बाँदरको कैरन, हेरालोलाई हैरान- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँदरको कैरन, हेरालोलाई हैरान

सोनी बराल गौली

काठमाडौँ — विश्वभर बाँदरका २ सय प्रजाति छन् । तीमध्ये नेपालमा तीन प्रजाति पाइन्छन् । लङ्गुर, रेसस र आसमी । बाँदरहरू जङ्गलमा बस्छन् । देवालयमा पनि यिनीहरू प्रशस्तै भेटिन्छन् । लङ्गुर जङ्गलमा तथा आवादी जग्गामा पाइन्छ । रेसस जङ्गलमा र सहरी बसोबास क्षेत्रमा । दसदेखि एक सयको समूहमा । यो खेतीबालीमा असर गर्ने प्रजाति हो । 

मानिसहरूले कृषि बाली नोक्सानीको समाधानका लागि बाँदरलाई धपाउने, हल्ला गर्ने, ढुंगाले हान्ने गर्छन् । यी प्रयास प्रभावकारीे छैनन् । विभिन्न सांस्कृतिक मूल्य–मान्यताका कारण पनि मानिस बाँदरलाई जथाभावी दुःख दिन डराउँछन् । हाम्रो कानुनले समेत बाँदर हत्या गर्नर् बन्देज गरेको छ ।


परापूर्वदेखि नै बाँदर र मानिसबीच घनिष्ट सम्बन्ध रहेको धार्मिक ग्रन्थहरूमा पाइन्छ । रामायण अनुसार श्रीरामले सुग्रिवसँग मित्रता गाँसी बाँदर सेना र हनुमानको साथ लिई लङ्का दहन गरेर सीतालाई रावणको चङ्गुलबाट मुक्त गरेका थिए । हनुमानले रामलाई हरेक परिस्थितिमा साथ दिएका थिए । हनुमानलाई रामभक्त भनी पुजिन्छ पनि । अहिले पनि मानिसले बाँदरबाट अनेकौं लाभ लिइरहेका छन् । वैज्ञानिकहरूले बाँदरमा परीक्षण गरी विभिन्न रोगको औषधी पत्ता लगाएका छन् । शिक्षाविद्ले सिकाइ प्रक्रियाका सिद्धान्त प्रतिपादन गर्न बाँदरको प्रयोग गरेका छन् । सर्वसाधारणले पनि बाँदरलाई तालिम दिएर सर्कसमा प्रयोग गरेका छन् ।

केही व्यक्ति वा समूहले बाँदरबाट फाइदा लिए पनि असंख्यले भने दिनहुँ दुःख झेलिरहेका छन् ।


सामान्यतया पोथी बाँदरहरू २.५–४ वर्षमा तथा भाले बाँदरहरू ४–७ वर्षमा वयस्क तथा प्रजननयोग्य हुन्छन् । बाँदरले गर्भाधारण गरेको ५.५ महिनामा तीनवटासम्म बच्चा जन्माउँछन् । यिनीहरू १२–२४ महिनाको अन्तरालमा अर्को बच्चा जन्माउँछन् । त्यसैले बाँदरको संख्या द्रुत गतिले बढेको पाइन्छ । विशेषतः मध्यपहाडी भेगमा सामुदायिक वन विस्तारसँगै बाँदरको संख्या बढेको छ । राष्ट्रिय निकुञ्जमा पनि यिनीहरूको संख्या बढेको छ । अत्यावश्यक खाना वनमा अभाव छ । मानव बस्तीमा सजिलै पाइन्छ । त्यसैले यिनीहरू मानव बस्तीमा आकर्षित हुने गरेका छन् । यसले मानव र बाँदर बीचका द्वन्द्वका घटना बढाएको छ ।


ग्रामीण क्षेत्रबाट तुलनात्मक रूपमा सम्पन्न व्यक्ति सहरी क्षेत्रमा बढ्दैछन् । गाउँमा प्रायः आर्थिक रूपले कमजोर परिवारको बसोबास छ । दुःख गरी लगाएको कृषि बालीमा बाँदरले क्षति पुर्‍याउँदा उनीहरू झन् विपन्न भएका छन् । आफ्नो अन्नबाली बचाउन रातदिन बारीमै बस्न बाध्य छन् । तैपनि बाँदरबाट बाली जोगाउनसकेका छैनन् । एक ठाउँबाट लखेट्छन् । अर्को ठाउँमा पुगेर बाली नष्ट गर्ने गर्छ ।


