एक सफल स्ट्राइकर

विश्वप्रकाश शर्मा

काठमाडौँ — चक्र बाँस्तोला अब हुनुहुन्न । सभापतिका रूपमा पार्टीको या प्रधानमन्त्रीका रूपमा देशको क्याप्टेन उहाँ बन्नुभएन ।

एक सफल स्ट्राइकर

तर क्याप्टेन नबने पनि जिम्मेवारीको जर्सी भिरेर मैदानमा ओर्लंदा जहिल्यै गोल गर्न सफल स्ट्राइकर ।

सामान्यतया राजनीतिज्ञको निधनपछि चर्चा हुने गर्छ, कति सफल या असफल भनेर । दुई साताअघि दिवंगत कांग्रेस नेता चक्र बाँस्तोलाबारे यस्तो चर्चा यतिबेला भइरहनु स्वाभाविक छ । बीपी कोइरालाले झैं देशका लागि अलग मिसनको निर्धारण नत उहाँले गर्नुभयो न जीपी कोइराला र अन्य नेताझैं प्रधानमन्त्री पदको शासकीय दायित्व सम्हाल्न पाउनुभयो ।

यात्रामा पूर्णविराम लागिसकेपछि अब विचार प्रक्षेपणको पाटो या पदीय उचाइको कोणबाट मापन गरिने अर्को ढंगको सफलता विश्लेषणको च्याप्टर क्लोज भइसकेको छ । तर उहाँको जीवनका केही महत्त्वपूर्ण खण्डहरूको समीक्षा गरिरहँदा ठहर गर्न सकिन्छ– बाँस्तोला सफल स्ट्राइकर हुनुहुन्थ्यो, मैदानमा बल पास गर्न या गोल गर्न सफल रहनुभयो । तर सिङ्गो टिमको क्याप्टेन बन्ने अवसर भने उहाँलाई प्राप्त भएन ।

बीपीले पत्याएको व्यक्तित्व
समाजको रूपान्तरणका लागि आफूले प्रक्षेपण गरेको सिद्धान्त र बाटोमा दह्रिलोसँग उभिनसक्ने अनुयायीहरूको खोजी त्यसका प्रस्तोताले अनिवार्यसँग नै गर्छन् । बीपीको नजरले भरोसा गरेको त्यस्ता व्यक्तिहरू मध्येको एक प्रखर व्यक्तित्व हुनुहुन्थ्यो, बाँस्तोला । ‘आत्मवृत्तान्त’मा बीपीले यसको संकेत प्रस्टसँग गर्नुभएको छ । बीपीको विश्वासको कोण सिद्धान्तका लागि अड्ने, लड्ने या मर्ने सन्दर्भमा मात्रै होइन, उहाँको भरोसा यसको भाष्यको सामयिकीकरण सन्दर्भमा प्रधान थियो ।

सिद्धान्तको अमूर्तताले सुदूर भविष्यको दृष्टि, तत्कालीन कालखण्डमा यसले पक्षपोषण गर्ने वर्ग र समूह, बोक्ने मुद्दा र हिँड्ने बाटोबाट मूर्तता प्राप्त गर्छ । बाँस्तोलासँग सामयिकीकरणको मस्तिष्क थियो, इतिहासमा गम्भीर प्रतिकूलता व्यहोरेको घडी त्यसको उपयोग गर्ने अवसर हामी कांग्रेसजनले गुमाएका छौं । आजको कतिपय अल्झन र गांँठाहरू विषयगत र वस्तुगत ढंगले फुकाउन उहाँले गर्नसक्ने ‘क्लिक’ पक्कै महत्त्वपूर्ण हुने थियो । एक ढंगको त्यो विज्ञताको व्यावहारिक इमेज छाडेर जानु एक राजनीतिज्ञका लागि मरणोपरान्त प्राप्त सफलता नै हो ।

संघर्ष र सत्ताका बाँस्तोला
स्कुल पढाइरहेको शिक्षक अपहरण गर्नसक्ने ‘क्रान्तिकारी’हरू त नेपालमा थुप्रै पैदा भए, तर ०३० साल जेठ २८ गते भएको जहाज अपहरणको घटना नेपालको राजनीतिक संघर्षको इतिहासमा सबैभन्दा क्रान्तिकारी घटना हो ।

दुर्गा सुवेदी, बसन्त भट्टराई र नगेन्द्र ढुङ्गेल कांग्रेसका ३ युवाले राष्ट्र बैंकको तीस लाख भारु बोकेर काठमाडौंका लागि विराटनगरबाट उडेको नाइन एन एबीबी कल साइन भएको तत्कालीन शाही नेपाल वायुसेवाको जहाज अपहरण गरेर फारबिसगन्ज पुर्‍याएका थिए ।

