१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

विद्यावारिधि शोधको गुणस्तर

लोकरञ्जन पराजुली

काठमाडौँ — खोज पत्रकारिता केन्द्र (खोपके) ले २०७३ भदौमा प्रकाशन गरेको एउटा खोजले नेपालको उच्च शिक्षा क्षेत्र र खास गरी त्रिभुवन विश्वविद्यालय (त्रिवि) का विभिन्न संकाय, विभाग र क्याम्पसमा थेसिसका नाममा भइरहेका अवाञ्छित गतिविधि (चोरी, किनबेच, खेताला) लाई बाहिर ल्याएको थियो  । उक्त खोजमूलक रिपोर्ट सार्वजनिक भएपछि त्यसले प्राज्ञिक क्षेत्रमा तरंग सिर्जना गर्‍यो  ।

विद्यावारिधि शोधको गुणस्तर

फलत: त्रिविले छानबिनका लागि प्राध्यापक भीमप्रसाद सुवेदीको नेतृत्वमा ५ सदस्यीय समिति गठन गर्‍यो । थेसिस लेखनमा भएका अनियमिततासमेत छानबिन गर्ने क्षेत्राधिकार समितिलाई तोकिए पनि अनियमितताबारे छानबिन गर्न उसले चाहेन । यद्यपि, थेसिस लेखनलाई मर्यादित तुल्याउन सुझावसहितको प्रतिवेदन समितिले त्रिवि नेतृत्वसमक्ष बुझायो ।

खास गरी अध्यापकहरूले ठूलो संख्यामा थेसिस गाइड (शोध सुपरीवेक्षण) गर्नुपरिरहेकाले पर्याप्त ‘मेन्टरिङ’ हुन नसकेको र त्यसले चोरी र नक्कल टाँस, किनबेचजस्ता गैरप्राज्ञिक व्यवहारलाई बढावा दिइरहेको थियो । जुन समस्याले स्नातकोत्तर तहको शोध कार्यलाई गाँजेको थियो, त्यही समस्याले त्रिविको हालै सुरु गरिएको पीएचडी तहको कार्यक्रमलाई पनि आउँदा दिनमा गाँज्ने देखिएको छ ।


‘कोर्स बेस्ड’ पीएचडी
गएको वर्षदेखि त्रिविले पाठ्यक्रममा आधारित (कोर्स बेस्ड) पीएचडी सुरु गरेको छ । यो पंक्तिकारले थाहा पाएसम्म डिनको कार्यालयले प्रारम्भमा कोर्स बेस्ड पीएचडीका नाउँमा झारा टार्ने हिसाबले ३ महिने कक्षा सञ्चालन गर्न खोजेको थियो । तर, मानविकी तथा सामाजिकशास्त्र संकायका विभिन्न विभागाध्यक्षले त्यस्तो कोर्स नबनाउने र नपढाउने अड्डी कसेपछि मात्र उनीहरूलाई नै पाठ्यक्रम बनाउने जिम्मा दिइयो ।

अहिले मानविकी तथा सामाजिकशास्त्रका विभागमा पीएचडीका विद्यार्थीले दुई सेमेस्टर पढ्नैपर्छ भने विज्ञान तथा प्रविधि संकायमा ३ महिने अनुसन्धान विधिको सामान्य कोर्स गरे पुग्छ । त्रिविका केही विभागमा अहिले करिब उस्तै कोर्स एमफिल र पीएचडीका नाउँमा पढाइ हुन्छ, यद्यपि एमफिलको संयोजन विभागले गर्छ भने पीएचडीको संयोजन डिनको कार्यालयले । त्रिवि स्वयंले एमफिल कार्यक्रम सुरु गरेपछि (यद्यपि सबै विभागमा एमफिल सुरू भएको छैन) छुट्टै पीएचडीको कोर्स वर्क पनि सुरु गर्नु संगतिपूर्ण होइन र छैन ।

त्रिविमा त्यसैले अहिले ३ थरी पीएचडीका विद्यार्थी छन् । पहिलो, एमफिल र पीएचडीको कोर्स वर्क नगरेका पुराना दर्तावाला विद्यार्थी हुन् । दोस्रा थरी, एमफिल पास गरेर पीएचडीको अध्ययनमा संलग्नहरू छन् । तेस्रा थरी, अहिलेकै ‘कोर्स बेस्ड’ वालाहरू हुन् । मानविकी र सामाजिकशास्त्र संकायमा पहिला र दोस्रा थरी विद्यार्थीको संख्या २ सयभन्दा बढी भएको बताइन्छ ।

