् । यी सबै उदाहरणका आधारमा मित्रता कायम गर्न तीनवटा मामदण्ड आवश्यक पर्छ : एकै अनुभव, एकअर्काप्रति जवाफदेहिता तथा समान सोच रमानसिक एकरुपता ।

हामी अनलाइनमा भेट भएका साथीसँग अनुभव साटासाट गर्न त सक्छौं, तर वास्तविक रूपमा भेटेर गरिने भलाकुसारीभन्दा त्यो सम्बन्ध निकै कमजोर हुन्छ । अनलाइन गेमले मित्रताको सम्बन्धलाई प्रगाढ त बनाउन सक्ला, तर के त्यो सम्बन्धको गाँठो कति दह्रो होला ?

मित्रता कायम गर्न सँगै हुन, केही गर्ने (त्याग) भावना हुन अत्यावश्यक हुन्छ । सामाजिक सञ्जालमा सँगै हुनु र केही गर्ने भावना दर्शाउनु भनेको निम्छरो सम्बन्धमात्रै हो ।

सबैभन्दा महत्त्वपूर्ण त सामाजिक सञ्जालमा वा डिजिटल रूपमा विकसित भएको मित्रतालाई कुन हदसम्म विश्वास गर्ने भन्ने पनि हो । सामान्यतया नत त्यहाँ कसैको यकिन वास्तविकता थाहा पाउन सकिन्छ, न त्यसको कुनै रूप, आकार, प्रकार वा गन्ध नै हुन्छ । वास्तविक सम्बन्ध भनेको जैविक र मनोवैज्ञानिक हुन्छ ।

जसमा सशरीर उपस्थितिको आवश्यकता रहन्छ । भावनात्मक रूपमा प्रगाढ सम्बन्धले अक्सिटोसिन र इन्ड्रोपिन भन्ने रसायन मस्तिष्कमा पैदा गर्छ, जसले सुखद अनुभूति दिन्छ । त्यसले नै सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत गर्छ ।
आगामी दिनमा डिजिटल प्रविधिले पनि त्यस प्रकारको सुख अनुभूति गराउन नसक्ला भन्न सकिन्न । तर बिरामी पर्दा अस्पताल लगिदिन, औषधि खुवाउन वा खानेकुरा ल्याइदिन त वास्तविक मित्रकै आवश्यकता हुन्छ ।

मैले मेरो विद्यार्थीहरूलाई उनीहरू बिरामी पर्दा सुप ल्याइदिने साथी भए–नभएको बारे सोधेको थिएँ । उनीहरूले मेरो कुरा हाँसोमा उडाइदिए । उनीहरूले कसैलाई भन्नुभन्दा अनलाइन अर्डर गर्ने बताए । यो पनि वास्तविकता नै हो ।
अन्त्यमा सत्य के हो भने डिजिटल जीवनले मानिसहरूको जीवन जिउने तरिकालाई केही सहज बनाउन सक्ला, तर त्यसले एक्लोपना बढाउँदै लैजान्छ । उक्त डिजिटल स्पेसमा हुने मित्रता क्षणिक हो र वास्तविक जीवनमा अप्ठेरो पर्दा त्यो काम लाग्दैन ।

आस्मा कोलम्बिया कलेज, सिकागोकोदर्शनशास्त्रका प्राध्यापक हुन् ।
न्युयोर्क टाइम्सबाट अनुदित ।

प्रकाशित : चैत्र १६, २०७५ ०७:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×