पूर्वतिरका कति किसान ठान्छन्, ‘बाँदर हनुमानको स्वरूप हो । रामले आसिस दिएकाले यहाँ आएका हुन्, टन्न खुवाएर पठाउनु हाम्रो धर्म हो ।’ उनीहरू यसलाई आफ्नो बसको कुरा ठान्दैनन् । सरकारले नै कदम चालेर समस्या सल्ट्याइदियोस् भन्छन् । पश्चिममा भने गाउँलेले बाँदरको अत्याचार सहन नसकी खेतबारी नै बाँझो राखेका छन् । घरमा पकाएको खानादेखि सुकाएका कपडासमेत बाँदरले लगेर उजुरीसमेत गर्न बाध्य भएका छन्, उनीहरू ।


देवघाटका वृद्धाहरूले आफ्नो पीडा गीतमै बिसाए, ‘हाम्ले खानेकुरा माग्ने, बाँदरले त्यसलाई खाने, हाम्रो पीर कसलाई बिसाउने/हाम्ले तिनलाई लखेट्ने, तिनले हाम्लाई पच्छ्याउने, त्यसैगरी दिन बिताउने ।’ धादिङका किसानले बेला–बेलामा सरकारसँग बालीनालीको उचित क्षतिपूर्ति नै मागेका छन् । कास्कीका किसानले राष्ट्रिय कृषक महासङ्घ तर्फबाट यसको व्यवस्थापन माग गर्दै सर्वोच्व अदालतमा रिटै हालेका छन् ।


सहरी क्षेत्रमा मठमन्दिर नजिक गर्मी–जाडो नभनी सदा झ्यालढोका बन्द गरेरै बस्नुपर्ने अवस्था छ । कपडा सुकाएपछि दिनभरि हेरालो बस्नुपर्ने बाध्यता छ । विस्कुन सुकाउँदा पनि त्यस्तै । साना नानी–बाबुलाई बाहिर एक्लै सुताउन वा खेल्न छोड्नै मुस्किल छ ।

यसको निराकरण अति जरुरी छ । यस जैविक प्रकोप न्यूनीकरण गर्न केही अल्पकालीन र केही दीर्घकालीन उपाय अपनाउन सकिन्छ । अल्पकालीन क्रियाकलापमा विशेषतः बाँदरले आक्रमण गर्ने स्थान वरिपरि औषधी छर्ने, जसको गन्धले बाँदर भाग्छ ।


बाँदरलाई समाती परिवार नियोजन गरिदिने । बाँदरलाई समातीे रङ्ग लगाई छाडिदिने, त्यसले अरू बाँदर डराउँछन् । मरेको

माछालाई प्याकेटमा राखेर खेती वरिपरि राखिदिने, त्यसलाई बाँदरले खोलेर खाने प्रयास गर्छ । हातमा लागेपछि गन्ध नहटिन्जेल घसिरहन्छ । र पुनः बालीमा नआउन सक्छ । राहत कोष खडा गरी यसको खाद्यान सुरक्षा गर्ने । सुगधिन्त जडिबुटी खेती गर्ने जस्तै– पहाडमा टिमुर र तराईमा क्यामोमाइल, मेन्था, लेमनग्रास । समुदायलाई हानि–नोक्सानीको प्रकृति हेरी राहत रकम उपलब्ध गराउने ।


दीर्घकालीन क्रियाकलापमा बाली बिमाको लागि सहयोग गर्न प्रेरित गर्ने । सामुदायिक वन लगायत सरकारी र निजी वनलाई बाँदरमैत्री वनमा रूपान्तरण गर्ने । बाँदरलाई मन नपर्ने बिरुवाको खेती प्रबर्द्धन गर्ने । बाँदर व्यवस्थापन सम्बन्धी दीर्घकालीन रणनीति बनाई कार्यान्वयन गर्ने ।


नेपालमा अहिलेसम्म बाँदरका क्रियाकलापले जति क्षति जैविक प्रकोपबाट पुगेको छैनन् । सर्वसाधारणलाई दैनिक जीवनयापन गर्न मुस्किल हुँदै गइरहेको छ । यसको स्थायी समाधान हुनसकेको छैन । स्थानीय तहको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले केही ठाऊँमा कार्यक्रम राखेर बजेट विनियोजन नै गरेका छन् । यस विषयलाई राज्यले एजेन्डा बनाएरै रणनीति अख्तियार गर्न जरुरी छ । बाँदर अतित्रमणको समाधान हेरालो र जुलुसले नभई नीति तथा ऐनले बोल्नुपर्ने देखिन्छ ।

