ओ दार्जिलिङ !

आफ्नै मधेसले उठाएका आवाज नसुन्ने चेष्टा गरिरहनेका लागि दार्जिलिङ त्यस्तो इयरफोन हो, जहाँ तिनले सुन्न चाहेको पहाडे राष्ट्रवादी धुन बजिरहन्छ ।
उज्जवल प्रसाईँ

काठमाडौँ — दार्जिलिंगे साहित्यकार रामलाल अधिकारीले झापाको बाहुनडाँगीमा आयोजित साहित्यिक कार्यक्रममा भने, ‘हामीलाई पारिका लेखक नभन्नु  । हिउँदमा स्याप्पै सुकिजाने मेची खोलोले हामीलाई कसरी छुट्याउन सक्छ ? हामी सबै नेपाली लेखक हौं  ।

अधिकारी रहेनन्, मेची खोलो छँदैछ । बगरमा धमिला सीमास्तम्भ उभिएकै छन् । ती स्तम्भहरू बेलाकुबेला हाम्रा राजनीतिक विवादका अप्ठ्यारा विम्ब बनिरहेकै छन् । सिमानावारिको कञ्चनजंघा एफएममा दार्जिलिङ लक्षित कार्यक्रमको नाम ‘सिमानापारि’ छँदैछ ।

राजनीतिक सिमानाले ठूलो अर्थ राख्छ । सुदूर भविष्यमा सबै सिमाना नामेट भए अर्कै कुरा, नत्र सिमानाले मान्छेका पहिचान निर्माण गर्छन्, आपसी सम्बन्ध परिभाषित गर्छन् । सिमाना राजनीतिक हो र त्यो कृत्रिम हो । त्यसको प्रभाव भने यति गहिरो छ कि हामीलाई त्यो कुनै स्वयम्भू संरचना प्रतित हुन्छ । सिमाना बेगरको दुनियाँको परिकल्पना बरु दुरुह र अप्राकृतिक भान हुन्छ ।

साहित्यिक माहोलले निबन्धकार अधिकारीलाई भावुक बनायो । कम्तीमा नेपाली साहित्यमा कृत्रिम सिमानाको उपादेयता धेरै नखोजौं भन्न चाहे । कल्पना सुखद थियो, यथार्थका आफ्नै दु:ख छन् ।

कुनै हिन्दीभाषी विहारी साहित्यकारले जनकपुर आएर त्यस्तै भावुकता व्यक्त गरेको हुनसक्छ । उसले भनेको हुनसक्छ, ‘पटना भनौं वा जनकपुर, हामी एकै हौं । हाम्रा दु:खका साझा चौतारीहरू छन्, भाषाको छानो एकै हो ।’ यी अमूक विहारी साहित्यकारको यो काल्पनिक वाक्य काठमाडौंसम्म सम्प्रेषण हुँदो हो त, काठमाडांैको चिडचिडाहट सतहमा स्पष्ट देखिन्थ्यो । कतिले त्यहाँ विस्तारवादी षड्यन्त्रको जालो पहिल्याउँथे । रामलाल अधिकारीको भावुकताले भने सिंगो काठमाडौंलाई भावुक बनाउँछ । त्यति भनेकामा उनलाई सतत धन्यवाद दिइन्छ ।

त्यसो त यथार्थको अर्को पाटो पनि छ । यताको सत्ताले दार्जिलिङमा जन्मेर नेपाललाई कर्मथलो बनाएका पारिजात र दान खालिङहरूलाई गरेको व्यवहार उति निको थिएन । पारिबाट आएर सत्ताको इर्दगिर्द घुम्नेहरूका कथा बेग्लै छन् । यहाँ राम्रो अवसर पाएर वृत्तिविकास गरेकाले नेपाली सत्ताप्रति देखाएको बफादारीका किस्सा विचित्रका छन् । राजनीतिक सिमाना एकैसाथ आर्थिक, सांस्कृतिक एवं मनोवैज्ञानिक पहेली बन्छ ।

