मलाई नसोध कहाँ दुख्छ घाउ... 

दिवाकर बागचन्द

न्यूयोर्क — समाजले सम्मान पूर्वक नबोल्दा एउटा ठुलो समुदाय आहत् भएको सत्य कसैदेखि छुपेको छैन । कतिपयलाई लाग्ल 'तिमी' भन्दैमा, जातीय कुरा गर्दैमा दुख्नु पर्ने के छ र? दुखाइ भोगेकासंग हुन्छ, पीडा साटेर त हेर्नुस् अनि थाह हुनेछ दुखाइ के हो भनेर ।

प्रसंग–१

नारायण गोपालको नाम उच्चरण गरेपछि, को? भनेर परिचय दिनु आवश्यक हुँदैन । नारायण गोपाल आफैमा एउटा परिचय हो । नेपाली सांगीतिक आकाशका जज्वल्यमान तारा नारायण गोपालसँगको मेरो दैवले जुराएको भेटको स्मरण गर्न चाहन्छु । मलाई त्यो दिन याद छ, तर कुन साल हो विर्सिएँ । म स्कुलमा पढ्थें । नारायण गोपालको धनगढीमा सांगीतिक प्रस्तुती थियो । कार्यक्रम स्थलमा ठुलो भीड थियो । म र मेरो साथीसँग शो हेर्न टिकट थिएन । पास हुने कुरै भएन । तैपनि स्वर सम्राटको दर्शन पाइने आशमा यताउता भौतारिइरहेका थियौं । भगवानको कृपा, नारायण गोपाल म र मेरो साथीतिर आउनुभो, २० रुपैया दिंदै भन्नु भो, 'बाबु उ त्यो ठेलाबाट बदाम किनेर ल्याइ दिनुस् न ।'


यति ठुलो हस्तीलाई यति नजिकबाट देख्न पाउँदा सपना झै लाग्दै थियो । त्यस माथी हामी स्कुले 'भुरा'लाई तपाई भनेर सम्बोधन गरेको देख्दा असिमित सम्मान जागेर आयो ।


संगीत अमृत रस हो, जसले मानव मात्र नभएर सम्पुर्ण प्राणी र जगतलाई सिञ्चित गर्न सक्दो रहेछ नारायण गोपालले हामीलाई महशुस गराउनु भो । शो त हेर्न पाइन, तर बाहिरबाट स्वर सम्राटका सुमधुर अवाज सुनि रह्यौं “मलाई नसोध कहाँ दुख्छ घाउ………”


प्रसंग–२

कुरो ९० को दशक को हो सायद । रेडियो नेपालबाट एउटा यस्तो गीत सुनें, जसले मेरो जीवन जगत प्रतिको दृष्‍टिकोण निर्माण गर्‍यो । गीत थियो, बरिष्ठ निर्देशक, गीतकार यादव खरेलको ''यस्तै रहेछ यहाँको चलन....।'' यो गीत त्यतिखेर सम्पूर्ण नेपालले गुनगुनाउथ्यो भन्दा अत्युक्ति नहोला । जब देश कुनै गीत गुनगुनाउन थाल्छ त्यो गीत गीत मात्र रहँदैन । गीतकार गीतकार मात्र रहँदैन, संगीतकार संगीतकार मात्र हुँदैन्, गायक गायक मात्र रहँदैन । उनीहरु चेतना, विवेक र सोचका प्रतिक बन्दछन् । यस्तो संगीत कालजयी हुन्छ र यसले एउटा "क्रिटिकल मास" तयार गर्छ । यी भए नेपाली सुगम संगीतका स्वर्णिम् दिनका कुरा ।


अव प्रसंग टीभी संगीत प्रतियोगिताको,

आजकल नेपालमा थुप्रै साँगीतिक टीभी प्रतियोगिताहरु प्रसारित हुन्छन् । त्यस मध्ये नेपाल आइडोलको चर्चा बढि छ। यो प्रतिभा प्रदर्शन गर्ने थलो हो । नेपालका कुना कन्दरामा लुकेर रहेका प्रतिभालाई खोजेर एउटा मञ्च दिनु एउटा प्रशंसनीय कार्य पनि हो । यति हुँदाहुँदै पनि यसका केहि कमजोरीहरु छन्, ।


पहिलो, : यस कार्यक्रममा केहि निर्णायकहरुले प्रतियोगिहरुलाई "तिमी" भनेर सम्बोधन गर्छन जुन, माया, स्नेहपूर्वक भनिएको हो भने पनि सार्बजनिक कार्यक्रममा यसरी सम्बोधन गर्दा भद्दा र अशोभनीय लाग्छ । यसलाई साँगीतिक सँस्कार सम्मत मान्न सकिन्न । यसले नेपालको गणतान्त्रात्मक र लोकतान्त्रिक चरित्र निर्माणमा सहयोग गर्दैन । यसले "फिउडल माइन्ड्सेट'' तर्फ इङि्गत गर्दछ ।