प्रकाशित : फाल्गुन २५, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्

ओ दाइ ? हैन, म दिदी

राजेन्द्र मानन्धर

काठमाडौँ — २२ हजार ट्याक्सी चालकमा एक दर्जन महिलाको कसरी चल्दै छ गुजारा ? अल्छी नगरी मिहिनेत गरेमा ट्याक्सीबाट राम्रो हुने नवीना सुनाउँछिन् । 'पढाइमा कमजोर, ट्याक्सी चलाउन अब्बल छु हो किन डराएको’ स्वयम्भूस्थित ट्याक्सी स्टेन्डमा भेटिएकी ३२ वर्षीया कर्माथिङ तामाङले स्टेरिङ घुमाउँदै भनिन् ।

ट्याक्सी चालक बायाँबाट क्रमशः चालक कर्माथिङ तामाङ, ईश्वरी थापा र नवीना खड्का । तस्बिर : राजेन्द्र/कान्तिपुर

‘आज बिहान माछापोखरीमा एकजना ओर्लिएपछि अर्कोले सोध्यो– ओ दाइ एयरपोर्ट जाने हो ? मैले भनें, म दाइ हैन दिदी ।’ सदाझैं शुक्रबार बिहान बालुवाटार घरबाट ट्याक्सी चलाउँदै निस्कँदा नवीना खड्कालाई यात्रुले केटा जस्तो देखेँ । कालो चस्मा, मास्क र पहेंलो बाहुलाबिनाको ज्याकेट लगाएर ट्याक्सी चलाउँदा नवीनालाई धेरैले दाइ नै भन्छन् । ‘हैन दिदीभन्दा कार हो कि क्या हो भनेर झस्कन्छन्,’ डेढ वर्षदेखि ट्याक्सी चालकको पेसामा जम्दै आएकी ४० वर्षीया नवीनाले भनिन् ।

ट्याक्सी चालक संघका अनुसार काठमाडौं उपत्यकाभित्र दिन र रात्रिकालीन ट्याक्सी सेवाका करिब २२ हजार पुरुष ट्याक्सी चालकको हूलमा एक दर्जन महिला प्रतिस्पर्धा गर्दैछन् । अन्तर्राष्ट्रिय नारी दिवसका दिन आ–आफ्नै गतिमा ट्याक्सी चलाइरहेका भेटिँदा सबैले पेसाप्रति खुसी र सन्तोषजनक कमाइ भइरहेको सुनाए ।

ट्याक्सी चालक भरत केसीको सूचनाका आधारमा बालुवाटारस्थित नवीनाको निजी घरमा पुग्दा उनी यात्रु ओसार्न सडकमा थिइन् । १५ वर्षदेखि ट्याक्सी चलाउँदै आएका नवीनाका श्रीमान् रत्न दाहालले नवीनाले ट्याक्सी चलाउन निकै मिहिनेत गर्ने गरेको बताइन् । साँझपख खुल्ने मदिरा पसल पनि धान्छिन् । घरको काम पनि भ्याउँछिन् । दुईवटा ट्याक्सी र पसलको कमाइले उनीहरूको बालुवाटार र जोरपाटीमा घर छ । नवीना भन्छिन्, ‘मासिक ६० देखि ७० हजार रुपैयाँ ट्याक्सी चलाएरै कमाउँछु ।’ अल्छी नगरी मिहिनेत गरेमा ट्याक्सीबाट राम्रो हुने उनी सुनाउँछिन् ।

हालसम्म नवीनाले ४४ हजार किलोमिटर ट्याक्सी गुडाउँदा सामान्य दुर्घटना पनि भएको छैन । महिलाले होसियारीपूर्वक वाहन चलाउँछन् भन्दै केही यात्रुहरू फोन गरेर उनको ट्याक्सीलाई कुर्छन् । नवीनालाई उपत्यकाबाहिर जान दुविधा लाग्दैन । नवलपरासीसम्म रात बस्ने गरी यात्रु लिएर गइन् । जन्मघर दोलखा चरिकोट चार पटक पुगिन् । मनकामना, नेपालथोक, खाडीचौरसम्म गइरहन्छिन् । परिवारले साथ दिएकाले र आफूमा आँट भएकाले बाहिर जाने यात्रु पाउँदा खुसीपूर्वक यात्रा गराउने दिने उनी बताउँछिन् ।