यो संकायमा गत वर्ष मात्रै तेस्रो थरीका करिब २ सय विद्यार्थी पीएचडीका लागि भर्ना भए । यो वर्ष करिब उत्तिकै संख्या पीएचडी प्रवेश परीक्षा उत्तीर्ण भएको बुझिएको छ । अर्थात् त्रिविको मानविकी तथा सामाजिकशास्त्र संकायमा मात्र यो वर्षको अन्तसम्म करिब ६ सय विद्यार्थी पीएचडीका विभिन्न चरणमा अध्ययन गरिरहेका हुनेछन् । यही प्रवृत्ति कायम रहने हो भने आउँदा वर्षहरूमा विद्यार्थीहरूको संख्या अझ बढेर जाने देखिन्छ ।

त्रिविले शिक्षाको उच्चतम तहको उपाधि प्रदान गर्नुलाई अन्यथा मान्न हुन्न । तर, के त्रिविसँग त्यतिका विघ्न विद्यार्थीलाई पीएचडी गराउन आवश्यक जनशक्ति छ ? सामान्यतया एउटा पीएचडी शोधार्थीले एक वा दुई गाइड (प्राध्यापक वा पीएचडी उपाधि प्राप्त सहप्राध्यापक) को निर्देशनमा शोध गर्ने गर्छन् । अनि एउटा गाइडले एउटा समयमा निश्चित संख्यामा मात्र विद्यार्थीलाई शोध गराउन सक्छ र भ्याउँछ । कक्षाकोठामा विद्यार्थीलाई राखेर पढाएजस्तो होइन शोध सुपरीवेक्षण । शोधार्थी र गाइडबीच पर्याप्त समन्वय चाहिन्छ ।

पीएचडी कोर्सको अर्थ–राजनीति
त्रिविमा पीएचडी प्रदान गर्ने यस्ता थरीथरीका योजना बन्नुमा डिनको कार्यालयको पैसा र ‘शक्ति’ मोह रहेको बताइन्छ । एमफिल तहका कार्यक्रम ‘कस्ट रिकभरी मोडल’ मा जाँदा एमफिल सञ्चालन गर्ने विभागहरूसँग केही रकम जम्मा हुन पुगेको थियो । एमफिल कार्यक्रमका प्राय: काम विभागबाट हुने र डिनको कार्यालयले परीक्षा सञ्चालन गर्नेजस्ता सामान्य काम मात्र गथ्र्यो । कार्यक्रम सञ्चालनमा विभागहरूले धेरै हदसम्म स्वायत्तता पाएका थिए ।

तर आफूभन्दा मुनिका विभागाध्यक्षहरूले पाएको स्वायत्तता र अझ त्यसमाथि आयआर्जनसमेत गरेकामा डिन र सहायक डिनहरूलाई पचेको थिएन । (दलहरूलाई भाग पुर्‍याउन सहायक डिनको संख्या अनावश्यक रूपमा बढाइएको छ र मानविकी तथा सामाजिकशास्त्रमा मात्रै एक डिन र चार सहायक डिन छन् ।) उनीहरू एमफिल कार्यक्रम नै खारेज गर्न चाहन्थे ।

यद्यपि, त्यो त्यति सजिलो बाटो थिएन । त्यसैले एमफिललाई ‘साबोटाज’ गर्ने गरी डिनको कार्यालयमातहत सञ्चालन र व्यवस्थापन हुने गरी सिधै पीएचडी कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको कतिपयको बुझाइ छ । पर्याप्त गृहकार्य नगरी पीएचडी कार्यक्रम सञ्चालन गरिएको हुँदा यसका धेरै पक्षबारे सोचिएको पाइन्न । कतिपय विभागमा पढाइ हुने कोर्सहरूमै पनि फ्याकल्टीहरूमाझ पर्याप्त छलफल नगरिएको बताइन्छ ।

कोर्स बेस्ड भन्नुको अर्थ एमए र एमफिल तहको जस्तो केही कोर्स पढेर, परीक्षा दिएर र सानोतिनो थेसिस लेखेर उपाधि प्राप्त गर्ने होइन । एमए र एमफिलमा ८/९ सयको पूर्णांकमा १/२ सय अंकमात्र थेसिससँग गाँसिएको हुन्छ, जबकि पीएचडीमा ठ्याक्कै उल्टो हुन्छ । कोर्स वर्कमा ल्याउने अंकको खासै महत्ता हुन्न ।

