कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिनेमा र शिक्षाको साइनो

राम लोहनी

काठमाडौँ — राष्ट्रिय चलचित्र नीतिले चलचित्रको मूलतः दुइटा लक्ष्य निर्धारण गरेको छ– मनोरञ्जन र सांस्कृतिक प्रबर्द्धन । चलचित्रको अन्य उपयोगिताबारेमा राष्ट्रिय नीति मौन देखिन्छ । चलचित्र सिर्जनात्मक हुनुपर्ने अपेक्षा गरेको छ । तर सिर्जनात्मकताको मापदण्ड मनोरञ्जन र सांस्कृतिक प्रबर्द्धनमात्र हो भन्ने भान पर्न गएको छ । गएको सय वर्षमा सिनेमा उद्योगले कल्पनातित परिवर्तन हासिल गरेको छ ।

प्रविधिको अधिकतम प्रयोगबाट केही दशक अघिसम्म कल्पना गर्न नसकिएको चित्रण अहिले पर्दामा देख्न सकिने भएको छ । सँगसँगै उपभोक्ताको वृत्त व्यापक विस्तार भएको छ । मोबाइल प्रविधि र इन्टरनेट विकासले मानिसहरू चौबिसै घन्टा श्रव्यदृश्य संसारसँग सम्पर्कमा रहिरहन सक्छन् ।


प्रविधिले सम्भव तुल्याएको यो अवस्थाको व्यापक उपयोग पनि भएको छ । तर हाम्रो परिप्रेक्ष्यमा यो उपयोग व्यक्तिगत क्षमता र चासोमा सीमित छ । औपचारिक शिक्षामा यसलाई अनुकूलन गर्ने संस्थागत प्रयास भएको छैन । बृहत सामुदायिक तहमा मानिसहरूलाई अनौपचारिक शिक्षा प्रदान गर्न यो प्रविधिको यथोचित उपयोग हुन सकिराखेको छैन । अझ तितो यथार्थ के छ भने यो आमचासो र बहसको विषय बनेकै छैन ।


श्रव्यदृश्य साक्षरता

परम्परागत साक्षरतामा तीनवटा क्षमताको चर्चा गरिन्थ्यो– पठन, लेखन र गणना । यी क्षमता भनेका सम्प्रेषण, अभिव्यक्ति र सामान्य जोड–घटाउका क्षमता थिए । वास्तविक ज्ञानचाहिँ इतिहास, भूगोल, विज्ञान, व्याकरण आदिको रूपमा प्रदान गरिन्थे । हिजोआज सङ्गीत, नाटक आदि कलाको ज्ञान पनि आवश्यक ठानी फाठ्यक्रममा समावेश गर्ने त्रम बढ्दो छ ।


तर यी क्षमता आधारभूत क्षमताभित्र भने पर्दैनन् । पन्ध्रौँ शताब्दीपछि युरोपेलीमाझ उपनिवेशको प्रतिस्पर्धा बढ्दै जान थालेपछि नक्साको ज्ञान पनि अनिवार्य हुनथाल्यो, नक्सा–साक्षरता पाठ्यक्रमको अनिवार्य अङ्ग बन्न थाल्यो । जीपीएससम्म आइपुग्दा नक्सा–साक्षरता नयाँ रूपमा प्रकट भएको छ, समाप्त भएको छैन । कम्प्युटर प्रविधिको विकासले कम्प्युटर साक्षरता पनि अनिवार्य बनेको छ ।


नक्सासाक्षरता एक प्रकारको दृश्य साक्षरता (भिजुअल लिटरेसी) हो । चित्रकलासम्बन्धी साक्षरता अर्को प्रकारको दृश्य साक्षरता हो । सङ्गीतको साक्षरता श्रव्य साक्षरताको स्वरूप हो । चित्रकला र सङ्गीतको क्षमता विशिष्टीकृत क्षमता हुन् । यी क्षमतामा साक्षर हुनु भनेको कलात्मक सौन्दर्यको ग्रहणबोध गर्न सक्नु हो । सम्वभतः त्यसैले संगीत, चित्रकला आदि क्षमतालाई शिक्षाको अनिवार्य अङ्ग मानेको देखिँदैन ।


