मसानघाटमा भूमाफिया

भूमि व्यवस्थापनमा देखिएको विकृतिले सत्तल, पाटी, मठ, मन्दिरदेखि ढुंगेधारा, पोखरी, मसानघाट र गुठीका घरजग्गा माथिको अतिक्रमण रोकिएन ।
मल्ल के. सुन्दर

काठमाडौँ — मानिस–मानिसबीचको सम्बन्धमा सबैभन्दा बढी संवेदनशील भइदिने क्षण भनेको मृत्युको अवस्था हो । त्यसमा पनि अन्तिम संस्कारका लागि पुर्‍याइने मसानघाटमा मृतकका आफन्त मात्र होइन जीवनभर दुस्मनी रहेका मान्छेको ह्दय पनि उद्वेलित हुन्छ ।

मसानघाटमा भूमाफिया

यिनै करुण पक्ष र संवेदनशीलताको गुणले मानिस अन्य प्राणीभन्दा चेतनशील र सुसंस्कृत भनिएको हो ।

तर, मंसिर २२ गते शनिबारका दिन काठमाडौं महानगरपालिका वडा नं ७ चावहिल, कुथुविहारका रैथाने बासिन्दाले एउटा पृथक परिस्थितिको सामना गर्नुपर्‍यो । चावहिल पिगं टोल निवासी ४९ वर्षीया भीममाया डंगोलको अवसानबाट परिवारजन असह्य पीडाबोधमा थिए ।


परम्परा तथा मृत्यु संस्कारअनुसार गर्नुपर्ने शवयात्रा अनि दाहसंस्कार सम्पन्न गर्नु थियो । मलामीसहित मसानघाट पुगेका शोक सन्तप्त परिवारजन र आफन्तहरू यस विछोडको घडीमा मन बिसाएर आँखा रसाउन पनि पाएनन्, मृतकको सम्झनामा डाँको छाडेर रुन पनि पाएनन्, भिजिलान्ते शैलीमा एक भीड जाइलाग्यो अनि शवयात्रा अगाडि नबढाउन र त्यहाँ मृतकको दाहसंस्कार नगर्न निषेधाज्ञा जारी गर्‍यो ।


शदियौंदेखि आफन्तहरूको दाहसंस्कार हुँदै आएको पिगं मसानघाट अनपेक्षित रूपमा प्रतिबन्धित मात्र हुन पुगेन हूलहुज्जतको तनावपूर्ण अवस्थामा मलामी गएका रैथानेहरूले आत्मसुरक्षाको चिन्ताले पीडामा आँसु पनि झार्न पाएनन् ।


चावहिल अर्थात् चारुमती विहार अवस्थित एक प्राचीन सम्पदाको केन्द्र । भनिन्छ सम्राट अशोककी छोरी चारुमतीले बनाएको बौद्ध विहार भएकाले त्यस विहार उनकै नामबाट चारुमती विहार रहन गएको हो । त्यहाँ मौजुद धन्दो चैत्य, आफ्नो मौलिक वास्तुकलाका कारण अद्वितीय सांस्कृतिक सम्पदाको रूपमा छ, त्यहाँ भेटिएका शिलालेखका अनुसार त्यो चैत्य राजा मानदेवका बाजे वृषदेवको पालामा प्रतिस्थापित हो ।


सम्भवत: अहिलेसम्म प्राप्त प्रमाणप्रमेयका आधारमा उपत्यकाभित्रको सबैभन्दा पुरानो स्तुप हो, त्यो । त्यस्तै, चावहिलको गणेश मन्दिरको पनि त्यस्तै पुरानो ऐतिहासिक कालक्रम छन् । यस अतिरिक्त सांस्कृतिक सम्पदा, जात्रा, मेला, पूजा, संस्कार, परम्पराका रूपमा त्यस क्षेत्रका अनेकन अमूर्त सम्पदा छन् ।


यी सबै मूर्त तथा अमूर्त कला, संस्कृति, सम्पदालाई समयको यस विन्दुसम्म जीवन्तता दिने काम कसैबाट भइरहको छ भने ती हुन् त्यहाँका रैथाने बासिन्दा । समाजशाास्त्रीहरूका परिभाषाअनुसार मृत्यु संस्कार पनि एक अमूर्त सम्पदा हो । दाहसंस्कार गर्ने मसान वा घाट त मूर्त सम्पदा नै भए ।


