१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

घुँडा धस्ने गणतन्त्र

घुँडा धसेर टीका थाप्ने र सोफामा बसेर टीका लगाइदिएको घटना यति व्यापक भो, जसले आकाश–पाताल सबै दिशा ढाक्यो । यो घुँडामार शैलीप्रति सबैतिर आश्चर्य मानियो । यो घुँडामार काण्ड स्पष्टीकरणले निरस्त हुँदैन । यसको एकमात्र उपचार हो– क्षमा माग्ने ।
भैरव रिसाल

काठमाडौँ — यसपालाको बडादसैंले समाजवाद उन्मुख गणतन्त्र नेपालको सांस्कृतिक उपहार नितान्त अनपेक्षित, ‘घुँडा मार्ने’ कुरूप अपसंस्कृति दिएर गयो  । सर्वोच्च सार्वजनिक सिंहासनमा बस्नेहरूले के सोच बनाए ? त्यो सोच नितान्त समाजवाद उन्मुख गणतन्त्र सुहाउँदो भएन मात्र होइन, त्यसको उल्टो रूपमा देखापर्‍यो  ।

घुँडा धस्ने गणतन्त्र

यो विलकुलै गणतन्त्रको शतप्रतिशत विपक्षमा भयो । यो एक प्रकारको दासतालाई सम्झाउने व्यवहार भयो । एक्काइसौं शताब्दीको पहिलो चरणमा विचरण गर्दैछ, आजको संसार । आर्टिफिसियल इन्टेलिजेन्सियातर्फ गतिमान छ, विश्व ।

परन्तु नेपालका राष्ट्राध्यक्षको सर्वोच्च आसनमा आसिन पात्र २०७५ को बडादसैं पर्वमा शुभकामना शुभेच्छा लिन र दिन आउने आदरणीय अभ्यागत, अतिथिहरूलाई दुई घुँडा मारेर दुई हात जोडी दासताको मुद्रामा बसेका शुभअर्थी नागरिकलाई प्रसन्न मुद्रामा स्मित हास्ययुक्त भई आशिर्वाद दिएको भान हुन्छ । त्यो हो, बडादसैंको टीका प्रकरण । भयो र यो व्यवहार समाजवाद उन्मुख गणतन्त्रको अनुकूल ?

साँच्चै आम नेपालीले यस्तै दासयुग सम्झाउने शासन व्यवस्था, आशिर्वाद दिने कुरूप अपसंस्कृति स्थापनार्थ भएको थियो र झापा काण्ड ? यस्तै मान्यता स्थापनार्थ भएको हो र एक दशक लामो रक्तपातपूर्ण जनयुद्ध ? १५ हजारभन्दा बढी नेपाल आमाका छोरी र छोराले यही घुँडा मारेर टीका थाप्ने दास संस्कार प्रारम्भ गर्न बलिदान दिएका हुन् र ? मलाई लाग्छ, होइन । पदमा भएका व्यक्तिले तिनलाई सर्वोच्च पदमा पुग्न मतदान गर्ने, सार्वभौमसत्ता सम्पन्न मतदाताहरूसँग आशिर्वाद लिने, सम्मान गर्ने अवस्थामा नेपाललाई उचाल्ने निर्वाचितले निर्वाचन गर्नेहरूलाई सम्मान गर्ने थिति बसाल्न भएको थियो । त्यो रोमाञ्चक सर्वोच्च बलिदान ।

प्रचण्ड, बाबुराम बोलौँ न म गलत हुनसक्छु, माथि उल्लिखित निष्कर्ष निकाल्ने काममा । हो के त ? त्यो ऐतिहासिक लोमहर्षक जनयुद्धका सर्वोच्च कमाण्डर कामरेड प्रचण्ड बोल्नुपर्‍यो, सोही बलिदानपूर्ण जनयुद्धको सन्दर्भका जनसरकार प्रमुख डा. बाबुराम भट्टराईले पनि मुख खोल्नुपर्‍यो, यो घुँडा मारेर दसैंको टीका थापेको र टीका लगाइदिएको घटनाका मुद्दामा सँगसँगै उहाँहरू दुईजना मूल पात्रका अलावा अरु पनि थुप्रै–थुप्रै सहयात्री हुनुहुन्छ, सहकर्मी हुनुहुन्छ, सहयोद्धा हुनुहुन्छ ।

