घृणायुक्त भाषणको मनोविज्ञान

‘घृणायुक्त अभिव्यक्ति धेरै पटक सुनिरहनेहरू पूर्वाग्रही हुन्छन् । यसले मान्छेको मौखिक आक्रोशलाई गम्भीरतापूर्वक नलिने परिपाटी विकास हुँदै जान्छ ।’
रिचर्ड ए फ्राइडम्यान

काठमाडौँ — केराजनीतिज्ञहरू त्यसमा पनि राष्ट्रपतिले बोलेका शब्दहरूले कसैलाई केही प्रभाव पार्छ ?जब अमेरिकी राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प निर्वाचित भए, त्यस दिनदेखि उनले आफ्ना राजनीतिक दुश्मनलाई दानवीकरण गर्दै मूर्ख करार गर्न थालेका छन् ।

उनले कागजपत्र नभएका आप्रवासीलाई जनावर भने । उनको व्यवहारले देशभर घृणाको मौसम छाएको छ, जसलाई तथाकथित ‘राष्ट्रवादी मिडिया’ र भाइरल हुने अनलाइन संस्कृतिले बढावा दिएको छ ।


यद्यपि विषवमन युक्त भाषण नै हिंस्रक व्यवहारको कारक हो भनेर प्रमाणित गर्न भने कठिन हुन्छ । तर मान्छे सामाजिक प्राणी हो, तसर्थ आफू वरपरको वातावरणले असर नगर्ने भन्ने हुँदैन । केही साताअघि पिटर्सबर्गको स्यानगोगमा ११ जना जुइसको हत्यारा ट्रम्पको घोर समर्थक रहेको विषयले केही पनि इंगित गर्दैन त ?


राष्ट्रपति ट्रम्प र उनका समर्थकहरूको घृणायुक्त अभिव्यक्ति र धम्कीपूर्ण भाषणका कारण उनलाई विश्वास गर्नेहरू अन्धाधुन्द काम गर्छन् भन्ने थाहा पाउन तपाईं मनोचिकित्सक हुनै पर्दैन । तर मनोविज्ञान र स्नायु विज्ञान (न्युरोसाइन्स) ले त्यसभित्रको महत्त्वपूर्ण पक्षबारे र व्यक्तिको बोलीको शक्तिबारे ज्ञान दिन सक्छ ।


पोल्यान्डमा गरिएको अध्ययन अनुसार घृणायुक्त अभिव्यक्ति धेरैपटक सुनिरहनेहरू पूर्वाग्रही हुन्छन् भन्ने प्रमाणित गरेको छ । यसले मान्छेको मौखिक आक्रोशलाई गम्भीरतापूर्वक नलिने परिपाटी विकास हुँदै जान्छ । जुन सामाजिक रूपमा नरुचाइने व्यवहार हो ।


यही समयमा ट्रम्पजस्ता राजनीतिकर्मीहरूले आफ्ना समर्थकहरूमा डरत्रास र रिस पैदा गर्छन्, जसले गर्दा उनीहरूको शरीरमा आवेगलाई मलजल गर्ने स्ट्रेस हार्मोन कर्टिसोल र नोरिपाइनफेराइन पैदा हुन्छ । जसले अमिगडला मस्तिष्कको डर पैदा गर्ने भागलाई प्रभावित गर्छ । एक अध्ययनको उदाहरण हेर्ने हो भने धम्कीपूर्ण अभिव्यक्तिले अमिगडलालाई तरंगति गर्छ । यसले गर्दा कुनै मान्छेले सोचविचार गरेर केही गर्न कठिन हुन्छ ।


ट्रम्पले आफ्ना समर्थकलाई अमेरिका पीडित भएको र आप्रवासीको लर्कोको डर रहेको भनेर सहमत गराउन सफल छन् । ‘झुठा र वाहियात समाचार’ त उनको थेगो नै हो ।


