बसाइँ-सराइमा मधेस- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बसाइँ-सराइमा मधेस

डेटलाइन तराई
प्रदेशहरूको जनसांख्यिक सन्तुलन कायम राख्न र बसाइँ–सराइको प्रवृत्तिलाई व्यवस्थापन गर्न अन्तरप्रदेश नीति हुनुपर्छ । 
चन्द्रकिशोर

काठमाडौँ — आफू बसेको ठाउँ परित्याग गरी नयाँ ठाउँ गएर बसोबास गर्ने प्रक्रियालाई बसाइँ–सराइ भनिन्छ । यसरी बसाइँ सर्ने अनेक कारण छन् ।

पहाडबाट अन्यत्र बसाइँ सर्ने क्रम रहेजस्तै मधेसी समाजमा त्यो प्रवृत्तिको पुरानो परम्परा भेटिँंदैन । मधेसका भाषाहरूमा ‘बसाइँ–सराइ’को अर्थ सम्प्रेषित गर्ने ठ्याक्कै शब्द भेटिंँदैन । यस क्षेत्रको भाषा भकारीमा बसाइँ–सराइ जनाउने शब्द नहुनुले यसको आम प्रवृत्तिको इतिहास नरहेको देखिन्छ । बरु यहाँ ‘डिह’ (निवास स्थल) शब्द छ र डिहको पुरानो बासिन्दालाई डिही भन्ने गरिन्छ । डिहीको विपरीतार्थक नवघरिया हुन्छ । अर्थात् यस्तो व्यक्ति जो अर्को ठाउँबाट बास सरेर आएका छन् । पश्चिमी तराईमा ‘पाही’ शब्द पनि छ । यसले मधेसी समाजको बनोट, अर्थ–राजनीतिक संरचना र सामूहिक काल्पनिकीलाई खोतल्न सहयोग गर्छ ।


मधेसमा ‘घराडी’ (बासभूमि) प्रतिको मोह यति गहिरो हुन्छ कि हत्तपत्त कोही त्यो छाडेर अन्यत्र जान चाहँदैन । मधेसका गाउँटोलमा केही दशक अघिसम्म समथर भूमि भएर पनि गुजमुल्टिएर घरहरू बन्नुको एउटा कारण साविक घराडीप्रतिको मोह हो । परिवार संख्या थपिँंदै र बँटवारा हुँदै जाँदा सानो टुक्रा जग्गामै बस्ने गरिन्थ्यो ।


डिहीहरू आफूलाई स्थानीय शक्ति संरचनामा अब्बल ठान्ने र नवघरियालाई अलि हेय दृष्टिले हेर्ने गर्थे । ग्रामान्तरण गरेर आउनेहरू प्राय: ती हुन्थे, जसको ‘नवासा’ सम्पत्ति हुन्थ्यो । ५ दशक अघिसम्म मधेसको उत्तरी भागमा अत्यन्त थोरै बस्ती थियो । तर दक्षिणी क्षेत्रमा घना बस्तीहरू थिए ।


त्यतिखेर जिल्लाहरूको जनसांख्यिक बनोटमा उत्तरबाट दक्षिणतर्फ क्रमश: जनघनत्व बढी थियो । दक्षिणी क्षेत्र तुलनात्मक रूपमा सम्पन्न र विकसित थियो । दक्षिणी क्षेत्रका बासिन्दाहरू उत्तरतिर गएर बास बस्न चाहँदैन थिए । यही कारण हो कि पूर्व–पश्चिम राजमार्ग बनेपछि त्यसको वरिपरि विकसित भएका बस्तीहरूमा तराईका दक्षिणी क्षेत्रका पुराना बासिन्दाहरू थोरै बसाइँ–सराइ गरेर पुगे ।


‘तजी देबै सब सुख–आराम हम मिथिलेमे रहबै/ सागपात तोडी दिवस गमेवै, हे हम मिथिलेमे रहबै’ लोकगीतिको यस पंक्तिमा दु:खसुख गरेर भए पनि आफ्नै थातथलोमै बस्छु भन्ने अवधारणा पाइन्छ । यो अवधारणा लोकगीतमार्फत कम्तीमा १ हजार वर्षदेखि सार्वजनिक सम्झनामा अभिव्यक्त भइरहेको छ । यो मूलत: आफ्नो डिहप्रतिको आकर्षण र समर्पण हो । जसले बसाइँ–सराइनिम्ति बढेका पाइतालालाई फेरि डिहकै किलोमा अल्झाउन लाउँथ्यो । नेपाली सरहदभित्र पहाडबाट व्यापक रूपमा बसाइँ–सराइ भइरहेका बखत मधेसको मूल प्रवाहले त्यसबाट आफूलाई अछुतो राख्यो । कारण, डिहप्रतिको भावनात्मक लगावमात्र होइन, आर्थिक सुनिश्चितता पनि थियो होला ।


