संस्कृत हिँडेको बाटो

संस्कृत विरोधीहरूले संस्कृतविरुद्ध गहिरो विश्लेषणात्मक तर्क दिन सकेनन् । जात सम्बन्धित नारा दिएर पन्छिए, जुन पूर्ण पाठ हुन सक्दैन ।
प्रमोद मिश्र

काठमाडौँ — संस्कृतको महत्त्व र यसको उपेक्षाबारे नेपाल र भारत दुबै देशमा विलौना हुँदै आएको छ । नेपाली मिडियामा यसको चर्चा–परिचर्चा जारी छ । कतै संस्कृत आधारित कर्मकाण्डको शिक्षा दिई पण्डित तयार पारिँदै गरेको सुखद समाचार उल्लेख हुन्छ ।

कतै काठमाडौं समाजका जानेमाने व्यक्तिलाई प्रख्यात संस्कृतविदबाट संस्कृत ज्ञानको ‘ट्युटोरियल’ र संस्कृत लोपको विलौना पाठ गराइन्छ । संस्कृतबारे चर्चा हुनु स्वाभाविकमात्रै नभई आवश्यक पनि छ, नेपाली भाषा र साहित्य(वाङ्मय) र हिन्दु संस्कृतिको आदिस्रोत संस्कृत भएकाले ।


दक्षिण एसियामा रविन्द्रनाथ टेगोरका रचना कसरी विश्व प्रसिद्ध भए ? किनभने विधा जुनसुकै भए पनि तिनको साहित्य दृष्टि पाश्चात्य, लोकभाकाका समसामयिक तत्त्वहरू संस्कृतजनित ज्ञान परम्पराद्वारा सिञ्चित थियो । क्यारिबियन कवि नाटककार डेरेक वालकाट विश्वविख्यात कसरी भए ? किनभने तिनका क्यारिबियन समुद्री गाथा ल्याटिन र प्राचीन ग्रिक महाकाव्य र मिथकबाट पुष्टित थिए ।


तर अहिलेको गणतन्त्रमा पनि संस्कृतबारे एकपक्षीय अलापमात्र पाइन्छ । गणतन्त्रपछि संस्कृत विरोधीहरूले चर्को नारा लगाए । जुन स्वाभाविकै थियो । फलस्वरूप संस्कृतको पठन–पाठनमा कमी भयो । यसलाई अनिवार्य विषय बनाइएन । तर संस्कृत विरोधीहरूले संस्कृत विरुद्ध गहिरो विश्लेषणात्मक तर्क दिन सकेनन् । जात सम्बन्धित नारा दिएर पन्छिए, जो पूर्ण पाठ हुन सक्दैन ।


संस्कृतलाई यसरी तर्क–वितर्क नगरी फाल्नु बच्चालाई ‘बाथ वाटर’संँगै मिल्काउनु हो, भुससँगै चामल पनि फाल्नु हो । तर संस्कृतको वर्चस्व ज्यौंकात्यौं स्वीकार्नु पनि हिन्दु जातीय व्यवस्थाको हैकम र यसको पदानुक्रम सोपानलाई निरन्तरता दिनु हो ।


हिन्दु राज्यव्यवस्थामा सदियौंदेखि संस्कृतमाथि ब्राह्मणको एकाधिकार रह्यो र अरूलाई यसबाट वञ्चित गराइयो । जहाँ हिन्दु राज्यव्यवस्था थिएन, जस्तै अंग्रेज शासित भारत, त्यहाँ पनि समाजले संस्कृतलाई ब्राह्मणकै एकाधिकारमा राख्यो, पूजापाठ, भागवत–पुराण वाचनमा । हिन्दु राज्यव्यवस्थामा तथाकथित तल्लो जातलाई संस्कृत पठन–पाठन निषेध नै थियो । संस्कृत शिक्षा या त गुरु परम्परा अनुसार गुरुको सान्निध्यमा गुरुकुलमा हुन्थ्यो या संस्कृत विद्यापीठ अन्तर्गत । यी दुबै राज्य सम्पोषित हुन्थे वा सम्पन्न जातीय समाजले यिनको भरणपोषण गथ्र्यो, जहाँ जातीय सनातनी रूढीबाट बच्ने कुनै उपाय नै थिएन ।