पछिल्लो समय सिनेमाको व्यापक लोकप्रियताले श्रव्यदृश्य साक्षरताको आवश्यकतालाई ह्वात्तै बढाइदिएको छ । तर हाम्रो शैक्षणिक संकथनको मूलप्रवाहमा यसले यथोचित प्रवेश पाइसकेको छैन । पठन–पाठनलाई सहज बनाउन श्रव्यदृश्य सामग्रीहरू प्रयोगमा आउन थालेको केही दशक भैसकेको छ, तापनि सिनेमाजस्ता श्रव्यदृश्य सामग्रीको अध्यापन हाम्रो पाठ्यक्रमको संरचनात्मक अङ्ग बन्नसकेको छैन । सिनेमा, टिभी र इन्टरनेट दैनिक जीवनको अभिन्न अङ्ग बनिसकेको अवस्थामा श्रव्यदृश्य सामग्रीको ग्रहणशीलता, बोधगम्यतामाथि पर्याप्त चर्चा नहुनु अनौठो देखिन्छ ।


साक्षरताको सामान्य परिभाषाभित्र पाठ (टेक्स्ट) को उत्पादन (लेखन) र पाठमा संहिताबद्ध अर्थ निर्धारण (पठन) गर्नसक्ने क्षमता बुझिन्छ । भाषागत यस्ता पाठहरूको संरचना रेखीय (लिनियर) हुन्छन् । रेखीय संरचनामा यसका अवयवहरू समयको अक्षमा एकपछि अर्को गर्दै एउटा लहरमा ताँती लागेका हुन्छन् ।


श्रव्य सामग्रीलाई पनि निश्चित हदसम्म रेखीय ठान्न सकिन्छ । तर श्रव्यदृश्य ‘टेक्स्ट’ निश्चितै रूपले रेखीय हुँदैनन् । एकभन्दा बढी पाठहरू समानान्तर रहने र तिनका अवयवहरूबीच अर्थपूर्ण सङ्गति हुनुपर्ने कारण श्रव्यदृश्य सामग्री जटिल बनेका हुन्छन् । आम रूपमा सामान्य ठानिने यस्ता ‘टेक्स्ट’का निर्माण तथा तिनको अर्थ–निरोपण सरल हुँदैनन् । एउटा माध्यमको रूपमा सिनेमामा साक्षर हुनु भनेको के कस्ता क्षमता आर्जित हुनु हो भनेर किटानी गर्न सजिलो छैन ।


सिनेमा कला

सिनेमाको परिभाषा गर्दा मोटामोटी रूपमा यसलाई ‘थ्री सी’ र ‘थ्री एस’को मिश्रण बताउने गरिन्छ । ‘थ्री सी’ अर्थात् कलर, क्यामेरा र क्यारेक्टर तथा ‘थ्री एस’ अर्थात् स्टोरी, सेटिङ र साउन्ड । यी अवयवहरूलाई जति विविधितापूर्वक संयोजन गर्न सकियो, त्यति नै विविध प्रकारका ‘टेक्स्ट’ निर्माण हुन्छ । यिनीहरूको उचित र नियन्त्रित संयोजनबाट निर्माताहरूले खास अर्थ (मिनिङ) निर्माण गरेका हुन्छन् भन्ने आधारभूत मान्यता हो । सक्षम दर्शकले यो अर्थलाई पहिचान गर्न सक्छन् अथवा उपयुक्त संयोजनले यस्ता अर्थ सम्प्रेषण गर्छन् भनेर विवेचना गर्न सक्छन् ।


यस अर्थमा सिनेमा कला अध्ययन, अध्यापन गरिनुपर्ने कला हो । विभिन्न तहका विद्यार्थीहरूले तदनुसारको उद्देश्यसँग तालमेल हुनेगरी सिनेमालाई कसरी ग्रहण गर्ने भन्ने जान्न जरुरी छ । दुई कारणले यो आवश्यकतालाई पुष्टि गर्न सकिन्छ । पहिलो, श्रव्यदृश्य माध्यम र त्यसमा प्रसारित सामग्री, मूलतः सिनेमाहरूबाट आजको पुस्ता अलग हुनसक्ने अवस्था छैन ।