सम्पदा, संस्कृति संरक्षणका सम्बन्धमा युनेस्कोको मापडण्ड अनि नेपालकै कानुनी प्रावधानअनुसार परम्परा र पुर्खादेखि चलिआएको मूर्त वा अमूर्त सम्पदाका सम्बन्धमा सरोकारवाला समुदायको अग्राधिकार रहन्छ । त्यसलाई कुनै सत्ता, व्यवस्था, कानुन वा बलका आधारमा हनन गर्न सकिन्न । शक्तिका आधारमा त्यसो गर्न खोजिएमा त्यो जातीय संहार सरह वा मानव सभ्यता, संस्कृतिविरुद्धको अपराध ठहरिन्छ ।


अप्रत्याशित थिएन, चावहिलको त्यो घटना । त्यसैले गम्भीर छ । यसको दूरगामी प्रभाव अकल्पनीय हुनसक्छ । रैथानेहरूको शवयात्राको प्रतिकारमा जो जति घटनास्थलमा उत्रिए ती पनि चावहिलकै बासिन्दा हुन् ।


अझ भनौं चावहिल, गंगाहिटी छेउमा रहेको पिगं मसानघाट वरपर केही वर्षयतादेखि नयाँ घर बनाएर बसोबास गर्दै गरेका बासिन्दा हुन् । उनीहरूको एउटै तर्क हो–मानिसहरूको बस्ती विस्तार भइसकेको ठाउँमा मुर्दा पोल्ने काम रोक्नुपर्छ । मनोवैज्ञानिक रूपमा पनि यो ठीक छैन, स्वास्थ्यका लागि पनि हानिकारक छ ।


त्यसैले उनीहरू सडकमा उत्रिए रैथानेहरूको संस्कार, संस्कृति, परम्पराको स्थगनका लागि । यद्यपि, यो पहिलो घटना होइन, २०७४ माघमा पनि यस्तै भएको थियो, ९८ वर्षीया कान्छीमाया शाक्यको दाहसंस्कारको क्रममा पनि त्यहाँका आगन्तुक बासिन्दाले रैथानेहरूविरुद्ध मोर्चा कसेका थिए । त्यसबेला पनि रैथाने बासिन्दालाई आफन्तको मृत्युको पीडामा रुने अवसर दिइएन । यद्यपि, त्यतिखेर स्थानीय जनप्रतिनिधिहरूको रोहवहरमा द्विपक्षीय सहमति भयो र दाहसंस्कार गर्न पाए ।


सामान्यतया हेर्दा यी घटना बाहिरिया आगन्तुक र रैथानेबीचको एकप्रकारको सामाजाकि द्वन्द्वको रूपमा मात्र देखिन सक्छ तर कुरा त्यसो होइन । यथार्थमा यो मुलुकमा विद्यमान संस्कार, संस्कृति, सम्पदा, परम्परा तथा रीतिका सम्बन्धमा राज्यपक्षमा रहेको गैरसंवेदनशीलताको एक निन्दनीय स्वरूप हो । एकातिर राजनेताहरू, सत्तासीनहरू नेपालको पहिचान भनेकै यहाँभित्र विभिन्न समुदायले अंगीकार गर्दै आएका मूर्त वा अमूर्त संस्कृति, सम्पदा हुन् भन्न थाक्दैनन् ।


विशेषत: उपत्यकाका सम्पदा, संस्कृति, परम्परा, जात्रा, पर्व र रीति आदिलाई विश्व बजारमा विज्ञापनका रूपमा पस्काएर आर्थिक आर्जनका लागि लालायित छन् भने अर्कातिर जुन संस्कार, संस्कृतिले त्यहाँको विशिष्ट पहिचान बनाएको छ त्यसलाई संरक्षण र सम्बद्र्धन गर्न उदासीन छन् । त्यसको एउटा ज्वलन्त उदाहरण हो चावहिलको पिगं मसानघाटको सन्दर्भमा अहिले सिर्जित समुदायगत द्वन्दको अवस्था ।


नगरीय सभ्यताको विकासको क्रममा विशेषत: उपत्यकामा मुख्य नदीको भित्री भाग मानवबस्ती अनि त्यसको बाहिर अलिक टाढा अन्तिम संस्कार गर्ने मसानघाटको व्यवस्था, भनिन्छ लिच्छवी कालदेखि नै यसको निरन्तरता रह्यो । संस्कृतिअनुसार यस्ता मसानघाटमा शक्तिपीठ, शिव लिङ्ग तथा गणेशका मूर्ति हुन्थे । तान्त्रिक विद्याका साधकहरूले विभिन्न पर्व, मेलाका क्रममा यस्ता मसानघाटलाई आफ्नो साधनास्थल बनाउनुपथ्र्यो ।