तपाईसँगै जनयुद्ध मोर्चामा, जनयुद्ध गर्दागर्दै शत्रुपक्षको तातो गोली लागेर, तातो रगतको भल बगाउँदै ढलेको साथीले के यही घुँडा मारेर दसैंको टीका थाप्ने चलन बसाल्न प्राणको आहुति दिएको हो ? लौन बोल्नोस्, सोच्नोस्, मुख खोल्नोस् । त्यो जनयुद्ध र त्यसपछिको शान्तिपूर्ण सशक्त जनसंघर्ष यस्तै घुँडा मारेर टीका थाप्नकै लागि भएको थियो ? बोल्नोस् हो, बोल्नोस् । कि तपाई पनि घुँडा मारेर टीका थाप्न जानुभएको थियो ? लौन कामरेडहरू बोल्नोस् ।

मौकामा मुख नखोल्ने, नबोल्ने बानी सामन्तवाद, नवसामन्तवादको नयाँ संस्करण हो । तपाई नेता यो निर्घिणी घुँडा मारेर टीका थाप्ने र टीका लगाइदिने अपसंस्कृतिबारे बोल्नैपर्छ । गत दशकव्यापी जनयुद्धका नायकहरू र तपाई झापाको दशकौं अघिको वर्ग दुश्मन समाप्त पार्ने झापा आन्दोलनका कमाण्डरहरू र अरु पात्रहरू ।

उक्त आन्दोलनका प्रमुख पात्र मध्येका एक कमाण्डर त आज राष्ट्रको कार्यकारी सर्वोच्च सिंहासनमा विराजमान हुनुहुन्छ । अझ उहाँले त बडादसैंको टीका लगाइदिने कार्यको नेतृत्व नै गर्नुभएको छ । झापा विद्रोहका कठिन दिनमा वित्तीय संस्थाहरूमा नोकरी गर्नेहरूले त मौन बस्नु नै उत्तम । ठूलो माछो देखेर हात लामो गर्न लाज–घिन नमान्ने व्यवहार पनि सुरु भैसकेको छ । यो घुँडा मारेर दसैंको टीका थाप्ने र टीका लगाइदिने टीकाकरण काण्डमा, टीका प्रकरणमा जनयुद्ध तथा झापा काण्डका नायक तथा पात्रहरूको बोलीको मात्र औचित्य छ ।

यहाँ झापा विद्रोह र जनयुद्धका कमाण्डर तथा प्रमुख पात्रहरूको मतको मात्र औचित्य छ । यो सामान्य जनमत संग्रह होइन । यस अघिका प्रधानमन्त्रीहरू कसैले पनि सार्वजनिक सूचना जारी गरी टीका प्रसाद थाप्न, आशिर्वाद लिन आह्वान गरेजस्तो लाग्दैन । आमाबाबु, आफ्ना नजिकका मान्य इष्टमित्र, आफन्त र आफन्तबीच टीका आदान–प्रदान हुने नेपालको यस्तो परम्परागत रीतिलाई केही भन्नु छैन । तथापि दसैंको टीका कदापि भड्किलो तथा खर्चिलो हुनुहुँदैन ।

क्षमा मागुन्
संस्कार भन्ने विषय यति बलवान हुँदोरहेछ, जसलाई चटक्क छोड्न निकै असहज हुँदोरहेछ । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको बोली कहिले त गोलीभन्दा पनि बलियो हुन्छ । यो बडादसैंको सन्दर्भमा प्रधानमन्त्री निवासमा जो कुनै पनि इच्छुक टीकार्थीलाई टीका लगाउन आउन ढोका खोलिदिनुभो, प्रधानमन्त्री ओलीले ।