सिम्रौनगढ राज्य ई.सं. १३२६ मा पतन भयो । त्यतिखेर सिम्रौनगढका उत्तराधिकारीका रूपमा रहेका हरिसिंहदेवलाई दिल्लीका बादशाह गयासुद्दिन तुगलको सेनाले आक्रमण गरी राजधानीलाई ध्वस्त पारेका थिए । त्यसबेला पलायन भई काठमाडांै उपत्यकामा आश्रय लिएको इतिहास छ ।


त्यसपछि बितेका ७ शताब्दीमा मधेसबाट अन्यत्र व्यापक बसाइँ–सराइको इतिहास पाइँदैन । हो, मधेसी समाजभित्र आन्तरिक बसाइँ–सराइ भने हुने गरेको छ । त्यसको कारण नदी कटान, निकुञ्ज स्थापना, संरक्षित क्षेत्र घोषणा, तटबन्ध निर्माणले गाउँ सार्नुपर्ने बाध्यता थियो । तर यसरी गाउँ सर्दा समिपकै दूरीमा सथ्र्यो । कस्तोसम्म थियो भने आफ्नै जिल्लाका सदरमुकाममा समेत गाउँबाट बसाइँ सरेर आउने चलन थिएन । तर यो क्रम विस्तारै फेरिंँदै गएको छ । २०३६ सालको जनमत संग्रह, २०४६ सालको परिवर्तनले ल्याएको खुलापन र २०६३ सालले बढाएको सञ्चार सम्पर्कले जुन सामाजिक–आर्थिक बदलाव ल्याइरहेको छ, त्यसले बसाइँ–सराइलाई सामाजिक स्वीकार्यता दिएको छ । यसको प्रत्यक्ष प्रमाण संघीय राजधानी काठमाडांै लगायत पहाडी क्षेत्रमा समेत त्यहाँ बसोबास गरेका मधेसी समुदायले छठ मनाउनु हो । पहिला यस्ता पर्व त्योहारका बेला बाहिर घर बनाए पनि थातथलोमै फर्किन्थे । अब जो जहाँ छन्, त्यहीँ पर्व मनाउँछन् । मुलुक बाहिर पनि आप्रवासी भएर पुगेका मधेसी समुदाय आफ्नो नयाँ पहिचानभित्र

आफ्नो अस्तित्व खोजीका लागि तत्पर छन् ।


मधेसमा पहाडी समुदाय बसाइँ सर्न बाध्य थिए । राज्यको प्रश्रयमा बसाइँ सर्न स्वीकारेका थिए । यसरी दुई खालका फरक–फरक परिस्थितिले मधेसमा पहाडी समुदायको उपस्थिति भयो । तर यो बसाइँ–सराइ अनियन्त्रित ढङ्गबाट विकास भएको देखिन्छ । चाहे पूर्वका सन्थाल हुन् वा पश्चिमका राना थारु उनीहरू पनि सामुदायिक दबाबका कारण भारततिर कतिपय अवस्थामा बसाइँ–सराइका लागि विवश भए । कतिपय ठाउँमा मधेसी समाजभित्रको सामाजिक–आर्थिक संरचनाले गर्दा पनि कुनै परिवारले गाउँ छाडे, कतै जातीय वर्चस्व, कतै ऋण तिर्न नसकी त कतै सामन्ती शोषणवाट उन्मुक्तिका निम्ति बसाइँ सर्नुपर्‍यो । मधेस आन्दोलनपछि कतिपय ठाउँबाट पहाडी समुदाय पलायन भए । मधेसभित्र कैयौं ठाउँमा नागरिकताको अविरल गंगामा डुबुल्की लगाउँदै ‘नवनागरिक’हरूले नयाँ बस्तीहरू गुलजार गरे । भुइँ सतहमा बदलिँंदै गरेको सामाजिक–राजनीतिक समीकरणले कथित सवर्णहरू विस्तारै सहरमा ओत लाग्न थालेका छन् । यसले बसाइँ–सराइको नयाँ प्रवृत्ति देखाएको छ ।


