कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

स्थानीय सरकारका बेथिति

दधिराम खतिवडा

काठमाडौँ — जुन उत्साहका साथ निर्वाचन सम्पन्न भएर स्थानीय सरकारको गठन भयो, परिणाम त्यति सन्तोषजनक भएन । अभ्यासरत स्थानीय सरकारको कार्यान्वयनले अहिले जनतामा निराशा बढेको छ । लाखौ खर्च गरेर निर्वाचित भएका जनप्रतिनिधिहरू अहिले अन्योलमा छन् ।

स्थानीय सरकारका बेथिति

निर्वाचन ताका उनीहरूको नारा थियो गाउँ गाउँमा सिंहदरबार तर अहिले गाउँमा सिंह वा प्रतिनिधि आएको र प्रशासनिक कार्य सम्पादन गर्ने दरबार हालसम्म नआएकाले सर्बसाधारणले पीडा नै भोग्नु परिरहेको छ ।


अब्यवहारिक रूपमा विकासका नाममा गाउँ छिरेका डोजर डाँडापाखा, कान्ला जोत्दै हिडेका छन् । जनप्रतिनिधिहरूलाई बिकासको जाँगर यतिसम्म चढेको छ की उनीहरूलाई न बस्ती जोखिममा पर्ने ख्याल, नत सामाजिक, साँस्कृतिक तथा वातावरणीय प्रभाव न्युनीकरण सम्बन्धी चेतना नै छ । यसले गर्दा वर्षातमा कतिले ज्यान गुमाउनु पर्यो, कति गाउँ बस्तीहरू पहिरोको उच्च जोखिममा परेका छन् । नियम बिपरित डेजर जोताउने काम मात्र बिकास हो त भन्ने प्रश्न मात्र उठेको छैन, यो एउटा अपारदर्शिताको ज्वलन्त उदाहरणका रूपमा देखिएको छ । चुनावी अभियानमा घरघरमा छरेका घोषणापत्रमा उल्लेख गरेका २ ओटा बुँदा मात्र कार्यान्वयन गरे पनि झिनो अपेक्षा त लिन सकिन्थ्यो ।


स्थानीय तहमा हालको अधिकार सम्पन्न स्थायी एवम् दिगो सरकार भनिएको सार्वजानिक संयन्त्रमा सेलेक्टेड र इलेक्टेड समूहबीचमा आआफ्ना घमण्ड देखिरहेको छ । सेलेक्टेड वा कर्मचारी र इलेक्टेड वा जनप्रतिनिधि, एउटाले नीति, ऐन, नियम, कानुन र अनुभवको घमण्ड देखाउँदै आएको छ भने अर्कोलाई जनताले चुनेर पठाएकोले आफु सर्वेसर्वा नै हुँ भन्ने दम्भ छ । कर्मचारी मलाई सबै थाहा छ, जानेको छु, भन्छन् भने जनप्रतिनिधि सम्पुर्ण केन्द्रिय निर्णायक नै आफु हुँ भन्ने दम्भ छ । जनप्रतिनिधि र कर्मचारी एकअर्कालाइ टेर्दैनन् । कतिपय स्थानीय निकायमा प्रतिनिधि र कर्मचारीहरूका बीचमा बिवाद भइ कुटाकुटको खबर समेत सार्बजानिक भइरहेका छन् । स्थानीय निकायको निर्वाचन भएको एक वर्ष भन्दा बढी गुज्रिंदा भैसी हिडाउने कच्ची सडक बाहेक कुनै परिवर्तन देखिएको छैन ।


नागरिकको सन्तुष्टि र मुलुकको विकास र सबृद्धिमा निहित रहेका यी दुबै पक्षबीच नङ र मासुको सम्बन्ध जबसम्म हुन सक्दैन तबसम्म सर्बसाधारणमा असन्तुष्टि कायमै रहन्छ र त्यसको असर सेवा प्रवाहमा पर्न गई समाज र मुलुकको विकासको गतिमा नै अवरोध सिर्जना हुनपुग्छ । सेवा प्रवाहमा मुख्यगरी राज्यको विद्यमान कानुनमा टेकेर काम गर्ने, हेल्प डेस्क राखेर जनतालाई सुसूचित गर्ने जस्ता कार्यहरू पर्दछन् । कर्मचारीहरू स्थानीय निकायमा पुरानै ढङ्गले काम गर्दै आइरहेका छन् । यद्यपि, केही जनप्रतिनिधिमा पनि यस्तो समस्या रहिरहेको छ । अर्कातर्फ कर्मचारी पनि पर्याप्त नभएकाले योजनागत प्रशासनिक कार्यक्रमहरूले गति लिन सकेको छैन ।