समग्र कुरा थेसिसमै निर्भर हुन्छ तर विद्यार्थीलाई पीएचडीको सुपरीवेक्षण गर्न सक्ने गाइड कति जना चाहिन्छन् र ती उपलब्ध छन/छैनन् भन्ने हिसाब नगरी हचुवा तवरमा यो कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रम सञ्चालन गर्दा विद्यार्थीबाट उठ्ने रकममा (कस्ट रिकभरी) मात्र त्रिविले ध्यान दिएको बुझिन्छ । कम्तीमा १० जना विद्यार्थी भर्ना नगर्ने हो भने कार्यक्रम सञ्चालन गर्ने रकम नपुग्ने भन्दै डिन कार्यालयले विभागहरूसँग सुपरीवेक्षण गर्ने क्षमता भए/नभएको ख्यालै नगरी धमाधम विद्यार्थी भर्ना गरिरहेको छ । अनि त्रिविको अहिलेको पीएचडीको पढाइ एमफिलको भन्दा महँगो छ र एउटा विद्यार्थीले ४/५ वर्षमा पीएचडी सक्दा ४/५ लाख हाराहारी खर्च गर्नुपर्ने देखिन्छ ।

उच्च शिक्षामा यो ‘कस्ट रिकभरी मोडल’ उपयुक्त होइन, पीएचडी तहमा त झन् हुँदै होइन । सन् २००४ मा यो पंक्तिको लेखक जर्मनीमा पीएचडीको विद्यार्थी हुँदा त्यहाँ शिक्षण शुल्कसम्बन्धी बहस भइरहेका थिए । कतिपय विश्वविद्यालयले बीए र एमए सरहका विद्यार्थीलाई शुल्क लिन थाले पनि पीएचडी तहका विद्यार्थीलाई शिक्षण शुल्क नलिने नीति अंगीकार गरिएको थियो । उक्त नीतिपछाडिको तर्क महत्त्वपूर्ण र मननीय छ ।

एउटा विद्यार्थीले तल्ला तहमा सिक्ने ज्ञान उसैका लागि हो । पीएचडीमा भने विद्यार्थी आफूले मात्र सिक्दैन । उसले आफ्नो शोध कार्यबाट ज्ञान उत्पादन गर्छ, जुन प्रत्यक्ष र परोक्ष सार्वजनिक हितका लागि हुन्छ । तसर्थ, पीएचडीका विद्यार्थीलाई शुल्कका आँखाले मात्र हेर्न हुँदैन, तर त्रिवि त्यही गरिरहेछ ।

अपर्याप्त तयारी, अपुग जनशक्ति
सुवेदी समितिको माथि उल्लिखित प्रतिवेदनले एउटा गाइडसँग ५ जना (‘प्राक्टिकल’ विषयमा ३ जना) भन्दा बढी विद्यार्थी थेसिस गरिरहेको हुनु हुँदैन भन्ने सुझाव दिएको छ । यदि उक्त प्रतिवेदनको सुझाव ग्रहण गर्ने र एउटा शोधार्थीलाई एउटा मात्र गाइड तोक्ने हो भने पनि मानविकी तथा सामाजिकशास्त्र संकायलाई तत्कालै १२० जनाजति गाइड चाहिन्छन् ।

एउटा विद्यार्थीलाई दुइटा गाइड तोक्ने हो भने २४० जना चाहिन्छन् । एउटै मात्र गाइड तोक्दा केही विषयमा (जस्तो मानवशास्त्र, इतिहास) सायद जनशक्ति पुग्ला तर धेरै विषयमा गाइडहरू पुग्दैनन् र छैनन् । दुइटा गाइड तोक्ने हो भने सम्भवत: सबै विषयमा शोध गराउने जनशक्ति अहिल्यै अपुग हुन्छ । आउँदा वर्ष थपिने विद्यार्थीलाई चाहिने गाइडको त कुरै नगरौं ।

उदाहरणका लागि ग्रामीण विकास विभागसँग पीएचडीको कोर्स पढाउनसमेत पर्याप्त अध्यापक नभएकाले अन्य विषयका अध्यापकले पढाउनुपरेको थियो । अन्य कतिपय विभागले आफूसँग पर्याप्त जनशक्ति नभएकाले वा भएकाले पनि पढाउन नचाहेका वा नसकेका कारण विभाग बाहिरबाट समेत स्रोतव्यक्ति ‘हायर’ गरेर पढाएको पाइयो ।