मधेसबाट छोटो अवधिका लागि अन्यत्र कमाउन जानेहरूको त्यति पुरानो परम्परा छैन । पारिवारिक बसाइँ–सराइको क्रम थोरै, कमाउने उद्देश्यले भएका बसाइँ–सराइ अधिक देखिन्छ । कमाउने उद्देश्यले छोटो अवधिका लागि बाहिरिनेहरू सिङ्गो परिवारका जाने पनि थोरै हुन्छन् । ५ दशक पूर्व आसाम–बंगालतिर जान्थे । त्यसपछि भारतकै हरियाणा, पंजाबतिर जानथाले ।


पछिल्लो समय खाडीका मुलुकहरू नयाँ गन्तव्य बनेका छन् । अन्यत्र पनि पुगेका छन् । वैदेशिक रोजगारीले निम्त्याएका सामाजिक समस्याले मधेस जेलिँंदैछ । यस परिस्थितिमा वैदेशिक रोजगारीले देखापरेका परिवर्तन र त्यसले सामाजिक जीवनमा पारेका प्रभावबारे गम्भीर विमर्शको माग गरेको छ । यसले मधेसी समाजमा ल्याएको उठापटकको कम्पन दीर्घकालसम्म रहिरहन्छ । कृषि अर्थतन्त्रमा आएको भयानक गिरावट र रेमिटेन्स अर्थतन्त्रले मधेसी समाजको आत्मविश्वासलाई खोक्रो बनाउँदै लगेको छ । गाउँको तुलनामा सहरी क्षेत्रमा विकास र अवसर अधिक हुनाले मानिसको ध्यान खेतीबाट हटेर सहरमा पाइने नगद मजदुरीमाथि केन्द्रित हुँदै गएकोले गाउँबाट सहरमा पलायन तीव्र भएको छ । यसको सबभन्दा बढी असर संयुक्त परिवारमाथि परेको छ ।


मधेसमा बसाइँ–सराइको चाप अत्यधिक हुनुको पछाडि विगतमा राज्यले लिएको नीति हो । कहिले जमिनदारी दिन त कहिले कर असुलीका लागि त कहिले व्यापार गर्न बोलाइयो । २००७ सालपछि मधेसको भूभागमा पहाडबाट जनसंख्याको स्थानान्तरण गराउने उद्देश्यले सरल, सुविधा र आकर्षक नीति, नियम, ऐन, कानुन बनाइएका थिए । यसले बसाइँ–सराइलाई ह्वात्तै बढायो । मधेसको जनसांख्यिक बनोटमा रैथाने र बसाइँ–सराइ गरी आएका बीच शक्ति सन्तुलनको नयाँ व्याकरण रच्यो, जसले कालान्तरमा अनेकौं द्वन्द्व खडा गर्‍यो । एक समय जे कुरा राज्यको लागि टिक्न आवश्यक मानियो, त्यही अब व्यवधान हुनपुगेको बुझाइ पनि छ ।


मधेसी समाजभित्र बसाइँ–सराइको लामो परम्परा नहुँदा त्यसले यस समाजलाई के असर गर्‍यो, त्यसको समाजशास्त्रीय अध्ययन हुनुपर्छ । अहिलेसम्म मधेसी समाजको डिहप्रतिको मोहको इतिहास र प्रवृत्ति खोतल्ने प्राज्ञिक काम भएको छैन । मधेसीहरूको बसाइँ–सराइ र मधेसमा बसाइँ–सराइ दुई भिन्न कुरा हुन् । जसरी मधेसीजन मुलुकभित्र र बाहिर फैलिँंदै गएका छन् ।


त्यसले यो समाजभित्र ल्याएको आधुनिकीपन, अस्तित्वबोध र अस्मिताप्रतिको सजगताबारे मन्थन हुन जरुरी छ । आज जुन समुदाय मधेसी पहिचान लिएर खडा भएको छ, त्यसको ठूलो हिस्सा यही माटोपानीको उपज हो । यसले स्थापित गरेको पक्ष के हो भने मधेसीजन यहींका हुन्, विगतमा राज्यका सीमा फेरबदल हुँदै गए । नेपालले अहिलेको सरहद प्राप्त गरेको केही समय पछिदेखि मधेसीजनमा बसाइँ–सराइ संकुचित रह्यो ।