हुर्कँदो उमेरका बालबालिका तथा किशोर–किशोरीहरूलाई उनीहरूको पहुँचभित्र हुने श्रव्यदृश्य सामग्रीहरूलाई नियमन गरेर बृहत शैक्षिक उद्देश्यसँग जोड्न सकियो भने उनीहरूको ज्ञान तथा क्षमता अभिवृद्धिमा मात्र योगदान हुँदैन, उनीहरूमा देखिन सक्ने चारित्रिक विचलनलाई पनि नियन्त्रण गर्न सकिन्छ । दोस्रो, श्रव्यदृश्य सामग्रीले कक्षाकोठाभित्रको शिक्षण प्रक्रियालाई जीवन्त तुल्याउँछ ।


सिनेमा र श्रव्यदृश्य अध्ययन

शैक्षणिक उद्देश्यको कोणबाट सिनेमा अध्ययनलाई दुई श्रेणीमा विभाजन गर्न सकिन्छ । पहिलो, सिनेमा आफैमा एउटा विषयको रूपमा गरिने अध्ययन । सिनेमा निर्माण पक्षसँग यसको सरोकार रहन्छ । यसको अन्तिम उपलब्धि विश्वविद्यालयको डिग्री वा खास प्रकारका डिप्लोमा उपाधि हुन् । दोस्रो हो, उत्पादित सिनेमाको अध्ययन । यो दोस्रो प्रकृतिको अध्ययन बजारमा आएको सिनेमाको अध्ययन हो । स्पष्ट रूपमा भन्नुपर्दा यो उपभोक्ताले गर्ने अध्ययन हो । यसको पनि दुइटा पाटा छन्– रचनात्मक सिर्जनाको रूपमा सिङ्गो सिनेमाको अध्ययन वा खास विषयको अध्ययनको प्रयोजनका लागि उपकरणको रूपमा ।


अध्ययन प्रयोजनका लागि उपयोग गरिने शैक्षणिक सिनेमा मूलतः अवधारणा प्रस्ट पार्ने वा जानकारीमूलक हुन्छन् । दस्तावेजी चलचित्र (डकुमेन्ट्री फिल्म) वा सजिवीकृत चलचित्र (एनिमेटेड फिल्म) ले प्रायः यो भूमिका निर्वाह गर्न सक्छन् । वर्णनात्मक चलचित्र (न्यारेटिभ फिल्म) विशुद्ध आख्यानीकृत सिर्जना हो । वर्णनात्मक चलचित्र र दस्तावेजी चलचित्रको अध्ययन फरक ढङ्गबाट गरिनुपर्छ ।


विद्यार्थीहरू चलचित्रको प्रकार र त्यसलाई ग्रहण गर्ने तरिकामा पनि साक्षर हुनु आवश्यक हुन्छ । हाम्रा विद्यार्थीहरू एउटा कथा जसरी छोटा चलचित्र, उपन्याससँगै फिचर मुभी, जीवनी र इतिहाससँगै दस्तावेजी चलचित्र ‘पढ्न’ सक्ने हुनु आवश्यक छ ।

व्यावसायिक रूपले सिनेमाको उत्पादन हुनु र समाजमा त्यसले राम्रो स्थान पाउनु भनेको समाजमा पुस्तक पाठकजस्तै सिनेमाका दर्शक पनि उल्लेखनीय संख्यामा छन् भन्ने हो ।


पुस्तकका लागि विभिन्न हैसियतका पाठक जन्माएजस्तै सिनेमाका लागि दर्शकहरू पैदा गर्नु औपचारिक शिक्षाको दायित्व हो । शिक्षाले आजका विद्यार्थीलाई सिनेमा पनि अन्य सिर्जनाजस्तै मानवीय सिर्जना हो भन्ने कुरा बोध गराउन र त्यसको कदर गर्न सिकाउन सक्नुपर्छ । सक्षम दर्शक सिनेमाको ‘टेक्स्ट’मा अन्तरनिहित अर्थ, त्यसको सौन्दर्य र त्यसका अवयवहरूको संरचनात्मक तालमेललाई विश्लेषणात्मक दृष्टिले हेर्न सक्ने ल्याकत राख्छ ।


