१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बच्चाकै सम्पादन !

आनुवंशिक गुण परिवर्तन गराएर बच्चा जन्माउनु चिकित्सकीय क्षेत्रमा खतरनाक अपराध हो ।
न्युयोर्क टाइम्स

काठमाडौँ — ढिलो–चाँडो यो हुनु नै थियो– एक बदमास चिनियाँ वैज्ञानिकले आफूले दुइटा मानव भ्रूणको वंशाणु (जिन) को सम्पादन गरेर त्यसलाई एक महिलाको गर्भमा राखी अनुवांशिक गुण परिवर्तन गरिएका दुई बालिकाको जन्म गराएको दाबी गरेका छन् । यो कुनै विज्ञानको काल्पनिक कथा होइन । 

बच्चाकै सम्पादन !

यदि यो सत्य हो भने जैविक रूपमा स्वचालित हुने निर्देशनलाई बीचमा प्रभावित गर्दा अब उनीहरूले त्यही चिज आफ्नो बच्चा र त्यसपछिको पिढीमा सार्दै जानेछन् । यो चिकित्सकीय क्षेत्रमा सबैभन्दा खतरनाक अपराध हो । यसको घोर भत्र्सना गरेर मात्रै पनि पुग्दैन ।


कुनै दिन एउटा औषधिको चक्की खाँदैमा पनि वंशाणु सम्पादित हुने प्रविधि विकसित होला । त्यो समय भने आइसकेको छैन । अहिले पनि अनुवांशिक गुणलाई आफूखुसी सम्पादन गर्नुमा धेरै ठूलो जोखिम छ । के सम्पादन गर्दा के हुन्छ भन्ने निकै कममात्रै थाहा छ ।


केही वर्षयता, अझ पछिल्लो शताब्दीमा अनुवांशिक गुण सम्पादन गर्ने विषयमा हामी धेरै अगाडि बढेका छौं । ‘क्रिस्पर’ नाम दिइएको उक्त विधि अनुसार कुनै पनि जैविक वस्तुको डीएनए सिक्वेन्सको केही भागलाई सम्पादन गर्ने गरिन्छ । यो प्रविधिले विज्ञानलाई नयाँ आयाम दिएको छ । करोडौं ‘ए’, ‘सी’, ‘टी’ र ‘जी’ शब्दबाट निर्मित अनुवांशिक गुणले नै हामी बनेका हौं ।


विश्वमा विभिन्न रोगको निदानका लागि धेरै प्रकारका चिकित्सकीय परीक्षणहरू भइरहेका छन् । जसमा विशेष गरेर हेमोफिलिया, थालासिमिया र सिक्कल सेल एनिमिया छन् । यस प्रकारको परीक्षण र हालै चीनमा गरिएको परीक्षणमा ठूलो भिन्नता छ ।


रोगको निदानका लागि रोगीको वंशाणुलाई सम्पादन गर्दा त्यो अर्को पिढीमा सरेर जाँदैन । तर चिनियाँ वैज्ञानिकको परीक्षणले भने कालान्तरसम्मै प्रभाव पार्ने निश्चित छ, अर्को पिढीमा मात्रै होइन । यस प्रकारका परीक्षणहरू प्रारम्भिक तहमै छन् । यसको नतिजा र त्यसले उपचारलाई कति प्रभावकारी बनाउँछ भन्ने थाहा भइसकेको छैन । यसको प्रभाव जेसुकै भए पनि त्यो बिरामीमा मात्रै सीमित रहन्छ, जसले जानेरै उक्त अनुसन्धानमा सहभागिता जनाएको हुन्छ ।


मानव भ्रूणमा पनि यस प्रकारका अनुसन्धानहरू प्रयोगशालाभित्र भएका छन् । तर त्यस्ता भ्रूणलाई कुनै महिलाको गर्भमा प्रत्यायोजित गरिएको छैन । यस प्रकारको वंशाणु सम्पादनले जन्मिने बच्चाको सम्पूर्ण कोषलाई नै प्रभाव पार्छ र त्यो अर्को पिढीमा पनि प्रत्यायोजित हुन्छ ।


भौतिकशास्त्री डा. हे जियानक्वीको जो चिकित्सक पनि होइनन्, उनको नेतृत्वमा चीनको साउदन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, सेन्जेनमा गरिएको चिनियाँ अध्ययन विशेष गरेर एचआईभीलाई शरीरको कोषमा प्रवेश दिने सीसीआर फाइभ नामक वंशाणुमा केन्द्रित थियो ।


उक्त वंशाणुलाई सम्पादन गरेर एचाआईभी प्रतिरोधी बनाउनु एड्स रोकथामका लागि अग्रगामी कदम हुनसक्ने भए पनि त्यो आवश्यक भने थिएन । किनभने त्यस प्रकारको सम्पादनले अन्य रोगहरूको संक्रमण बढ्न सक्छ । पहिले वयस्कमा गरिएको अध्ययनमा सीसीआर फाइभ वंशाणुलाई निस्क्रिय पारेर हेरिएको थियो ।