दोस्रो, सामाजिक सञ्जालमा प्रतियोगिहरुका आफन्तले जातीय आधारमा भोट माग्ने गरेका कुरा आएका छन् । जुन खतरनाक प्रबृति हो । यो राजनीतिक चुनाव होइन, यसले संगीतको उचाइ कम मात्र होईन, संगीतको पनि जात हुन्छ भन्ने एउटा गलत नजिर तयार गर्नेछ । यसले समाजलाई ध्रुबीकरण गर्ने छ । संगीत त समाज जोड्ने शक्ति हो । यसमा नेपाल आइडल आयोजकको कुनै दोष नभए पनि एउटा आचार संहिता आवश्यक देखिन्छ । शायद होला पनि ।


म संगीत साधक त होइन । नबुझे पनि सिद्धान्तलाई आत्मसाथ गरेको छु । मेरा लागि संगीत उत्कृस्ट कला हो । मेरो बुझाइमा ‘‘संगीतको उत्पत्ति मानवीय संवेदना सँङै भएको हो । केहि सोधले के भन्छन भने, कुनै प्रकारको पीडा भएको मान्छेलाई संगीत सुनाइयो भने दुखाइ कम हुन्छ । पीडाबाट ध्यान हट्छ । यसले दुखाइ कम भएको मह्सुस हुन्छ । भनिन्छ, संगीत सुन्दा डोपामाइनको स्तर अधिक हुन्छ र यसले खुशीको लहर पैदा गर्छ । मेरा लागि जीवन हो, संगीत । सभ्यताको परिचायक हो ।


नेपाल आईडलको मञ्चमा कोही निर्णायकले प्रतियोगलाइ तिमी भने सम्बोधन गरिरहँदा दशकौं अघि स्वर् सम्राटले दुई अन्जान स्कूले केटाहरुलाई तपाई भनेको सम्झना आइरहन्छ । हामीलाई त्यो इज्जतको आशा थिएन । उनको व्यवहारबाट हामी नतमस्तक् भएका थियौ । नारायण गोपालका लागि शब्दहरुले कति मह्त्व राख्थे भन्ने कुरा उनका गीतहरुबाट पनि थाहा हुन्छ ।


फेरी बोलीतिरै फर्कौं । समाजले सम्मान पुर्वक नबोल्दा एउटा ठुलो समुदाय आहत् भएको सत्य कसैदेखि छुपेको छैन । कतिपयलाइ लाग्ल तिमी भन्दैमा, जातीय कुरा गर्दैमा दुख्नु पर्ने के छ र? दुखाइ भोगेकासंग हुन्छ, पीडा साटेर त हेर्नुस् अनि थाह हुनेछ दुखाइ के हो भनेर ।


प्रकाशित : कार्तिक ९, २०७५ १७:१२

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेकपाको नाम विरुद्ध परेको उजुरी खारेज

राजेश मिश्र

काठमाडौँ — निर्वाचन आयोगले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को नाम विरुद्ध परेको उजुरीलाई खारेज गरेको छ । आयोगको इजलाशले आयोगबाट यसअघि भएको निर्णयलाई नै सही ठहर्‍याएको छ । 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले आफ्नो पार्टीको नामसँग हुबहु मिल्ने गरी सत्तारुढ दललाई नाम दिइएको भन्दै पुनरावलोकनका लागि आयोगमा निवेदन दिएका थिए । आयोगले कट्टेल र सत्तारुढ दल पक्षको बहस सुनेपछि साविककै निर्णयलाई सदर गरेको हो ।

तर अध्यक्ष कट्टेलले भने आयोगको निर्णय आफूलाई स्विकार्य नभएको बताए। उनले भने, 'अब अब कानुनी उपचारका लागि सर्वोच्च अदालत जान्छु ।'

आयोगका प्रवक्ता सह-सचिव दीपक सुवेदीले नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी(नेकपा) अलग अलग नामका दल रहेको आयोगको शुक्रबार बसेको इजलाशबाट निर्णय भएको बताए ।

जेठ ३ गते दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र एकीकरण भएको घोषणा भएको थियो । एकीकरण पछिको दलले जेठ २३ मा आयोगबाट नेपाल कम्युनिस्ट पार्टी(नेकपा) नाम सहित दल दर्ताको प्रमाणपत्र पाएको थियो । राजनीतिक दलसम्बन्धी ऐनको दफा ६(ङ) मा दलको नाम वा चिन्ह आयोगमा दर्ता रहेको अन्य दलसँग मिल्न गएमा दल दर्ता नहुने व्यवस्था छ । कट्टेलले कानुनको सोही दफा अनुसार आफ्नो पार्टीको नामसँग मिल्ने गरी दल दर्ता गरिएको भन्दै आयोगमा निवेदन दिएका थिए ।

आयोगले नेपाल कम्युनिस्ट पार्टी मूल नाम भई अन्य पहिचान खुलाएका ७ वटा दल रहेको जनाएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ कार्यान्वयनमा आउनु पूर्व दर्ता भएका दलहरुको स्वत: दर्ता कायम हुने कानुनी व्यवस्था छ । आयोगको इजलाशले नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) नामका दलहरु नयाँ दर्ता भएका दल नभएको र कानुन अनुसार एकीकरण भएका दल भएकाले नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को नाममा एकीकरण कायम गरी दल दर्ता गरिएको आयोगको निर्णय कानुन संगत नै रहेको ठहर गरेको छ ।

प्रकाशित : कार्तिक ९, २०७५ १६:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×