भोग्य दार्जिलिङ
केही वर्षअघि नेपालका प्रधानमन्त्री भारत भ्रमणमा पुग्दा दिल्लीमा रहेका दार्जिलिंगे प्रबुद्ध व्यक्तिले भेटघाटको मेसो मिलाए । छोटो समयका लागि नेपाली प्रमलाई भेट्न पुगेका उनीहरूले आफ्ना भनाइ राख्नुअघि प्रमले भनेछन्, ‘दार्जिलिङका नेपालीको समस्याबारे म जानकार छु, हामी यहाँ छलफल गर्छौं ।’ उनीहरूले प्रमसमक्ष हात जोडेर बिन्ती बिसाए, ‘हामी यही कुरा गर्न आएको । कृपया तपाईंले हाम्राबारे चिन्ता नगरिदिनुहोला । हामी नेपाली नागरिक होइनौं, भारतीय नागरिक हौं । भारतभित्र गोर्खाल्यान्ड राज्य बनाउन खोजिरहेका छौं । यो तपाईंको सरोकारको विषय नबनाइदिनुहोला । तपाईंले हाम्रोबारे केही बोल्नुले हामीलाई असहयोग हुनेछ ।’

भारतीय सत्ताले दार्जिलिङका नेपालीभाषीलाई भारतीय नागरिक ठान्दैन । उनीहरूले भारतीय सत्ताप्रति आफ्नो बफादारी पटक–पटक प्रमाणित गर्नुपर्छ । अनेक समुदायले भाषाकै आधारमा राज्यको माग गरे, त्यसका लागि संघर्ष गरे । उनीहरूले राज्य पाए । गोर्खाल्यान्डको संघर्ष जारी छ । सतहका संकेत बुझ्नेहरू भन्छन्, ‘भारतीय सत्ताले गोर्खाल्यान्ड सजिलै र छिटै दिँदैन ।’ दशकौंका संघर्ष सबै व्यर्थ भएको भानमा धेरै अभियन्ता दिक्दार छन् । इन्द्रबहादुर राईजस्तो विख्यात साहित्यकारको मृत्यु हुँदा भारतको मूलधारले कतै सुइँको नपाउनु नेपालीले भोगेको अलगावको प्रमाण हो ।

नेपालका पहाडी राजनीतिज्ञ, पत्रकार एवं बुद्धिजीवी दार्जिलिङलाई हेरेर भावुक हुन्छन् । ठाउँ पाउँदा केही न केही भनिहाल्न पछि पर्दैनन् । दार्जिलिङले बनाएका भानुभक्तका शालिक, उनीहरूले वर्षेनि गर्ने सार्वजनिक रामायण पाठ, लगाउने दौरा–सुरुवाल र ढाकाटोपी, बजाउने मादल र बाँसुरीले उद्वेलित हुन्छन् । आफ्नैले भानुभक्तमाथि उठाएका प्रश्न त्याज्य तुल्याउन उता धुमधाम मनाइने भानु जयन्तीबारे लामा निबन्ध लेख्छन् ।

दार्जिलिङले निम्ता गरे उत्पात खुसी हुन्छन् । ‘नेपाली’ पहिचान जोगाउन नेपालले भन्दा ज्यादा सिक्किम र दार्जिलिङले भूमिका खेलेको बताउँदा थामिनसक्नु फुर्केका हुन्छन् । तर दार्जिलिङले भारतीय सत्तासँग गरेको लामो संघर्षबारे बुझाइ गहिर्‍याउन खोज्दैनन् । पहिला नेपालीभाषी भएर उनीहरू भारतीय नागरिक हुन सक्छन् भन्ने बोध गर्दैनन् । भारतीय सत्ताले ‘तँ पहिला नेपालीभाषी कि भारतीय ?’ भनेर सोधेको प्रश्नको अन्तर्य खुट्याउन सक्दैनन् ।

ब्रिटिस साम्राज्यले बनाइदिएको दार्जिलिङ नामको बिक्रीयोग्य वस्तु अर्थात कमोडिटीलाई सुन्दर पहाड वा चियाबगानका नाममा बेपर्वाह भोगियो । चियाबगानका बाहिरिया व्यापारी हुन् वा केवल पर्यटकीय नजरले हेर्नेहरू हुन्, उनीहरूका लागि दार्जिलिङ भोग्य वस्तुभन्दा बढी केही होइन । नेपालका पहाडे राष्ट्रवादमा ओतप्रोत मानिसमा आत्मरतिका लागि त्यसरी नै दार्जिलिङलाई भोग्ने चलन बलियो छ ।

