'बहादुर' नेपाली रक्सी पिएर मर्न डराउँदैनन्

श्रीमती सोध्छिन्, ‘नेपालमा पेप्सी पनि नपिउने मेरो श्रीमान् युएईमा कसरी जड्याहा भयो ?’ यसको उत्तर कसैसँग छैन ।
मेघराज सापकोटा

यूएई — यूएईमा कार्यरत प्राय सबै नेपालीलाई थाहा छ, यो देशमा सार्वजनिक रूपमा मदिरा सेवन गर्न पाइँदैन । दुबई, अबुधाबीलगायतका कतिपय राज्यहरूमा त मदिरा किन्न र पिउन पनि लासेन्स लिनु पर्छ । तर पनि नेपालीले नेपालदेखि लागेको बानी छोडेका छैनन् ।

यूएईको रसअल खेमाह । तस्बिर : हेलो म्यागजिन ।

‘सर, गाडीमा बस्नुस्, हजुरलाई छोडिदिन्छु’, उनले भने ।


रक्सीले मातिएर खुट्टा टेक्ने स्थितिमै थिएनन् । बोली लरबरिएको थियो । राम्रै कम्पनी थियो । काम र कमाई पनि लोभ लाग्दै थियो ।


रक्सी पिएर गाडी कुदाउनु उनको लागि सामान्य हो ।


‘डराउनु भो ? केही हुँदैन आउनुस्, मैले कस्तो कस्तो हुँदा त गाडी कुदाएको छु । आज त कहाँ मातेको छु र?’ गाडीमा बस्न मलाई जोड गरिरहे ।


रातको झन्डै एक बजेको थियो । धेरैबेरसम्म कर गरिरहे । मैले उनीसँग यात्रा गर्न मानिन् । कहिल्यै रक्सी नपिउने रेसम लामाको गाडीमा बसेर कोठा आएँ ।

त्यतिखेर म जवअल जसै पहाड पुगेको थिएँ । यूएईको उत्तरी राज्य रसअल खेमाहमा यो पहाड पर्छ । जुन युएईको सबै भन्दा अग्लो पहाड हो । समुन्द्री सतहबाट १ हजार ९ सय ३४ मिटर अग्लो उचाइमा छ । यसलाई रसअल खेमाह सरकारले पर्यटन क्षेत्रको रूपमा विकास गरेको छ । यूएईका विभिन्न राज्यबाट घुम्न, हेर्न र पिकनिक खान यो पहाडमा आउने गर्दछन् ।


नेपालमा हरियाली पहाड देखेर रमाउने हामी नेपालीलाई यूएईको यो नाङगो पहाड पनि रमाइलै लाग्छ । मरुभूमिमा यस्तो पहाडमा देख्दा रमाइलो नै लाग्दो रहेछ । यसमा ग्रेगर चट्टानबाहेक कुनै रुख बुट्टा देखिन्न । फराकिलो बाटो बनाइएको यो पहाडमा संसारको सबै भन्दा लामो (२.८ किलोमिटर) जिप लाइन पनि छ । एउटा फलामको डोरीमा घोप्टो परेर द्रुत गतिमा पहाडको एउटा टुप्पोबाट अर्को टुप्पोमा यात्रा गर्दाको मज्जा बेग्लै छ । गर्मीको बेला यूएईको अन्य स्थानमा ४५ डिग्री तापक्रम हुँदा यो पहाडमा ३०/३५ डिग्रीको हाराहारीमा हुन्छ । जाडो मौसममा त कहिलेकहीँ हिउँ पनि पर्छ । यस अर्थमा यो पहाड घुम्न र पिकनिक गर्न रमाइलै छ ।


नेपालमा शनिवार भने जस्तै यूएईमा शुक्रवारको दिन छुट्टीको दिन हो । शुक्रवारको दिन पारेर यो पहाड घुम्न जानु भो भने यूएईका सातै वटा राज्यमा काम गर्ने कयौँ नेपालीहरू भेटिन्छन् । उनीहरू प्राय पिकनिक खान उक्त पहाडमा पुग्ने गर्छन् । आफ्नै साधन हुने कतिपय नेपालीहरू त बिहीवार बेलुका नै पहाडमा गएर रात बिताउने गर्दछन् । र, जुमारात मनाउँछन् । 'वीकेण्ड’ लाई अरबी भाषामा जुमेरात भनिन्छ ।