कर्मचारीमा बीसौँ वर्ष स्थानीय निकायमा काम गरिरहेका छौं, त्यसकारण हामीलाई ऐन/नियमबारे सबै थाहा छ भन्ने घमन्ड छ । तर, यो त उहिलेको पञ्चायती स्थानीय निकाय जस्तो त होइन नी ॽ जनप्रनिनिधिमा पनि आफू ‘सर्वेसर्वा’ हौं भन्ने घमन्ड छ । दुइटैको साथ र सहयोग भयो भने प्रविधिमैत्री सेवा प्रवाह र विकास निर्माणलाई गुणस्तरीय बनाउन निकै सहज र प्रभाबकारी हुन्छ ।


घर दैलोमा पुगेन सेवा


लोकतान्त्रिक ढङ्गले जनकल्याण सम्बन्धी कार्य सञ्चालन गर्ने संयन्त्र कर्मचारी प्रशासन हो । त्यहाँबाट नागरिकले कल्याणकारी सेवा प्राप्त गर्न सक्नुपर्छ । सरकारबाट आफ्ना नागरिकहरूको हित र उन्नतिका लागि नियमित, आकस्मिक, सेवा सुबिधाहरू, बिकासका गतिबिधिहरूको सर्बसुलभ उपलब्धताले नागरिकको मन जित्न सक्नुपर्छ । अहिले दिगो सरकार भनिने स्थानीय तहमा झन भ्रष्टाचार मौलाएको खबर सार्बजानिक भइरहेका छन् । यसले समग्र जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरूको बिश्वसनीयता माथि उत्तिकै ह्रास आएको देखिन्छ ।


जनमुखी शासन, प्रभावकारी सार्वजनिक सेवा, कानुनी राज्य, आर्थिक तथा भौतिक समृद्धि, जवाफदेहीता, पारदर्शिता, नागरिक अधिकारको प्रत्याभूति शान्ति सुव्यवस्था, सामाजिक प्रगति, सामाजिक एकीकरणको माध्यमबाट मात्र समाज र मुलुकमा सुशासनको अनुभुति हुन्छ । जुन नागरिकले अपेक्षा गरेका बिषय हुन् ।


सरकारले बजेटमार्फत सार्वजनिक प्रशासनलाई जनमैत्री, पारदर्शी, छिटो छरितो र प्रभावकारी बनाउन ई-गभरमेन्स (बिधुतीय सुशासन सेवा) महत्वकांक्षी योजना सार्वजानिक गरेको छ । तर सेवा प्राप्तिका लागि नागरिकहरूले सास्ती खेपिरहेका छन् । प्रशासनिक निकायहरूमा गोजी छामेर मात्र हुँदैन, भेटि बुझाउनै पर्छ । अन्यथा अनावश्यक ढिलासुस्ती, हैरानी हुन्छ, कित कामै हुदैन । दुरदराजका क्षेत्रहरूमा यो संस्कार अझैसम्म ब्याप्त छ । हालसम्म सेवा प्रबाह र नागरिकले पाउने सेवाको अवस्था सन्तोषजनक छैन । यसका विभिन्न कारण देखा परेका छन् । संरचनात्मक ढाँचा बदलिरहनु, चुस्त व्यवस्थापन नहुनु र आचरण र व्यवहारमा सुधार नहुनु । विधिको शासन मान्ने किसिमको संस्कृतिको विकास हुन सकेन । दण्डहिनता बढ्यो । भ्रष्टाचारको रोकथाम जुन रूपमा हुनुपर्ने हो त्यो हुन सकेको छैन । यहि संस्कारको निरन्तरता रहेमा स्थानीय सार्वजनिक प्रशासन कहिले सुध्रने ॽ


