२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

४० वर्षमा चीनको फड्को

बेइजिङ डायरी
सन् १९७८ मा विश्व अर्थतन्त्रमा चीनको हिस्सा १ दशमलव ८ प्रतिशत मात्र थियो । २०१७ मा १८ दशमलव २ प्रतिशत पुगेको छ । 
चेतनाथ आचार्य

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक पदासीन भएपछि ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा अगाडि सारे । प्रधानमन्त्री ओलीको यो नारा नेपालका दुई छिमेकी मुलुकका कार्यकारीका नाराको नक्कल गरिएको सजिलै अन्दाज गर्न सकिन्छ ।

४० वर्षमा चीनको फड्को

राष्ट्रपति सी चिनफिङले सत्तामा आउनासाथ ‘चिनियाँ सपना’ को नारा घन्काएर चीनलाई पुनरुत्थान गर्ने उद्घोष गरेको २ वर्षपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘मेक इन इन्डिया’ नारा उचाले । चिनियाँ राष्ट्रपति सी र भारतका प्रधानमन्त्री मोदीले आफ्ना नारालाई कार्यान्वयन गर्न विविध कार्यक्रम अगाडि सारेका छन् ।


तर, ओली ठोस कार्यक्रम अगाडि सार्नुको सट्टा झिनामसिना कुरामा अल्झिएर समय बर्बाद गरिरहेका छन् । अरूका नारा नक्कल गर्नुभन्दा कामको नक्कल गरे नेपाली जनता साँच्चै समृद्धिको सिँढी चढ्ने थिए । समृद्ध र सुखी हुन सफल नेतृत्व र प्रभावकारी कार्यक्रमको आवश्यकता पर्छ । जनताप्रति कसरी उत्तरदायी हुनुपर्छ भन्ने चीनबाट सिक्नुपर्छ ।


चीन विश्वकै सबैभन्दा ठूलो विकासोन्मुख मुलुक हो । उसले गरेको प्रगति र विकासले विश्वलाई आश्चर्यचकित बनाएको छ । यो विकास र प्रगतिको पछाडि आधुनिक चीनका प्रणेता तङ स्यावो फिङको योगदानलाई भुल्न सकिँदैन । ४० वर्षअघि तङले जुन गोरेटो कोरेका थिए आज चीन त्यही गोरेटोलाई फराकिलो सडक बनाउँदै बढिरहेको छ । चीनले सुधार र खुलापन सुरु गरेको ४० वर्षमा के कस्ता उपलब्धि हासिल गर्‍यो, छोटो चर्चा गरौं ।


सन् १९७० को दशकमा चीन मूलत: दुईटा समस्याबाट गुज्रिरहेको थियो । एकातिर रुसले चीनमाथि नाकाबन्दी लगाएको थियो भने १० वर्षे सांस्कृतिक क्रान्तिले चीनलाई जर्जर बनाएको थियो । माओ त्से तुङकी कान्छी श्रीमती चियाङ छिङको नेतृत्वमा चाङ छुन छ्यावो, यावो वेनयुआन र वाङ होङवेनले चीनभरि लालआतङ्क मच्चाएका थिए ।


यी चारैजना चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य थिए र उनीहरूलाई ‘ग्याङ अफ फोर’ भनेर चिनिन्थ्यो । उनीहरूकै जोडबलमा माओपछिका नेता तथा चिनियाँ सैन्य आयोगका उपाध्यक्षबाट तङ स्यावो फिङलाई हटाएर कुनै जिम्मेवारी नदिइकन नजरबन्दमा राखिएको थियो ।


पार्टी स्थायी समितिदेखि सडकका भित्तासम्म तङलाई प्रतिक्रान्तिकारी तथा गद्धार पुँजीवादी भनेर भाम गाली गरिएको थियो । १९७६ सेप्टेम्बर ९ मा माओ त्से तुङको मृत्यु भयो । माओको मृत्यु हुनुभन्दाअघि नै प्रधानमन्त्री चाउ एनलाईको मृत्यु भएकाले सो ठाउँमा माओले हुवा कुओफङलाई नियुक्त गरेका थिए । माओको मृत्युपछि हुवा नै पार्टीको सर्वोच्च पदमा पुगे ।


