२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

भ्रष्टाचार रोक्ने बुद्ध–सूत्र

वसन्त महर्जन

काठमाडौँ — ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले दुई साताअघि सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांक २०१८ अनुसार नेपालमा विगतका भन्दा भ्रष्टाचार घट्न सकेको छैन । भ्रष्टाचार हुने १ सय ८० देशमध्ये नेपाल १ सय २४ औं स्थानमा छ ।

भ्रष्टाचार रोक्ने बुद्ध–सूत्र

सूचकांकअनुसार ५० अंकभन्दा कम नम्बर ल्याउने देश भ्रष्टाचारी मानिन्छन् । सय अंकको सदाचार पूर्णांकमा नेपालले ३१ अंकमात्रै पाएको छ ।


सरकार सञ्चालनको अवस्थालाई आधार मानेर भ्रष्टाचार मापन गर्दा सार्वजनिक क्षेत्र, राजनीतिमा भ्रष्टाचार, व्यापार व्यवसायमा घूस, सार्वजनिक पदमा अधिकार दुरुपयोग, अनुगमन र कारबाहीको कमी हुँदा भ्रष्टाचार बढेको देखिएको हो । नागरिकको सूचनाको पहुँचमा कमी हुनुजस्ता दीर्घकालीन समस्यासमेत देखिएका छन् ।


एक वर्षयता विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भीडीईएमसमेत गरी ६ संस्थाले गरेका सर्वेक्षणअनुसार नेपालले गत वर्ष जत्तिकै अंक पाएको छ । नेपालमा बुद्ध र बौद्ध धर्मका बारे निकै चर्चा हुन्छ ।


बुद्धको जन्मस्थल भएकाले यसो हुनु स्वाभाविक पनि हो । पर्यटन उद्योग प्रवद्र्धनलगायतमा राज्यले केही कार्यक्रम ल्याए पनि बौद्ध शिक्षामा गरेको लगानी खासै प्रभावपूर्ण देखिन्न । बरु त्यही लगानीमा पनि भ्रष्टाचार हुने गरेको पाइन्छ । जबकि भ्रष्टाचार घटाउन बौद्ध दर्शनको प्रत्यक्ष योगदान हुन सक्छ ।


बौद्ध धर्मले सदाचारलाई प्रमुख रूपमा जोड दिन्छ । यसको प्रमुख आधार नै शील, समाधि र प्रज्ञा हो । शीलले सम्पन्न नहुन्जेल समाधिको विकास हुँदैन । बिनासमाधि प्रज्ञा प्राप्ति हुँदैन । बिनाशील बौद्ध दर्शनको कुरा गर्नु वाणी विलास मात्रै हुन्छ । शीलहरू विभिन्न पक्षसँग सम्बन्धित छन् । त्यसमा ‘अदिन्ना दाना’ को सेवन नगर्नु पनि एउटा हो ।


सामान्यत: यसलाई चोरी नगर्नु भन्ने अर्थ लगाइएको पाइन्छ । तर यसको खास तात्पर्य कुनै पनि प्रकारले आर्थिक लेनदेनमा भ्रष्ट आचरण नगर्नु भन्ने नै हो । भ्रष्टाचार भनेको नियमपूर्वक वा हार्दिकताका साथ अर्थ लाभ नगर्नु हो ।


परिश्रमबाट वृत्ति विकास गर्नु र आवश्यक परेकालाई सहयोगी हुनु आदर्श बौद्ध जीवन हो । अझ दान दिने कार्यमा सरिक भई आफूमा भएको तृष्णा क्षय गर्दै जान सक्नु बौद्ध अभ्यास हो । यसको तात्पर्य धन सम्पत्ति थुपार्ने मात्र नभएर त्यसको परिचालन गर्दै उद्योग व्यवसायको विकास गरी अन्यलाई रोजगारी दिनु तथा राष्ट्रलाई कर तिरेर समृद्ध पार्नु बौद्ध आदर्शभित्र नै पर्दछ । तलब वितरण तथा राज्य करहरू दाखिला भएर बाँकी रहेका कमाइमध्ये केही भाग आफ्नो दैनिक जीवन गुजार्न, केही भाग व्यापार व्यवसाय बढाउन र केही दान गर्न लगाउनुपर्छ ।


दान लिनु र दिनु तृष्णासँग सम्बन्धित कुरा हो । दान कर्ममा विरक्त मान्छे प्राय: तृष्णायुक्त हुन्छ । तर मानव जीवनको सबैभन्दा ठूलो शत्रु नै तृष्णा हो । तृष्णा क्षय गर्ने राम्रो माध्यम दान नै हो । बौद्ध धर्मअनुसार दान गर्नाले पुण्य कमाइन्छ । यही पुण्य बलले अन्य राम्रा कामहरू गर्न सकिने हुन्छ । मान्छेमा अहं पनि रहेको हुन्छ । अहं मान्छेको शत्रु हो । दान लिँदा पनि अहं क्षय हुन जान्छ । घरबार छाडी बौद्ध विहारमा बसी बौद्ध धर्म दर्शनको अध्ययन अभ्यास गर्ने साधकलाई भिक्षु भनिन्छ । उनीहरूले सर्वसाधारणजस्तै

