१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

मिटुको हलचल

सामाजिक सञ्जालमार्फत यौन दुव्र्यवहारका घटना सार्वजनिक हुँदै गर्दा ठूला पदमा रहेर गलत गर्ने पुरुष र पुरुषवादी समाजमा हलचल ल्याइदिएको छ ।
साजना लामा

काठमाडौँ — दसैंताका एउटा जमघट थियो । रोजीले खुसुक्क ह्यासट्याग मिटुबारे मुख खोलिन् ।नुमाले ह्यासट्याग मिटुका कारण कार्यालयमा दैनिक खेप्दै आएको सहकर्मीको अपमान कम हुने आस गरिन् ।

मिटुको हलचल

विपनाले पनि ढुक्कको सास फेरिन् । सबैको उस्तै चासो र सकारात्मक वातवरण । अपेक्षासँंगै मिटुले समाजमा एक प्रकारले धावा बोलिसकेको रहेछ । धेरैपछि कलेजका साथीहरूसँंगको भेटमा देखिएको यो खुलदुली र आत्मविश्वासले म पनि मिटु अभियानप्रति गम्भीर बने ।

एक वर्षअघि अमेरिकादेखि सुरु भएको ह्यासट्याग मिटु अभियान अहिले नेपालमा पनि हलचल ल्याउने अवस्थामा आइपुगेको छ ।

रश्मिला प्रजापतीले हाकाहाकी पद र हैसियतका कारण पटक–पटक दुव्र्यवहार गर्ने तत्कालीन काठमाडौंका मेयर केशव स्थापितको हरकत उजागर गरिन् । स्थापितको दुव्र्यवहारबारे बोल्ने रश्मिला एक्लो होइनन् । अन्य महिलरुले समेत बोल्न सुरु गरेका छन् । रश्मिलाले १५ वर्ष अघिको कुरा अहिले भनिन् ।

१५ वर्ष अघिको एउटी अविवाहित महिलामा आफूमाथि भएको यौन दुव्र्यवहार घटना अरुलाई खुलेर भन्ने आँट थिएन । हाम्रो समाजमा कति यस्ता पीडित महिला होलान्, जो घरपरिवार र आफ्नाको इज्जतका लागि मौन बस्न बाध्य छन् । त्यसयता पीडकले त्यस्ता दुव्र्यवहार कति दोहोर्‍याए होलान्, समयले बताउनेछ । आज विश्वभर यस्तै दबिएका कथाहरू पोख्ने साझा थलो बनेर हरेक रश्मिलालाई जोडेको छ, मिटु अभियानले ।

आफूले भोगेको लैंगिक दुव्र्यवहार अभिव्यक्त गर्न अभियानले आँट भरेको छ । प्रदेश ३ का भौतिक योजना तथा निर्माणमन्त्री केशव स्थापितले यौन दुव्र्यवहार गरेको समाचार छापामा आए । स्थापित काठमाडौं महानगरपालिकाको मेयर हँुदा रश्मिलालाई यौन दुव्र्यवहार गरे । उनले भनेको नमान्दा रश्मिलाले महानगरको शाखा अधिकृतको जागिर गुमाइन् । यो एक प्रतिनिधि उदाहरण हो ।

मिटु अभियानसँग जोडिएर अहिले सञ्चारकर्मी मिना कैनी, उज्ज्वला महर्जन, सुविना श्रेष्ठले आफ्ना पीडादायी अनुभव सेयर गरेका छन् । पद र दम्भले भरिएका पुरुष सहकर्मीहरूको चाहना अनुसार चल्न नमान्दा धेरै महिलाको कार्यसम्पादनमा समस्या भएका गुनासा सार्वजनिक हुनथालेका छन् । हाम्रो समाजमा दुराचारी, व्यभिचारीहरूको कमी छैन । उनीहरू विरुद्ध बोल्न परिस्थिति सहज छैन । तर अहिले कार्यक्षेत्र वा कुनै पनि कामको सिलसिलामा हुने यौन उत्पीडनको विषय आफैले प्रस्ट रूपमा राख्ने साहस महिलामा बढेको छ । पद र शक्तिको आडमा महिलाको इच्छा विपरीत भएका यस्ता सयांै घटना अहिले विस्तारै बाहिर आउन थालेका छन् ।

पश्चिमा मुलुक र भारतमै पनि धेरै शक्तिशालीहरूमाथि कारबाही नै भए । सामाजिक सञ्जालमार्फत यौन दुव्र्यवहारका घटना सार्वजनिक हुँदै गर्दा ठूला पदमा रहेर गलत गर्ने पुरुष र पुरुषवादी समाजमा हलचल ल्याइदिएको छ ।

कुनै पनि पुरुषले महिलासंँग नजिक हुन खोज्छ, प्रेम प्रस्ताव राख्छ वा घुम्न जाने प्रस्ताव राख्न सक्छ । यो स्वाभाविक हो । तर जब पुरुषको त्यो प्रस्तावमा महिलाको असहमति हुन्छ र पनि पुरुषले जबर्जस्ती गर्न खोज्छ भने यो मिटु अभियानको विषय बन्छ । महिलाको इच्छा विपरीत पुरुष आफ्नो स्वार्थ पुरा गर्न तल्लिन हुन्छ, उनको भावनालाई बेवास्ता गर्दै व्यक्तिगत जीवनमा हावी हुनखोज्नु ३मिटु हो । जसलाई सार्वजनिक गर्नुपर्छ र दोषीले सजाय भोग्नुपर्छ भन्ने मान्यता हो ।