अक्सर नेपालीहरूको पिकनिक पार्टीमा रक्सी अनिवार्य जस्तै भइसकेको छ । यूएईमा हुने नेपालीको हरेक पिकनिक पार्टीमा रक्सी नहोस् त पिकनिक नै नहुने चलन छ । चाहे त्यो अबुधाबीको कर्निस पार्कमा होस् या बरदुबईको क्यारिफोर छेउको नेपाली पार्क (मेट्रो स्टेसन) होस् नेपालीहरूले रक्सी धोकेकै हुन्छन् ।


यूएई सरकारले पार्कलगायतका सार्वजनिक स्थलहरूमा खुलारुपमा रक्सी सेवन गर्न प्रतिबन्ध गरेको छ । अझ शारजाह राज्यमा त किनबेच र खान समेत पाइँदैन । नेपालमा कानुन पालना नगर्ने छाडा संस्कारको बानी परेका हामी नेपालीलाई यहाँको बलियो कानुनले पनि छेक्न सकेको छैन ।


बरदुबईको पार्कमा बसेर बियर पिउने केटाकेटीहरूले कागजले बेरेर लुकाएर पिउने गरेको भेटिए । अलग अलग स्थानमा काम गर्ने र बस्ने उनीहरू शुक्रवारे छुट्टीको दिन सोही स्थानमा अङ्गालो मारेर मात्तिन्छन् । कतिपय त रूखको बुट्यान मुनि 'खुलम खुला प्यार करेङ्गे हम, यस दुनियाँ से नही डरेङ्गे हम्’ शैलीमा अङ्गालो मारेर पिउँदै गरेका भेटिन्छन् । उनीहरूको क्रियाकलाप देखि नसक्नु हुन्छ । तपाईँले केही बोल्नु भयो कि पिटाइ खाई हाल्नु हुन्छ । कसैले ’डिस्टर्ब’ गरे झम्टिहाल्ने ।


अलिक पढेलेखेका अफिसमा काम गर्ने नेपालीहरू त झनै बाठा । पिकनिक गर्नुपर्ने, रक्सी बिनाको पिकनिक के पिकनिक ? जुक्ति निकाली हाल्ने । पेप्सी, कोकाकोला र जुसको बोतलमा ह्विस्की लिएर जाने । त्यसैमा मात्रा मिलाएर मिसाइदिने । फ्यामिली पार्कमा बसेर आरामले बारबीक्यु गर्दै पिइदिने ।


दुबईको एउटा रेस्टुरेन्टमा कार्यरत एक जना नेपाली केही दिनदेखि साथीभाइ र घरपरिवारसँग सम्पर्क विहीन भए । साथीहरूले कम्पनीमा सोधिखोजी गरे । यस बारेमा कम्पनीले मुख खोल्न चाहेन । धेरै दिनदेखि सम्पर्क विहीन भएपछि नेपालमा रहेकी श्रीमतीले पनि जसरी हुन्छ खोजी गरिदिन अनुरोध गरिन् । छिन छिनमा ‘लौ न पत्ता लगाइदिनुस्, लौ न’ भन्दै म्यासेन्जरमा बिलौना गर्न थाले पछि खोजी सुरु गरियो । कुरा बुझ्दै जाँदा उनी दिनभर रक्सी खाएर बसेको र बेलुकीपख कम्पनीको डेलिभरी मोटर बाइक दुर्घटनामा परेछन् । स्थानीय अदालतले २५ हजार दिर्हाम सजाय तोक्यो । जरिवाना तिर्न नसके पछि उनी अहिले जेल सजाय भोगिरहेका छन् । यो घट्नालाई नजिकबाट जान्ने महेश थापा भन्छन्, ’चन्दा उठाएर सहयोग गरौँ न त भनेको, रक्सी खाएर जेल जानेलाई सहयोग गर्न कसैले मानेनन् ।’ महेशका अनुसार उनी २५ हजार दिर्हाम बराबरको जेल सजाय काटेपछि कहिले फर्केर आउन नपाउने गरी ‘डिपोर्ट’ हुँदैछन् ।