सायद प्रधानमन्त्री ओलीको शोख हो क्यार, यो टीका लगाइदिने सूचना । टीका पनि एक दिनमात्र हो र, चतुर्दशीसम्मकै निम्ति खुला । कत्रो उत्साह, कत्रो चाहना प्रधानमन्त्रीको दसैंको टीका लगाइदिन । सार्वजनिक सूचना नै जारी गरियो रे, ५ दिनव्यापी टीकाकरणको । सरकारले बरु बडादसैंको टीका दसमी र एकादसी २ दिनमा झार्‍यो । त्यही सरकारका प्रधानमन्त्रीले लगाइदिने टीका भने चतुर्दशीभर ! के तर्क छ, यति लामो टीका अवधिको ?

यो टीकातन्त्र नयाँ राजा हुन खोज्ने मनोविज्ञानको पहिलो खुड्किलो होला कतै ? समयदेखि नै होशियारी गरिएन भने यस्ता खतरनाक विचार र चिन्तनले भयानक र घातक रूप लिन थाल्छ । त्यतिबेला यो रोग फाल्न न सरल हुन्छ, नत सहज नै । यो घुँडा मारेर टीका थाप्ने र शोफामा बसेर टीका लगाइदिएको घटना यति व्यापक भो, जसले आकाश–पाताल सबै दिशा ढाक्यो । यो घुँडामार शैलीप्रति सबैतिर आश्चर्य मानियो । राष्ट्रपतिको यो घुँडामार काण्डप्रति जनता मौन बसेन । बाचाल भइरह्यो । त्यो घुँडामार काण्ड स्पष्टीकरणले निरस्त हुँदैन । यसको एउटामात्र उपचार हो, गल्ती भयो, क्षमा पाऊँ भनी क्षमा माग्ने ।

झलनाथले बोकिएर खोलो तर्दा
एकपल्ट कतातिर हो, जिल्ला भ्रमणमा जाँदा एमालेका वरिष्ठ नेता झलनाथ खनालले खोलो तर्न आँट गरेनछन् । कुनै बलियाबाङ्गा एकजनाले उनलाई पिठ्युँमा बोकेर खोलो तारेछन् । त्यो खोलो बोकिएर तरेको तस्बीर छापियो । त्यो फोटो र बोकिएर खोलो तरेको समाचार एकाएक भाइरल भो । झलनाथलाई असजिलो गरायो । पहाड, तराईतिर राजनीति गर्दा कैयौंपल्ट साथी या जोकेहीको पिठ्युँमा बोकिएर खोला तर्नुभएको थियो होला ।

तर पनि त्यतिबेला त्यस्ता घटना समाचार बन्दैनथे, किनकि एउटा त उहाँ राजनीतिको वा सरकारको माथिल्लो ओहदामा पसिसक्नुभएको थिएन र चर्चा कमै हुन्थ्यो । त्योपल्ट मान्छेले बोकेर खोलो तार्दा कतै चर्चा भएन । तर योपल्ट झलनाथको तीनपुस्ते समेत सार्वजनिक भयो । यस्तै खोजिपस्ने हो भने धेरैभन्दा धेरै उपलब्ध हुन्छन् । यसकारण नेता भएपछि, नेतृत्व गरेपछि सानो गल्तीले पनि ठूलो सजाय दिलाउँछ । यो पक्ष मूली मान्छेले सतर्कतासाथ आत्मसात् गरेन भने सानो घटनाले ठूलो कुरो गुम्छ ।

गणतन्त्र स्थापना गर्न, राजतन्त्र उखेल्न उल्लेखनीय योगदान गरेर केपी शर्मा ओलीले अहिले सर्वोच्च स्थान कार्यकारी सर्वोच्च पद पाउनुभएको छ । जानी–जानी वा भुलवश पनि कतै चुक्यो भने फेरि नागपास खेलझैं तलै झर्नुपर्छ । कुनै उपचार छैन, यसको अर्को । गणतन्त्र नेपालका प्रधानमन्त्रीको सचिवालयबाट टीकाको फर्मान जारी हुँदा बौद्धिक जगतमा मौन भूकम्प नै आयो ।