अनियमितता नियन्त्रणको सन्दर्भमा जोडतोडले लागेको सरकारी संयन्त्र नै सफल हुन सकिरहेको छैन । यत्रो प्रयासका बीच पनि नरोकिएको र दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको छ । ऐन, कानुन र विधिको शासनको बलियो कार्यान्वयन हुनुपर्छ । सार्वजानिक सेवा लक्षित वर्ग र लक्षित स्थानसम्म पुगेको सुनिश्चित गर्नुपर्दछ । सेवा प्रवाह वा वितरणले सेवा सिर्जना हुने कुरादेखि सेवाग्राहीले सेवा प्राप्त गर्ने र सो सेवा सहज रुपमा उपयोग गर्ने कुरासम्म समेटिनुपर्दछ । सार्बजानिक प्रशासन संयन्त्रमा दलिय भातृ संगठनमुक्त, स्वतन्त्र र मर्यादित र अनुसाशित हुनु जरूरी छ किनभने त्यसभित्रबाट बिशुद्द नागरिकको हितमा सेवा प्रबाह हुनुपर्दछ । गलत मानसिकता परिवर्तन गरी धारिलो औजारका रूपमा स्थानीय प्रशासनलाइ रूपान्तरण गरिनुपर्दछ ।


पुर्बाधार अभाव कायमै


अधिकांश स्थानीय तहमा अझै बैंकिङ सेवा सञ्चालन हुन सकिरहेको छैन । स्थानीय सरकारको गठन भएको डेढ वर्ष बितिसक्दा पनि हालसम्म पनि बैकिङ सेवा सुरूवात भएको छैन । करिब १ वर्ष अगाडि नै नेपाल राष्ट्र बैंकले सम्बन्धित बैंकहरूलाई स्थानीय तहमा शाखा खोल्न परिपत्र गरेको भए पनि उक्त निर्देशनको वेवास्ता गर्दै बैंकले शाखा खोल्न अटेर गरेका छन् ।


नियमित बिद्युत, ईन्टरनेट, भवन तथा सुरक्षा अभावको कारण देखाउँदै बैंकहरु शाखा गाउँपालिकामा केन्द्रमा लैजान आनकानी गरिरहेका छन् । बित्तीय कारोबार तथा सेवाका लागि जिल्ला सदरमुकाममा नै धाउनु पर्दा अहिलेको बिकेन्द्रित शासन प्रणालीले पञ्चायत कालकै झल्को दिन्छ । नियमित बिद्युत र इन्टरनेट सेवा उपलब्ध नभएका कारण हालसम्म पनि सेवा पुगेको छैन । सरकारको गत असार मसान्तभित्र सबै गाउँपालिकाको केन्द्रमा बैंक स्थापना गर्ने नीति तथा योजना भए पनि स्थानीय तहमा अझै बैंक गएका छैनन् । यसका साथै स्थानीय प्रहरी चौकी, आधारभुत स्वास्थ्य केन्द्रसमेत गाउँपालिका केन्द्रमा छैनन् ।


बैंक नहुँदा आर्थिक कारोबार गर्नका लागि कर्मचारी नै सदरमुकाममा खटाएर राख्नु परेको छ । बैंक नभएपछि नागरिकलाई प्रवाह गरिने सेवा प्रभावित भएका छन् भने विकास निर्माणका काममा स्थानीय तहले गर्ने खर्चमा पनि कमी देखिएको गुनासो बढेको छ । स्थानीय सरकारका माग सुनुवाइ नगरेको भन्दै गाउँपालिका प्रमुखहरू आक्रोशित बनेका छन् । गाउँपालिकामा केन्द्रमै यस्तो हालत देखिएको छ भने सबै वडाको स्थिति झन नाजुक छ । पूर्बाधार बिना नै सरकारले महत्वकांक्षी योजना बजेटमार्फत प्रस्तुत गरेको छ तर कार्यान्वयन पक्ष फितलो हुँदा स्थानीय तहले सास्ती खेप्नुपरेको छ ।