नेपालकै संस्कृत अध्ययन–अध्यापनको इतिहासलाई हेरौं । राणाशासनमा त पूजापाठका लागि मात्रै कर्मकाण्डी ब्राह्मणले संस्कृत पढ्न पाउँथे । आम जनताका लागि शिक्षा नै निषेध भएकाले संस्कृतको कुरै के गर्ने † तर राणा शासनपछि पनि गुठी सञ्चालित, राज्य सम्पोषित संस्कृत पाठशालामा ब्राह्मणका छोराले मात्र भर्ना पाउँथे । हुन त यो आरक्षण हिन्दु कर्मकाण्ड सम्पादनका लागि भनेर गरिएको थियो । तर तीनधारा पाठशालाबाट उत्पादित छात्रमध्ये कति कर्मकाण्डी पण्डित भए ? कति सीडीओ र मन्त्रालयका सचिव भए ? पञ्चायतको शेषकालमा पचहत्तर जिल्लामध्ये चालीसमा तीनधाराका विद्यार्थी सीडीओ थिए भनिन्छ । सचिव त कति हो कति । संस्कृत पठन–पाठनमा यो आरक्षण अहिले पनि अनौपचारिक रूपमा यथावत छ भन्दा अतिशयोक्ति नहोला ।

सन् २००७ मा मैले अमेरिकी कलेजका पच्चीसजति विद्यार्थीलाई एक सेमेस्टर भारतभरि घुमी–घुमी साहित्य, संस्कृति, समाज र पर्यावरण पढाएँ । त्यसक्रममा हामी दस दिनका लागि वाराणसी पुग्यौं । ‘गंगा मैली है’ भन्ने विषयमा संकटमोचन मन्दिरका महन्थबाट र बनारसको प्राचीन र आधुनिक महिमाबारे बनारस हिन्दु विश्वविद्यालयका विद्वानहरूबाट प्रवचनपछि एकदिन हामीलाई पण्डित तयार गर्ने पाठशाला लगियो । दस–पन्ध्र जनाजति किशोरले वेद पाठ गरिरहेका थिए ।


घिमिरे थरका नेपाली पण्डित तिनका शिक्षक थिए । ‘यी मेरा छात्र भारतका विभिन्न राज्यबाट आएका छन्,’ तिनले भने । मेरा एक छात्रले प्याच्च सोधिहाले, ‘यी विद्यार्थी कुन जातबाट आएका हुन्, महाशय ? भर्खरै डा. मिश्रले हामीलाई जाति व्यवस्थाबारे पढाउनुभएको छ । यहाँ कोही दलित वा अरू कुनै समुदायबाट आएका छन् ?’ यी सबै विभिन्न थरका ब्राह्मण जातिबाटै आएका हुन् भनेर तिनले भने । उत्तर सुनेपछि मेरा छात्रछात्रा एकछिन पनि त्यहाँ बस्न मानेनन् । मलाई लाजमर्दो भयो । हालै नेपाल साप्ताहिकमा प्रकाशित नेपालका यस्तै पुरोहित उत्पादन गर्ने पाठशालाबारे पढ्दा संस्कृत शिक्षाको जातीय समीकरणमा परिवर्तन आएजस्तो लागेन ।


संस्कृतमा विद्रोही विचारै नभएको होइन । दक्षिण एसिया विशेषज्ञ डेविड सुलमनका अनुसार उपनिषदमै पनि ब्राह्मण वर्चस्वको विरोध र यस विरुद्ध विद्रोह पाइन्छ । वैदिक कर्मकाण्ड समेतको विरोध पाइन्छ । समानताका पक्षमा, संस्थापन विरोधी, विद्रोही विचार शास्त्रीय परम्परामा सधैं रहँदै आएको छ । दक्षिण भारतमा वीरसैव विचारकहरूले संस्कृतमा असमान ढाँचा, पदानुक्रम सोपान, कर्मकाण्ड र मन्दिर विरुद्ध पुरै आन्दोल चलाए ।