केही कमाइ होस्, घरमा बुढा भएका बाआमाको मुहारमा मुस्कान ल्याउन सकियोस्, बुढीलाई एक सरो कपडा फेर्न र मुना जस्ता कलिला छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउने सपना बोकेका यी रक्स्याहाले अन्ततः सबैको सपनालाई स्वाहा पारे । आफै पनि डिपोर्ट हुँदैछन् ।


यि प्रतिनिधि उदाहरण मात्रै हुन् । यहाँ समाजका जान्ने बुझ्ने नेपालीहरू नै रक्सी पिएर गाडी चलाउने गर्छन् । नेपालमा जस्तो यहाँ प्रहरीले बाटोमा रोकेर मापासे चेक गर्ने भए गाडीको लाइसेन्स हुने प्रायजसो नेपालीहरू समातिन्छन् । तर यहाँ ‘केही नभएसम्म केही पनि हुन्न, भएपछि रोई कराइले पनि छुन्न ।’ ‘ड्रिन्क्स एन्ड ड्राइभ’ मा शून्य सहनशिलता अपनाएको देश हो, यूएई । नेपालमा जस्तो भनसुन र माफ चल्दैन । जरिवाना र जेल सजाय हुन्छ ।


नेपाली दूतावास अबुधाबीले जनाए अनुसार यूएईको जेलहरूमा दुई सय नेपाली खब्बुस (अरबी रोटी) चपाउँदै बसिरहेका छन् । नेपाली दूतावासले डिसेम्बर महिनामा यूएईका विभिन्न स्थानहरूमा रहेका ८ वटा जेल भ्रमण गर्दा उक्त सङ्ख्यामा नेपालीहरू जेलमा भेटिएको बताएको छ ।


जेलमा रहेका नेपाली मध्ये ११६ जना रक्सी खाने, झगडा गर्ने, रक्सी खाएर गाडी कुदाउनेहरू हुन् । जेल जीवन बिताइरहेकाहरू मध्ये आधा भन्दा धेरै (५८ प्रतिशत) रक्सी पिएर गैर कानुनी काम गर्नेहरू रहेछन् । त्यस्तै २० जना नेपाली चोरीको आरोपमा, १२ जना हत्याको आरोपमा र १० जना सोधपुछको क्रममा थुनामा रहेका छन् । सूचनामा जनाइए अनुसार ७ जना नेपाली नक्कली कागजात बनाएको, ८ जना यौनजन्य अपराधमा र ५ जना लागु औषधको आरोपमा जेल सजाय भोगिरहेका छन् । २२ जना नेपाली भिसा नभएका र सार्वजनिक सम्पत्तिको हानी पुर्‍याएको आरोपमा थुनिएका छन् ।


त्यस्तै सन २०१८ मा यूएईमा १०७ नेपालीले ज्यान गुमाए । नेपाली दूतावास अबुधाबीले वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेर सन् २०१८ मा ज्यान गुमाउनेमा ९८ पुरुष र ९ महिला रहेको बताइएको छ ।

उनीहरूमध्ये १०३ जनाको शव नेपाल पठाइसकिएको छ । दूतावासका अनुसार ४७ को जनाको प्राकृतिक मृत्यु, ३३ आत्महत्या र २३ जनाले दुर्घटनामा ज्यान गुमाएका थिए । अनुसन्धानको क्रममा रहेकोले ४ जनाको शव नेपाल पठाउन बाँकी नै छ । केही महिना पहिले यूएईमा भएको सृजना बरालको हत्याको कारण पनि रक्सी नै थियो । उनको शव अहिले पनि अनुसन्धानको क्रममा रहेकोले यूएईमै रहेको छ । नेपालमा १० वर्षको नाबालक छोरो आमाको यादमा रुन्छ । यता आमाको शव कहिले नेपाल जाने हो टुङ्गो छैन ।


छुट्टीमा नेपाल गएको बेला एक जना साथीको श्रीमतीले मसँग गुनासो गरिन् । नेपालमा हुँदा पेप्सी पनि नपिउने उनका श्रीमान् केही वर्ष यूएई बसेर आउँदा जाड्याहा भएर आए भन्ने उनको गुनासो थियो । उनले पटक पटक कारण सोधिरहिन् । मसँग जवाफ थिएन ।