विश्वव्यापी रूपमै केटाकेटीहरूको सम्पर्कमा कथ्य र लेख्य सामग्रीभन्दा श्रव्यदृश्य सामग्रीको प्रचुरता दिन दुगुना रात चौगुनाको दरले बढ्दो छ । श्रव्यदृश्य बारे न्युनतम ज्ञान विद्यालय तहकै शिक्षामा क्रमशः समावेश गर्नसके श्रव्यदृश्य मिडियासँग आफूलाई समयानुसार अनुकूलन गर्न विद्यार्थीहरूलाई सहज हुन्छ । इन्टरनेटले पैदा गरेको अभौतिक संसार (भर्चुअल रियालिटी) सँग जोडिन र छुट्टिन यसले उनीहरूलाई धेरै मद्दत गर्छ । श्रव्यदृश्य साक्षरताले विद्यार्थीहरूलाई चित्र, चलचित्र र अभौतिक जगतको बृहत सञ्जालमा सहभागी हुन मार्गचित्रको काम गर्नुपर्छ ।


सोसल साइन्स रिसर्च नेटवर्कको एउटा अनुसन्धानले ६५ प्रतिशत मानिस सुनेरभन्दा देखेर सजिलैसँग सिक्छन् भन्ने बताएको छ । शिक्षणसिकाइ अभ्यासमा एउटा पुरानो विश्वास छ, जसअनुसार प्रवचन विधिबाट हुने पढाइको पहिलो दस मिनेटमा सुनेकोमध्ये ७० प्रतिशत स्मरणमा रहन्छ । तर अन्तिम दस मिनेटमा सुनेको कुरा २० प्रतिशतमात्र बुझेको हुन्छ । त्यही कुरा श्रव्यदृश्य माध्यमबाट व्यक्त हुने हो भने पचासदेखि असी प्रतिशतसम्म स्मरणमा रहन सक्ने तथ्य अनुसन्धानहरूले बताएका छन् । त्यसैले यस्ता माध्यमहरूको प्रभावकारितालाई थप समृद्ध तुल्याउन पनि मिडिया र श्रव्यदृश्य साक्षरता अति आवश्यक हुन्छ ।


मिडिया साक्षरता आफै पैदा हुने कुरा होइन । सामान्य मूल्याङ्कन र राम्रो र नराम्रो परख गर्नेभन्दा फरक कुरा हो, मिडिया साक्षरता । मिडिया साक्षरतासँग परिचित शिक्षकहरूले मात्र आफ्ना विद्यार्थीलाई त्यसमा अभिमुखीकरण गर्न सक्छन् । विश्वविद्यालय र शिक्षण संस्थाहरूले शिक्षकहरूको तालिममा यसलाई पनि समावेश गर्नुपर्छ । नजानेको व्यक्तिले सिकाउन सक्दैन भन्ने सामान्य सिद्धान्त यहाँ पनि सान्दर्भिक हुन्छ ।


शैक्षणिक उपकरण

श्रव्यदृश्य सामग्रीको डिजिटल उपस्थितिको माझमा डिजिटल साक्षरता नहुँदा यसले समाजमा ‘डिजिटल’ (संख्यात्मक) विभाजनलाई बढाउँदै लैजान्छ । पढ्नु, जान्नु भनेको ज्ञान अभिवृद्धि गर्नु हो भने त्यो छापा माध्यमबाट मात्र सम्भव हुन्छ भन्ने होइन । लेखनकलाको विकास हुनुअघि र छापा प्रविधिको व्यापकता नहुँदासम्म शिक्षाको माध्यम श्रुति, स्मृतिमात्रै थियो ।


श्रुति, स्मृतिमै आधारित रहेर हजारौँ ग्रन्थहरू रचना भए, तीमध्ये कति विलाए त्यसको कुनै ज्ञान छैन । लेखन प्रविधिको विकास र विस्तारले त्यो शिक्षण परम्परालाई मात्र विस्थापित गरिदिएन, साक्षरताको परिभाषा नै परिवर्तन गरिदियो । एक्काइसौँ शताब्दीसम्म आइपुग्दा कथन, लेखनमात्र होइन, दृश्यलाई पनि एकसाथ एउटै माध्यममा अभिलेखन गर्न सकिने स्थिति बनेको छ । रआज यो माध्यम डिजिटल अवतारमा उपलब्ध छ ।


