‘ठग’ ट्याक्सी चालकका नाममा 

जनकराज सापकोटा

काठमाडौँ — दुई महिना अघिको कुरा हो । चितवनबाट अक्सर चार घन्टा लाग्ने बाटो छिचोल्न आकस्मिक जाम र जिर्ण सडकका कारण ६ घन्टा लाग्यो । धुलोको मुस्लो उडिरहेको कलंकीमा झर्दा ११ बजिसकेका थियो । अब बल्ल मेरो युद्ध सुरु हुनेवाला थियो । ट्याक्सी खोज्ने युद्ध । 

हातमा झोला झुण्ड्याएर सपत्नी उभिएको देखेर दर्जन ट्याक्सी मेरो छेउ आए । चालक बस्ने सिट छेउको झ्यालमा उभिएर मैले जाने ठाउँको नाम भने । त्यसपछि सुरु भयो, मोलतोल ।


म मिटरमा जान खोज्ने । उनीहरुको फिक्स रेट हुने । मेरो दर्जनौं यात्रा अनुभवको सार हो, कलंकीबाट बुद्धनगर पुग्न बढीमा साढे दुई सय भन्दा धेरै पर्दैन । तर ट्याक्सी चालकहरु ६ सय भाउ सुनाउँछन् ।


प्रत्येक ट्याक्सीलाई मैले वाचा गरें, मिटरमा जाउँ । उठेभन्दा पचास रुपैयाँ थप्नेछु । तर उनीहरुलाई मेरो कुरा सुन्ने फुर्सद थिएन । घामले भन्दा धुलोले र लामो यात्राले म आलसतालस भईसकेको थिएँ । मिटरमा जाने मेरो अनुरोधलाई ट्याक्सी चालकले यसरी धुवामा उडाईदिए कि त्यो सोझै मेरो अनुहारमा पोतियो ।


जसरी पनि पचास रुपैयाँ थपेर मिटरमा जाने मेरो अडान एकैछिनमा कर्कलोको डाठ झैं लुलो भयो । मैले सडक बिचमा उभिएर सिटी फुकिरहेका ट्राफिक गुहारे । एकजना ट्राफिकले मेरो अनुरोध सुनेको नसुन्यै गरे । सायद उनको वेवास्तामा निरिहता र लाचारी मिसिएको थियो । नजिकै अर्का ट्राफिक थिए, कमल ध्वज गुरुङ । सायद मेरो निरिह अनुहार देखेर उनलाई दया लागेछ, उनले मलाई ट्याक्सी खोजीदिने बताए ।


सडक किनारमा केही ट्याक्सी थिए । तर ट्राफिकलाई देखेर तिनका चालक कतै लुकीसकेका थिए । यता उता भौतारिँदा पनि केही सिप नलागेपछि म धुरुक्कै भए । आँत सुकिसकेको थियो । नजिकैको पसलबाट पानी किनेर खाए । गह्रौ झोला लतार्दा हात लुला भईसकेका थिए । हामी दम्पती जीवनकै सबैभन्दा ठुलो हार खेपीरहेझै झोला लतार्दै कलंकीको चोक पारी आयौं ।


त्यतिबेला मेरो मनमा यो देशका खराब शासकहरुको अनुहार नाचिरहेको थियो । मिटरमा जान खोज्नु नै मेरा गल्ती थियो । समृद्धीको नारा फलाक्न सरकार सडकका प्रत्येक पोलमा प्रधानमन्त्रीको अनुहार झुण्ड्याउँछ । अनि म नाथे मिटरमा जान नमान्ने ट्याक्सीको दादागिरीबाट प्रताडित भएर हातका नसा चुडिएलान झैं गरी गह्रौं झोला झुण्ड्याउँछु ।


जीवनमा कहिल्यै देशलाई गाली गर्न मन लागेन । तर त्यो दिन किन किन गाली गर्न मन लाग्यो । यो देशमा जन्मिनु अभिशाप थियो कि त्यो दिन मेरो दशा बिग्रेको थियो ? होइन भने राज्यलाई नियमित कर तिर्ने नागरिकका नाताले मैले के पाप गरेको थिएँ ?


यता र उता भौतारिंदा भौतारिंदै म आलसतालस भइसकेको थिए । जति भन्छन् त्यति पैसा तिरेर ठगिन्छु भन्ने सोचेर एउटा ट्याक्सीको झ्यालमा टाउको जोतें । गन्तव्य बताएपछि सोधे, ‘कति पैसा लिनुहुन्छ ?’ उत्तरमा ति चालकले जे भने त्यसले मेरो टाउकोमा चिसो पानी छम्केजस्तो शितल भयो ।


उनले भने, ‘मिटरमा उठे बराबर दिनु न !’