बीपीको प्रेरणा र जीपीको डिजाइनमा भएको त्यो विशिष्ट मिसनको एक सदस्य हुनुहुन्थ्यो, बाँस्तोला । त्यही मुद्दामा भारतीय जेलमा बस्नुभयो । हरेक रूपको संघर्षको अन्तिम रूप शान्तिपूर्ण हुनसक्दा मात्रै समाजलाई अग्रगतिमा लैजान सकिन्छ भन्ने मान्यता राख्ने बाँस्तोलाले सो घटनाको ३० वर्षपछि माओवादी विद्रोहको सेफल्यान्डिङका लागि गिरिजाप्रसाद कोइराला र प्रचण्ड बीचको सुरुवाती समन्वयमा भूमिकासमेत खेल्नुभयो ।

संघर्षमा सफल प्रमाणित धेरै नेता सत्ताको वास्तविक परीक्षामा अनुत्तीर्ण भएका छन् । बाँस्तोला अपवाद मध्येमा पर्नुहुन्छ । ‘भिजिट नेपाल’ वर्षको पहिलो प्रयोग ‘नाइन्टी एट’मा यिनै स्ट्राइकरको परिकल्पनामा भयो र पर्यटन हाम्रो समृद्धिको एक महत्त्वपूर्ण आधार बन्न सक्छ भनेर ‘ब्रान्डिङ’को प्रक्रियाले गति लियो । सत्तामा रहेर दाग लाग्न वर्ष या दिन होइन, छिन भए पुग्छ, तर बाँस्तोला सफल हुनुभयो मन्त्रीमण्डलबाट बेदाग बाहिरिन ।

धेरैले नरुचाएको खरो बोली
कुनै पनि राजनीतिज्ञ या कोही पनि व्यक्ति सर्वगुण सम्पन्न हुन सक्दैन । चक्र बाँस्तोलाका दुई कमजोरीबारे टिप्पणी हुन्छ । एक– कुशल संगठक हुनुहुन्थेन उहाँ । दुई– बोली अलि खरो र टर्रो ढंगको थियो । संगठकका सवालमा निश्चय नै उहाँमा त्यो योग्यता अभाव देखियो ।

तर खरो बोली उहाँको कमजोरी कम योग्यता बढी हो भन्ने मेरो विश्लेषण छ । नेतासँग मिठो बोलीको अपेक्षा कार्यकता या नागरिकले राख्नु गलत होइन, तर अभ्यासको परिणाममा पनि मिठो बोली अभिव्यक्त हुनसक्छ । तर पुरै स्वभाव नै हक्की र बोलीमा खरोपना प्राकृतिकमात्रै हुन्छ । स्वाद बुझ्नेका लागि खोर्सानीको पिरो पनि प्रिय हुन्छ ।

गणेशमान सिंहलाई राजनेता बनाएको राजासँगको खरो बोली, प्रधानमन्त्री पदको त्यागसँगै नागरिककै खुला आलोचना गर्नसक्ने साहसले पनि हो । अत: बाँस्तोलाको खरो र प्रस्ट कुरा गर्ने शैली मलाईचाहिँ उहाँको सबैभन्दा मनपर्ने गुण थियो । के बोल्दा लोकप्रिय भइन्छ भन्ने ढंगले बोलेर क्षणिक लोकप्रियता हासिल गर्न निश्चय नै सकिन्छ, तर त्यसको दीर्घायु हुन्न । बाँस्तोला धेरै बोल्नुभएन, जति बोल्नुभयो, कुरा लुकाएर बोल्नुभएन । हुन्छ, भैहाल्छ, गर्दिन्छु, गर्दिहाल्छु, तपाई नै त हो, भोलि, पर्सि, निपर्सि यस्ता शब्दहरू बाँस्तोलाका डिक्सनरीमै थिएनन् ।

पार्टीभित्र फरक मत राखिराख्दा पनि ठिक ठाउँमा ठिक ढंगले राख्ने संयमता र समाधानका लागि सूत्रहरूको खोजी गर्ने बौद्धिकता पनि उहाँ प्रस्तुत गर्नुहुन्थ्यो । आफूलाई केन्द्रमा राखेर पार्टी भित्रका कमजोरीहरूको विस्कुन सुकाइरहने ढंगको ‘क्षणिक रूपमा धेरैलाई मनपर्न सक्ने’ शैलीको खरो बोली भने उहाँमा थिएन । हामी धेरैले सिक्नुपर्ने अपवाद हुनुहुन्थ्यो, यी स्ट्राइकर ।