त्यसैले पनि अहिले चिनियाँहरूले गरेको अनुसन्धान आवश्यक थिएन । यो नैतिक रूपमा अमान्य कुरा हो । जुन विषयमा आफूलाई सम्पूर्ण रूपमा ज्ञान छैन, त्यसमा अनुसन्धान गर्नै हुँदैन र मिल्दैन पनि ।

अनुवांशिक गुणलाई निर्देश गर्ने वंशाणुलाई सम्पादन गर्दा अन्य रोगसँग लड्ने क्षमतामा ह्रास आउन सक्छ ।


हालसम्म भएको अध्ययन अनुसार क्रिस्पर विधिबाट गरिने सम्पादन लेजर प्रविधिझैं सही छ कि छैन भन्ने पनि अध्ययनकै क्रममा छ । र यसरी परिवर्तन गरिएको वंशाणुको सिक्वेन्सले लक्षित वंशाणुमा मात्रै प्रभाव पारेको छ कि छैन भनेर वंशाणु सम्पादन गर्नुपूर्व र पछि पनि अध्ययन गर्नुपर्ने हुन्छ ।


अहिले यी सबै अध्ययन प्रारम्भिक चरणमै भएकाले कसैले पनि यकिन साथ केही भन्न सक्ने अवस्था रहँदैन । हामीले नचाहिँदो परिवर्तन देखेनौं भन्दैमा त्यहाँ सबै ठिक छ भन्न सकिँदैन । अनुवांशिक गुण ६ अर्ब ‘लेटर’ (‘ए’, ‘सी’, ‘टी’ र ‘जी’ शब्द) हरूको सञ्जालले निर्देशित हुन्छ । जसलाई सम्पादन गर्दा कसले, कहाँ, के प्रभाव पार्छ थाहै हुँदैन । त्यसैले पनि यस प्रकारको सम्पादन गर्दा धेरै होशियारी र अध्ययनको विकल्प छैन ।


यस्तोमा चिनियाँ अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धानलाई बायोमेडिकल समुदायमा समीक्षाका लागि पेस गरिएको पनि छैन । उक्त सम्पूर्ण प्रक्रियामा के गरियो वा कस्तो प्रकारको सम्पादन गरिएको छ भन्ने यकिन छैन । यस्तै लक्षित वंशाणुलाई मात्रै निस्तेज बनाइएको हो वा होइन भन्ने तथ्यांक पनि सार्वजनिक गरिएको छैन । र त्यसलाई प्रमाणित गर्न पनि कोषको प्रयोगशालामा परीक्षण गर्नुपर्छ ।


विज्ञानमा गरिएका अनुसन्धानहरू पारदर्शी हुनुपर्छ । तर यहाँ अनुसन्धानकर्ताको युट्युबमा उपलब्ध भिडियोमात्रै छ र त्यसमा उनले निसंकोच यो प्रक्रिया सम्पूर्ण रूपमा सुरक्षित भएको दाबी गरिरहेका छन् ।

उता डा. हेको विश्वविद्यालयले यो अनुसन्धानबारे अनविज्ञता प्रकट गर्दै छानबिन भइरहेको जनाएको छ । विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा मानव भ्रूणको वंशाणुमा गरिएको सम्पादनलाई शैक्षिक नैतिकता र आचारसंहिताको उल्लंघन भनेर खण्डन गरिएको छ ।


भविष्यमा यस प्रकारको अनैतिक क्रियाकलापमा कुनै पनि वैज्ञानिकलाई सामेल हुन नदिन अन्तर्राष्ट्रिय रूपमै पहलकदमी हुनुपर्छ । डा. हेको सन्दर्भमा उनलाई विश्वविद्यालयले हदैसम्मको कारबाही गर्नु जरुरी हुन्छ । साथै सरकारले पनि यस प्रकारको अनुसन्धानलाई निरुत्साहित गर्न कडा कदम चाल्नुपर्छ र त्यस्ता वैज्ञानिकलाई ठूलो जरिवानाका साथै काम गर्न प्रतिबन्ध लगाउनुपर्छ ।


ती दुई बालिकाहरूको अनुवांशिक गुणमा के परिवर्तन गरिएको छ र त्यो सुरक्षित छ या छैन, हामीलाई थाहा छैन । तर त्यो पूर्णरूपमा नचाहिँदो काम हो भन्नेमा दुईमत छैन । वंशाणुमा गरिने सम्पादनले के कस्तो असर पर्छ भन्ने यकिन नभएकोले अहिले यस प्रकारको कुनै पनि अनुसन्धानमा अगाडि बढ्नु अनुचित हुन्छ ।


–एरिक जे टोपोल

लेखक स्क्रिप्स रिसर्च ट्रान्जिसनल इन्स्टिच्युटका निर्देशकका साथै हृदयरोग विशेषज्ञ हुन् ।

(‘द न्युयोर्क टाइम्स’बाट अनुदित)

प्रकाशित : मंसिर १५, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?