आफूलाई लोकतान्त्रिक गणतन्त्रको नागरिक भएको अनुभूतिलाई ‘भ्रम’ भएकोसम्म भनियो । त्यो सूचनाले आफू अझै पनि ‘रैती’ वा ‘प्रजा’ नै रहेको पचाउनै नसक्ने अनुभव भएको छ, सम्म लेख्न थालिएको छ । उक्त सूचनामा ‘विशिष्ट नागरिक’ र ‘सर्वसाधारण नागरिक’ भनी श्रेणी विभाजन गरिएकोसम्म लेखिन लाग्यो ।

राष्ट्रपति राष्ट्रपति नै हुनुपर्‍यो
टीका लगाउन जारी सूचनामा ‘वरिष्ठहरू’ र ‘सर्वसाधारण’हरू भनी पृथक–पृथक समय निर्धारण गरिएको सूचनालाई फर्मान नामकरण गर्दै डरलाग्दो विश्लेषण एवं व्याख्या गर्दै अब नेपाली नागरिक ‘असाधारण, विशिष्ठ, साधारण, सर्वसाधारण र अति साधारणजस्ता श्रेणीमा बाँडिने खतरा देखाउँदै मानवशास्त्री समेतको हवाला दिँदै सार्वभौमसत्ता सम्पन्न नेपालीलाई यसरी अनेक कोटी र काँटीमा वर्ग विभाजन गर्न नपाउने कुरा उठ्न थालेका छन् । सैद्धान्तिक र संवैधानिक रूपमा नेपाल ‘धर्मनिरपेक्ष’ राष्ट्र हो । परन्तु नेपालका राजतन्त्र कालका यावत् धार्मिक, पारम्परिक क्रियाकर्महरूलाई सांस्कृतिक आवरणमा गुटमुट्याउने रणनीति लिएर राजाकालीन यावत् धार्मिक काम राज्यले, राज्यको खर्चमा भैरहेका छन् ।

सम्पूर्ण धार्मिक कामलाई यथावत् राखी राष्ट्रप्रमुख राष्ट्रपतिले निर्वाह गर्ने हो भने ‘धर्मनिरपेक्ष’ भनेको के हो र ‘के हो, धर्मसापेक्ष’ भन्ने प्रश्न उठिसकेको छ । इन्द्रजात्रामा राष्ट्रपतिले रुपियाँ फाल्ने, त्यहाँ जात्रामा सहभागीहरूले ती डबल हुलमुल गरी टिप्ने । अनि राष्ट्रपति, अन्य माथि बसन्तपुर बैठकमा बस्ने प्रधानमन्त्री, मन्त्री, राजदूतहरूले मनोरञ्जन गर्ने चलन यथावत् राखिएको छ । यसको निहितार्थ के हो ? बसन्तपुर दरबारमा राजतन्त्र जीवितै देखिन्छ ।

भक्तपुर, काठमाडौं लगायत कुमारी घरहरू, राष्ट्रपतिद्वारा कुमारी पूजा र दर्शनको अस्ति मात्रका क्रियाकलाप हेर्दा कहाँ आयो गणतन्त्र भन्ने प्रश्न उठ्छ । पात्र फेरिए प्रवृत्ति फेरिएन भन्नैपर्छ । के यही हो, धर्मनिरपेक्षता ? राजाले नारायणहिटी राजदरबारमा दसैं टीका लगाइदिँदा कसैले पनि घुँडा मारेर टीका लगाएको कहिल्यै देखिन मैले राससबाट रिपोर्टिङमा जाँदा । राष्ट्रपति राष्ट्रपति नै हुनुपर्‍यो । राजतन्त्र नै प्रतिविम्बित हुने गतिविधि गर्नुभएन ।

प्रकाशित : कार्तिक १०, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?