झन्डै २ लाख २५ हजार नेपाली कार्यरत यूएईमा दुई सय नेपाली जेलमा रहनु र १ सय ७ जना नेपालीहरूको मृत्युले एउटा दुखद सङ्केत दिएको छ । जेलमा रहनेहरू मध्ये अधिकांश रक्सीसँग सम्बन्धित छन् भने मृत्यु भएकाहरू मध्ये पनि झन्डै आधाको मात्र मृत्यु प्राकृतिक भएको बताइएको छ ।

सामान्यतः कुनै कारण बिना नै सुतेकै अवस्थामा मृत्यु भएमा, ह्दयघात भएमा वा कुनै बिमार लागेर मृत्यु भएमा प्राकृतिक मृत्यु मानिन्छ । यो मृत्युको कुनै कारण नहुन पनि सक्छ । अथवा भनौँ ठ्याक्कै यही कारणले भन्ने थाहा नभएमा पनि प्राकृतिक मृत्यु भनेर घोषणा गरिन्छ । यूएईमा मृत्यु भएका मध्ये ३३ जनाले आत्महत्या गरेका छन् । उनीहरूले आत्महत्या गर्नुमा वैदेशिक रोजगारले निम्त्याएको पारिवारिक विखण्डन पनि कारणको रूपमा छ । केही घट्नाहरु हेर्दा आत्महत्या गर्नेहरू मध्ये पनि अधिकांश रक्सीका नियमित पारखी थिए । त्यसै गरी २३ जना नेपालीले दुर्घटनामा ज्यान गुमाएका छन् । रक्सी पिएर बाटो काट्नेहरू पनि दुर्घटनामा मरेका छन् ।


यहाँ प्राकृतिक मृत्यु हुनेहरू मध्ये पनि धेरै जनाको मृत्युको कारण रक्सी नै हो । दिनभर ५० डिग्रीको तातोमा काम गरेर बेलुकी अबेर कोठा पुगेर दुई चार प्याग रक्सी पिउने अनि एसी (एयर कन्डिसन) को चिसो हावा आफूतिर फर्काएर सुतेकाहरू बिहान नउठेका धेरै घटना छन् । तैपनि नेपालीहरूले उसै गरी पिउन छोडेका छैन । रक्सी पिएर झगडा गर्न छाडेका छैनन् । मातेर गाडी चलाउन छाडेका छैनन् । इज्जत त के, बरु ज्यान जाला नेपालीले रक्सी छोड्ने वाला छैन किनकि नेपालीहरू बहादुर छन् । मर्न डराउँदैनन् । प्रकाशित : माघ ७, २०७५ १४:०४

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

युएईको घुम्ने कुर्सीमा नेपाली

मेघराज सापकोटा

यूएई — सामान्यता खाडीमा ‘३ डी’ को काममा नेपालीहरु जाने बुझाई हो । तर, अवस्था फेरिएको छ । सपना लोकको रुपमा हेरिने यूरोप र अमेरिका छाडेर पनि कति नेपालीले यूएर्इको ‘३ एस’ काम रोजेका छन् । तिनै मध्येका हुन्, प्रदीप पौडेल ।

स्याङ्जाको मल्याङ्कोटका प्रदीप पौडेल । उनी अमेरिकी बैंक, सिटी बैंक युएईको भाईस प्रेसिडेन्ट छन् ।

अमेरिकामा वार्षिक ८० हजार डलरको रोजगारी छोडेर कोही दुबई आँउछ भन्ने सुन्दा कस्तो लाग्छ? त्यो पनि अहिले हो र? यो झण्डै २० वर्ष अघिको हो । पक्कै पनि त्यो मान्छे ‘ठीस’ भयो भन्ने लाग्छ हैन? लाग्न सक्छ । लाग्नु स्वभाबिक हो ।

तपाईलाई कसैले दुबई जाने कि अमेरिका भनेर अफर दियो भने कहाँ रोज्नु हुन्छ? अवश्य पनि तपाईले अमेरिका रोज्नु हुनेछ । दुबई जाने कि लण्डन भनेर सोधे नि? अवश्य पनि लण्डन भन्नु हुनेछ ।
अस्ट्रेलिया, क्यानाडा र युरोपका मुलुक छोडेर कोही ब्यक्ति युएई आउन किन चाहन्छ त? ती देशहरु भन्दा दुबई हरेक कुराले अब्बल लागेर हुनुपर्छ । कसरी?