मेरो मन छमछमी नाचेझैं भयो । झोला राखेर हामी भित्र पस्यौं । मिटरमा जाने ट्याक्सी चालकको अनुहार नियालीरहें । ति चालकलाई मैले लाख–लाख धन्यवाद मात्रै भनिन, गन्तव्यमा पुगेपछि उठेभन्दा बढी पचास रुपैयाँ पनि थमाईदिएँ ।


यात्राका दौरान ति चालकलाई मैले सोधें, ‘तपाईं त देउतै हुनुहुँदो रैछ । मिटरमा जान मान्नुभो त ।’


उनी मुसुक्क हाँसे र भने, ‘ईमानले कमाएर पनि बाच्न पुग्छ भने किन ठग्नु ।’ उनीसंगको लामो कुराकानीको सार थियो, बहुसंख्यक ट्याक्सी चालक यात्रुको अप्ठ्यारोमा जाल थापेर ठग्नुलाई कमाउने सुत्र ठान्छन् ।


...


दुई महिनापछि फेरी चितवनबाट काठमाडौं आउने मेसो पर्‍यो । त्यो यात्रामा भने म एक्लै थिएँ । कलंकीमा माइक्रो रोकिनेबित्तिकै रानी माहुरीलाई माहुरीहरुले घेरेझैं फ्लोरोसेन्ट ज्याकेट लगाएका ट्याक्सी चालकले घेरे ।


सहचालकले ढोका खोल्ने बित्तिकै मैले भनें, ‘मिटरमा जाने कोही हुनुहुन्छ भने म उठेको रकममा दस प्रतिशत थप्छु है ।’ कोही बोलेनन् । मुखामुख गरेजस्तो गरे ।


मैले फेरी भनें, ‘मिटरमा उठेको रकममा बीस प्रतिशत थप्छु ।’ फेरी कोही बोलेनन् ।


विस्तारै चालकहरु लाखा पाखा लाग्न थाले । मैले फेरी बोलें, ‘मिटरमा उठेभन्दा तीस प्रतिशत थपेर दिन्छु । लौ न जाम ।’ सबैले मेरो अनुहारमा अपराधीलाई हेरेझैं हेरेर तर्किए ।


एकजना चालक जान खोजेजस्तो गरे । अनि भने ‘झोला पनि होला ।’ मैले छ भनेपछि उनी तर्किएजस्तो गरेर भने, ‘मान्छेमात्रै भए पो मिटरमा जाने त । झोला भएपछि त थप पैसा लागीहाल्छ नि ।’


त्यो चालकको अनुहारमा लुटेराको प्रतिबिम्ब थियो । मैले उसका कुरा नसुनेझैं गरें ।


आमाले हालिदिएको कोसेलीले भरिएको गह्रौं झोला छेउ लगाएर म उभिरहें । अघिल्लो यात्रामा बेहोरेको हैरानी फेरी सम्झनामा आयो । म आलसतालस भएँ । धेरैबेरपछि एकजना ट्याक्सी चालकले अरु बेला मिटरमा उठ्ने रकममै जान तयार भए । ती चालकसँग मैले लामो कुरा गरें ।


२०५८ सालदेखि निरन्तर ट्याक्सी चलाइरहेको ती चालकले आफ्नो दसक लामो अनुभव साटे । आठ वर्ष ट्याक्सी हाँकेपछि उनी २०६५ मा साउदी अरब गएका रहेछन् । उनले भने, ‘साउदी जानु अघिसम्म ट्याक्सी चालकको इज्जत थियो । मिटरमै जाने चलन थियो । मिटरमा नगएपनि कसेर भाडा ठोक्दैनथे । ईमान ईज्जत जानेगरी ठग्नै पाए हुन्थ्यो भन्ने थिएन ।’


चार वर्षपछि उनी साउदीबाट फर्किंदा अवस्था अर्कै भइसकेको थियो । फर्केपछि पनि उनले ट्याक्सी किनेर चलाउन थाले । उनले अनुभव साटे, ‘फर्कंदा अवस्था अर्कै भइसकेको रहेछ । सोझासाजालाई कसेर भाडा ठोक्ने, यात्रुको अप्ठ्यारो बुझेर चर्को भाडा लिने चलन चलिसकेको थियो । अनि ट्याक्सी चालक भनेका लुटेरा नै हुन भन्ने बुझाई बढ्दै थियो ।’


उनको अनुभवी कुरा सुनेपछि मैले सोधें, ‘के ट्याक्सी चालकले सुरु गरेको विरोध जस्तै भाडा कम भएकै हो त ?’


उनले भने, ‘भाडा त समायोजन गर्नैपर्ने देखिन्छ । सुरुवाती मिटर पचासबाट सुरु गर्ने हो भने कसैलाई घाटा पर्दैन । यति मात्रै गरेर मिटरको नियम बसाल्न कडाइ गरियो भने थिती बस्छ ।’


‘अहिलेकै दरमा ट्याक्सी चालकले मिटरमै चलाउँदा कति कमाउँछन् ?’


उनले भने, ‘२५ देखि तीस हजार त सजिलै कमाउँछन् ।’


'अनि मिटरमा जान नमान्ने, यात्रुलाई अप्ठ्यारोमा पारेर जति भन्यो त्यति पैसामा जान बाध्य पार्नेहरुले चाही कति कमाउँछन् नि ?'


‘त्यस्ताले त एक लाख माथी कमाउँछन्’, उनेल भने, ‘कोही कोहीले त सजिलै लाख माथी कमाउँछन् ।’


‘तपाईंको अनुभवमा इमान्दारको संख्या कति होला ? बेईमानको कति होला ?’