उनले सुरुमा स्कुटी सिक्दासिक्दै खुट्टा भाँचिन् । त्यसपछि मोटरसाइकल सिकिन् । हल्का सवारी साधनको चालक लाइसेन्स लिँदा पहिलो पटक असफल भइन्, दोस्रो पटक उत्तीर्ण भइन् । मोड्न, फर्काउन र अति नै जामका बेला केही अप्ठ्यारो परे तापनि मन नै देखि मन पराइएको पेसा भएकाले नवीनालाई खासै ट्याक्सी चलाउन गाह्रो हुन्न । शौचालय नपाएर अस्पतालमै पुग्नुपर्दा र पार्किङ गर्ने ठाउँको अभावले भने हैरानी पार्ने उनी बताउँछिन् ।

भूकम्पपीडित सहुलियतको ट्याक्सीको चिट्ठा बुबालाई परेपछि नवीनाको ट्याक्सी चलाउने रहर पूरा भएको हो । बुबा शेरबहादुर खड्का भन्छन्, ‘छोरीलाई खुसी भएर ट्याक्सी दिएँ, अहिलेको प्रगति देख्दा झनै खुसी छु ।’

नवीना दैनिक चार घण्टा जति सुत्छिन् । दिउँसो नभ्याउने भएकाले लुगा राति २ बजेसम्म पनि धोइरहन्छिन्, राति नुहाएपछि नभिजेको कपाल सिरानी भिज्ने डरले खाटबाट तल झारेर सुत्छिन् । तल थापिएको बाटामा पानी खसेको बिहान उठ्दा देख्छिन् । फुर्सद हुनेबित्तिकै स्कुटरमा दैनिक १५ जनाजति ग्राहकको घरमा जारको पानी पुर्‍याउँछिन् ।

काम नभएको दिनचाहिँ जीउ दुख्ने र काम गरिरहँदा खुसी र आनन्द मान्ने बानीको परिणाम आज राजधानीभित्र दुई ठूला घर जोड्न सफल भएको उनले सुनाइन् । दोलखा काब्रोबाट खाली हात आएको तर आजका दिनमा आर्थिक अभाव नभएको उनका परिवारका लागि नवीना उदाहरणीय बनेकी छन् । उनी सबै जस श्रीमान्प्रति समर्पित गर्न चाहन्छिन् ।

आईएसम्म अध्ययन गरेकी उनी नर्स बन्न चाहन्थिन् । गाडी र होटलमा कमाइ छ भन्ने बुझेकीले श्रीमान्लाई ट्याक्सी किन्न उनले सघाइन् । आफूले पनि ट्याक्सी किनिन् । ट्याक्सी चलाउने पेसालाई अपजस दिए पनि उनका यात्रु भने खुसीपूर्वक यात्रा गर्छन् । जहिल्यै मिटर खोल्छिन् । खुसीपूर्वक बढी पैसा दिए लिन्छिन् । उनलाई यो पेसा असुरक्षित लाग्दैन । अत्यधिक मदिरा सेवन गरेका र लुटेरा जस्तालाई उनी सेवा दिन्नन् । एक पटक मदिरा सेवन गरेर ल्याङल्याङ गरेका यात्रुलाई अरू ट्याक्सीका पुरुष चालकको सहायतामा ओरालिदिएको उनले बताइन् ।

पुरानो चालकको अनुभूति
‘एयरपोर्टबाट नयाँ बसपार्क यात्रु लिएर जाँदै छु, त्यहीँ आउनुस्,’ ईश्वरी थापालाई नारी दिवसको औपचारिक भाषणतर्फ ध्यान भएन । बसपार्कभित्र केहीबेर कुर्दा पनि केही रकम गुम्नेतर्फ उनी सचेत थिइन् । त्यसैले छिट्टै भेट गर्ने मनसाय सुनाइरहँदा दिनभर उनलाई मिडियाले पछ्याइरहेको सुनाइन् ।

किनकि उनी ट्याक्सी चालक संघको उपाध्यक्ष हुन् । उनका अनुसार हालसम्म सात जना व्यावसायिक महिला ट्याक्सी चालक छन् । कहिले चलाउने र कहिले छाड्नेसहित गरेर १५ जना जति उक्त पेसामा रहेको उनले बताइन् ।