माओको मृत्यु भएको २७ दिनपछि हुवाले चलाखीपूर्वक पार्टी स्थायी समितिको बैठक अक्टोबर ६ तारिख रातको ८ बजे बोलाए । उक्त बैठकमा ‘ग्याङ अफ फोर’ का चारैजनालाई गिरफ्तार गरियो । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले अक्टोबर १६ तारिख मात्र उनीहरूलाई गिरफ्तार गरेको औपचारिक घोषणा गर्‍यो र १० वर्षे सांस्कृतिक क्रान्तिको अवसान भयो । सांस्कृतिक क्रान्तिको अवसानको ९ महिनापछि १९७७ जुलाईमा मात्र तङ स्यावो फिङमाथि गरिएका सम्पूर्ण कारबाही पार्टीले फिर्ता लियो र उनलाई पहिलेकै पदमा बहाली गर्‍यो ।


चिनियाँ कम्युनिष्ट पार्टीको ११ औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक १९७८ डिसेम्बर २२ मा सुरु भयो । यही बैठकले खुला र सुधार नीति ल्याएको हो । खुला र सुधार नीति चिनियाँ कम्युनिष्ट पार्टीमा तङ स्यावो फिङले भित्र्याएका हुन् ।


तङको नीतिलाई पार्टीले अंगीकार गरे पनि तङ कहिल्यै चीनको प्रधानमन्त्री अथवा राष्ट्रपति भएनन् । माओको देहवसानपछि चिनियाँ कम्युनिष्ट पार्टीले अध्यक्ष पद हटाएर महासचिवको नेतृत्व स्थापना गर्‍यो । तङ पार्टीको महासचिव पनि भएनन् । त्यसभन्दा पहिले उनी २ पटक पार्टी महासचिव भइसकेका थिए ।


तङ स्यावो फिङले सबैभन्दा पहिले सनचनलाई आधुनिक सहर बनाउने सपना देखे । त्यतिबेला हङकङ बेलायतको अधीनमा थियो । तसर्थ उनले हङकङको ठ्याक्कै वारिपट्टि रहेको सनचनलाई हङकङजस्तै विकास गर्ने उद्देश्यले सन् १९७९ मा ‘सनचन विशेष आर्थिक क्षेत्र’ घोषणा गरे । आज ४० वर्ष नपुग्दै डेढ सय वर्षदेखि विकसित हङकङकै हाराहारीमा सनचन उभिएको छ । तङको योगदानलाई कदर गर्दै चीनभरि सनचनमा मात्र तङ स्यावो फिङको सालिक बनाइएको छ ।


बिरालो कालो होस् कि सेतो यसले मुसा मार्नुपर्छ भन्ने भनाइसाथ तङले अगाडि सारेको नीतिलाई अहिले चीनमा ‘चिनियाँ विशेषतायुक्त बजारमुखी समाजवादी अर्थतन्त्र’ भनिन्छ । यसको अर्थ के हो भने कम्युनिष्ट नामले मात्र होइन कामले हुनुपर्छ । यही मियोमा घुमेको चीन आज संसारको भर्भराउँदो आर्थिक शक्ति बनिसकेको छ ।


डिप्लोम्याटिक पत्रिकाको एसिया प्यासिफिक अनलाइनका अनुसार सन् १९७८ मा विश्व अर्थतन्त्रमा चीनको हिस्सा १ दशमलव ८ प्रतिशत मात्र थियो भने २०१७ मा १८ दशमलव २ प्रतिशत पुगेको छ । यतिबेला चीनसँग विश्वको सबैभन्दा धेरै विदेशी मुद्रा ३१ खर्ब २० अर्ब अमेरिकी डलर सञ्चिति छ । कुल गार्हस्थ उत्पादनका हिसाबले अहिले चीन ११ खर्ब अमेरिकी डलरसँगै विश्वको दोस्रो ठूलो स्थानमा छ ।