तिनीहरूको ग्रन्थ श्रीकरभाष्यमा यसको प्रमाण प्रशस्त पाइन्छ । कन्नौजमा अभिनान्द र तिनका समकालीनहरूका संस्कृत श्लोकहरूमा दलित जीवनबारे सहानुभूतिपूर्ण वास्तविक चित्रण गरिएको छ ।तर यी सब हुँदाहुँदै पनि संस्कृत पठन–पाठन र यसका विद्यार्थी भर्नामा ढाँचागत परिवर्तन किन हुनसकेन ? अहिले पनि नेपाल र भारतमा यी संस्कृत गरुकुल र विद्यापीठहरूमा औपचारिक या अनौपचारिक तवरमा ब्राह्मणेतर जात, खासगरी दलित समुदायका विद्यार्थीमाथि बन्देज किन छ ? यसका राजनीतिक र सामाजिक कारण छन् ।


भारतमा मुसलमान र अंग्रेज शासनका बेला संस्कृत ज्ञान ब्राह्मणका जिम्मा रह्यो र तिनैले यसलाई जोगाएर राखे । तर जब भारत स्वतन्त्र हुनलाग्यो र भयो, संस्कृत ज्ञानका हिसाबले तीन धारबाट बेवारिसेमा पर्‍यो । तीनमध्ये मुख्य धारलाई नेहरू–गान्धी र तिनका पाश्चात्य उदारवादले प्रतिनिधित्व गरेको थियो । गान्धी र नेहरू दुवै संस्कृत जान्दैनथे र तिनीहरूको शिक्षादीक्षा र अभिमुखीकरण अंग्रेजी माध्यममा पाश्चात्य प्रणालीबाट भएको थियो ।


लङ्गोटी–धोती लगाए पनि, खेतमा शौच गरी मल तयार पार्ने कुरा गरे पनि, गुजरातीमा लेखे पनि, भारतलाई औद्योगिक हैन, ग्रामीण लघु र चर्खा क्रान्तिद्वारा विकास गर्ने कुरा गरे पनि, नजानेकाले वा संस्कृत ब्राह्मणमा आश्रित भएकाले, संस्कृतप्रति गान्धीको अनुराग थिएन ।


आफ्ना किताबहरूमा प्राचीन भारतको जतिसुकै गुनगान गरे पनि अंग्रेजीपरस्त नेहरूले संस्कृतको संरक्षण गर्ने कुरै भएन । न्युयोर्क र लन्डनमा पढेका दलित विचारक अम्बेदकर ब्राह्मणाश्रित संस्कृतका सोझै विरोधी हुने नै भए । बाँकी रहे सावरकर र गोलवाकर नितृत्वका हिन्दुवादीहरू । संस्कृत साहित्य र दर्शनभन्दा पनि तिनीहरूको ध्याउन्न हिन्दुवादी शासन र गैरहिन्दु, खासगरी मुसलमान विरोधी क्रियाकलाप र विचार प्रतिपादनमै केन्द्रित रह्यो ।


तर यीमध्ये कसैले चाहेको भए पनि पहिले हिन्दु जाति व्यवस्थामाथि मौलिक आधारभूत प्रहार नगरी संस्कृतको उद्धार गर्न सम्भव थिएन । नेपालमा भने राणाहरू त निरक्षर नै थिए भन्दा पनि हुन्छ र तिनले निरक्षरता नैआफ्ना रैतीमाथि थोपरे । र २००७ सालपछि लोहिया समाजवादी वा कम्युनिस्ट भएकाले बीपी लगायतका नेताहरूमा संस्कृतजनित ज्ञान थिएन । र भए पनि कतिपय सनातनी ब्राह्मण कांग्रेसीजन भएकाले जाति व्यवस्थाको संस्थागत र ढाँचागत विरोध र संस्कृतबाट जातीय वर्चस्व उन्मूलन गर्न सक्दैनथे ।