हरेक परिवर्तनको प्रारम्भ सहज हुँदैन । एक्लै बोल्दा दम नपुग्न सक्छ । तर एउटै मुद्दामा समूहमा उभिनसके आवाज बुलन्द हुन्छ । ३मिटुले समान तर व्यक्तिगत पीडा फुकाउने साहस र पीडकलाई सचेत गराउन भूमिका खेलेको छ । हाम्रो समाजमा वर्षांैदेखि यौन उत्पीडन र दुव्र्यवहार गर्नेहरूको चालचलनमा खासै परिवर्तन देखिँदैन । हो, त्यही प्रवृत्ति सहन हुन्न र कसैको इच्छाभन्दा बाहिर जान नदिन महिलाको पक्षमा ३मिटु सहयोगी बनेको छ । यसलाई पुरुष विरुद्ध महिला अभियानका रूपमा चित्रित गर्न विभिन्न तर्क गरिँंदैछ । यो गलत व्यवहार विरुद्ध आवाज राख्ने महिलाहरूको प्रयास हो । गल्ती नगर्ने पुरुषले अन्यथा लिनु पर्दैन ।

लैंगिक समानता र विकासको दृष्टिले कमजोर अवस्थामा रहेका महिलाले समस्याबारे खुलेर बोल्नु चुनौतीपूर्ण छ ।जुनसुकै क्षेत्रमा पुरुष हावी हुने समाजका महिलाले आफूमाथि भएका यौन दुव्र्यवहारबारे खुल्न थाल्नु सकारात्मक हो ।

सत्य सधैं सत्य हुन्छ । गलत काम जहिले गरेको भए पनि त्यो गलत हो । यसलाई समयको पर्दाले छोप्नहुन्न । हिजो पद र शक्तिको आडमा छोपिएको यो विषय अब पनि छोपिइरह्यो भने कुहिन्छ । हाम्रो समाजलाई अझ दुर्गन्धित बनाउँछ ।

आज उठेका आवाज यसकारण महत्त्वपूर्ण छन् कि भविष्यमा उनै पुरुषबाट अर्को महिलाले त्यही व्यवहार भोग्न नपरोस् । उनका वरपरका अन्य पुरुष पनि सचेत हुन् । कुनै पुरुषले जानाजान या हेपाहा प्रवृत्तिबाट यो केटी हो, यसले केही गर्न सक्दिन, मैले जे गरे ’नि हुन्छ भन्ने सोच्छ भने त्यो गलत हुनेछ । उसले त्यसको फल ढिलो–चाँडो भोग्नैपर्छ । ३मिटु अभियानका पछिल्ला घटनाले पुष्टि गरेको छ ।

सामाजिक परिवर्तन लामो प्रक्रिया हो । कतिपय अवस्थामा शताब्दी नै लाग्न सक्छ । जसरी आज महिलाले पुरुष सरहको सामाजिक भूमिका खोजिरहेका छन्, हाम्रोजस्तो समाजमा त्यो परिवर्तन सजिलै प्राप्त हुने देखिँंदैन । यद्यपि कुनै–कुनै अभियान क्रान्तिजस्ता हुन्छन् । छोटो समयमा प्रशस्त विचार–विमर्श हुन्छन् र चुरोमै पुग्छन् । ३मिटु अभियानमात्रै होइन, क्रान्ति हुनसक्छ । एकपछि अर्को गर्दै महिलाले आफूमाथि भएका गलत व्यवहारलाई प्रतिवाद गरिरहँदा यसले महिलाको सशक्तीकरणलाई बल पुर्‍याउँछ । पद र शक्तिको आडमा पुरुषले महिलाप्रति गर्ने दुव्र्यवहारमा कमी आउन सक्छ ।

सहरका सम्भ्रान्त, सिलेब्रिटी, सामाजिक सञ्जालमा पहुँच राख्ने महिलाले सहभागिता जनाएको ३मिटु अभियान हाम्रो गाउँघरसम्म कहिले पुग्ला ? यो निकै गम्भीर प्रश्न हो । शैक्षिक, सामाजिक, आर्थिक र राजनीतिक रूपले पछाडि रहेका हाम्रा गाउँघरका दिदीबहिनीसँंग मिटुका कति धेरै कथा होलान् ? त्यसलाई खोतल्न के गर्ने ? कसरी उनीहरूलाई यसबारे चेतना जगाउने ? न्यायको प्रत्याभूति कसरी दिलाउने ? समृद्धि र विकासका ठूलठूला एजेन्डाको भाषण गरेर समय बिताउने हाम्रा राजनीतिक दलका अग्रजहरूले के यसबारे सोचेका होलान् ? यसबारे सोच्न ढिला गर्नुहुन्न ।

महिलाको तितो अनुभवलाई प्रमाण चाहिन्छ भन्दै विषय बंग्याउने प्रयास हुनसक्छ । पुरुषमाथि झुटो अभियोग लगाउने प्रपञ्च हो भन्ने बहस हुनसक्छ । साथै कानुनी कारबाही नहुँदा पुरुष नै हावी हुने सम्भावना हुनसक्छ । तर यो अभियान कानुनीभन्दा पनि नैतिकताको धरातलमा उभिएको छ । ३मिटुले लैंगिक समानता र सामाजिक न्यायको सन्दर्भमा बहस निम्ताएको छ । महिलालाई हेर्ने असमान सामाजिक संरचनाको परिभाषा बदल्न दबाब हुनसक्छ, यो अभियान ।
लेखक सञ्चारकर्मी हुन् ।

[email protected]

प्रकाशित : कार्तिक १४, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?