३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

यसरी हट्यो कागती गाउँमा बालविवाह

काठमाडौँ — २०५४ देखि २०५९ सम्म म तत्कालीन नुवाकोट, ओखरपौवा (हाल ककनी गाउँपालिका–१) को गाविस अध्यक्ष थिएँ । मेरो घर ओखरपौवाको कागती गाउँमै हो, जुन बालबिवाहको नामले बदनाम थियो । कतै गएर परिचय दिंदा घर ओखरपौवाको कागती गाउँ भन्दा अरुले सोध्ने गर्थे–‘ए तपाईँ त्यो बालबिवाह हुने गाउँको अध्यक्ष हो ?’ एक त आफ्नै घर समाजमा यस्तो कुरिती देखेर चिन्ता लाग्थ्यो, अर्कोतिर बाहिरका मान्छेले बालविवाह हुने गाउँको अध्यक्ष भन्दा कम्ता पीर पर्दैनन्थ्यो । चिन्ता लागेर मात्र के गर्नु समस्या हल हुँदैनथ्यो । 

यसरी हट्यो कागती गाउँमा बालविवाह

राजधानीसँग जोडिएको ठाउँमा बालबिवाह हुनु वास्तवमा लाजकै विषय थियो । अनि, हामीले यसलाई हटाउने अभियान चलाउन थाल्यौं । गाउँको महालक्ष्मी जनजागृति युवा क्लब, स्थानीय भवानी प्रावि (हाल मावि) र गाविसकै पदाधिकारी मिलेर बालविवाह विरुद्ध अभियान चलाउने निर्णय गर्‍यौं । तर सोचेजस्तो सजिलो कहाँ थियो र ? मिडिया, विभिन्न संघ/संस्थाका मान्छे यहाँ बालबिवाहबारे बुझ्न आउँथे ।

उनीहरुलाई देखेपछि स्थानीय कैयौं अभिभावक रिसाउँदै भन्थे– ‘यिनीहरु हाम्रो गाउँको बेइज्जत गर्न आएका हुन् यिनलाई लखेट्नुपर्छ ।’ शिक्षित भएको भए यस्तो समस्या हुँदैनथ्यो । नबुझेपछि यस्तै हो । यतिसम्मकी गाउँमा श्रीपञ्चमीको दिन आएका पत्रकारलाई हुलले अभद्र व्यवहार पनि गर्‍यो । क्यामरा फालिदिए ।


उनीहरुलाई लखेटे । कतिपटक यस्तो हुन खोज्दा जोगाएका पनि थियौं । स्थानीयलाई सम्झाएका थियौँ । कुनै बेला झुक्काएर गर्थे । हाम्लाई बदनाम गराउन आउने भनेर उनीहरु बाहिरका मान्छेहरुसँग झोक्किन्थे । तर कुरिती छोड्न सक्दैनथे ।


समस्या हट्ला भन्दा झन् बढ्न थाल्यो । बालविवाहविरुद्ध अभियान जसले चाल्थे, उनीहरु विरुद्ध पनि अभिभावक खनिन थाले । चाँहिदो-नचाँहिदो आरोप लगाउँथे । मलाई त कतिसम्म आरोप लगाए भने, ‘तैँले बालबिवाहका फोटा बेचेर खाएको छस् ।’


कसरी गाउँको कलंक हटाउने भनेर लागेको छु तर आरोप हुँदै नभएका सुन्नुपर्छ । जति गर्दा पनि नहुने कहिलेकाहीं आफैंलाई पनि दिक्क लाग्थ्यो । शिक्षा र चेतनाको कमी भएपछि केही गरेपनि सुध्रिँदैन भन्ने लागिरहन्थ्यो । तर हामीले हरेश खाएनौँ, जतिसक्दो गरिरह्यौं ।


हाम्रो गाउँमा बालविवाह कहिले सुरु भयो भन्ने थाहा त छैन । म अध्यक्ष हुँदा र छोडिसकेपछि पनि व्यापक थियो । तर अहिले हाम्रो गाउँमा ठ्याम्मै छैन । कोसेली प्रथा र बालविवाह, जुन एक आपसमा जोडिएका छन्, ४/५ वर्ष जति भो दुवै हटिसकेका छन् । पहिला ‘तिम्रो छोरी र मेरी छोराको विवाह गरिदिने भन्दै बावुआमाले निर्णय गर्थे ।’


प्रत्येक वर्ष रोपाइँको पहिलो दिन केटाको घरबाट केटीको घरमा कोसेली लैजानै पर्थ्यो । बालविवाह गर्ने तय गरेपछि कोसेली प्रथा अनिवार्य हुन्थ्यो । कोसेली प्रथा भनेको बालविवाहको लागि ‘बैना’ हालेजस्तै हो । कोसेली बोकेको देख्दा ‘फलानाका छोराले फलानीका छोरीलाई कोसेली लिएर आएको छ, हेर–हेर’ भन्थे ।