तपाईंसँग सीप, क्षमता र पढाई छ भने अब अमेरिका, अस्ट्रेलिया र क्यानाडा भन्दा कम रहेन दुबई । पढाई र क्षमता अनुसारको काम र काम अनुसारको दाम पाउने ठाउँ पाए कोही किन दुरदराजको अमेरिका जाने? अब यी मुलुक ‘३ डी’ अर्थात ‘डर्टी, डेन्जरस् र डिमिनिङ’ काम गराउने मुलुक रहेन बरु ‘३ एस’ अर्थात ‘सुपर्ब, सेफ र सेल्फ रेस्पेक्ट’ मुलुकको रुपमा चिनिन थालेका छन् । ‘ह्यापीनेस्’ मन्त्रालय रहेको यो मुलुक सबै जनता खुशी रहेको हेर्न चाहने मुलुक पनि हो । ‘३ डी’ काम गर्न अमेरिका जाने कि क्षमता अनुसारको घुम्ने कुर्सीमा हाकिम भएर काम गर्ने भन्ने बारे निर्णय गर्ने जिम्मा तपाईंको ।

तर्क नै गर्नेले त अन्य कतै नजानु बरु आफ्नै देशमा रोजगारी सिर्जना गर्नुपर्छ भन्न सक्छन् । आफ्नो देशमा रोजगारी गर्न पाए अर्काको देश किन पो जानु छ र? आमा बाउ, आफन्त नातागोता छोडेर खाडी देशमा नङ्ग्रा खियाउन कसलाई पो रहर लाग्छ?

चाहेर होस् या नचाहेर होस्, अमेरिका होस् या खाडी मुलुक होस्, बैदेशिक रोजगार हाम्रो देशको अभिन्न अङ्ग भईसकेको छ । यति नजिक ४ घण्टाको हवाई दुरीमा राम्रो काम पाए २४ घण्टा उडेर अमेरिका किन जाने? मेक्सिकोको पर्खाल नाघेर भाँडा माझ्न अमेरिका किन जाने? रातदिन जङ्गल हिडेर, ज्यान जोखिममा पारी पारी डुंगामा चढेर चम्काउने, धस्काउने र मस्काउने काम गर्न युरोप अमेरिका किन जाने?
दुबई आउनुस्, सीप र क्षमता अनुसारको काम गर्न दुबई आउनुस् तर सुरक्षित भएर । सुरक्षित बैदेशिक रोजगारीका लागि सरकारले अबलम्बन गरेका नियम पालाना गरेर आउनुस् । दलाल र मानब तस्करको पछि लागेर हैन । ख्याल गर्नुहोला, मानब तस्कर र दलालको प्रलोभनमा परेर लाखौं तिरेर भिजिट भिसामा आउनु भो कि तपाईं फस्नु भो । पछुताउनु बाहेक तपाईंले केही पाउनु हुन्न ।

गतवर्ष मैले अमेरिका हैन युएई आउनुस् भन्ने लेख लेखेपछि पक्ष र बिपक्षमा बहस भए । यो लेख त्यसकै अर्को श्रृंखलाको रुपमा गाउँको एउटा ठिटो किन र कसरी दुबई आयो भनेर उदाहरण प्रस्तुत गरेको छु । यो उदाहरण कयौं उदाहरणहरु मध्येको हो । यस्ता उदाहरणहरु यहाँ अनगिन्ती छन् ।
स्याङ्जाको सदरमुकाम वालिङ नगरपालिकाबाट चार घण्टाको पैदल दुरीमा रहेको मल्याङ्कोट गाउँमा जन्मेको एक नेपाली हाल अमेरिकी बैंक सिटी बैंक युएईको भाईस प्रेसिडेन्ट भएर बसेको छ । बैंकको कमोडिटिज् एण्ड सेक्युरिटिज् सर्विसेस् (स्टक मार्केट सम्बन्धि) बिभागको कुबेत देश प्रमुख हुन्छ, सोही बिभागको गल्फ प्रोडक्ट म्यानेजर पनि भएर राज गरेको छ । कहिले कुबेत त कहिले दुबईमा घुम्ने कुर्सीमा बसेर काम गर्छन् ।

