१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कर्णाली, सिर्जना र राजनीति

समय रेखा
अभि सुवेदी

काठमाडौँ — सुर्खेत उपत्यकाको बीचतिरको एउटा थुम्कोमा २०७५ फागुन २७ गते घमाइलो दिनमा पुग्छु । थुम्कोमा रहेको प्राचीन काँक्रेविहार हेर्न जंगलको बाटो हुँदै कलेजका शिक्षक तथा मेरा पूर्व विद्यार्थीहरू मलाई थुम्कोमा पुर्‍याउँछन् । उनीहरू खुसी र विस्मय मिसिएका वर्णन गर्दै जान्छन् । अत्यन्त कलात्मक एउटा विहारको खण्डहर आँखासामु खुल्छ ।

कर्णाली, सिर्जना र राजनीति

एकैचोटी मलाई शिखर शैलीका उर्ध्वगामी गजुरका आकार, चारैतिर छरिएका ससाना खोपा र ‘रेलिकरी’ भित्र राखेका बुद्ध र मायादेवीका मूर्ति अनि हिन्दु धर्मजनिन आकार बोकेको एउटा समयले झ्वाप्प छोप्छ । वरिपरि जंगलमा छरिएका शिलाखण्डमा भवनका आकार, खम्बा, ज्ञान बुझाउने आभामण्डलले मलाई पूर्ण समयको चित्र देखाउन खोज्छन् ।


मलाई कम्बोडियाको एङकोर वाटमा गरेको अगस्ट २००८ को भ्रमण सम्झना हुन्छ । एङकोरमा प्राचीन वनभित्र अनन्त सुन्दर आकारमा कुँदिएका खण्डहरका प्रस्तरकलाले कैयौं सुन्दर संरचना भत्केको बुझाउँछन् । काँक्रेविहार यसैगरी असरल्ल सानो आयतनभित्र छरिएको छ । पुरातत्त्व विभागका मानिस यताउता आलस्यले अर्ध्दमुदित आँखा लाएर केही गरिरहेका छन् । मलाई लाग्छ, केही त गर्दैछन् ।


यहाँको विश्वविद्यालयका भाषाशास्त्री मेरा पूर्व विद्यार्थी रमेश खत्रीले पठाएको सिनास पत्रिकाको जनवरी २००६ मा प्रकाशित लेखमा पुरातत्त्वविद् प्राध्यापक डिल्लीराज शर्मा यस काँक्रेविहार र यसमा भएका आकारलाई एक रहस्य भन्छन् । उनी यसका आकार र संरचनाको वास्तुकलाजनिन व्याख्या गर्छन् । मलाई मायादेवी र बुद्धको जन्मको आकारले खिच्छ ।


‘मायादेवीका सपना’ भन्ने माओवादी जनयुद्धका बेलाको अवस्थालाई लिएर लेखेको शान्तिको सन्देशयुक्त नाटकमा मैले सिद्धार्थको जन्मको परिकल्पना गरेको दृश्य छ । निशा पोखरेलले यसलाई निर्देशन गर्दा एउटा भूगोल र आकारहीन थलो र समयको बलियो नाटकीय परिवेशको रङ्गमञ्चीय रचना गरेको सम्झिन्छु ।


मलाई काँक्रेविहारले एउटा समय खोलिदिन्छ । राष्ट्रिय नाचघरका महाप्रबन्धक राजेश थापाले सुर्खेतमा आयोजना गरेको रारा राष्ट्रिय नाटक महोत्सवमा कार्यपत्र प्रस्तुत गर्ने निम्तोमा आएको छु । पुग्ने बित्तिकै सहआयोजक अनि नाटककार आरंग नेपालका गणेश गौतम भन्छन्– यसमा अनुप बराल, वीरेन्द्र हमाल, सावित्री मल्ल कक्षपती, राजन खतिवडा, कान्छी महर्जन, रमेशरञ्जन झा, प्रवीण पुमा, चक्रप्रसाद पाण्डे, अशोक थापा, पुरु लम्साल, प्रवीण खतिवडा र मेरा गरी कार्यपत्र र अन्य प्रस्तुति छन् ।


मलाई लाग्छ, यो विहारको यो भग्न अवस्थामा छरिएको एउटा कालीक चेतना, बुद्धको जीवन यो काँक्रेविहारको डिल्लीराज शर्माले भनेको ‘रहस्य’ यो विहारमाथिको हमला यसमा लुकेका राजाहरूका शक्तियुद्धले प्रस्तुति कलालाई देखाउँछन् । इतिहासमा यस्ता घटनाका नाटकपछिको शून्य खुला आकाशमुनि भग्न कलेवरमा छरिएर बसेको हुन्छ । मलाई नालन्दा, ग्रीक र रोमका खण्डहरका सम्झना हुन्छन् ।


