कान्छो आविष्कारको कमाल

रामचन्द्र अधिकारी

काठमाडौँ — तीन सय वर्ष अगाडिका भविष्यवेत्ता तथा दार्शनिकहरूले भन्ने गरेका थिए, मानिसको संख्या यसरी नै बढिरहन्छ र अनिकालले मानिसको जीवन अस्तव्यस्त हुन्छ । उनीहरूले अनुमान लगाएकोभन्दा तीव्र गतिमा जनसंख्या वृद्धि हुँदै गयो । तर त्यस्तो भोकमरी लागेन । जीवन जति दुःखी र कष्टकर होला भन्ने सोचिएको थियो, त्यस्तो भएन । उल्टै सजिलो भएको छ ।

कान्छो आविष्कारको कमाल

मानिसको औसत आयु (७१.५ वर्ष) ह्वात्तै माथि आएको छ । मृत्युदर घटेको छ । पछिल्ला वर्षहरूमा जन्मदर पनि नियन्त्रणमा आएको छ (२.५ बच्चा प्रतिविवाहित महिला) । रोगविरामबाट मानिस निकै सुरक्षित बन्न थालिसके । उपचार सम्भव भएकाले । जमिनमा उब्जिनेले मात्र नपुग्ला भनेर समुद्रमा खेतीपाती सुरु भएको छ ।


आजको मानिसलाई सुखी र समृद्ध बनाउने एक आधारशिला या मानिसले पछिल्लो समयमा आविष्कार गरेको विज्ञानको विधा हो— जैविक प्रविधि । २० औँ शताब्दीलाई कम्प्युटर प्रविधि र २१ औँलाई जैविक प्रविधिको युग मानिएको छ । यसर्थ कम्प्युटरपछिको कान्छो आविष्कार जैविक प्रविधि हो ।


एउटा शरीरबाट दुरुस्तै अर्को शरीर बनाउने क्लोनिङ प्रविधि, निसन्तान दम्पतिबाट सन्तान उत्पादन गर्ने आईभीएफ प्रविधि, एकबाट अर्काको जीउमा अंग प्रत्यारोपण गर्ने ट्रान्सप्लान्टेसन प्रविधि, पेटको बच्चाको स्वास्थ्य अवस्था जानकारी लिने एम्निओसिन्टेसिस सबै आधुनिक जैविक प्रविधि हुन् । त्यति मात्र होइन, औधि उत्पादनशील नश्ल, भ्याक्सिन र एन्टिबायोटिक अनि बेमौसमी, टिकाउ तथा बलियो प्रतिरक्षा क्षमता भएका खाद्यवस्तु तयार गर्ने काम जैविक प्रविधिले गरेको छ । जीव विज्ञानको यस विधाले थोरै मात्रामा भए पुग्ने र थोरै समयमा तयार गरी खान सकिने उच्च पोषणतक्त्वयुत्त खानेकुरासमेत आविष्कार गरेको छ ।


जैविक प्रविधिले १० वटा मुख्य आयामहरूमा उन्नति गरेर देखाइदियो । ती हुन्— जैविक इन्धन, दिगो खाद्य उत्पादन, समुद्री खेती, शून्य फोहोर उत्पादन, हानिकारक मानिएको कार्बनडाइ अक्साइड ग्यासलाई कच्चापदार्थको रूपमा प्रयोग, पुनर्उत्पादित औषधि, भ्याक्सिन, सस्तो तथा सुभल किसिमले रोगको निदान, अत्याधुनिक स्वास्थ्यसेवा र माटो अनि पानीको सुरक्षा ।


जैविक प्रविधिको आवश्यकताको आभास अठारौँ शताब्दीबाट भयो । वैज्ञानिक ग्रेगर मेन्डलले सन् १८६५ मा सफलता हासिल गरेसँगै यसको विकासक्रम सुरु भएको मानिन्छ । दोस्रो विश्वयुद्धपछि सन् १९५३ मा वाट्सन र क्रिकले डीएनएको बनावट छर्लङ्ग देखे, बुझे र अरुलाई बुझाए, अनि जैविक प्रविधिले गति लियो । अनेकन उपलब्धि प्राप्त गर्दै सन् १९९६ मा भेडाको क्लोनिङ गरेर मान्छेमा यस्तै गर्न सकिने तर्क सार्वजनिक भएपछि भने विश्व अत्तालियो र यसो नगर्न वैज्ञानिकहरूलाई सुझायो । सन् २०१३ मा मानिसबाट अर्को दुरुस्त मानिस बनाउन सकिने वैज्ञानिक आधार बनाइसकिएको थियो ।


मानव र अन्य जनावरको शरीरलाई संक्रमणबाट आजीवन जोगाउने प्रयासस्वरुप लुई पाश्चरले सन् १८८५ मा भ्याक्सिनको आविष्कार गरे । विभिन्न प्रयोजनमा यसको दुरुपयोग बढ्यो । लागेका रोगलाई नियन्त्रण गर्ने उद्देश्यले अलेक्जेन्डर फ्लेमिङले १९२८ मा एन्टिबायोटिक बनाए । एन्टिबायोटिकको आज चरम दुरुपयोग भइरहेको छ । यसको अनियन्त्रित प्रयोगले मानव स्वास्थ्यमाथि धावा बोलिरहेको छ ।