प्रत्यक्ष वैदेशिक लगानीका हिसाबले चीन विश्वको तेस्रो स्थानमा आउँछ । सन् २०१७ सम्ममा चीनले एक खर्ब ७० अर्ब अमेरिकी डलर बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको छ । ४० वर्षमा चीनले आर्थिक विकाससँगै गरिबी निवारणमा पनि छलाङ मारेको छ ।


विश्व बैंकको तथ्याङ्कअनुसार १९७८ मा चीनमा गरिबीको रेखामुनि रहेका नागरिकको संख्या ५४ करोड २० लाख थियो । त्यतिबेला चीनको जनसंख्या ९६ करोड २५ लाख ९० हजार थियो । २०१८ सम्म आइपुग्दा गरिबीको रेखामुनि रहेकाहरूको संख्या लगभग ३ करोड छ ।


मंसिर १९ गते चीनको सामाजिक विज्ञान प्रतिष्ठानले जारी गरेको गरिबी निवारणमा उद्योगको भूमिका शीर्षकको नीलो पत्रअनुसार विगत पाँच वर्षमा चीनमा गरिबीबाट मुक्त भएकाहरूको संख्या ६ करोड ८५ लाख ३० हजार छ । हरेक वर्ष १ करोडलाई गरिबीबाट मुक्त गरिँदै आएको छ ।


२०१८ को अन्तसम्ममा वर्तमान मापदण्डमा आधारित ग्रामीण क्षेत्रको गरिबी जनसंख्या ८० प्रतिशत घट्नेछ भने ६० प्रतिशत गाउँ गरिबीबाट मुक्त हुनेछन् र ५० प्रतिशत जिल्ला गरिबीबाट मुक्त हुनेछन् । सन् २०२० सम्ममा चीनले शतप्रतिशत नागरिकलाई गरिबीको रेखामाथि उठाउने घोषणा गरेको छ ।


तङ स्यावो फिङले सुरु गरेको सुधार र खुलापनमा वर्तमान चिनियाँ राष्ट्रपति सी चिनफिङको सपनासँगै भ्रष्टाचार निर्मलीकरणले विकासलाई द्रुत गतिमा बढाएको छ । विशाल भूमि र अधिक जनसंख्याको तुलनामा उल्लिखित उपलब्धिलाई विश्वले अपत्यारिलो र आश्चर्यजनक मानेको छ ।


चीनका यस्ता उपलब्धिबाट नेपालले के सिक्ने ? नेपालले नारा मात्र नक्कल गर्ने कि आर्थिक विकास र गरिबी निवारणका व्यावहारिक कार्यक्रम पनि अगाडि सार्ने ? भौतिक विज्ञानको नियमअनुसार दुईवटा ठूला तातोपानीका भाँडाका बीचमा चिसोपानीको गिलास राख्यो भने त्यो गिलासको पानी पनि तात्छ । दुई विशाल आर्थिक शक्तिका बीचमा रहेको नेपालले छिमेकी मुलुकको विकासबाट सिक्न सक्नुपर्छ ।


जतिसुकै सफा र ठूलो घरमा बसे पनि छिमेकी गरिब र फोहोर छ भने आफ्नो पनि इज्जत रहँदैन भन्ने चिनियाँ भनाइअनुसार चीनले छिमेकी मुलुकको आर्थिक विकासमा सहकार्य गर्ने घोषणा गरेको छ । विदेशमा गरिने सहयोग र लगानीलाई चीनले एकद्वार नीतिअनुसार ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) मार्फत बढाएको छ ।


नेपालको उत्तरतिरको १४ सय किलोमिटरभन्दा लामो सीमा चीनको स्वायत्त प्रदेश तिब्बतसँग जोडिएको छ । नेपालको विकास, समृद्धि, स्थिरता र शान्तिले चीनको तिब्बतलाई पनि प्रत्यक्ष/परोक्ष असर पार्ने गर्छ । त्यसकारण नेपालको समृद्धि र विकासमा चीनले चासो राखिरहेको छ । नेपालचाहिँ भ्रष्टाचार र कुशासन पालेर फोस्रा नारा मात्र लगाउन व्यस्त छ ।


लेखक चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सी.आर.आई.) नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन् ।

[email protected]

प्रकाशित : मंसिर २९, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?