जुइसहरूको नरसंहार गर्ने रोबर्ट बोवर्सले घटना गराउनु अघि फेसबुकमा लेखेका छन्, ‘मेरा देशका जनताहरूको नरसंहार म त्यसै टुलुटुलु हेर्न सक्दिन ।’ ट्रम्पले मध्य अमेरिकीका गैरकानुनी आप्रवासीहरूलाई जुइसहरूले नै अमेरिका प्रवेश गर्न सहयोग गरिरहेको भनाइलाई उनले विश्वास गरेको देखिन्छ । यस्तै सीएनएनको कार्यालयमा बम पठाउने सायोक जुनियरलाई सीएनएनले झुठो समाचारमात्रै प्रसारण गर्नेमा कुनै शंकै थिएन ।


यस प्रकारले हिंस्रक हुन अन्धविश्वासी हुनु जरुरी छैन । उपयुक्त वातावरण सिर्जना गरिदिने हो भने जोकोही यसमा फँस्न सक्छ ।


प्रिन्सेटनका मनोविज्ञानका सुसन फिस्के र उनका सहकर्मीहरूले गरेको अनुसन्धानले बाहिरी समूहप्रति अविश्वास हुनेहरू छिटो रिसाउने र आवेशमा आएर हिंस्रक हुने प्रवृत्ति देखिएको छ । यो तब झन् सत्य हुन्छ, जब समाजले आर्थिक कठोरता सामना गरिरहेको र बाहिरबाट आएकालाई आफ्नो जागिरको प्रतिद्वन्द्वी देखिरहेको हुन्छ ।


सोही अध्ययनकी सह–लेखिका हार्वर्ड विश्वविद्यालयकी मनोविज्ञ मिना सिकाराले भनिन्– ‘कुनै समूहलाई रक्षात्मक बनाउँदै त्रास देखाइयो भने उनीहरूले हिंसा ठिक हो भन्ने सोच्न थाल्छन् ।’


राष्ट्रपति ट्रम्पले हिंसालाई बढावा दिन आफूलाई मन नपर्नेहरूको दानवीकरण गर्छन् । ‘यिनीहरू मान्छे होइनन्,’ उनले एकपटक कागजपत्रविहीन आप्रवासीहरूका बारेमा भनेका थिए, ‘यिनीहरू जनावर हुन् ।’

डा. सिकाराको अध्ययनका अनुसार एउटा समूहले त्रास महसुस गर्ने बित्तिकै अर्को समूहको व्यक्ति मान्छे नै होइन भनेर सोच्न कठिन हुँदैन । उनीहरूप्रति कुनै सहानुभूति पनि रहँदैन ।


सन् २०११ मा डा. फिस्के र उनका सहकर्मीले आफूलाई अरूको स्थानमा राख्ने र अर्को व्यक्तिमाथि भइरहेको नैतिक दुव्र्यवहारलाई पहिचान गर्ने सम्बन्धी अध्ययन गरेका थिए । उक्त अध्ययनमा संलग्न रहेकाहरू लागुऔषध दुव्र्यसनी र बिना घरबारका मानिसहरूप्रति असहिष्णु रहेको देखिएको थियो । उनीहरूलाई ती व्यक्तिहरूमा के प्रभाव पर्छ भन्ने कुनै मतलबै देखिएन । यस्ता व्यक्तिहरूको दिमागको एमआरआई गरेर हेर्दा दानवीकरण गरिएका समूहका तस्बिरहरू देख्दा उनीहरूमा सामाजिक भाव दर्शाउन तरंगित हुनुपर्ने भागको सट्टा घृणा महसुस हुने इसुला सुचारु भएको देखिएको थियो ।


डा. फिस्केले लेखेका छन्, ‘मानिसले आफ्ना साथीभाइ वा आफूभन्दा ठूलाहरूले दिएको दबाब र तनावको अवस्थामा आफूमा रहेको पूर्वाग्रहका आधारमा कार्य गर्छन् ।’