त्यसैले आजपर्यन्त पनि राज्य र समाज सम्पोषित संस्कृत शैक्षिक संस्थाहरूमा ब्राह्मणलाई नै भर्ना लिइन्छ वाग्राह्यता दिइन्छ । अनि संस्कृत सर्वस्वीकार्य कसरी होओस् र यसको अरू जाति–समुदायद्वारा विरोध किन नहोस् ?


संस्कृतलाई सर्वस्वीकार्य बनाउन दुइटा कार्य गर्नु अनिवार्य छ । एक, सबै संस्कृत पाठशालामा सबै जात वर्गलाई प्रलोभन र आरक्षणसहित भर्ना दिनुपर्छ । दुई, कर्मकाण्डी पण्डित जुनसुकै जातिको योग्य व्यक्ति पनि हुने व्यवस्था हुनुपर्छ । यी काम सामाजिक र संस्थागत रूपमा हुने बित्तिकै ब्राह्मणेतर समुदायमा संस्कृत विरुद्ध सहस्राब्दियौंदेखिको विरोध र पूर्वाग्रह हराएर जान्छ । र अर्को कुरा संस्कृत पठन–पाठनमा भाषा सिक्नमा बढी र व्याकरण घोक्नमा कम जोड दिनुपर्छ ।


यसका लागि अमेरिका, युरोपमा जसरी भाषाशास्त्रीय आधारमा संस्कृत पढाइन्छ, त्यसरी नै पढाउनुपर्छ । किनभने संस्कृतको घोकन्ते प्रणाली अरू विषयमा पनि सरेकाले दक्षिण एसियाकै शिक्षा प्रणाली सोचनशीलभन्दा पनि आँखा चिम्लेर पछिलाग्ने भिड उत्पादन गर्ने कारखाना बन्न पुगेको छ । नेपाल र भारतका स्कुल, कलेजमा मैले दस वर्ष संस्कृत पढेंँ । व्याकरण घोक्नु र साहित्य अनुवाद गर्नुबाहेक मैले केही गरिन । फलस्वरूप दस वर्षपछि पनि श्लोक र शब्द र धातुरूप त मलाई निकै कण्ठस्त भए, तर मैले संस्कृत बोल्न–लेख्न भने जानिन ।


तर आजका दिनमा संस्कृतविद र संस्कृत पक्षधरहरू संस्कृत पतनको विलौनाले नपुगेर हिन्दुत्ववादी पनि बन्नपुगेका छन् । तिनीहरूको हिन्दुत्ववादको त आम जनसमुदायले विरोध गर्ने नै भए । त्यही विरोधमा तिनको संस्कृत जगेर्ना गर्ने दलील पनि पानीको फोका बनेको छ । वास्तवमा यो अवस्था साहित्य, कला, समाज, दर्शन, र वैचारिक गहनताका लागि बडा उदेकलाग्दो हो । किनभने संस्कृत यी सबैको स्थानीय अथाह स्रोत हो, जोबिना महान साहित्य र दर्शन नेपाल र भारतमा जन्मिन गाह्रै छ ।


मिश्र संयुक्त राज्य अमेरिकास्थित लुइस विश्वविद्यालयमा अंग्रेजीको विभागाध्यक्ष हुन् । प्रकाशित : पुस २१, २०७५ ०७:५९

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पुरुष सापेक्ष संस्कार 

प्रमोद मिश्र

काठमाडौँ — कात्तिक ८ गते राति सिकागो (अमेरिका) मा सुत्नै लाग्दा मेरो मोबाइल फोन बज्यो । विराटनगरमा जाग्राम बसेकी मेरी श्रीमती डाँको छाडेर रुन थालिन् । किन रोएको भनेर अलि झर्किएँ तर फेरि आमाहरूलाई त केही भएन भनेर आत्तिएँ । ससुरालीमा ९१ र ८२ वर्षीया दुई जना सासूआमा हुनुहुन्छ ।