अधिकार प्रयोगमा सुस्तता


अधिकार सम्पन्न स्थानीय निकायका वडापालिकाबाटै समाधान हुनसक्ने विवादहरू त्यहाँका जनप्रतिनिधिले गाउँपालिकाको न्यायिक समितिमा पठाउने र न्यायिक समितिले विभिन्न कारण देखाउँदै प्रहरी र अदालत पठाउने गरेका छन् । संविधानले दिएको न्यायिक अधिकारको प्रयोगमा स्थानीय सरकार सुस्त र निष्प्रभावी हुँदै गएको छ । स्थानीय सरकारका वडाका जनप्रतिनिधि र न्यायिक समितिले अन्यायमा परेकालाई न्याय दिलाउने काम गर्न सकिरहेका छैनन् । स्थानीय सरकारको हैसियतमा रहेका स्थानीय जनप्रतिनिधि समस्या समाधान गर्नुको सट्टा थाहा नपाएझैं कानमा तेल हालेर बस्ने गरेका छन् ।


स्थानीय तह सञ्चालन ऐन २०७४ मा जन्मदर्ता, विवाह दर्ता, सम्बन्धविच्छेदलगायतका पञ्जीकरण सम्बन्धी कामको छिनोफानो वडापालिकाबाटै हुनसक्ने प्रावधान छ । जन्म, विवाह भएको देखेको वा थाहा पाएको भएमा वडा प्रतिनिधिहरू आफैं सूचक बसेर भए पनि यस्ता बिषयमा सनाखत गर्न पाउने प्रावधान कानुनमा छ । कानूनमा यस्तो व्यवस्था भए पनि जनप्रतिनिधिहरूले तदारुकताका साथ काम नगर्दा सर्बसाधारण न्याय पाउनबाट वञ्चित छन् । अझै पनि मोटो रकम खर्चेर अदालत नै पुग्नुपर्ने बाध्यता छ । अधिकांश अदालत पुग्ने विवादहरूमा अंशबण्डा, मानाचामल, सम्बन्ध विच्छेदलगायतका छन् । जुन मुद्दालाई स्थानीय तहबाटै हल गर्न सकिन्छ । तर, जनप्रतिनिधि क्रियाशील नहुँदा विवादहरू अदालतसम्म पुग्ने क्रम रोकिएको छैन । जनप्रतिनिधिहरूको महाराज शैली र निश्क्रियताले सर्बसाधारण निराशा बढेको छ । सामान्य विवाह दर्ता र जन्मदर्ता सम्बन्धी विवादहरू स्थानीयस्तरमै सुल्झाउन कानूनी जटिलता, कर्मचारी र भौतिक संरचना अभाव कायमै छ । समस्याको रूपान्तरण कहिले हुने?


स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले विभिन्न ११ किसिमका मुद्दामा आफैं निर्णय गर्न र मेलमिलापको माध्यमबाट मुद्दा पनि टुंगो लगाउन सक्ने अधिकार न्यायिक समितिलाई दिएको छ । त्यस्तै हालत छ वडा तहका जनप्रतिनिधिहरूको पनि । उनीहरू पनि सकेसम्म गाउँठाउँका विवाद मिलाउन खोज्दैनन् । विवाद समाधान गर्दा एउटा पक्षतर्फ लाग्नुपर्ने र न्यायनिसाफ दिनुपर्ने भएकोले भोलि मुद्दा हार्ने पक्षले नराम्रो तरिकाले हेर्ने ठानेर जनप्रतिनिधिहरू सकेसम्म मुद्दामामिला मिलाउनबाट टाढै रहने गरेका छन् । संघीय संरचनामा वडापालिकालाई आफ्नो क्षेत्रभित्रका कतिपय विवादहरू टुंगो लगाउने अधिकार छ ।


आफ्नै गाउँठाउँ वा परिवारका विवाद समाधान गर्न गाउँठाउँकै जनप्रतिनिधिलाई सजिलो होला भनेर स्थानीय सरकार सञ्चालन ऐनमा समाधानको जिम्मा स्थानीय जनप्रतिनिधिलाई दिइएको हो । कतिपय परिस्थितिमा जनप्रतिनिधि र विवादमा संलग्न व्यक्तिहरू नातेदार नै हुन्छन् । यस्तो घटनामा जनप्रतिनिधिहरूले न्याय–निसाफ दिएर नातागोतामा नराम्रो बन्न चाहँदैनन् या पहुँच हुनेलाई न्याय दिन्छन् । जनप्रतिनिधिले आफू सूचक बसेरै कतिपय विवाद वडामै मिलापत्र गर्न सक्छन् तर वडाका जनप्रतिनिधिहरू यस्ता विवादका घटनामा सूचक बस्नै चाहँदैनन् । यस्तो हालत नैतिक मूल्य र सदाचार कता पुग्ला ? सुशासनको अवस्था कस्तो होला ?