उनी हुन्, प्रदीप पौडेल । अमेरिकाको वार्षिक ८० हजार डलरको रोजगारी छोडेर आज भन्दा १२ वर्ष अघि दुबई आईपुगे । अमेरिका किन छोड्नु भो? मैले भेटको शुरुमै यही प्रश्न तेर्स्याएँ । पौडेल मुसुक्क मुस्कुराए र भने, ‘अमेरिका नछोडेको भए म यति वर्षमा सायद आफ्नो सजिलोको लागि त्यहाँको नागरिकता लिईसक्थें होला, म नेपाली कहाँ हुन्थे र? म त नेपाली हुनुमा गर्व गर्छु । बेलैमा अमेरिका छोड्न पाएकोमा खुशी नै छु ।’

अमेरिका छोड्न पाएकोमा खुशी हुने नेपाली अहिलेसम्म भेटेको थिईन । बरु दुबई हुँदै वा ईरान हुँदै टर्की भएर जङ्गल र समुन्द्रको बाटो हुँदै ज्यानलाई जोखिममा पारेर मेक्सिकोको पर्खाल नाघेर अमेरिकी हुने वा हुन नसक्ने धेरै नेपालीहरुको कथा सुनेको छु । अमेरिकी हुनलाई महिनौ लगाएर मेक्सिको, ग्वाटेमाला, होण्डुरस, कोस्टारिका जस्ता दक्षिण अमेरिकी मुलुकहरुमा पुगेर अलपत्र परेकाहरुको कथा पढेको छु । पौडेल भने दुनियाले स्वर्ग मानेको अमेरिका छोडेर नेपालीहरुले मजदुरी गर्ने, नेपाली समाजले हेयको नजरले हेर्ने, नेपाल सरकारले खाडीको डोरी लाहुरे मानेको युनाईटेड अरब ईमिरेट्सको दुबईमा कसरी र किन आईपुगे?

अमेरिका मात्र हैन, कुनै बेला संसारलाई आफ्नो कब्जामा राखेको बिकासित देश बेलायत पनि उनले छोडे । बेलायत मात्र छोडेको कहाँ हो र, उनले स्पेनको बार्सिलोना पनि छोडे । मेरो कौतुहलता बस्सरी जाग्यो । म खोतल्न चाहान्थें ।

धेरै पटकको प्रयास बाबजुद मित्र सन्तोष प्रसाईंलाई साथ लिएर म उनको घर पुगें । दुबईको हाइफाइ क्षेत्र द ग्रीन्स भिलेजमा उनी २ कोठे फ्ल्याटमा बस्छन्, श्रीमती र २ जना छोराछोरीसहित । कति भाडा तिर्नु हुन्छ नि? जसै घर भित्र छिरें, मैले सोधे । उनी मुस्कुराए र भने, ‘आफ्नै हो भाडा तिर्नु पर्दैन ।' यसो भनिरहँदा उनको मुहारमा कता कता संकोच माने जस्तो देखिन्थ्यो । मलाई त दुबईमा हलिवूड र बलिवूडका कलाकारको मात्रै फ्ल्याट होला भन्ने लाग्थ्यो । नेपालीकै भए पनि घरानीया ब्यापारीहरुको होला जस्तो लाग्थ्यो । प्रसाईंले बीचैमा बोले, ‘यो २ कोठे फ्ल्याटमा आाफै बस्नु हुन्छ, पल्लो घरमा भएको १ कोठे फ्ल्याट चाही भाडामा लगाउनु हुन्छ ।’

अमेरिकामा त फ्ल्याट वा घर हुने टन्नै हुन्छन् । अमेरिका भासिए पछि नेपालीको पहिलो सपना नै घर र गाडी किन्नु हुन्छ । बैंकबाट ऋण र क्रेडिट कार्ड घोटेर घर किन्नेको शान नै बेग्लै अमेरिकामा । आहा, दुबईमा पनि नेपालीको घर ।
मनमनै सोचें खाडीमा डोरी लाहुरे मात्र देख्नेलाई यता घुमाउ कि ! एक सामान्य परिवारको ब्यक्ति यस्तो प्रगति ?