९४ वर्षीया फुपूसासू विराटनगरमा बितेको खबर श्रीमतीले फोनमा दिँदा म दिउँसो अफिसमा थिएँ । ‘फुपू जानुभो’ भन्ने खबरले एकछिन भावविह्वल भएपछि थामिँदै भनेको थिएँ, ‘राम्रै भयो, शारीरिक पीडाबाट मुक्त हुनुभो ।’ जाने बेला उच्छ्वासले ‘राधाकृष्ण’ भनेर प्राण त्याग गर्नुभएछ । कुनै पाप गर्नुभएको रहेछ भने पनि लोक भनाइअनुसार प्राण त्याग्ने बेलाको भगवद् नामोच्चारणले सिधै स्वर्ग जानुहोला भन्ने मनमा भयो तर अहिले यस्तो जोडको रोदन किन भनेर श्रीमतीलाई सोधेँ ।

‘फुपूको किरिया विराटनगरमा गर्न नदिने भए । विराटनगरमै आउनुस् भन्दा नि मान्दैनन् र पहाडको आफ्नै घरमा किरिया बस्छौं भन्छन्,’ उनले भनिन् । मैले कारण सोधेँ । फुपूको घरपट्टिका मानिस काठमाडौंमा र पहाडमा बस्छन् । उनीहरूले आफैं किरिया गर्ने भनेछन् । ‘पण्डित र यहाँ भेला भएको समाजले पनि घरपट्टिकाले त्यसो भनेपछि माइतीको केही चल्दैन, दुई ठाउँमा भाँडो राख्न मिल्दैन भन्छन्,’ श्रीमतीले सुनाइन् । मलाई अलि विस्मय भयो ।

फुपूको जीवन आम नारीको जस्तो भएको भए यो ठिकै हुन्थ्यो । साधारणतया हिन्दु परम्परा र शास्त्रानुसार स्त्रीको विवाहपश्चात् घर, थर र कर्मथलो आफ्नो वैवाहिक घर हुन्छ, अर्थात् पतिको घर । माइतीको वंश र आश्रय त्यागिन्छ अनि पतिको वंश र कुल आफ्नो हुन्छ । हिन्दु समाज पितृसत्तात्मक हो ।
फुपूको विवाह नौ–दस वर्षको उमेरमा ८५ वर्षअघि पूर्वी पहाडको एक कुलीन क्षत्री परिवारमा भएको थियो तर सासूको कहरले बिहेलगत्तै फुपू माइत फर्किनुभयो । त्यसपछि एकाध खेपबाहेक न पति न तिनको परिवारले सोधखोज गरेका थिए । फुपू स्वयंले पनि पतिसँग जाने वा सोधखोज गर्ने वास्ता राख्नुभएन । लोग्ने मर्दा तिनका परिवारले फुपूलाई खबरसम्म गरेनन् । यसलाई अस्वाभाविक पनि मानिएन ।

गर्भेटुहुरी भएकीले होला, तीन वर्ष जेठा दाजुसँगै आँटिली आमाको मायाकै न्यानोमा हुर्किन फुपू माइत फर्कनुभयो । माइतमै कुलीन झर्रा क्षत्री परिवारको बन्धन–अनुशासनमा बसी जवानीका वसन्त र वृद्धावस्थाका बर्खा र हिँउद काट्नुभयो । जिन्दगीभरि दाजु लीलाभक्तको प्रगतिलाईआफ्नो प्रगति र उनको परिवारलाईआफ्नो परिवार ठान्नुभयो । दाजुकै छोराछोरीलाई ज्युज्यान गरी हुर्काउनु, बढाउनुभयो । तीन दशकअघि दाजुको देहान्त भयो ।