आफ्नै मधेसले उठाएका समता र न्यायको आवाज नसुन्ने चेष्टा गरिरहनेका लागि दार्जिलिङ स्वयं त्यस्तो इयरफोन हो, जहाँ तिनले सुन्न चाहेको पहाडे राष्ट्रवादी धुन बजिरहन्छ । आवश्यक पर्दा त्यही धुन सुनिन्छ, सुनाइन्छ । त्यहाँ गोर्खाल्यान्ड आन्दोलन चर्किन थालेपछि यता थप्पडी बजाइन्छ । नत्र दार्जिलिङवासीका दैनन्दिनका संघर्षबारे यहाँ खासै छलफल हुँदैन, न कुनै गहिरो अध्ययन गरिन्छ ।

नेपाली भाषा, दौरा–सुरुवाल, टोपी र भानुभक्त उनीहरूले आफ्नो पहिचान जताउन उभ्याएका प्रतिरोधी राजनीतिक विम्ब हुन् भन्ने बोध गरिँदैन । साथै यी सांस्कृतिक विम्बमात्र पनि सिंगो दार्जिलिङ होइन भन्ने बुझ्दैनन् । आफूभित्र रहेका विविधताबारे त्यहाँका मान्छे संवेदनशील छन् भन्ने अनुभूति गर्नेहरू छैनन् । पहिचानसँग जोडिएका ती प्रतिरोधी विम्बको सम्मानभन्दा आफ्नो आत्मरति प्यारो हुने गर्छ, यता ।

दार्जिलिङको दृष्टिदोष
नेपालमा उल्लेख्य राजनीतिक परिवर्तन भएको थियो । रामवरण यादव संघीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति बनेका थिए । नयाँ नेपालको परिकल्पना चलिरहेको थियो । अन्यायी सामाजिक एवं राज्य संरचना बदल्ने अभियानमा थियो, नेपाल । तिनताक केही दार्जिलिंगे साहित्यकारसँग भेटघाट गर्ने मेसो मिल्यो । अनौपचारिक गफगाफका क्रममा ती लेखकहरू नेपालको पछिल्लो परिवर्तनसँग खुसी नभएको बुझियो । गपिँmदै जाँदा नाम चलेका एक कविले मुख खोले, ‘के–के नाप्यौँ भन्थे, एउटा मधिसेलाई राजा बनाएछन् । राजा मास्यौ, अब धर्म मासिन्छ । गयो नेपालीपन, अब केही रहँदैन ।’ उनले मधेसी भन्न जानेका थिएनन् । अपमानजनक ‘मधिसे’ शब्द प्रयोग गरेर रोष व्यक्त गरे ।

मधेसीभन्दा आफू बढी बफादार नेपाली भएको आत्मरतिमा रमाउनेहरू भारतमा अझै छन् । कहिलेकाहीं उनीहरू आफू भारतीय नागरिक भएको र आफ्नो पहिचानका लागि भारतभित्रै संघर्ष गर्नुपर्ने यथार्थलाई पनि नजरअन्दाज गरिदिन्छन् । नेपालका राजालाई आफ्ना संरक्षक ठान्नेहरूले राजतन्त्र अन्त्य हुँदा बेखुसी व्यक्त गरे । भोलि भारतमा आफ्नो अवस्था राम्रो नभए फर्केर राजाको शरण पर्न सजिलो हुन्छ भन्ने भाव व्यक्त गर्नेहरू छन् । त्यसैले राजालाई गद्दीबाट विदा गरेकामा उनीहरू क्षुब्ध भए । तिनले मौका पाउनासाथ यहाँको राजनीतिक परिवर्तन विरुद्ध आगो ओकल्छन् ।