नौ वर्ष पहिले ट्याक्सी हाँक्न सुरु गर्दा उनी एक्ली महिला ट्याक्सी चालक थिइन् । जन्म स्याङ्जा, काभ्रेपलाञ्चोक निवासी ३४ वर्षीया उनले सुरुमा भाडा र अहिले आफ्नै ट्याक्सी चलाउँछिन् । बिहान ५ देखि साँझ ६ बजेसम्म ट्याक्सी कुदाउने उनी सुरुका दिनजस्तो खट्न सक्दिनन् । उनले राम्रो पैसा पनि कमाइन् । अहिले भने एक्ली छोरी र आफूलाई गुजारा चलाउन कठिन नपर्ने उनी सुनाउँछिन् । खाडी जानुभन्दा उत्तम यो पेसा महिलाको संख्या बढाउनेतर्फ सरकारको ध्यान नगएकामा उनी दुःखी छन् । ट्राफिकको ज्यादती र मिटरको पैसा नबढाइएकाले उक्त पेसाबाट अल्छी लाग्न थालेको उनले बताइन् ।

उनी दसैं र तिहारका बेला स्वयम्भू र नयाँबस्तीमा दुई पटक लुटिइन् । त्यसपछि राति ट्याक्सी चलाउन छाडेको उनी बताउँछिन् । एउटै पेसामा खटिरहँदा भीडमा जान मन नलाग्ने, गर्मीमा इन्जिनको तातोले जीउ र खुट्टा पोल्नेबाहेक ट्याक्सी चलाउन उनका लागि अरू कुनै दुःख छैन ।

राज्यको हौसला आवश्यक
‘पढाइमा कमजोर, ट्याक्सी चलाउन अब्बल छु हो किन डराएको’ स्वयम्भूस्थित ट्याक्सी स्टेन्डमा भेटिएकी ३२ वर्षीया कर्माथिङ तामाङले स्टेरिङ घुमाउँदै भनिन् । उनी सांस्कृतिक पोसाकमा थिइन् । आफ्नै ट्याक्सीमा आएकी उनी भने आफन्तको बिहेमा निम्ता मान्न आएकाले शुक्रबार यात्रुलाई सेवा नदिने बताइन् । सिरहा घर, ललितपुर माइती बताउने उनी महिलालाई खाडीमा गएर दुःख पाउनु भन्दा ट्याक्सी चालक पेसा अँगाल्न सुझाउँछिन् ।

ट्याक्सीबाट ३० देखि ४० हजार रुपैयाँ कमाउने उनले यसअघि एक वर्ष माइक्रोबस चलाइन् । साढे दुई वर्ष इजरायल राजदूतको परिवारको गाडी चलाइन् । सबैभन्दा आनन्दको पेसा ट्याक्सी चलाउन लाग्ने उनका लागि खाडीको कमाइ नेपालमा खलासी गरेर कमाइन्छ जस्तो लाग्छ । छ कक्षा उत्तीर्ण उनलाई टिप्न जाने नेपालमै जताततै पैसा छ जस्तो लाग्छ । ‘कात्रोमा खल्ती नभएकाले मरेर केही लान सकिंदैन’ भन्ने उनी नेपाली दिदीबहिनीलाई खाडीमा जान किन मन लागेको होला भन्ने प्रश्न गर्छिन् ।

यो पेसाप्रति एकदमै सन्तुष्ट उनी ट्राफिक प्रहरीको बोली र नराम्रो शब्दले मन दुखेको बताउँछिन् । कालो नम्बर देख्नेबित्तिकै हेप्ने नीति बदलिनुपर्ने र १०, १२ जना महिला ट्याक्सी चालकलाई राज्यले सहुलियत दिनुपर्ने उनको माग छ । उनले ९८ प्रतिशत यात्रु इमानी र दुई प्रतिशत बेइमानी भेटेकी छन् । उनले एकजना यात्रुले राति ट्याक्सीमा अश्लील बोले र ओर्लने बेला बत्ती बाल्दा झस्किएको प्रसंग सुनाइन् । ‘ओहो बहिनी पो हुनुहुँदो रहेछ सरी सरी म त केटा ड्राइभर पो भन्ठानेको भन्दै आर्लिए,’ उनले केही रमाइला प्रसंग सुनाउने क्रममा भनिन् ।

ट्याक्सी चालक संघका महासचिव पूर्णबहादुर तामाङले महिला ट्याक्सी चालक बढाउन संघले प्राथमिकतामा राखेको बताए । उपत्यकाभित्र सुरक्षा र सजिलोका लागि महिलाको संख्या बढाउन तालिम दिने नीति लिने उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन २५, २०७५ ०७:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×