दाजुले दिएको जग्गा नागरिकता नभएकाले फुपूका नाममा पास हुन सकेन । एक जना भदाले सीडीओ अफिसमा बेहोरा भन्ने क्रममा फुपूको सानैमा बिहे भएको खुस्काएछन् । त्यसपछि सीडीओले केको नागरिकता दिन्थ्यो † पतिले सनाखत नगरी हुँदैन भन्यो । कहिले कसका नाममा, कहिले कसका नाममा राख्ने क्रममा जग्गा हिनामिना भयो । कालान्तरमा माछामासु छाड्नुभयो र कृष्णमार्गी वैष्णव भई दीक्षा लिनुभयो । फुपूलाई कसैसँग कुनै माग वा गुनासो रहेन । पछिल्लो समय फुपूलाई हाड मक्किने (आस्टियोपरोसिस) रोगले भेटेको थियो ।

श्रीमतीले ‘मलाई साथ दिने कोही छैन’ भनिन् । सालोलाई फोनमा सोधेँ । उनले पनि ‘हाम्रो केही चल्दैन, भिनाजु । तीन जना पण्डित आँगनमा हुनुहुन्छ, उहाँहरू पनि त्यसै भन्नुहुन्छ’ भने । ‘पण्डितजीसँग कुरा गरौं एक फेर, के भन्दारैछन्,’ मैले भनेँ । ‘तुलसा मैयाँबाहेक सबै जना घरपट्टिकाले किरिया गर्न चाहे पाउँछन्’ भन्ने लोकविचार पण्डितले सुनाए ।

‘तर शास्त्रले के भन्छ, पण्डितजी ?’ मैले सोधेँ ।‘शास्त्रअनुसार घरपट्टिकाले चाहे उनीहरूले गर्न पाउँछन्,’ पण्डितले निष्कर्ष सुनाए ।‘विराटनगर आउन पनि नमान्ने, मुखाग्नि पनि नदिने अनि किरिया गर्ने अधिकार तिनीहरूलाई कसरी हुन्छ ?’ मैले तर्क गरेँ ।

‘त्यो त ठिकै हो तर एक जनाबाहेक कोही त्यसो भन्दैनन्, के गर्ने ?’ भनेर पण्डित फोनबाट हटे । सालाले पनि स्वर ठूलो पारे र दिदीलाई चुप लाग्न आदेश दिए, ‘अमेरिकाबाट आएर अन्तिम बेला फुपूको सेवा गर्न पाउनुभो, अरू के चाहियो ? छाड्नुस् यी सब लफडा ।’

दसैंको षष्ठीका दिन विराटनगर पुग्दा फुपूलाई अर्धबेहोसी अवस्थामा भेट्यौं । सालाले न भरपर्दो स्वास्थ्यकर्मी भेटिराखेका थिए न फुपूको सरसफाइ गर्ने दक्ष महिला वा पुरुष । ओछ्यानमा सुतेको सुतेकैले गर्दा दुवैपट्टि बेडसोर (ओछ्यान घाउ) भइसकेको थियो ।

फुपूको असह्य पीडालाई घटाउन सकिन्छ कि भनेर लगत्तै म अस्पतालतर्फ सिटी रिक्सामा दौडिएँ । जान त एक दिन सबैलाई छ तर जीवनका अन्तिम दिनहरूमा कष्ट र पीडा हुनु हुन्न भन्ने मेरो मान्यता छ । अस्पतालमा जेरियाट्रिक (वृद्धावस्थासम्बन्धी चिकित्सा) को डाक्टर नपाइने रहेछ । घरमा गएर नर्सले इलाज गर्ने व्यवस्था पनि रहेनछ ।

फुपूको असह्य कष्ट कम गर्न सकिन्छ कि भनेर डाक्टरलाई सोध्दा तिनले सादा कागजमा दुई थरी गोली लेखिदिए । त्यही घोलेर खुवाउँदा फुपूलाई केही अथवा भयो । भोलिपल्ट सरसफाइका बाबजुद घाउबाट गन्ध आउन थाल्यो । ड्रेसिङ गर्ने मानिस ल्याउन सिटी रिक्सामा खुर्र शिक्षण अस्पताल कुदेँ ।