मधेसमा भएका आन्दोलनलाई कतिले आफ्ना भानुभक्त, दौरा–सुरुवाल एवं नेपाली भाषा विरोधी आन्दोलनका रूपमा बुझे । यताका मधेस विरोधीहरूले निर्माण गरेका भाष्यलाई बिनाप्रश्न विश्वास गर्नेहरू उल्लेख्य छन् । मधेसले आफ्ना अलगावबारे बताउँदा उनीहरू आक्रोशित हुन्छन् । यताको सत्तालाई चुनौती दिँदा काठमाडौंतिर हेरेर च्वच्व गर्दै सहानुभूति जनाउँछन् । आफूले गरेको संघर्ष र मधेसले अलगाव विरुद्ध बोलेको आवाजमा केही समानता हुनसक्छ भन्ने सोच्दैनन् । आफूलाई दुव्र्यवहार गर्ने कुनै बंगाली वा उत्तर भारतीय मानिसको प्रतिच्छाया रामवरण यादवको अनुहारमा देख्न खोजेका कारण ती कवि आक्रोशित भएका हुन् ।

अन्त्यमा,
नेपालबारे चासो राख्ने भारतीय नेपालीले नेपालको विविधता बुझ्न जरुरी छ । यतापट्टि भने दार्जिलिङ आत्मरितका लागि प्रयोग गरिने पहाडे राष्ट्रवादी विम्ब होइन, बरु उसको अलग अस्तित्व छ भन्ने अनुभूति गहिर्‍याउन आवश्यक छ । राजनीतिक सीमासँग जोडिने जटिलताबारे संवेदनशील नहुनु यथार्थलाई नजरअन्दाज गर्नु हो । अर्को समुदायले आफ्नो अस्तित्व एवं पहिचानका लागि गरेको संघर्षलाई अपमान गर्ने छुट कसैलाई हुँदैन ।

प्रकाशित : कार्तिक ९, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्

क्यान्सरविरुद्ध हातेमालो

पहिला आफ्ना लागि मात्र बाँचें, अहिले केही गर्न अरूका लागि पनि बाँचेकी छु ।
बन्दना खाँड

काठमाडौँ — २०७२ भदौमा जब म स्तन क्यान्सरको सरभाइभर भएँ, तिता–मिठा अनुभव सँगाल्ने मौका पाएँ  । बीपी मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा उपचारका क्रममा क्यान्सरका अन्य बिरामीे महिलासँग निराशाजनक अनुभव र मनका कुरा साटासाट गर्न भयो  ।

त्यसबाट बिरामीलाई बिरामीद्वारा गरिने मनोसामाजिक सहयोगजस्ता कार्यसहित क्यान्सर रोकथाम अभियान चलाउने आवश्यकता महसुस भयो । लैंगिक समानता, सुशासन, वातावरण तथा दिगो विकासका क्षेत्रमा समुदायदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम सहजीकरण, वकालत, अभियान सञ्चालन गरेको अनुभव मसँग थियो । यसमा विशेषत: मेरो मुमाको सामाजिक सेवाको भावना र श्रीमानको हौसलाले मलाई उत्प्रेरणा थप्यो ।

अभियानको सुरुवात महिलाको महान पर्व तीजको अवसरमा २०७३ सालमा क्यान्सर (स्तन तथा पाठेघर) सम्बन्धी सचेतनामूलक अन्तरक्रियामार्फत भयो । यसको मूलभूत सन्देश ‘हामी महिला आफ्नो स्वास्थ्यप्रति सदैव सजग एवं सचेत रहनुपर्छ र कुनै समस्या आइहाले संयमता अपनाई अगाडि बढ्नुपर्छ’ भन्ने थियो ।

क्यान्सर रोकथाम अभियान अन्तर्गत व्यक्ति तथा परिवार, समुदाय र जिल्ला स्तरका क्रियाकलाप सञ्चालन गर्दै आएका छन् । त्यस अन्तर्गत सचेतनामूलक अन्तरक्रिया, तालिम, दुर्गम ग्रामीण भेगमा महिला स्वास्थ्य शिविर परीक्षण तथा क्यान्सर परीक्षण शिविर, स्तन तथा पाठेघर क्यान्सर बिरामीसँग अन्तरक्रियासहित मनोसामाजिक सहयोग, विद्यालयमा सचेतना, नेपाल सरकारको स्वास्थ्य सेवासुविधा, नीतिगत जानकारी, सञ्चारकर्मीसँग छलफल, सचेतनामूलक र्‍याली, गोष्ठी छन् । सँगसँगै सामाजिक सञ्जालमार्फत पनि सूचना प्रवाह हँुदै आएको छ । यसमा विभिन्न संघ–संस्था कार्यक्रमगत सहकार्य हुने गरेको छ । बजेटको अप्रायप्ताले दुर्गम क्षेत्रको माग र आवश्कता अनुसार कार्यक्रम गर्न सकिएको छैन । क्यान्सर रोकथाम अभियानका लागि एउटा कोष स्थापना गरेका छौं, जसमा परिवार, साथी, आफन्तले सहयोग गरिरहनुभएको छ ।

