२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

समाज एक खुला जेल

किरण विक

काठमाडौँ — कथित ठूला जातिहरूले दलितमाथि छुवाछूत घटेको देख्ने गर्छन्  । तर हामी दलितहरूले चाहिं छुवाछूत घटेको होइन, नयाँ नयाँ रूपमा देखेका छौं  ।

समाज एक खुला जेल

धेरै पढेलेखेका देश–विदेश घुमेका ठूलठूला संस्थामा काम गरेका मान्छे पनि छुवाछूतको मानसिकताबाट मुक्त हुन नसकेको अनुभव हामीसँग छ । तथाकथित शिक्षितहरूले सबैमा चले पनि बिहेमा चाहिं अलि हुन्न है, अरू कुरा अर्कै हो बिहे अर्कै भन्ने गर्छन् ।

केही समयअघि एक सर्ट फिल्मका लागि कलाकार छान्न अडिसन लिइएको थियो । अभिनयमा अब्बल एक युवतीले अडिसन सकिएपछि बाहिर आएर मलाई भन्नुभयो, ‘म पनि दलित हो नि ।’ मेरो थर विक देखेर होला, उहाँले मलाई सही परिचय दिनुभएको थियो । ‘अनि भित्र त क्षेत्री भन्नुभएको थियो नि ?’ मैले जिज्ञासा राखेँ । ‘सजिलोका लागि,’ उहाँको जवाफ थियो । उहाँले परिचयको खोजीमा फिल्ममा छिरेको पनि सुनाउनुभयो । मैले मनमनै सोचेँ, कस्तो विडम्बना, एउटा परिचयको खोजीमा अर्को परिचय लुकाउनुपर्ने † फिल्म क्षेत्रमा थर लुकाएर स्थापित भएका धेरै छन् । कति त आफू दलित भएको गोप्य रूपमा पनि स्विकार्दैनन् ।

अहिले गाउँपालिका र नगरपालिकामा ठूलो असन्तुष्टि छ । संवैधानिक व्यवस्थाका कारण हरेक वडामा दलित महिला सदस्य अनिवार्य गरिए पनि उनीहरूलाई वडाध्यक्ष, गाउँ/नगरपालिका अध्यक्ष/प्रमुखले थपना मात्र सम्झेका छन् । कतिय अवस्थामा दलित भएकै आधारमा दुव्र्यवहार हुने गरेको छ । परिभाषित कुनै भूमिका नहुनु र अध्यक्ष/प्रमुखले नपत्याउनु दलित सदस्यलाइ पीडादायी बनेको छ । कुराकानी वा छलफलमा कथित उपल्लो जातका मान्छेले पटकपटक ‘कस्तो कामीले जस्तो कुरा गरेको’, ‘कस्तो दमाईंले जस्तो कुरा गरेको’ भन्ने गर्छन् ।

छुवाछूत दुव्र्यवहार भोगेर अदालतबाट न्याय पाएकी एक महिलालाई छिमेकी बाहुनक्षेत्रीले ‘ए तेरो त ठूलाठूला मान्छे रैछन् । खै के खाइदिनुपर्‍यो, लौ खाम । खै के छुनुपर्ने हो, कहाँ छुनुपर्ने हो †’ भन्दै दिनदिनै सताउँदा रहेछन् । त्यो सहन नसकेर उनले बिष खाइन् । कथित उपल्लो जातका युवतीसँग प्रेमविवाह गरेका काभ्रे पाँचखालका अजित मिजारको मृत्यु प्रकरणमा सामान्य मान्छेलाई पनि आत्महत्या लाग्दैन । प्रहरीको दाबी भने आत्महत्या भन्ने नै छ  तर सामान्य अनुसन्धान पनि गरिएन ।

दलितलाई पानी खान धारा छैन, डोम मुसहरलाई पढ्न स्कुल छैन, पढे लेखेकालाई थरकै आधारमा अक्षमताको नजरले हेरिन्छ । अरू सबै चलिहाले बिहे चल्दैन । कोटा पुर्‍याउन सदस्य बनाइन्छ, भूमिका दिइन्न अनि हामी फेरि भनिरहेका छौं, छुवाछूत घट्यो । योग्यता शंका गर्दै कसैले भन्छन्, म दलित आरक्षणमा पढेको डाक्टरबाट उपचार गराउँदिनँ । दलितले कमर्स या आर्ट्स पढ्दापढ्दै आरक्षण पाएर डाक्टर बन्ने हुन् र ? गरिब दलितले पनि पढोस् भनेर कोटा छुट्याइएको हो । उसले पनि अरूले जस्तै साइन्स पढेको हुन्छ, एमबीबीएसको प्रवेश परीक्षा पास गरेको हुन्छ । प्रतिस्पर्धामा औसत दलितले नाम निकाल्न सक्दैन ।

एमबीबीएसमा भर्ना हुँदैमा डाक्टरको प्रमाणपत्र पाउने होइन । परीक्षामा कोटा हुँदैन । विश्वविद्यालयबाट एमबीबीएसको सर्टिफिकेट पाएपछि पनि मेडिकल काउन्सिलको परीक्षा पास गर्नुपर्छ । त्यहाँ पनि कोटा हुँदैन । दलित भएकै कारण पलपल अपमानित हुनुपर्ने यो समाज हाम्रा लागि खुला जेल हो । आशावादी बनौं, एक दिन यो जेल तोडिन्छ ।

प्रकाशित : कार्तिक ११, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?