हिजो जसरी साक्षरताको परिभाषा र उद्देश्य परिवर्तन भएको थियो, आज परिवर्तनको अर्को र अझ सशक्त मोड उपस्थित छ । यसलाई समयमै चिन्न र अपनाउन सकेनौँ भने यो हाम्रो असक्षमता भावी पुस्ताप्रति हामीले गरेको ठूलो प्राज्ञिक अपराध सावित हुनेछ ।


बोल्न पो सिकाउनु परेन । लेख्न, पढ्न त निश्चितै सिकाउनैपर्छ ! छापाको माध्यम द्विआयामिक हुन्छ । मानव मस्तिष्कको त्रिआयामिक संगणनात्मक दक्षता (कम्प्युटेसनल कम्पिटेन्स) र संज्ञानात्मक प्रणालीलाई द्विआयामिक छापाले सही ढङ्गबाट प्रतिनिधित्व गर्न सक्दैन । श्रव्यदृश्य माध्यम मानवीय मस्तिष्कको कार्यप्रणालीसँग धेरै नजिक हुन्छ । सिनेमा श्रव्यदृश्य शिक्षणको उपयुक्त माध्यम हुनसक्छ ।


श्रव्यदृश्य साक्षरतालाई अगाडि बढाउन सिनेमा अध्ययनलाई विभिन्न शैक्षणिक तहमा समावेश गर्नु जरुरी छ । यस प्रकार सिनेमाले मनोरञ्जन र सांस्कृतिक सम्पदा संरक्षण त गर्छ नै, शैक्षणिक माध्यमको रूपमा यसले आफैलाई पनि समृद्ध पार्दै लैजान्छ । प्रकाशित : फाल्गुन १८, २०७५ ०७:५३

प्रतिक्रिया
पठाउनुहोस्

सिकाइका सर्त

सान्नानी बुर्लाकोटी

काठमाडौँ — हेलेन केलर बोल्न, देख्न र सुन्न सक्दिैनथिन् । उनलाई अनुभूति जगाएर पढाइएको थियो । र पछि होनाहार प्रतिभाशाली बनिन् । पारिजात, जोन मिल्टन, वाइरन, बाबुराम आचार्य लगायत धेरै शारीरिक रूपमा अपाङ्गता भएका व्यक्ति थए । तर आ–आफ्नो विधामा कहलिए । झमक घिमिरे पनि यस्तै उदाहरण हुन् । 

असल शिक्षकले प्रत्येक विद्यार्थी भित्रको अनुभूतिलाई जगाउन सक्छन् । जीवनबोध गराउन सक्छन् । शिक्षकले जस्तोसुकै क्षमताका विद्यार्थीको पनि प्रतिभा उजागर गर्न सक्छन् । राम्रा र नराम्रा उदाहरण प्रस्तुत गरेर विद्यार्थीको मन जित्न सक्छन् ।

शिक्षकले ‘म सक्छु, म कमजोर छैन, आज नै मेरो जीवनको सुरुवात हो’ जस्ता सकारात्मक कुरा सिकाउन सक्नुपर्छ । ‘स्व’को अस्तित्व र महत्त्व बुझ्नसके मात्र गन्तव्य पुग्न सकिन्छ । विद्यार्थीको भित्री मनको सुषुप्त भाव जागृत गराउन, सकारात्मक सोच बनाउन, प्रेरणा र हौसला बढाउन उनीहरूका कुरा सुनिदिनुपर्छ । समस्यामा परेकाको साथी बनिदिनुपर्छ ।

शिक्षकले पढाइ, लेखाइ, बोलाइ सुनाइ चारै भाषिक सीप समेटेर लानुपर्छ । उसमा कला, गला, मुस्कान, जाँगर, परिश्रम सबै हुनुपर्छ । हरेक प्रकारको अभिनय गरेर, रुवाएर, हँसाएर विद्यार्थीलाई जगाउनुपर्छ । पढ्नुपर्छ भन्ने भावना जगाउनसके शिक्षकले कम मिहिनेतमा धेरै ज्ञान दिन सक्छन् ।