त्यसैले राष्ट्रपति ट्रम्प जस्ताले आफ्नो प्रतिद्वन्द्वीलाई दानवीकरण गर्दा ती व्यक्तिलाई सहानुभूति र नैतिक संरक्षणबिना हिंसाको सिकार हुन सहयोग पुर्‍याइरहेका हुन्छन् ।


यदि तपाईंलाई अझै पनि राजनीतिक भाषणले कसैमाथि शारीरिक हिंसा हुनसक्छ भन्नेमा शंका लाग्छ भने त्यसको राम्रो अनुसन्धान याल विश्वविद्यालयका मनोविज्ञ स्ट्यानली मिलग्रामले १९६० मा अध्ययन गरेको ‘उच्च व्यक्तिले भनेको मान्ने मानिसहरूको समूह’ हुनसक्छ ।


त्यस अनुसन्धानमा संलग्नहरूलाई अर्को एक व्यक्तिलाई विद्युतीय झट्का दिन लगाइएको थियो । तर उनीहरूलाई त्यो विद्युतीय तार नक्कली हो भनिएको थिएन । ६५ प्रतिशत सहभागीले उनीहरूलाई अह्राएको कुरा बिना कुनै हिच्किचाट पूरा गरे । त्यसले हामी कुनै पनि उच्च तहको मानिसले भनेका कुराहरूबाट कुन हदसम्म प्रभावित हुन्छौं भन्ने पुष्टि गर्छ ।


अब सोच्नुस्, यदि ट्रम्पले साँच्चै आफ्ना समर्थकहरूलाई कसैमाथि आक्रमण गर्न आदेश दिन्छन् भने स्थिति के हुनसक्छ ? तर्सिनुभयो ? तर्सिनै पर्छ ।


रिचर्ड ए फ्राइडम्यान वेल कर्नेल मेडिकल कलेजका क्लिनिकल साइक्याट्रीका प्राध्यापक तथा साइकोफार्माकोलोजी विभागका निर्देशक हुन् ।

(द न्युयोर्क टाइम्सबाट अनुदित) प्रकाशित : मंसिर ८, २०७५ ०८:०७

प्रतिक्रिया
पठाउनुहोस्

चेपुवामा सुनाकोठी

दामोदर न्यौपाने

ललितपुर — हामी देख्छौं– बाटोमा मान्छे हिंड्छन् । गाईबस्तु हिंड्छन् । सवारीसाधन गुड्छन् । प्राचीन बस्तीका बाटोबारे बुझ्नुभयो भने यतिमा मात्रै सीमित छैन बाटोको उपयोगिता । यहाँ मान्छेका जीवन जोडिएका अनि संस्कार र संस्कृति पनि ।

चालीस वर्ष पहिलाको सुनाकोठी (बायाँ) र हालको सुनाकोठी ।

बाटोसँग जोडिएका पक्ष ख्याल नगरी अन्धाधुन्ध सडक विस्तार गर्दा हाम्रा प्राचीन बस्तीका सम्पदा, संस्कृतिमा प्रत्यक्ष असर परिरहेको छ । यसको एउटा उदाहरण हो ललितपुरको प्राचीन बस्ती सुनाकोठी ।

सुनाकोठीका रामसुन्दर महर्जनको घर भूकम्पले भत्केको ३ वर्ष भयो । उनले घर बनाउने प्रयास गरे पनि नक्सापास नभएकाले रोकिएको छ । किन भएन नक्सापास ? उनी भन्छन्, ‘नक्सा पास गर्दा बाटो छोड्न भन्छन् । बाटो छाड्दा हाम्रो बस्ती मासिन्छ । बस्तीका परम्परा मासिन्छन् । बस्तीका सम्पदा मासिन्छन् ।’ रामसुन्दर महर्जनले पनि घर बनाउन प्रयास गरेको धेरै भयो । उनको पनि समस्या उस्तै छ । सातदोबाटो हुँदै चापागाउँतिर जाने सडकमा पर्ने सुनाकोठीवासीको साझा समस्या हो यो ।