वृत्ति विकासमा नलागी दान प्राप्तिबाट जीवन चलाउनुपर्ने नियम छ ।


पञ्चशील पालनाको कुरा पनि भ्रष्टाचार गर्न नहुने कुरासितै सम्बधित छ । पञ्चशीललाई अझ विस्तृत रूपमा बुझ्ने हो भने अष्टाङ्गिक मार्गबारे मनन गर्न सकिन्छ । पञ्चशील जस्तै महत्त्वपूर्ण जीवन पद्धति हो अष्टाङ्गिक मार्ग । बुद्धले जीवन मृत्युको चक्रमा पिल्सिरहनु वा भवचक्रमा अल्झी रहनुलाई नै दु:खका रूपमा परिभाषित गरेका छन् । पहिलो सत्यका रूपमा यसैलाई मानिन्छन् ।


दु:ख छ, दु:खको कारण छ, दु:खको अन्त्य गर्न सकिन्छ र अष्टाङ्गिक मार्गमा हिँड्दा दु:खको अन्त्य हुन्छ भन्ने ४ सत्य नै गौतम बुद्धको मौलिक खोज हो । यसलाई ‘चार आर्यसत्य’ का रूपमा चिनिन्छ । अष्टाङ्गिक मार्ग अर्थात् सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वचन, सम्यक् कर्मान्त, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधिमा सम्यक् आजीविकामा के कस्तो काम गर्ने वा नगर्ने भन्ने मार्गनिर्देश भएको छ ।


यसअनुसार जीवन वृत्तिमा चोरी नगर्नु मात्र नभएर ठगी नगर्नु पनि पर्न आउँछ । कसैको सम्पत्तिमाथि बलात् कब्जा जमाउनु, झूटो बोलेर सामान बिकाउनु, नापतौलमा बदमासी गर्नु, विषको व्यापार, हातहतियारको व्यापार, पशुपक्षी तथा माछामासुको व्यापार आदि कर्मबाट कमाएको आजीविकालाई सम्यक् आजीविका भनिँदैन ।


घूस लिनु र दिनु पनि सम्यक् आजीविकाअन्तर्गत पर्दैन । यदि कोही बौद्ध जीवन पद्धतिअनुसार जीवनयापन गरिरहेको छ भने उसले सम्यक् आजीविकाको भावनालाई आत्मसात् गरेको हुनै पर्छ । यसको अभावमा अन्य कुराहरू प्रभावित हुन पुग्छन् । र, बुद्धले निर्दिष्ट गरेको सम्यक् आजीविकामा आर्थिकलगायत कुनै पनि प्रकारको भ्रष्टाचारको अलिकति पनि ठाउँ हुँदैन ।


बुद्धले निर्दिष्ट गरेका सम्यक् आजीवन बौद्धहरूका लागि मात्र हो र अन्यले पालना गर्नुपर्दैन भन्ने होइन । यो सारा मानवका लागि हो । बुद्धका अन्य उपदेश जस्तै सम्यक् आजीविकासम्बन्धी निर्देशन कुनै धर्मविशेषको व्यक्तिलाई मात्र नभई सबैमा लागू हुन्छ । यसलाई आत्मसात् गर्न नसक्नु बौद्ध जीवन पद्धतिबाट च्यूत हुनु त हुँदै हो, मानव जाति नै आ–आफ्ना आदर्शहरूबाट विमुख हुनु हो । किनभने कुनै पनि धर्म दर्शनले चोरी गर्नु, ठगी गर्नु, कानुन तोड्नु, अपराधी बन्नु भनेर सिकाएको हुँदैन ।


बौद्ध दर्शनलाई दैनिक जीवनमा कसरी लागू गर्ने र जीवनलाई राम्रो बनाउने भन्ने सम्बन्धमा विश्वमा धेरै अध्ययन अनुसन्धान भइरहेका छन् । छिमेकी मुलुक भुटानमा बौद्ध दर्शनमा आधारित अर्थ व्यवस्थाले जनतामा सकारात्मक परिवर्तन तथा राष्ट्रिय आम्दानीमा पनि सुधार आएको बताइन्छ ।


रमाइलो कुरा त के हो भने यसले भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांक २०१८ मा ६८ अंक ल्याएर २५ औं स्थानमा परेको छ । अर्थात् दक्षिण एसियाली देशमध्ये यो पहिलो सदाचारी मुलुक हो । भुटान बौद्ध राष्ट्रका रूपमा छ ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?