कसरी अमेरिका पुग्नु भो ? किन अमेरिका छोड्नु भो ? फेरी किन युरोप जानु भो ? किन युरोप छोड्नु भो ? म शुरु देखि नै प्रश्न गर्न थालें ।

‘सुन्नु हुन्छ’ ? पौडेलले सुरु गरे ।
‘कक्षा ७ मा सिद्धार्थ बनस्थलीमा पढ्थें । काठमाडौंको बाल मन्दिरले राष्ट्रिय स्तरको कथा प्रतियोगिताको आयोजना गरेको थियो । त्यो कथा प्रतियोगितामा प्रथम भएँ । म प्रथम भएको कथा सुन्नु हुन्छ?' उनी कथा सुनाउन थाले । ‘म सुतिरहेको थिएँ । सुत्दा सुत्दै म एसएलसीमा बोर्ड फर्स्ट भएछु । त्यसपछि बेलायतको बिद्यार्थी पढ्ने ईटन कलेजबाट छात्रबृत्ति पाएर बेलायत गएछु । सफा कलेज, चिल्लो टाइल्स र घरहरु देखेर म मक्ख पर्दै हिडिरहेको थिएँ । चिप्लिएर लडें । ऐया भनेको त के भो बाबु भन्दै बुवा पो आउनु भयो । मेरो कथा यही थियो । शायद यही सपनाको कथाले मलाई अमेरिका पुर्‍यायो’ उनले भने ।

उनी कथामा प्रथम भए जस्तो एसएलसीमा बोर्ड फस्ट भएनन् बोर्ड सेकेन्ड भए । अनि पूर्ण छात्रबृत्तिमा पढ्न अमेरिका गए । अमेरिकामा कम्प्युटर सम्बन्धी अध्ययन सकेर केही वर्ष आईटी अफिसरको रुपमा काम पनि गरे । अमेरिका बसुन्जेल सामाजिक गतिबिधिमा पनि उत्तिकै उल्लेखनीय भूमिका निभाए । कलेजमा अध्ययन गर्दा हिमालयन क्लब खोलेर नेपाली कलाकारहरुलाई अमेरिका लगेर धेरै साँस्कृतिक कार्यक्रमहरु पनि गरे । उनी ८ वर्ष अमेरिका बसे । धेरै थोरै पैसा पनि कमाए ।

अमेरिकामा अध्ययन सकेर बस्दा पनि उनी खुशी हुन सकेनन् । सधैं अर्काकोमा काम गरेर दोश्रो दर्जाको नागरिक हुनु भन्दा त बरु नेपालमै गएर केही गर्ने सोच पलायो । २०५२ सालमा अमेरिका पुगेका उनी २०६० सालमा नेपाल फर्किए । नेपालमा भरखर फस्टाउदै गरेको आईटी क्षेत्रमा लागेर 'एक्स्पर्ट ग्रुप डि २ हवकी' भन्ने कम्पनीमा ३२ जना कामदारको चीफ अफिसर भएर काम गरे । आफ्नै ब्यवसायको पनि हिसाब किताब, नाफा घाटा, आर्थिक प्रतिबेदन हेर्न अरुलाई खेताला खोज्न पर्ने भएकोले उनलाई एमबीए पढ्न मन लाग्यो । उनी अर्ध छात्रबृत्तिमा एमबीए पढ्न बार्सिलोना पुगे । २ वर्षे एमबीए पढ्दा पढ्दै उनलाई सिटी बैंकले काम गर्न लण्डन बोलायो । पढाई सकेपछि उनी बर्सिलोना छोडे र लण्डन लागे ।
लण्डनमा ९ महिना जति काम गर्दा गर्दै पौडेललाई दुबई जाने अफर आयो । सिटी बैंकले नै उनलाई उक्त अवसर दिएको थियो । उनी खुशीले गद्गद् भए । किनकी दुबईमा अवसर थियो । योग्यता र क्षमता अनुसारको पद र सम्मान थियो ।