बसाइँ–सराइ स्थिर कुरा होइन । यो जटिल छ, गतिशील छ र अपरिमितजस्तो छ । अहिले पनि पहाडबाट मधेस झर्नेहरूको मोहभंग भएको छैन, बरु राज्यले पहाडी जनसंख्यालाई उतै अल्झाइराख्ने अनेकौं यत्न गरिरहेको छ । मधेसभित्र पनि सम्भावना विकसित हुँदैछन् भनी फर्किनेहरू छन् । यसले देखाएको पक्ष के हो भने बसाइँ–सराइको व्याख्या, परिभाषा पनि समयक्रममा आउने परिवर्तनसँंगै परिवर्तित हुँदै गइरहेको छ । मुलुक संघीय संरचनामा गइसकेपछि प्रदेशहरूको जनसांख्यिक सन्तुलन कायम राख्न र बसाइँ–सराइको प्रवृत्तिलाई व्यवस्थापन गर्न अन्तरप्रदेश नीति हुनुपर्छ । जनसांख्यिक भार मधेसमा थेग्रिंँदा त्यसले समग्र नेपाली समाजलाई बहुआयामिक असर पारिराखेको छ । परिस्थिति र कारण जतिसुकै फरक हुन्, अब सकेसम्म जहाँको जनशक्ति जहाँ छ, त्यहींको थातथलोमा अडाउने प्रक्रिया प्रबद्र्धन गर्नुपर्छ ।


राज्यले नै विभिन्न निहुँमा खुला रूपमा बसाइँ–सराइलाई प्रोत्साहित गर्ने होइन । बसाइँ–सराइका कारण जेसुकै हुन्, राज्यको अर्थपूर्ण पुन:संरचना, बहुतहका राज्यका अंगहरूको लोकतन्त्रीकरण, सम्पत्ति सम्बन्धको पुन:संरचना र समाजको समताकरणबारे छलफल गर्दा बसाइँ–सराइलाई निषेध होइन, नियमन गर्नुपर्छ । संविधानले नेपाली नागरिक सरहदभित्र जुनसुकै ठाउँमा ओहोर–दोहोर गर्नसक्ने र बसोबास गर्नसक्ने प्रत्याभूति गरेको छ ।


तर विकसित सामाजिक–आर्थिक र पर्यावरणीय परिस्थितिमा नयाँ ढङ्गले सोच्नुपर्छ । त्यसैगरी राज्यबाट कुनै कालखण्डमा विदेशबाट विस्थापित भई फर्केका नेपालीभाषीलाई स्वदेश फर्केका रूपमा अथ्र्याउँदै तिनलाई यहाँ बसाइँका लागि आत्मीय परिवेश दिइयो भने स्वयं मधेसीजनमा पनि पारिबाट आएकालाई आफन्त मान्दै अभिनन्दन गरियो । यी दुइटै प्रवृत्तिलाई विराम दिने बेला हो । समग्रमा नेपालको भूमि अब नेपालीहरूकै लागि अपुग हुने स्थिति छ । त्यसैले साँध खुकुलो पार्नुहुन्न ।

datelineterai@gmail.com

प्रकाशित : मंसिर ६, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्

प्रथाका प्रताडना

पविता मुडभरी

काठमाडौँ — सामाजिक सम्मान, लैंगिक समानता र शारीरिक सौन्दर्य खोस्ने विधवा प्रथाविरुद्ध पुरुष वर्गको कटिबद्धता चाहिएको छ ।

केही दिनअघि ४० वर्ष नकटेका देवरको निधन भयो । देवरका छोरा काजकिरियामा बसेका थिए । महिनावारी भएकी देवरकी श्रीमतीले विधवा भेषमा काजकिरिया नगरे पनि हुन्छ कि भनेर मैले जिज्ञासा राखेकी थिएँ । कुरा राखिनसक्दै खप्की खानुपर्‍यो । संस्कार विरुद्ध बोल्ने हिम्मत नगर्न चेतावनी पनि पाएँ । यो संघीय राजधानीकै घटना हो । शोकमय माहोल र कठोरपितवादी संस्कार ख्याल गरेर मैले बहस गरिन । मनमा भने विद्रोहको आगो दन्किरह्यो ।
हाम्रो समाजमा मृत्यु संस्कार र काजकिरियामा सामेल हुन छोरीलाई बन्देज छ । तर महिलालाई बाध्यता । पतिको मृत्युपछि महिलालाई टीका–सिन्दूर पुछिदिँदै र चुरापोते चुँडाल्दै सेता वस्त्र पहिर्‍याएर विधवाको ट्याग झुन्ड्याइन्छ । चलिआएको चलन हो, आइमाई भएपछि लोग्ने मर्दा यस्ता कर्म त भोग्नैपर्छ भनी यसलाई सामान्यीकरण गर्न खोज्ने पितृसत्ता समाजमा जब्बर छ । धर्म संस्कारका नाममा चलेका प्रथाका प्रताडनामा महिला नै किन ? दाइजो, बोक्सी, विधवा, छाउपडी लगायतका अनेक प्रथाको मारमा छन्, महिला ।