विद्यार्थीलाई जीवन भोगाइको यथार्थता, काल्पनिक सत्यकथा, लोककथा, दन्त्यकथा, सबैतिरका साहसिक कथा सुनाएर हौसला प्रदान गर्नुपर्छ । जीवनका मूल्य, मान्यता, सीप, संस्कारको चर्चाले विद्यार्थीमा प्रेरणा भर्न सक्छ । उनीहरूभित्र अमृतको घडा छ भन्ने सकारात्मकपन भर्नुपर्छ ।

प्रायः सामुदायिक विद्यालयमा ‘सरकारी काम कहिले जाला घाम’ प्रवृत्ति छ । प्रत्येक वर्षको एसईई नतिजाले यस्तै भन्छ । समस्या निजीमा पनि छ । विद्यार्थीको शिल–स्वभाव र संस्कार सिकाउनेभन्दा बढी कसरी परीक्षामा राम्रो नजिता ल्याउने ध्याउन्नमै छन्, उनीहरू । विद्यार्थीको समस्या मनोभावना नबुझिकनै कडिकडाउ गर्दा परिणाम नकारात्मक आउन सक्छ ।


शिक्षक : ओइ कुखुरा बन् ।
विद्यार्थी : भाले कि पोथी सर ?
शिक्षक : चुप् लाग्, बढ्ता बोल्छस् ?
विद्यार्थी : केही छिनपछि सर बास्नु पनि पर्छ ?

(न्यौपाने, अमर ‘करोडौं कस्तुरी’)

प्रत्येक शिक्षकले एकपटक गिजुभाइका पुस्तकहरू र अमर न्यौपानको ‘करोडौं कस्तुरी’ पढ्नु वेश हुन्छ । यी पुस्तकमा विद्यार्थीमा लुकेका प्रतिभा कसरी प्रस्फुटन गर्न सकिन्छ भन्ने खुराक छ ।

दुःख लाग्छ, हाम्रा शिक्षक साथीहरू हरेक दिन विद्यार्थीलाई कक्षाबाट बाहिर निकाल्छन् । घुँडा टेकेर बस्न लगाउँछन् । कुखुरो बन्न लगाउँछन् । दुई सय पल्टसम्म कान समातेर उठबस गर्न लगाउँछन् । विद्यार्थीलाई हीनबोध गराउने यस्ता क्रियाकलापले सिकाइमा सघाउँदैन । अझ आजकाल स्कुल–कलेजमा शिक्षकले मात्र नसक्ने ठानेर अनुशासन इन्चार्ज (डीआई) राखिएका हुन्छन् । तिनले झन् मानसिक र शारीरिक सजाय दिन्छन् । जबकि यससँग सिकाइको कुनै साइनो छैन । अपमानले उल्टो पिरोल्छ, विद्यार्थीहरूलाई । विद्यार्थीलाई भौतिक सजाय होइन, माया, प्रेम, सद्भावजस्ता गुणहरू सिकाएर ऊर्जा पो भर्नुपर्छ ।

शिक्षकले विद्यार्थीको वैयक्तिक भिन्नता पहिचान गर्न सक्नुहुन्छ । ‘जति सिकिन्छ, गरेर सिकिन्छ’ भन्ने बोधका लागि सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दुवै प्रदान गरिनुपर्छ । विद्यार्थी केन्द्रित विधि प्रयोग गर्नुपर्छ । विद्यार्थीलाई पालैपालो पढ्न/पढाउन लगाउने, उनीहरूलाई सम्पूर्ण रूपले सक्रिय बनाउने गर्नुपर्छ । उनीहरूलाई रुचि र चाख अनुसार अतिरिक्त क्रियाकलाप गराउनुपर्छ । सबैमा क्षमता बराबरी हुन्छ, अलिक बढी अभ्यास गर्नुपर्छ भनेर सम्झाउनुपर्छ ।

अहिलेको युगमा बालबालिका पनि ‘डिजिटल दिमाग’का छन् । शिक्षकले म जान्नेछु, मेरो यति वर्षको अनुभव छ जस्ता घमन्ड गर्नु हुँदैन । सदैव मेरो जीवन आजैबाट सुरु भएको भन्ने भावना राख्नुपर्छ ।

लेखक शिक्षक हुन् ।

प्रकाशित : फाल्गुन १८, २०७५ ०७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×