उनी एकछिन गम खाए र भने, ‘सत्तरी प्रतिशत त बेइमान नै होलान सर ।’


पछिल्लो तीन महिनामा मैले दर्जनपटक ट्याक्सी चढें । जसमध्ये तीनजना ट्याक्सी चालकले आफ्नो धर्म निभाएर मिटरमा जान माने । अनि तिनलाई मैले मिटरमा उठेभन्दा पचास रुपैयाँ बढी रकम थपिदिएँ ।


...


अघिल्लो साता मात्रै जर्मनीबाट फर्केर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर निस्कदा ट्याक्सी चालकको हैकम फेरी भोगीयो । मिटरमा जाने मेरो अनुरोधलाई दर्जन बढी ट्याक्सी चालकले खिसीका रुपमा अर्थ्याए ।


यस्तो लाग्यो, मिटरमा जाउ भन्ने अनुरोध गरेर म अबुझ र हुनै नसक्ने कुरा गरिरहेछु । एकजना चालकले व्यंग्य गरेर भने, ‘सर तपाईं कुन जमानामा हुनुहुन्छ । मिटरमा जाने ।’ यति भनेर उनले अर्का चालकतिर हेर्दै खिस्याएको शैलीमा हाँसे । मैले मनमनै सोचें, सरकार यो विमानस्थल बरु बुटिक नबनाउनुस् । विमानस्थलको आँगनलाई ठगहरुको अड्डा बन्न नदिनुस् ।


१५ दिने लामो विदेश यात्रापछि फर्किंदा काठमाडौंमा कुनै राजनीतिक बदलाव थिएन । सबै उस्तै थियो । फरक यत्ती रहेछ, ट्याक्सी चालकहरुले भाडा समायोजनको भद्र आन्दोलन सुरु गरेका थिए । ट्याक्सीका पछाडी अनेकन नारा लेखिएका पम्प्लेट टाँसिएका रहेछन् ।


कसैले लेखेका थिए, ‘सरकार भाडा समायोजन गर र मलाई कतार जान बाध्य नपार ।’ कसैले लेखेका थिए, ‘सरकार मैले २०७५ को मुल्यमा खरिद गर्नुपर्ने सेवा दिंदा चाँही २०६९ को मुल्यमा दिनुपर्ने ?’ यस्तै यस्तै...।


यस्ता नारा पढीरहँदा म कलंकीको चोकमा धुलो र धुँवा खाँदै वा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घर फर्किंदा दर्जनौं पटक ठगिएका घटनाहरु झलभली सम्झनामा आइरहे ।


अनि भन्न मन लाग्यो, ‘मिटरमा उठे भन्दा पचास वा सय रुपैयाँ बढी दिन्छु भन्दा पनि जान नमान्ने ट्याक्सी चालकहरुको बिगबिगी के हो ? यो ठगी धन्दा हो कि होइन ?’


कसैलाई मेरा कुरा विश्वास लाग्दैन भने आउनुस् काठमाडौंका जुनकुनै सरकारी अस्पताल बाहिर उभिएर स्टिङ अपरेशन गरौं । आउनुस् विमानस्थल बाहिर वा कलंकी चोकमा उभिएर तमासा हेरौं । मिटरमा उठ्ने रकममा पचास वा सय रुपैयाँ थप्छु भन्दा पनि जान नमान्ने ट्याक्सी चालकहरु सेवा प्रदायक हुन् कि ठग अनि बहस गरौंला !


प्रकाशित : फाल्गुन ३०, २०७५ १४:२१

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कावासोतिस्थित जिल्ला प्रहरी कार्यालय नजिकै विस्फोट

नारायण शर्मा

नवलपरासी — नवलपुरको सदरमुकाम कावासोतीमा बिहीबार बिहान बम विस्फोट भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत डिभिजन बन कार्यालय कावासोतीको ठिक अगाडि बिहान ११:३० बजे बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । 

विस्फोट निकै ठुलो आवाजमा भएको थियो । विस्फोट पछि नवलपुर प्रहरीले जिल्ला सदरमुकाममा उच्च सुरक्षा सतर्कता अपनाएको छ । विस्फोटपछि बारुदको गन्ध आएकाले बारुद बम हुन सक्ने अनुमान गरिएको प्रहरी उपरीक्षक रमेश थापाले बताए । विस्फोटबाट मानवीय तथा भौतिक क्षति भने भएको छैन विस्फोट भएको स्थानदेखि जिल्ला प्रहरी कार्यालय नवलपुर करिब सय मिटरको दुरीमा पर्छ ।
उता गैँडाकोटको जयश्री पुलमा भेटिएको शङ्कास्पद बस्तु बम नभएको पुष्टि भएको छ । पुलमुनि शङ्कास्पद बस्तु देखिएपछि सेनाको बम डिस्पोजल टोलीले गरेको अनुसन्धान पछि सो बस्तु बम नभएको पुष्टि भएको हो । बाल्टीमा माटो र बालुवा मात्र भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १४:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×