महिलामाथि मानसिक हिंसा, विभेद र उत्पीडन थोपर्ने विधवा प्रथा लगायतका संस्कार लैंगिक समानताको कसीमा कत्तिको उपयुक्त ठहर्लान् ? महिलावादीले विधवा शब्दका ठाउँमा एकल महिला शब्द राखेर र कहिलेकाहीं विधवालाई भेला गरी राता वस्त्र टीका लगाइदिने गरेका छन् । राता वस्त्र अभियान शरीरलाई रंगीन वस्त्र र गहनाले सजाउनमात्र नभई विधवाका नाममा गरिने चरम विभेद र निकृष्ट व्यवहार हटाउन पनि हो ।

सामाजिक न्याय र जैविक स्वतन्त्रताको सुखानुभूति गराउन हो । सामाजिक सम्मान, लैंगिक समानता र शारीरिक सौन्दर्य खोस्ने विधवा प्रथाविरुद्ध पुरुष वर्गको ऐक्यबद्धता र कटिबद्धता चाहिएको छ । समाजमा श्रीमती मरे पनि पुरुष विधुर, एकल, असहाय र ‘अलच्छिन’ मानिँदैनन् । महिलालाई भने किन फरक व्यवहार ? महिलालाई राज्यबाट विधवा भत्ता र समाजबाट सहानुभूति होइन, समान स्वतन्त्रता र सम्मान चाहिएको छ । उनीहरूलाई सामाजिक उत्पीडन, अवहेलना र मानसिक कुण्ठाबाट उन्मुक्ति चाहिएको छ ।

विधवालाई गरिने दुव्र्यवहार र तिरस्कार लैंगिक समानताका लागि ठूलो चुनौती हो । जीवनसाथीको मृत्युसँगै महिलाले आफ्नो शारीरिक रङ तथा मानसिक उमंग सदाका लागि चितामा जलाउनुपर्ने यो कुप्रथा अन्त्य किन नगर्ने ? महिलाले कहिलेसम्म धर्म संस्कारका नाममा बन्धन र उत्पीडनको आगोमा पिल्सिरहने ? भिन्न पहिरन र व्यवहारको रेखा कोर्ने चलन अन्त्य गरिनैपर्छ ।
दुर्गा घिमिरेले केही वर्षअघि साहित्यकार तथा समाजसेवी पति जगदीश घिमिरेको मृत्युपश्चात आफ्नो नाकको फुली फुकालेर पतिको चितामा चढाउँदै चुरापोते टुटाएर सेतै वस्त्र धारण गराइएको घटनालाई ‘उनको सम्झना’ कृतिमा मार्मिक ढंगले लेखेकी छन् । श्रीमान मरेपछि उसको श्रीसम्पत्ति उपभोग गर्न हुने, उसको समेत अंश रहेका छोराछोरीको साथमा रहन हुने तर वैवाहिक संस्कारमा उसबाट प्राप्त हुने केही शृंगार सामग्री भने ऊ मरेपछि कहिल्यै प्रयोग गर्न नहुने परम्परा अन्त्य गर्न जरुरी छ ।

हाम्रा जिबा, हजुरबाले जे गरे, महिलालाई त्यही संस्कारमा जकडाउने मानसिकता नाति–पनाति पुस्तामा समेत उस्तै देखिनु विडम्बना होइन र ? सती प्रथाजस्तै सोला दिने विधवा प्रथा हटाउन अब राज्य, समाज र आम महिला किन ऐक्यबद्ध नहुने ?

pabitapudasaini4@gmail.com

प्रकाशित : मंसिर ६, २०७५ ०७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×