४० वर्षअघिको सुनाकोठी बस्तीको बीचमा इँटा छापेको बाटो छ । यो मुख्य बाटो हो । अरू सहायक बाटा पनि छन् । मुख्य बाटोको दायाँबायाँ पेटी अनि दुवैतिर पेटीको बीचमा केही होचो भाग छ । होचोभागबाट वर्षातमा परेको पानी बग्ने गथ्र्यो । पेटी पनि इँटाले नै छापिएको छ । ‘यो पेटीमा कतै धान सुकाइएका हुन्थे, कतै खुर्सानी,’ आर्किटेक्ट इन्जिनियर पद्मसुन्दर महर्जन भन्छन्, ‘सुत्केरीले घाम ताप्ने ठाउँ पनि हो यो । बालबालिकालाई तेल लगाइरहेका दृश्य देखिन्थे । तर अहिले यो ठाउँमा बाक्लै सवारी गुड्छन् । त्यस्ता गतिविधि त एकादेशका कथा भए । बाटोले प्राचीन बस्तीको मौलिकता मासिदियो ।’

यति मात्रै होइन । यो सडकमा वर्षैभरि अनेक सांस्कृतिक गतिविधि भइरहन्छन् । ढोलाहिटीबाट सुरु हुन्छ सुनाकोठी । ढोलाहिटीदेखि कारकुटहिटीसम्मको क्षेत्र हो सुनाकोठी । ‘यो बीचमा पर्ने बाटोका धेरै सांस्कृतिक संकेत छन्,’ महर्जन भन्छन्, ‘सांस्कृतिक मार्गमा गाडी गुडाउँदा धेरै नै असर परेको छ ।’ न्हुँ दया (नयाँ वर्ष) मा लस्करै कोसेली लिएर हिंड्ने चलन छ यही बाटोबाट । गाईजात्रा, इन्द्रजात्रामा सापारु यही बाटोबाट जान्छन् ।

मंसिर पूर्णिमाका बेला हुने जात्रामा पनि यही बाटो प्रयोग हुन्छ । योमरी पुन्ही भनेर चिनिने मंसिर पूर्णिमाका दिन यहाँ छ : ख जात्रा हुन्छ । एउटा मात्रै खट निकालेर यो जात्रा मनाइन्छ । बालकुमारीको मन्दिरबाट निकालिएको खट यही बाटो भएर सहर परिक्रमा गराइन्छ । माघे संक्रान्तिको बेलामा पनि यो बाटोको रौनक बेग्लै हुन्छ । माघ संक्रान्तिको दिन बिहान घिउ, चाकु चढाउनुपर्छ । ‘यो दिन बिहानैदेखि बाटोभरि पूजा हुन्छ,’ महर्जन भन्छन् ।

होलीको बेलामा पनि पूजा हुन्छ यहाँ । यो दिन सस: पूजा हुन्छ । नेवारी परम्परागत गीत गाइँदै जात्रा मनाइन्छ । चैतको अन्त्यमा अर्काे ठूलो जात्रा हुन्छ । मंसिर पूर्णिमामा बालकुमारीको मात्रै एउटा खट निकालिन्छ । चैतमा भने चारवटा खट निकालिन्छ । बालकुमारी, महादेव, कुमार, गणेशका खट निकालेर यही बाटोबाट सहर परिक्रमा गराइन्छ । चारैवटा खट बोकेर पिङ्ग भन्ने ठाउँमा लगिन्छ । फर्काएर दही–चिउरा खुवाउने चलन छ । यो जात्रालाई महादेव परिवारको मिलनका रूपमा पनि लिइन्छ । जात्राको तेस्रो दिन तीन पटक परिक्रमा गराएर लिंगो ढालिन्छ । लिंगोको टुप्पोमा कागती राखिएको हुन्छ ।