अहिले क्यान्सर सम्बन्धी जानकारी लिने, फेसबुक पेज, म्यासेन्जर, फोनमामार्फत जानेसम्म जानकारी दिने मेरो दिनचर्या बनेको छ । निराश महिला बिरामीलाई बेडमै गएर आत्मबल बढाउने, बिरामी लगायत परिवारलाई मनोसामाजिक सहयोग गर्नेसमेत गरेकी छु ।

ग्रामीण भेगका महिलाका लागि अस्पतालमै गएर लाइनमा बसेर सम्बन्धित डाक्टरसँगको उपचारमा सहयोग गर्ने, उपचारका क्रममा घर फर्किने गाडी भाडासमेत नरहेका बिरामीलाई सम्बन्धित व्यक्ति संस्थासँगको समन्वयमा आर्थिक सहयोग जुटाउने अभियानमा सक्रिय छु । यो अभियानलाई ब्यापक बनाउन रणनीतिक योजना बनाइरहेका छौं । म समय मिलाएर स्वयम्सेवकका रूपमा खटेकी छु, यसले मलाई आत्मसन्तुष्टि मिलेको छ, परिवारले पनि साथ दिएको छ ।

स्तन तथा पाठेघर क्यान्सर सम्बन्धी जानकारी नभएर, संकोच मानेर, डराएर अकालमा ज्यान जानबाट बचाउनु, क्यान्सर हुनै नदिने रोकथामका सचेतना फैलाउनु, भइहाले बिरामीलाई क्यान्सर पनि अन्य रोगसरह हो भन्ने दृढ मनोबलका साथ उपचार गर्न प्रोत्साहन दिनु, मनोसामाजिक सहयोग गर्नु नै क्यान्सरपछिको मेरो नयाँ जीवनको लक्ष्य हो । पहिला आफ्नालागि मात्र बाँचेँ, अहिले केही गर्न अरुका लागि पनि बाँचेकी छु जस्तो लाग्छ । क्यान्सर जितेर नयाँ जीवन पाएसंँगै साहस र सक्रियता अझ बढेको अनुभव भएको छ । म जस्ता स्तन क्यान्सर विजेतालाई यो अभियानमा डोर्‍याउने लक्ष्य छ ।

नेपालमा समग्रमा एक नम्बरमा फोक्सोको, दुईमा पाठेघरको मुखको र तेस्रोमा स्तन क्यान्सर छ । मद्यपान, धूमपान, ढिलो विवाह, ढिलो बच्चा जन्माउने, हर्माेनल औषधीको धेरै प्रयोग स्तन क्यान्सरका प्रमुख कारण मानिन्छन् । अक्टोबर महिनालाई विश्वभर ‘स्तन क्यान्सर सचेतना महिना’का रूपमा हरेक वर्ष मनाउने गरिन्छ ।

स्तन क्यान्सर, यसका सम्भावित कारण, जोखिम एवं रोकथाम र उपचारबारे जनचेतना जगाउनु तथा क्यान्सर पीडितलाई आत्मबल र प्रोत्साहन प्रदान गर्नु यसको उद्देश्य हो । स्तन क्यान्सर सुरुवाती चरणमै पहिचान भई आवश्यक उपचार भए पूर्णरूपमा निको हुनसक्छ । नेपालमै सहज, सुलभ तरिकाले उपचार सम्भव छ । क्यान्सरको पर्यावाची मृत्यु होइन, आफूभित्र रहेको सकारात्मक ऊर्जाको पहिचान, दृढ आत्मबल, सकारात्मक सोच नै क्यान्सर पूर्णरूपमा निको हुने बलियो आधार हो । क्यान्सर रोकथाममा हामी सबैले हातेमालो गरौं ।

प्रकाशित : कार्तिक ९, २०७५ ०७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×