फागुन एकको सम्झना, बिर्सन...

माओवादी ‘जनयुद्ध’
गंगा बीसी

काठमाडौँ — फागुन १ पूर्व माओवादीका लागि महान् दिन हुन सक्छ । कांग्रेस  र पूर्व एमालेका लागि पनि सम्झनालायक दिन होइन । अझ मोहन वैद्यले नेतृत्व गरेको माओवादी र नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीका लागि गौरवशाली दिन हुन सक्छ । पूर्व राजाका लागि बिर्सनलायक दिन । माओवादीले राजतन्त्रमाथि धावा बोलेको दिन भएकाले । 

फागुन एकको सम्झना, बिर्सन...

फागुन १ गते सुरु भएको सशस्त्र युद्ध १० वर्ष चल्यो, यसले धेरै हुरी ल्यायो । करिब १३ हजार मान्छे मारिए, हजारौँ घाइते भए । युद्धले धेरै डोबहरू बनायो । धेरै घाउ बनायो । ती डोबहरू, घाउहरू अझै पनि पुरिएका छैनन् ।

रोल्पा, रुकुमलगायतका जिल्लाहरूमा युद्धमा मारिएका व्यक्तिका ‘सहिद’ गेट, शिलालेख र सालिकहरू जस्ताका त्यस्तै छन् । सहिद गेट र सालिक स्थिर छन् । ती सजीव व्यक्तिका निर्जीव वस्तु हुन् । उनीहरू बोल्दैनन्, चाल पनि छैन । उनीहरूको सन्देश भने अवश्य छ, खास गरी पूर्व माओवादीका नेताहरूलाई ।

ती सालिकमा हरेक वर्ष फागुन १ गते गेट र सालिकमा माला र टीका लगाइन्छ । उनीहरूको सपना पक्कै पनि दुनियाँ बदल्ने थियो । सपनाले उनीहरूलाई सहिद बनायो, मृत्युको मुखमा पुर्‍यायो । माओवादी र त्यसका नेताहरूले ती सपना बाँडेका थिए । सपनालाई बिपनामा बदल्ने ठुलो रहर थियो उनीहरूको । ‘सहिद’ का सालिक र गेट केही समयपछि पुराना हुँदै जानेछन् । सहिदका सपनाहरू सालिक र गेटसँग बिलाउँदै जाने स्पष्ट सङ्केत देखिएका छन् । सशस्त्र युद्धको नेतृत्व गरेको माओवादी अब पूर्व माओवादी भइसक्यो । माओवादी इतिहासमा छुटिसकेका छ । अधिकांश नेताहरू फेरिएका छन् । मुलुक नेपाल खास बदलिएको छैन । ‘मुलुक बदल्छौँ भन्थे आफै बदलिए’ पूर्व माओवादीका नेताहरू लक्षित भनाइ रोल्पा, रुकुमतिर सुन्न पाइन्छ ।

नेता बदलिए । व्यवहार बदलियो । सर्वहारापन हराउँदै गयो । सर्वहाराहरू सधैँ सर्वहारा नै रहे । नेताहरू सर्वहारा रहेनन् । सर्वहाराका नेताहरू पुँजीवादी नेतामा रूपान्तरण भए । भन्न त उनीहरू अझै समाजवादमा जाने भन्दैछन् । समाजवादको बाटो रोल्पा, रुकुमको सडकजस्तै अप्ठ्यारो छ । गधा धोएर गाई बनाउने सिद्धान्त अँगालेको आरोप लाग्दैछ । दूधको दूध पानीको पानी छुट्ट्याउने क्षमता जनतासँग छ । जनताले यो निर्वाचनमा दुई तिहाइ दिएको पनि आड र भरोसाले हो ।

सर्वहारा भइरहन अब नेपाली जनतालाई मन छैन । सायद सर्वहाराको नाममा रानजीति जनतालाई मन पर्दैन । किनकि सर्वहारा आफैमा दु:खीपन हो । तर दु:खुलाई पार लगाउने पूर्व माओवादी र एमालेको मिलनपछि जन्मिएको नेपाल कम्युनिस्ट पार्टीले कुरा गरेको छ । यो सरकारमा २०५२ फागुन १ बाट सुरु भई १० वर्ष चलेको सशस्त्र युद्धको रगत र पसिना मिसिएको छ ।

‘सर्वहारा’ नेताहरू सरकारमा पुगे । विगतका कार्यशैली सरकारको कार्यशैली । जनताका दु:ख बदलिएका छैनन् । तर, नेताको जीवनशैली बदलिएको छ । जनताको जीवन खासै नबलिनु तर नेताको जीवनशैली बदलिँदै जाने हो भने समाजवादको मार्ग कोरिन्छ कि नाइ ? यो प्रश्नको उत्तर रोल्पा, रुकुमलगायत जिल्लामा रहेका सहिदका गेट र सालिकले दिन सक्दैनन् ।

युद्धमा मारिएका परिवारको अवस्था खासै सुधार भएको छैन । स्वाभाविक विकासका कामहरू गाउँमा भएका छन् । युद्धमा बन्दुक बोकेका केही व्यक्ति गाउँ फर्किएका छन् । धेरै काम खोज्दै विदेश पुगेका छन् । रगत र पसिनाको मूल्य के हो ? बन्दुक बाकेर हाल गाउँ फर्केका पूर्व लडाकु र माओवादी कार्यकर्तालाई सोधे हुन्छ । रगत र पसिना बग्यो, खोला र नदीजस्तै । युद्धमा बगेको रगत र पसिनाको मूल्यले पूर्व लडाकु र कार्यकर्ताको जीवनस्तर फेरिनु पर्ने हो । नेताको जीवनस्तर फेरियो ।

युद्ध इतिहासमै सीमित भएको बेश हो । माओवादी युद्ध पनि सम्झना र बिर्सनको दोसाँधमा छ । यद्यपि युद्धका डोबहरू रहिरने छन् । युद्ध शान्तिमा रूपान्तरण भएकोले चिन्ता गर्नुपर्ने अवस्था छैन । चिन्ता त छ केवल सर्वहारा जीवनको । केवल प्रश्न छ, ‘के अझै सर्वहारा भइरहने हो ? के सर्वहाराको नाममा राजनीति भइरहने हो ?

प्रकाशित : फाल्गुन १, २०७५ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?