‘दुबई आएर राम्रो निर्णय गरें जस्तो लाग्छ’ उनी भन्छन्, ‘केही समय पहिले बुवा बिरामी हुनु भएको थियो । यहीबाट डाक्टरको ‘अपोइन्टमेन्ट’ फिक्स गरें । सल्लाह मागें । डाक्टरको सल्लाह अनुसार नै सरर ४ घण्टामा नेपाल गएर बुवाको सानो अपरेसन गरेर केही दिन पछि फर्कें । अमेरिका वा लण्डन भएको भएयति सजिलोसँग त्यो सम्भब थिएन ।'
सम्पत्ति चाही कति कमाउनु भो? उता भन्दा यता थोरै कमाउनु भयो कि? ‘कहाँ हुनु, दुबई नबसेर अमेरिका वा युरोप बसेको भए आर्थिक रुपमा जति सफलता हाँसिल गरेको छु, त्यति सकिन्न थियो' उनले ठोकुवा नै गरे, 'मैले दुबई बसेर आर्थिक प्रगति गर्न कुनै गलत कार्य गर्नु परेको छैन । बरु धेरै मेहिनत गरेको छु ।' कस्तो राम्रो कुरा । दुबई बसेर हुण्डी र सुण्डी (अबैध सुनको कारोबार) गर्नेहरुले उनीबाट सिक्न जरुरी छ ।

सम्पत्ति त धेरै नै कमाउनु भो ल । आफ्नो र परिवारका सामाजिक सुरक्षाका कुराहरु छन्, सुबिधा र शिक्षाका कुराहरु छन् । त्यो त दुबईमा छैन होला नि । मेरो कुरा भुईमा खस्न नपाउदै उनले भने, ‘फरक फरक शिक्षा प्रणाली अनुसारका ब्रिटिस, अमेरिकन, आईबी आदि विश्वका सबै टप विश्व बिद्यालय र स्कुलका पाठ्यक्रम शिक्षा यहाँ पढ्न पाईन्छ ।’
‘अर्को कुरा तपाईंलाई थाहा छ ? दुबईमा तपाईंको जति तलब हुन्छ नि त्यति नै बैंकमा जान्छ र त्यती नै बचत गर्न सक्नु हुन्छ' उनी भन्छन् । युएई धेरै कुरामा ट्याक्स फ्री देश हो । दिनरात हड्डी घोटेर तपाईंले कमाएको पैसा सरकारलाई तिर्नु पर्दैन । सम्पत्ति कर लाग्दैन । आयकर तिर्नु पर्दैन । युरोप र अमेरिकामा राज्य हेरिकन ३३ देखी ५० प्रतिशत भन्दा बढी त ट्याक्स तिर्नु पर्छ । त्यति ट्याक्स तिरे पछि सुबिधा त पाउनु पर्‍यो । त्यो त तपाईंकै पैसा हो नि ।

‘अब धेरै बिदेश बस्ने हैन, बरु तपाईं पनि फर्कनुस् नेपालमै केही गर्नु पर्छ’ बिदा हुने बेला उनी भन्दै थिए, ‘बिदेशमा सिकेको सीप र ज्ञानलाई नेपालको बिकासमा लगाउन पाए आनन्द लाग्ने थियो । अमेरिका बसेको भए उतै हराउँथे होला, उतैको नागरिक बन्थें होला, उतैको पासपोर्ट बोक्नु र नागरिक हुनुमा गर्व गर्थें होला, तर कहिल्यै पनि त्यसो गर्न मन लागेन । अब त अति भयो, बिदेशको बसाइ पनि । नेपालमै केही गर्न मन लागेको छ । अब छिट्टै नै नेपाल फर्कन्छु होला ।'

मेक्सिकोको पर्खाल नाघ्न मरिहत्ते गर्नु पर्ने कारण रहेन अब । रातदिन नङ्ग्रा खियाएर दुई चार हजार डलर कमाउन तिसौं लाख खर्च गर्नुको पनि अर्थ रहेन । तपाईंसँग सीप छ, तपाईंसँग क्षमता छ, पढाई छ भने त्यही अनुसारको काम गर्न खाडी आए फरक पर्दैन । अमेरिका र युरोप भन्दा बढी खाडीमा कमाउन सक्नु हुन्छ ।

‘३ डी’छोडौं, ‘३ एस’ रोजौ । पौडेलजीलाई हेर्नुस् त ।

प्रकाशित : मंसिर ११, २०७५ १६:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×