मसानघाट मसानघाटै हो । त्यस स्थानमा हुने क्रिया भनेको अन्तिम संस्कार, दाह संस्कार र मुर्दा पोल्ने नै हो । मसानघाटको प्रयोजन कदापि मानव बस्तीका लागि होइन । प्रचलित संस्कार, संस्कृतिले पनि मसानघाटमा मानव बस्तीलाई स्वीकार गर्दैन । सन्तुलित र सचेत मान्छेले मसानघाट वरपर आफ्नो स्थायी

बसोबास रोज्दैनन् तर, अहिलेको सन्दर्भमा यथार्थ अर्कै छ ।


विशेषत: निर्दलीय शासनकालपश्चात भूमि व्यवस्थापनमा देखिएको विकृतिले सत्तल, पाटी, मठ, मन्दिरदेखि ढुङ्गेधारा, पोखरी, गुठीका घरजग्गा आदिमाथिको अतिक्रमण रोकिएन । सरकारी अधिकारी र जनप्रतिनिधिको मिलोमतोमा ती निजीकरण हुँदै गए । त्यसमा न्यायालयको पनि मौन सम्मत थियो नै ।


यस्तै बेथिति र बेइमानीका आडमा मानिसले खोला, कुलोदेखि मुर्दा पोल्ने मसानघाटमाथि पनि आफ्नो निजी हक दाबीको लिखत हात पारे । कुरा चावहिलको पिगं मसानघाटको मात्र होइन । मैतीदेवी, म्हैपी, शोभाभगवतीको इन्द्रायणी, नयाँबजार, स्वयम्भूपछाडि, कालिमाटी टंकेश्वर, रामाघाट, लखुतीर्थ, टेकु, पाटन बालकुमारी, शंखमूल, नखु भैंसेपाटी, भक्तपुर मनोहरा, हनुमानघाट आदि थुपै्र यस्ता दृष्टान्त छन्, मानव बस्तीको अतिक्रम रह्यो । मुलुकभरि खोजी गरिएमा यस्ता दृष्टान्त बग्रेल्ती पाइन्छन् होला ।


प्रश्न हो यस्ता संस्कृति, सम्पदासँग सम्बन्धित क्रियाकर्म प्रयोजनका लागि भनि व्यवस्था गरिएका जग्गाको स्वामित्व कसरी निजी भए ? कसरी सुक्रीबिक्री सम्भव भए ? भूमि प्रशासनदेखि स्थानीय तह, प्रशासन अनि न्यायपालिका यस्ता कुकृत्यबाट कसरी मुक्त ठहरिए ? अर्को गम्भीर सबाल हो हिजोसम्म पोखरी रहेको ठाउँमा, धाराको पानी बग्ने इलाकामा, पाटी, पौवा, सत्तल, मठ, मन्दिरको अस्तित्व रहेका क्षेत्रलाई मासेर निजी भवन बनाउनका लागि औपचारिक नापनक्सा पासको अनुमति कसरी दिइयो ?


ती अधिकारी, स्थानीय प्रतिनिधि वा निकाय को थिए ? यस्ता मानिसको अन्तिम संस्कार गर्ने, मुर्दा पोल्ने रैथानेहरूको आस्था स्थल मसानघाट परिसरमा बस्ती बसाउनका लागि अनुमति दिने को थिए ? के तिनीहरूलाई अब न्यायको कठघरामा तान्नु पर्छ, पर्दैन ? स्पष्ट होऊ सरकार, राजनेता, जनप्रतिनिधि अनि प्रशासकीय अधिकारीहरूबाट गैरजिम्मेवारीपना नदेखाएको भए आज यो विषद् स्थिति भोग्नुपर्ने थिएन । संस्कृति, सम्पदा, परम्परा, रीति र आस्थाको संरक्षणमा राज्य उदासीन नभएको भए यस्तो विसंगति देख्नु पर्दैनथ्यो ।


सम्पदाको सहर बनाउने वाचा कबोल गरेका उपत्यकाका मेयरहरू आज यसरी खुलस्तसँग समुदायको मूर्त सम्पदामाथि अतिक्रमण हुँदै गर्दा किन मौन छन् होला ? मृत्युपश्चात् चिर शान्ति प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ तर अहिले रैथानेहरूले खुट्टा तन्काएर आफ्नो पुख्र्यौली मसानघाटमा पल्टिन पनि पाइरहेका छैनन्, आफन्तहरूले मलामी जाँदा नि:संकोच रुने अवसर पनि पाइरहेका छैनन् ।


सरकार प्रमुखको समृद्ध नेपालको खाकाभित्र अरू के–के प्राप्त होलान् थहा छैन तर अहिले रैथानेहरूले यस राजमा दिल खोलेर रुन पनि पाइरहेका छैनन् ।

प्रकाशित : मंसिर २९, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?