सम्पदा सडकमा
यहाँको मुख्य केन्द्रमा भृगेश्वर महादेव मन्दिर छ । यहाँका पूज्य देवस्थलमध्ये यो मुख्य हो । गुम्बजशैलीको छ मन्दिर । चोकमा विशाल ढुंगा छापिएको छ । महर्जनका अनुसार उपत्यकाका मन्दिरमा भएका ढुंगामध्ये ठूलोचाहिँ यही मन्दिरमा छ ।

मन्दिरभित्र १२ फिट अग्लो ढुंगे त्रिशूल छ । ढुंगाकै बसाह छ । ढुंगे अभिलेख पनि छन् । अभिलेखमध्ये दुईवटा प्राचीन हुन् । नास द्यो: मन्दिर छ । तले शैलीकै जगन्नाथको मन्दिर पनि यहीं छ । भृगेश्वरकै छेउमा छ बालकुमारी मन्दिर । नेवारी कलाशैलीको बेजोड नमुना देख्न पाइन्छ यो मन्दिरमा । दुईतले यो मन्दिरमा तीनवटा धातुका छाना छन् ।

बस्ती कति प्राचीन ?
बस्तीलाई लिच्छविकालीन मानिएको छ । यसको प्रमाण भृगेश्वर मन्दिरमै रहेको महर्जन बताउँछन् । मन्दिर प्रांगणमा त्रिभुज आकारका इँटा छन् । पुरातत्त्वविद् सुदर्शनराज तिवारीका अनुसार यस्तो इँटा लिच्छविकालमा विकसित भएको हो ।

लिच्छविकालमा यो ठाउँलाई भृगरग्राम भनिन्थ्यो । महर्जन भन्छन्, ‘यही भृगेश्वर महादेवको नामबाट यसको नाम रहन गएको हो । भृगेश्वरलाई पशुपतिनाथभन्दा पुरानो मानिन्छ । भृगरग्रामलाई सुवर्णपुर पनि भनिन्थ्यो ।’

त्रास सडककै
हेटौंडा–काठमाडौं जोड्ने कान्ति राजपथ बन्न सुरु भएको ६ दशक नाघ्यो । यो राजपथ बन्न सुरु भएदेखि नै सुनाकोठी, ठेंचो जस्ता प्राचीन बस्ती त्रासमा रहेको महर्जन बताउँछन् । सत्तरीको दशकमा सांस्कृतिक बाटोबाट गाडी गुड्न थाले । विस्तारै पिच भयो । माथिल्लो भेकमा क्रसर उद्योग खुले ।

त्यहाँबाट गिट्टी बोकेका टिपर दौडन थाले । टिपरको बेजोड हुइँक्याइले सडकमा निस्कन डरमर्दाे भयो । धूलो र धूवाँले कुहिरीमण्डल हुन थाल्यो । सडक जाम बढ्यो । दुई घण्टासम्म जाम हुन्थ्यो सडक । त्यसको विरुद्ध स्थानीयवासी संगठित भए । टिपर गुड्न दिएनन् । व्यवसायीले अदालतमा मुद्दा हाले । अदालतले व्यवसायीलाई हराइदियो । त्यसयता यो मार्गबाट टिपर गुड्न छाडे ।

कान्ति लोकपथ बढाउन टेन्डर
आह्वान भइसकेको छ । तलतिर ढोलाहिटीबाट डोजरले धमाधम घर भत्काइरहेका छन् । माथितिर चापागाउँ, लेलेतिर पातलो बस्ती छ । पातलो बस्ती भएको ठाउँमा सडक विस्तार गर्न सजिलो छ । ‘माथि पनि बढाउने, तल पनि बढाउने गरेर प्राचीन बस्तीलाई चेपुवामा पारिएको छ,’ महर्जन भन्छन्, ‘हामीले सडकको विरोध गरेका होइनौं । घर नमासिदेऊ । घरपछि जग्गा हो । तर हाम्रो कुरा सुनिएको छैन । घर बनाउन नक्सापास गरिएको छैन ।’

प्रकाशित : मंसिर ८, २०७५ ०७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×