२ हजार १ सय ८ दिन
विधिवत निधनमात्रै असोज २७ गते राति भयो, तर दुई हजार एक सय आठ दिनदेखि उहाँ सो सरहकै अवस्थामा हुनुहुन्थ्यो । जीवित हुनुहुन्थ्यो, तर जीवन थिएन । आफ्नो पतिलाई काखको बच्चाजस्तो गरेर यतिका दिनसम्म पलपल स्याहार गर्नु एक ढंगको तपस्यासरह थियो । उहाँकी जीवनसाथी कुसुम बाँस्तोलाको प्रशंसा सबैले यसकारण पनि गरिरहेका छन् कि त्यो एउटा उदाहरणीय नमुना बनेको छ, सबै दम्पतिका लागि, खासगरी त्यस्तो बेला जुन बेला हाम्रा पारिवारिक सम्बन्धहरूमा प्रेम, विश्वास र समर्पणको मात्रामा ह्रास हुँदै गएको छ ।

.. र अन्त्यमा,
एक पटक प्रधानमन्त्री बनेर देशका लागि केही नवीन प्रस्तुति गर्छु भन्ने आकांक्षा राजनीतिज्ञमा हुनु अनौठो होइन । तर प्रधानमन्त्री नबनी दिवंगत भएका सबै असफल र प्रधानमन्त्रीको पद हासिल गर्ने सबै सफल भन्ने हुन्न ।

प्रधानमन्त्री हेरल्ड विल्सनले मन्त्री बन्न गरेको आग्रहलाई बर्टेन्ड रसेलले अस्वीकार गरे । मन्त्री बनेको सयौंलाई बिर्सिसक्यो बेलायतले, तर सम्झन्छ, यी दार्शनिक रसेललाई । मन्त्री या प्रधानमन्त्री बन्नु नै सम्पूर्ण सफलताको मानक होइन । वडाध्यक्षकै रूपमा सही कर्म र छवि के छाडेर गए, त्यसको सम्झनाको दीर्घायुलाई राजनीतिकर्मीको सफलता मान्नुपर्छ भन्ने लाग्छ ।

बीपीले एक ठाउँमा भन्नुभएको छ, जीवनको सफलता कुनै निश्चित प्राप्तिमा होइन, निरन्तरको प्रयत्नमा हुन्छ । गान्धी र गणेशमानले प्रधानमन्त्रीको प्राप्ति अवसरलाई अस्वीकार गर्नुभयो । महेन्द्रनारायण निधि, शेख इद्रिस, रामनारायण मिश्र, मंगलादेवी सिंह, शैलजा आचार्य, भीमबहादुर तामाङ, बलबहादुर राई र भूविक्रम नेम्बाङहरूको नाम श्रद्धापूर्वक विशेष रूपले सम्झना गरिन्छ, तर उहाँहरू कोही पनि प्रधानमन्त्री बन्नुभएन । प्रधानमन्त्री बनेका कम्युनिष्ट नेताहरूभन्दा मन्त्रीसम्म नबनेका मदन भण्डारीको व्यक्तित्वको ओझ आज पनि अग्लो छ । उचाइमा पुगेको राजनीतिज्ञको सफलता उसले दिने विचार, तत्कालीन सन्दर्भको नेतृत्व क्षमता, व्यक्तिगत छवि र प्रत्यक्ष–अप्रत्यक्ष रूपमा गाउँ–समाजले प्राप्त गरेको परिणामको जगमा मापन गरिनु नै व्यावहारिक हुन्छ ।

चक्र बाँस्तोला अब हुनुहुन्न, अब न रङ्ग थप्नुको अर्थ छ, न घटाउनुको । जे हो, जति हो, त्यति नै हो । सभापतिका रूपमा पार्टीको या प्रधानमन्त्रीका रूपमा देशको क्याप्टेन उहाँ बन्नुभएन । तर क्याप्टेन नबने पनि जिम्मेवारीको जर्सी भिरेर मैदानमा ओर्लंदा जहिल्यै गोल गर्न सफल स्ट्राइकर उहाँ । अनि यस्तो स्ट्राइकर जसले सफल हुन कहिल्यै ‘फल्ट’ खेलेन ।
लेखक नेपाली कांग्रेसका प्रवक्ता हुन् ।

@bishwaprakash77

प्रकाशित : कार्तिक १०, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?