सुशासनको अभाब


शक्ति र स्रोतसाधन सम्पन्न स्थानीय तहमा अनियमितताको बढ्दो क्रममा छ । स्रोतसाधन र अधिकार क्षेत्र आफ्नो व्यक्तिगत स्वामित्वमा रूपान्तरण गर्ने प्रवृत्ति हावी भएको छ । संघीय प्रणालीले राज्यशक्तिको अधिकार र स्रोतसाधन जनताको नजिक पुर्याएको छ । ती स्रोत साधनसँगै व्यक्तिगत लाभका आकांक्षा पनि बढिरहेका छन् ।


स्थानीय जनप्रतिनिधि स्वच्छ चरित्रका भएमा कर्मचारीलाई अनियमितता गर्न सजिलो हुँदैन । बिशेष गरि पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष अनियमित कार्यबाट टाढा रहने हो भने स्थानीय स्तरमा भ्रष्टाचार हुन गाह्रो हुन्छ । स्थानीय जनप्रतिनिधिमा राजनीति कमाउने पेशा होइन, यो समाज सेवा हो, सेवाकै माध्यमबाट सन्तुष्ट हुने र प्रतिष्ठा आर्जन गर्ने हो भन्ने महसुस हुनु आवश्यक छ । सम्बन्धित राजनीतिक दलले पनि चुनावमा उम्मेदवार बनाउने समयमै विचार गर्ने र आफ्नो पार्टीबाट चुनिएका प्रतिनिधिको गतिविधिमा निगरानी राख्नु जरुरी छ । राजनीतिक नेता हुनु भनेको आफ्नो विचारलाई सार्वजनिक नीतिमा रूपान्तरण गर्न पाउने अवसर हो । यस्ता व्यक्ति नै व्यक्तिगत लाभमा तल्लीन हुने हो भने समाज कस्तो होला, नैतिक मूल्य र सदाचार कता पुग्ला ? सुशासनको अवस्था कस्तो होला ?


स्थानीय स्तरमा सम्भावित अनियमित र अनैतिक कार्य हुन नदिन स्थानीय गाउँपालिका नगरपालिकाको नेतृत्वले कानुनको पालना, पारदर्शिता, स्थानीय आचारसंहिता निर्माण र कार्यान्वयन गर्नुपर्छ । पक्षपातरहित सेवा, खर्च विवरण प्रकाशन, नागरिक सुनुवाइ, गुनासो व्यवस्थापन, सम्पत्ति विवरणको प्रकाशन, सदाचार भेला र सार्वजनिक प्रतिज्ञा पनि सुशासन र सदाचार विकासमा सहायक हुनेछन् । सकारात्मक सोचबारे प्रशिक्षण, सम्पूर्ण सूचनासम्म नागरिकको पहुँच, सही र वास्तविक तथ्यांक संकलन र अभिलेख व्यवस्थापन, गुणस्तरीय सेवा प्रवाह, समय पालन, मितव्ययिता, सक्षम र इमान्दार अनुगमन र सुपरीवेक्षणको माध्यमबाट सदाचार सुनिश्चित गर्न सकिन्छ । स्वतन्त्र स्थानीय मिडिया, पछाडि परेका र पारिएका जनसमुदायको सार्वजनिक गतिविधिमा संलग्नता आदि जस्ता माध्यमबाट सदाचार र सुशासन सवल हुन्छ । यसबाहेक प्रभावकारी नियमन, सक्षम लेखा परीक्षण र आवश्यक परेमा भ्रष्टाचार नियन्त्रण गर्न स्थापित निकायबाट निश्पक्ष, तर निर्मम कारवाहीको पनि आवश्यकता पर्न सक्छ ।

[email protected]

प्रकाशित : मंसिर १३, २०७५ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?