एथेन्सको एक्रोपोलिसमुनि भग्न नाट्यमञ्चको पुनरुत्थान भइरहेको सन् २००२ मा देखेर मैले एक प्राध्यापकलाई सोधेको थिएँ । तिनले भनेका थिए– रङ्गमञ्चको कथा पेरिक्लिजको सम्पन्न एथेन्स राज्य र त्यसमाथि अरूबाट भएका हमलासँग जोडिएको छ । काँक्रेविहारको यो परम सुन्दर थलोमा नाट्य प्रस्तुति कला र हमलाको सम्बन्ध छैन भन्न सकिँंदैन । नेपाली रङ्गमञ्च र विश्व रङ्गमञ्चको सम्बन्ध भन्ने विषय मलाई दिएको हुनाले त्यसैमाथि बोल्नुछ ।


मलाई भने काँक्रेविहार सेरोफेरोमा मन गइरहेछ । आएको केही घन्टा पछिदेखि नै मेरा पूर्व विद्यार्थी विष्णुकुमार खड्का र रेशम विष्ट, लेखक र विद्यार्थीका पनि विद्यार्थीहरूले तीनवटा प्रवचन दिन लगाइसकेका छन् । मेरो नाटकमाथि कार्यपत्र सुन्न उनीहरू नाट्य आयोजकले मिलाएको सानो हलमा खचाखच भएर कोचिँंदै बस्छन् अनि छलफलमा भाग लिन्छन् । त्यस अघि ६ बजे नै एउटा डिस्कोर्स दिइसकेको हुन्छु । त्यसबारे पछाडि केही भन्नुछ ।


काँक्रेविहारपछि मलाई मेरा विद्यार्थी सुर्खेत उपत्यका देखिने पहाडको चोटीमा लान्छन् । अनि उतापट्टि ओरालोतिरबाट दैलेखको भूमि देखाउँछन् । उता सिन्जातिरको पर्वत शृङ्खला देखाउँदै भन्छन्– दैलेखका हरेक ठाउँका पत्थरशिला इतिहास बोल्छन् । भाषाशास्त्री रमेश खत्री भन्छन्– अनन्त शिलाहरू भाषा बोल्ने पत्थर जिह्वा हुन्, यहाँ ।


मलाई यो भूमि र यताका मानिसको स्वतन्क्रताको शत्तिले भित्र छुन्छ । संघीयताको अन्तर्य भनेको यही स्वतन्त्र सिर्जनात्मक अनि मौलिकताको चेतना हो भन्ने लाग्छ । कर्णाली प्रदेश त्यो चाहनाले टनाटन भरिएको छ । बेलुका महोत्सवमा कर्णालीको नाटक हेर्छु । त्यसमा त्यही आत्मविश्वास छताछुल्ल भएर देखापर्छ ।


कर्णालीका सबै सांस्कृतिक चित्रण भएका छन्, त्यसमा । कर्णालीलाई त्यस नाटकमा एक सम्पन्न र आत्मविश्वासले भरिएको प्रदेशको रूपमा देखाइएको छ । त्यहाँ विकास एउटा यथार्थ, एउटा लोलुपता वा ‘प्यासन’ भएर आउँछ । जीवनका आलम्बन परिचित छन्, तर त्यसमा भोलिको समय छाउँछ । संघीय राष्ट्रपति प्रमुख अतिथि भएर आउँछन्, नाटकमा । एक पुरुष छन्, ती जो कर्णाली प्रदेशमाथि सरकारले सम्पन्न गर्नलागेका वैभवशाली योजनाबारे सुनाउँछन् । कर्णालीका नाच र गायन हुन्छन् ।


मानिस एकता र प्रेमले आबद्ध छन् । यदाकदा काठमाडौंले देखाउने गरेको कर्णालीको हामी पछाडि परेका छौं भन्ने बोधको त्यहाँ विनिर्माण हुन्छ । कर्णालीका केही मध्ययुगीन संस्कारको प्रस्तुति काठमाडौंका रङ्गमञ्चमा उतैका नाट्य समूहले नदेखाएका होइनन् । काठमाडौं फर्केपछि नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवलाई ल्याएको कर्णाली आर्टस सेन्टरका हीरा बिजुली नेपालीले लेखेर निर्देशन गरेको नाटक ‘गर्भ छिटा’ मण्डला थिएटरमा गएर हेर्छु ।


यो नाटक प्रस्तुति, रङ्गमञ्च, अभिनय, निर्देशन र रङ्गमञ्चीय क्षेत्रीय लक्षणा वा ‘सेमियोटिक्स’को दृष्टिले अत्यन्त सफल छ । हीरा भाइले निर्देशकीयमा भनेका शब्द मार्मिक छन् । ती भन्छन्– कर्णालीललाई पिछडिएको र गरिबीले पिसिएको भनेर मानिन्छ, नेपालमा । ‘कर्णालीसँग भएका मानवीयता र सामाजिक गतिशीलतालाई अधिकांशले बुझेकै छैनन्’ ।