आमसञ्चार तथा पत्रकारिता विभागमा १५ जनाले पीएचडीमा भर्ना भई कोर्स वर्क गरिरहेका छन् । उनीहरूलाई विभागले पहिलो सेमेस्टरको कोर्स वर्क त जसोतसो गरायो तर अघिल्लै वर्षका १५ जनालाई गाइड गर्न सक्ने जनशक्ति यो विभागमा छैन । यो वर्षसमेत विभागमा थप विद्यार्थी पीएचडीका लागि भर्ना हुँदै छन् । यो विभागमा जम्मा एकजना प्राध्यापक र दुई जना सहप्राध्यापक छन् ।

तर दुवै सहप्राध्यापकको पीएचडी छैन, उनीहरू स्वयं पीएचडी गर्दै छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विभागमा जम्मा एकजना सहप्राध्यापक छन्, जसले पीएचडी विद्यार्थीलाई गाइड गर्न सक्छन् तर त्यहाँ १० जना विद्यार्थीलाई पीएचडीका लागि भर्ना गरिएको छ । शान्ति र द्वन्द्व अध्ययन विभागमा गत वर्ष नौ जनाले पीएचडीको कोर्स वर्क गरे, जहाँ पढाउने सबै शिक्षक विभाग बाहिरबाट ल्याइएका थिए । विभागसँग ती विद्यार्थीलाई शोध गराउने योग्यता पुगेका अध्यापक छैनन् । अन्य कतिपय विभागमा पनि यही समस्या छ ।

बिर्सन नहुने कुरा के हो भने प्राध्यापकहरूले पीएचडीको मात्र होइन, एमफिल वा एमए तहका विद्यार्थीको थेसिस पनि गाइड गर्नुपर्छ । र, उनीहरूमध्ये धेरैसँग अहिले नै सुवेदी समितिले सुझाएभन्दा धेरै विद्यार्थी थेसिस गरिरहेका छन् । एउटा अध्यापकको पढाउने, आफूले शोध गर्ने र विद्यार्थीलाई शोध गराउने कार्यबीचको समयको समन्वय आवश्यक हुन्छ । यदि झारा टराइ नगरी गम्भीरतापूर्वक शोध गराउने हो भने (सुवेदी समितिले त विद्यार्थीको फिल्डमा सुपरभाइजरलाई समेत सँगै जानुपर्ने भनी सुझाएको छ) एउटा शिक्षकको समयको ठूलो हिस्सा विद्यार्थीहरूको थेसिस गाइड गर्दैमा सक्किन्छ ।

तसर्थ, पर्याप्त जनशक्ति नहुँदा एमए तहका विद्यार्थीहरूले थेसिस लेख्ने क्रममा जे समस्या सिर्जना भएका थिए, त्यही समस्याले त्रिविको पीएचडी शोध पनि ग्रस्त हुँदै छ । विद्यार्थी र गाइडबीच गतिलो सहकार्य नहुँदा विद्यार्थी रनभुल्लमा पर्नेछन् र त्यसबाट उम्कन बौद्धिक चोरीजस्तो गैरप्राज्ञिक क्रियाकलापमा संलग्न हुन सक्छन् । थेसिसमा नक्कल टाँस हुन सक्छ । थेसिस किनबेच हुन सक्छ । खेताला राखेर थेसिस लेखिन सक्छन्, जुन तल्ला तहमा देखिएको समस्या हो । तर, यो समस्या फगत प्राविधिक होइन । ‘सफ्टवेयर’ किनेर हल हुँदैन । आफ्ना विद्यार्थीले के कस्तो ज्ञान कसरी उत्पादन गरे भनेर कसैले हेर्दा लाज मान्नुपर्ने स्थिति नआओस् भनेर त्रिविको नेतृत्व र सरोकारवाला बेलैमा सजग हुन जरुरी छ । अन्यथा ‘विश्वका उत्कृष्ट १००० विश्वविद्यालयभित्र’ परेको त्रिविको र्‍यांक खस्केर पुछारमा पुग्नेछ ।

लेखक प्राज्ञिक सामाजिक संस्था मार्टिन चौतारीका अध्येता हुन् ।

प्रकाशित : कार्तिक ११, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?