फूलपातीका दिन एमर्जेन्सीबाहेक सबै बन्द । बिन्तीभाउ गरेपछि एक जना राय थरका स्वास्थ्यकर्मी घर जान तयार भए । त्यस दिन र भोलिपल्ट राम्रो ड्रेसिङ गरिदिए । पर्सिपल्टदेखि न आए न फोन उठाए ।
मेरी फुपूसासूबारे यति बेलीविस्तार लाउन आवश्यक थिएन । सम्भ्रान्त क्षत्री परिवारकी एक वयोवृद्ध चेलीको सामाजिक, कर्मकाण्डी, कानुनी र जीवनका अन्तिम दिनहरूको अवस्था अहिले पनि यस्तो हुँदोरहेछ भन्ने बुझाउन चित्रण गरेको हुँ । उनको यस्तो स्थिति भयो भने साधनविहीन अरू नारीको के अवस्था हुँदो हो !
मोरङ नेपालका विकसित जिल्लामा पर्छ । विराटनगर काठमाडांैपछिको ठूलो मात्र होइन, सबैभन्दा जागरुक, सचेत र धेरै मन्त्री, प्रधानमन्त्री उत्पादन गरेको सहर हो । त्यहाँ स्वास्थ्य सेवा, सामाजिक न्याय र धार्मिक रूढिको अवस्था यस्तो छ भने देशका अविकसित, पिछडिएका गाउँठाउँमा कस्तो होला ? र, पञ्चायती आधुनिक सामन्तवाद, बहुदलीय प्रजातन्त्र र सामाजिक अनि आर्थिक अधिकारका लागि लडिएको दसवर्षे माओवादी ‘जनयुद्ध’ पछिको गणतन्त्रमा पनि महिलाको पुरुष निरपेक्ष कानुनी अधिकार स्थापित हुन सकेको छैन ।

पाँच दिनपछि टीका आशीर्वाद थापी श्रीमतीलाई फुपूको स्याहारको मोर्चा सम्हाल्न छाडेर म सिकागो फर्कें । त्यसको तीन दिनमै फुपूले आफ्नो कष्टकारी काया त्याग्नुभयो । भोलिपल्ट सालालाई फोन गरेँ । ‘चतरा जाने मान्छे हुँदैनन् भनेको त लोग्नेमान्छे, स्वास्नीमान्छे सबै गए । दिदी पनि मलामी जानुभो,’ उनले सुनाए, ‘आफ्नो श्राद्ध फुपूले उहिल्यै पण्डित बोलाएर गराइसक्नुभएको थाहा पाएपछि दिदी शान्त हुनुभो ।’
जीवन छँदै श्राद्ध गरेको मलाई थाहा थिएन ।

‘फुपू त एकैछिनमा खरानी हुनुभो । सजिलै गरी जानुभो । बाँच्ता पनि कसैलाई दु:ख दिनुभएन, मर्दा पनि त्यस्तै । दसैं सिद्धिएपछि र तिहार सुरु हुनुअघि कुनै बाधा अड्चन नगराउने गरी जानुभो,’ सालाको बोलीमा सन्तोष र शान्ति थियो ।

‘धर्मात्मा हुनुहुँदोरहेछ । स्वर्गमा पनि कसैसँग केही माग नगरी, कसैलाई दु:ख नदिई बस्नुहुनेछ भन्ने मलाई पक्का विश्वास छ,’ मैले भनेँ अनि मनमनै भनेँ, ‘अरू फुपूहरूको जीवन सजिलो बनाउन यस लोकमा भने हाम्रो न्याय र अधिकारको माग कम हुनु हुँदैन ।’

मिश्र संयुक्त राज्य अमेरिकास्थित लुइस विश्वविद्यालयमा अंग्रेजीका विभागाध्यक्ष हुन् ।

प्रकाशित : कार्तिक २५, २०७५ ०८:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×