सुर्खेतमा विद्यार्थीहरूले मलाई एउटा विषय दिएर त्यहाँका साहित्यकार, शिक्षक र बुद्धिजीवीलाई सम्बोधन गर्न लगाउँछन् । रेशम विष्ट मलाई यति लामो शीर्षक दिन्छन् । प्रस्तुति नेपालीमा हुने भए पनि अंग्रेजीमा लेखिएको छ, शीर्षक । ‘नेपालमा साहित्य, भाषा र राजनीतिले सामना गरेका सिर्जनात्मक चुनौती’ शीर्षक ठूलो भए पनि मन पर्छ । राजनीतिका सिर्जनात्मक चुनौती भन्ने खण्डले मलाई आकर्षित गर्छन् ।


हलभरि विभिन्न पुस्ताका मानिस खचाखच देखेर द्रवित र ठाउँ नपुगेको देखेर दुःखित हुँदै शिक्षक हुनुको सामर्थ्य निकालेर चर्को स्वरमा बोल्छु । मलाई मनमा लागेका कुरालाई यसरी राख्छु । नेपालमा अहिले जति सिर्जनात्मक चुनौती अघि कहिल्यै अनुभव गरिएन । संघीयताको परिकल्पना सिर्जनात्मक चुनौती थियो । विविध चलन, भौगोलिक अवस्था, इतिहास र भाषिक पहिचान भएका क्षेत्रलाई प्रदेश वा ‘प्रोभिन्स’मा बाँडेर संघीयता बनाउने चाहना र प्रयोग सिर्जनात्मक चुनौती थियो ।


एउटा नेपाल भनेर बनेको र चिनिएको पुरानो देशमा ‘प्रोभिन्स’का रचना गरेर देखाउने सिर्जनात्मक सामर्थ्य जर्मनका समाजशास्त्री युर्गेन हेबरमासलाई पनि चकित पार्ने किसिमको थियो । त्यो एउटा सत्य पहिचान थियो भन्ने कर्णालीमा देखिएको तरङ्गले बुझाउँछ । राम्ररी विचार गर्दा र मानिसमा आएका नयाँ जाँगर र विश्वास हेर्दा कर्णाली एउटा सिर्जनात्मक सामर्थ्य खोतलेर आफू उठेको देखिन्छ ।


सुर्खेतका मेयर देवकुमार सुवेदी, उपमेयर सुश्री ढकाल, प्रदेश प्रमुखदेखि अरू क्षेत्रका नरनारीसँग कुरा गर्दा त्यही आत्मविश्वास र नवजागरणको तरङ्ग देखिनु त्यही हो । म भन्छु, कर्णालीमा आफू हुने चाहनाको पछाडि संस्कृति, भाषा, एकपटक राम्ररी बनेर पटक–पटक बाहिरका मानिसका हमलाले काँक्रेविहार जस्तो भत्केको तर फेरि उठेको यसको इतिहास छ ।


यसका आर्थिक स्रोतका बलिया आधार छन् । यहाँ सिर्जनाले समय रच्ने मानिस बस्छन् । अहिले यसको राजधानी सुर्खेतका सपनामा त्यो तरङ्ग देखिन्छ । तरङ्गलाई योजनामा राम्ररी नबदल्ने हो भने अनि सहरीकरण र विकासका सपनाका असम्पृक्त प्रयोग भए भने ठूला समस्या आइपर्ने कुरा अरू देशका यस्तै अवस्था भोगेका इतिहासले देखाउँछन् ।


राजनीति सिर्जनात्मक छ कि छैन भन्ने विषयमा पनि बोल्छु । सबै राख्ने यहाँ ठाउँ छैन । संक्षेपमा, नेपालमा आएका परिवर्तन सिर्जनात्मक हुन् । सिर्जनात्मक हुनु चुनौती हो । राजनीतिमा त्यो सिर्जनात्मक चुनौती सामना गर्न अधिनायकवादी वा नियन्त्रण गर्ने भावना नै बाधा हुन्छ । देखिएको छ । नेपालको यो परिवर्तनको कालखण्डमा सिर्जनात्मक चुनौती बुझ्ने राजनेता, दलका नेता र सरकार चाहिन्छन् । त्यो कुरामा निकै चुनौती थपिंँदै गएको देख्छौं, म भन्दै जान्छु ।


सिर्जनात्मक चुनौती अरू चुनौतीजस्तो हुँदैन । त्यो रचनात्मक नै हुन्छ । त्यो समानताको भावना र सम्मानले मात्र जन्मिन सक्छ । अहिले त्याग र सम्मानको संस्कृतिलाई मलजल गर्नुपर्छ । सिर्जना विविध हुन्छन्, बहुल हुन्छन् । तिनलाई मास्ने, सिद्धान्त हाँक्नेका सोच एकलवादी हुन्छन् । ‘ओलीगार्क’हरूले देखेका सपनाले आजको नेपालको संघीयतालाई काम दिंँदैन । अहिले विविध तर एक हुने युग आएको छ ।


सिर्जनात्मक पक्ष जनमानसमा धेरै हुन्छ । तिनका मनबाट जन्मिने आशा र सपनामा नै सिर्जनाका सम्भावना भेटिन्छन् । राज्य चलाउने दल र शक्ति बोकेकाहरूकन चेतना भया ।

प्रकाशित : चैत्र ९, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?