मांसप्रदायक पशुहरूलाई जुन पायो त्यही एन्टिबायोटिक लगाइदिएर तौल वृद्धि गरिदिनेसम्मको दुराचार गरिएको छ । छिटो दुर्व्यसनी हुने किसिमका औषधिलाई अन्तर्रार्ष्ट्रिय स्तरमा नै प्रतिबन्ध लगाइसकिएको छ । क्रिश्चियन बोनार्डले १९६७ मा मानिसको मुटु एक–अर्कोमा प्रत्यारोपण गरिदिए । उनले यो नवीनतम प्रविधिबाट लाखौँ मानिसलाई नयाँ जीवन दिए । यसै जैविक प्रविधि (तन्तु वा अंग प्रत्यारोपण) बाट कस्मेटिक सर्जरीसमेत गर्न सकिने भएकोले मानव अंगको कालाबजारी फस्टाउने संकेत देखिएको छ ।


जैविक प्रविधिले मानिसको अनुहार चाहेजस्तो रूपमा बदल्न सक्ने कुराको ग्यारेन्टी गरेको छ । शाकाहारीलाई सबै पोषणतत्त्वको ग्यारेन्टी गर्न नसक्ने ठहर गरिकन मासुजन्य पदार्थमा हुने सबै पौष्टिक तत्त्वसहितको सब्जी आविष्कार अन्तिम चरणमा पुगेको बताइन्छ । कृत्रिम रगत तथा वीर्य सुधारीकरणको सफल निष्कर्ष उन्मुख अन्वेषण भइरहेका छन् ।


एकातिर जैविक प्रविधि वरदान सावित भएको छ । यसले मानिस लगायत सहयोगी जीवहरूलाई समेत नवजीवन दिएको छ, अकाल मृत्युबाट जोगाएको छ, जीवन सहज बनाएको छ । अर्कातिर यसले निहित मानव स्वार्थका लागि अन्य जीवको अस्तित्वलाई संकटमा पारेको छ । सामाज, संस्कृति, मानवीय कानुनमात्र होइन, मानव जीवनलाई नै चुनौती दिएको छ । जैविक प्रविधिको चरम दुरुपयोग हुनथालेको छ । कतिपय देशले केही प्रविधिलाई प्रतिबन्ध लगाएका छन् ।


एम्निओसिन्टेसिस (आविष्कार सन् १९६७) प्रविधिले गर्भमा भएको भ्रूणको शारीरिक तथा मानसिक स्वास्थ्य र लिङ्गको जानकारी दिन्छ । पेटको बच्चामा धेरै खराबी छ भने विज्ञले गर्भपतनलाई उपयुक्त मान्छन् । तर मानिसले यस प्रविधिलाई लिङ्ग पहिचान गर्न दुरुपयोग गरे । एक अध्ययन अनुसार भारतको मुम्बईमा ८४ प्रतिशत स्त्रीरोग विशेषज्ञले मासिक २ सय ७० जनाको एम्निओसिन्टेसिस गर्छन् ।


९५ प्रतिशतको उद्देश्य भ्रूणको लिङ्ग पहिचान गर्नुहुन्छ । अनिच्छाएको लिङ्गीय भ्रूण रहेछ भने हत्या गरिदिन । त्यसैले भारतमा अनाधिकृत एम्निओसिन्टेसिस गर्न पाइन्न । यस्तै अर्को प्रविधिले नेपालमा पत्तै नपाई अन्तर्राष्ट्रिय बजार जमाएछ । त्यो हो–आईभीएफ वा टेस्टट्युव बेबी । यो प्रविधि प्राकृतिक रूपले निसन्तान दम्पतिबाट बच्चा उत्पादन गर्न विकास भएको हो । यदि महिला गर्भमा बच्चा बोक्न असमर्थ रहिछन् भने अर्की महिला (सरोगेट आमा) को पाठेघरमा भ्रूण प्रत्यारोपण गरिन्छ र तिनैले बच्चा जन्माइदिन्छिन् । यस प्रविधिको दुरुपयोग गर्दै बच्चा जन्माउन नभ्याउने विदेशी आएर नेपाली महिलालाई भाडामा लिएर सरोगेट आमा बनाए ।

सन् १९७८ मा बेलायतमा पहिलोपटक सफल यो प्रविधिबाट संसारमा ५० लाख बच्चा जन्मिसकेका छन् । तर यो प्रविधिको दुरुपयोग गरेको ठहर गरी नेपाल सरकारले सन् २०१५ मा प्रतिबन्ध लगायो । सन् २०१६ मा केही खुल्ला गरेर सर्वोच्च अदालतले भन्यो— नेपाली निसन्तान दम्पतिले चाहिँ आईभीएफ गर्न पाउनेछन् ।


प्रविधिले जैविक हतियारको रचना गरिसकेको छ । बिना सेना वा अन्य भौतिक गोलीगठ्ठा शत्रुलाई नाश गर्ने यो प्रविधिलाई

धेरै युद्धमा प्रयोग गरिएको छ । यो निकै विनाशकारी चिज हो । वैज्ञानिक आविष्कारका राम्रा–नराम्रा दुवै पक्ष हुन्छन् भन्ने विश्वव्यापी मान्यता छ । यही कुरालाई अँंगाल्दै जैविक प्रविधि स्वीकार नगरी आजको मानव जगतलाई धरै छैन । तथापि यिनलाई व्याख्या गर्ने कानुनी आधारहरू वा नियमन गर्ने कानुन निर्माणमा भने सधैं तैनाथ रहनुपर्ने देखिन्छ । यसो हो भनेमात्र मानव र यिनको संस्कृति, सामाजिक सन्तुलन र मानवता नै बच्दछ । हैन भने यो प्रविधि एटम बमभन्दा कमजोर छैन ।


लेखक स्नातकोत्तर क्याम्पस, विराटनगरको प्राणीशास्त्र विभागमा उपप्राध्याप क छन् ।

[email protected]

प्रकाशित : चैत्र २, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?