ठूलोमा विवाह गरेर भेट गर्न जाँदा आफूखुसी सगुनको रुपमा कोसेली लैजान्छन्, जुन अहिले पनि छ । तर, बालविवाहलाई बैना गरेपछि कोसेली अनिवार्य हुन्थ्यो । राजीखुसीले त जुनसुकै बेला पनि कोसेली लिएर जाने भए । अब कागती गाउँमा बालविवाह र त्यसैको लागि लैजाने कोसेली प्रथा छैन ।


हाम्रो गाउँमा बावुआमाले सानैमा छोरा–छोरीको विवाह गरिदिने चलन अब छैन । तर, आफूखुसी उमेर नपुगी विवाह गर्ने केटाकेटीलाई भने रोक्न सकिएको छैन । यो अहिलेको चिन्ताको विषय हो ।


यो पनि विस्तारै बुझ्लान् । यसलाई हटाउने पनि मुख्यत: शिक्षा र चेतना नै हुनुपर्छ । अब यो अभियान थाल्नुपर्ने भएको छ । कागती गाउँमा करिब ४ हजार जनसंख्या र साढे छ सय परिवार बलामीको छ।


पहिला बालविवाह हुने बेला त बाहिर निस्कन पनि गाह्रो थियो– ‘बालाविवाह गर्ने ठाउँको मान्छे भन्थे ।’ अब कुरा काट्न पनि हट्यो । समाजमा सुधार भएको छ । अरु कुराको विकासमा सफल नभए पनि बालविवाह हटाउन सफल भईयो । पहिलो वर्षको एकपटक गाउँकै महालक्ष्मी मन्दिरमा धुमधामले बालविवाह हुन्थ्यो ।


कति जोडी हुन्थे भन्न सकिँदैनथ्यो । अरु दिन बालविवाह हुँदैनथ्यो– सिर्फ एक दिन, त्यो पनि श्रीपञ्चमीमा मात्र । त्यो दिन त यहाँ मन्दिरमा ठूलो मेला हुन्थ्यो । अहिले भने श्रीपञ्चमीमा व्रतबन्ध, बेलाविवाह (इहि) वा अरु कार्जे हुन्छ तर बालविवाह हुँदैन । पहिला ६/७ वर्षदेखि १२/१५ उमेरमै बावुआमाले विवाह गरिदिन्थे ।


बालविवाह हटेपछि अरु विवाह श्रीपञ्चमीको दिनमै हुन्छ भन्ने छैन । भागी विवाह त जहिले पनि हुने भो । रीतिरिवाजका विवाह भने साईत जुराएर गर्छन् । फागुन, वैशाख, मंसिर र माघमा लगन हेरेर गर्ने चलन छ ।


अहिले २०, २२, २५ वर्षमा विवाह हुने गरेको छ । कुनै कुनैले १७, १८ मा पनि गरेका छन् । त्यो भन्दा सानोमा भएको छैन । हामीले त २० वर्षभन्दा अघि गर्नु हुँदैन न है भन्दै आएका छौँ ।


अँ, बालविवाह त्यसै हटेको होइन, यसमा धेरैको योगदान छ । जस्तो तपाईहरु (मिडिया)ले प्रचार–प्रसार नगरेको भए यस्ता दबाब पनि पर्दैनथ्यो, चेतना फैलिन पनि समय लाग्थ्यो । संघ संस्था पनि लागेका हुन् । गाउँ र स्कुलमा जनचेतनामूलक कार्यक्रम भइरहे । विद्यार्थीहरु पनि सचेत भए ।


अभिभावकहरुले बालविवाहका समस्या बुझ्न थाले । बालविवाह गरेका पनि कतिपय सफल भएनन्, कतिपय जोडी टुटे । यो सबै अशिक्षा र कुरितीले हो भनेर बुझे । गाउँ शिक्षित भएको भए बालविवाह हटाउने अभियान चाल्नै पर्दैनथ्यो, उहाँहरु आफैंले हटाउनुहुन्थ्यो । बालविवाह अन्त्य भएपछि उहाँहरु खुसी हुनुहुन्छ । कसै कसैले मलाई भन्नुहुन्छ, ‘बालविवाह पहिल्यै हटाउनुपर्थ्यो, अझै धैरै ढिला गरिएछ ।’


( तत्कालीन् ओखरपौवा गाविसका अध्यक्ष जितबहादुर बलामीसँग कान्तिपुर संवाददाता दिनेश रेग्मीले गरेको कुराकानीमा आधारित )

यो पनि पढ्नुहोस्ः

सोह्र वर्षअघि र पछि

प्रकाशित : माघ २६, २०७५ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?