क्यान्सरविरुद्ध हातेमालो

पहिला आफ्ना लागि मात्र बाँचें, अहिले केही गर्न अरूका लागि पनि बाँचेकी छु ।
बन्दना खाँड

काठमाडौँ — २०७२ भदौमा जब म स्तन क्यान्सरको सरभाइभर भएँ, तिता–मिठा अनुभव सँगाल्ने मौका पाएँ  । बीपी मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा उपचारका क्रममा क्यान्सरका अन्य बिरामीे महिलासँग निराशाजनक अनुभव र मनका कुरा साटासाट गर्न भयो  ।

त्यसबाट बिरामीलाई बिरामीद्वारा गरिने मनोसामाजिक सहयोगजस्ता कार्यसहित क्यान्सर रोकथाम अभियान चलाउने आवश्यकता महसुस भयो । लैंगिक समानता, सुशासन, वातावरण तथा दिगो विकासका क्षेत्रमा समुदायदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम सहजीकरण, वकालत, अभियान सञ्चालन गरेको अनुभव मसँग थियो । यसमा विशेषत: मेरो मुमाको सामाजिक सेवाको भावना र श्रीमानको हौसलाले मलाई उत्प्रेरणा थप्यो ।

अभियानको सुरुवात महिलाको महान पर्व तीजको अवसरमा २०७३ सालमा क्यान्सर (स्तन तथा पाठेघर) सम्बन्धी सचेतनामूलक अन्तरक्रियामार्फत भयो । यसको मूलभूत सन्देश ‘हामी महिला आफ्नो स्वास्थ्यप्रति सदैव सजग एवं सचेत रहनुपर्छ र कुनै समस्या आइहाले संयमता अपनाई अगाडि बढ्नुपर्छ’ भन्ने थियो ।

क्यान्सर रोकथाम अभियान अन्तर्गत व्यक्ति तथा परिवार, समुदाय र जिल्ला स्तरका क्रियाकलाप सञ्चालन गर्दै आएका छन् । त्यस अन्तर्गत सचेतनामूलक अन्तरक्रिया, तालिम, दुर्गम ग्रामीण भेगमा महिला स्वास्थ्य शिविर परीक्षण तथा क्यान्सर परीक्षण शिविर, स्तन तथा पाठेघर क्यान्सर बिरामीसँग अन्तरक्रियासहित मनोसामाजिक सहयोग, विद्यालयमा सचेतना, नेपाल सरकारको स्वास्थ्य सेवासुविधा, नीतिगत जानकारी, सञ्चारकर्मीसँग छलफल, सचेतनामूलक र्‍याली, गोष्ठी छन् । सँगसँगै सामाजिक सञ्जालमार्फत पनि सूचना प्रवाह हँुदै आएको छ । यसमा विभिन्न संघ–संस्था कार्यक्रमगत सहकार्य हुने गरेको छ । बजेटको अप्रायप्ताले दुर्गम क्षेत्रको माग र आवश्कता अनुसार कार्यक्रम गर्न सकिएको छैन । क्यान्सर रोकथाम अभियानका लागि एउटा कोष स्थापना गरेका छौं, जसमा परिवार, साथी, आफन्तले सहयोग गरिरहनुभएको छ ।

अहिले क्यान्सर सम्बन्धी जानकारी लिने, फेसबुक पेज, म्यासेन्जर, फोनमामार्फत जानेसम्म जानकारी दिने मेरो दिनचर्या बनेको छ । निराश महिला बिरामीलाई बेडमै गएर आत्मबल बढाउने, बिरामी लगायत परिवारलाई मनोसामाजिक सहयोग गर्नेसमेत गरेकी छु ।

ग्रामीण भेगका महिलाका लागि अस्पतालमै गएर लाइनमा बसेर सम्बन्धित डाक्टरसँगको उपचारमा सहयोग गर्ने, उपचारका क्रममा घर फर्किने गाडी भाडासमेत नरहेका बिरामीलाई सम्बन्धित व्यक्ति संस्थासँगको समन्वयमा आर्थिक सहयोग जुटाउने अभियानमा सक्रिय छु । यो अभियानलाई ब्यापक बनाउन रणनीतिक योजना बनाइरहेका छौं । म समय मिलाएर स्वयम्सेवकका रूपमा खटेकी छु, यसले मलाई आत्मसन्तुष्टि मिलेको छ, परिवारले पनि साथ दिएको छ ।

स्तन तथा पाठेघर क्यान्सर सम्बन्धी जानकारी नभएर, संकोच मानेर, डराएर अकालमा ज्यान जानबाट बचाउनु, क्यान्सर हुनै नदिने रोकथामका सचेतना फैलाउनु, भइहाले बिरामीलाई क्यान्सर पनि अन्य रोगसरह हो भन्ने दृढ मनोबलका साथ उपचार गर्न प्रोत्साहन दिनु, मनोसामाजिक सहयोग गर्नु नै क्यान्सरपछिको मेरो नयाँ जीवनको लक्ष्य हो । पहिला आफ्नालागि मात्र बाँचेँ, अहिले केही गर्न अरुका लागि पनि बाँचेकी छु जस्तो लाग्छ । क्यान्सर जितेर नयाँ जीवन पाएसंँगै साहस र सक्रियता अझ बढेको अनुभव भएको छ । म जस्ता स्तन क्यान्सर विजेतालाई यो अभियानमा डोर्‍याउने लक्ष्य छ ।

नेपालमा समग्रमा एक नम्बरमा फोक्सोको, दुईमा पाठेघरको मुखको र तेस्रोमा स्तन क्यान्सर छ । मद्यपान, धूमपान, ढिलो विवाह, ढिलो बच्चा जन्माउने, हर्माेनल औषधीको धेरै प्रयोग स्तन क्यान्सरका प्रमुख कारण मानिन्छन् । अक्टोबर महिनालाई विश्वभर ‘स्तन क्यान्सर सचेतना महिना’का रूपमा हरेक वर्ष मनाउने गरिन्छ ।

स्तन क्यान्सर, यसका सम्भावित कारण, जोखिम एवं रोकथाम र उपचारबारे जनचेतना जगाउनु तथा क्यान्सर पीडितलाई आत्मबल र प्रोत्साहन प्रदान गर्नु यसको उद्देश्य हो । स्तन क्यान्सर सुरुवाती चरणमै पहिचान भई आवश्यक उपचार भए पूर्णरूपमा निको हुनसक्छ । नेपालमै सहज, सुलभ तरिकाले उपचार सम्भव छ । क्यान्सरको पर्यावाची मृत्यु होइन, आफूभित्र रहेको सकारात्मक ऊर्जाको पहिचान, दृढ आत्मबल, सकारात्मक सोच नै क्यान्सर पूर्णरूपमा निको हुने बलियो आधार हो । क्यान्सर रोकथाममा हामी सबैले हातेमालो गरौं ।

प्रकाशित : कार्तिक ९, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्

चराका चित्रमा छल

एक ठाउँमा खिचिएको चरा तस्बिर अर्को ठाउँ वा जिल्लामा खिचिएको भनेर पुस्तकमा छाप्ने गलत प्रवृत्ति छ ।
कमल मादेन

काठमाडौँ — गत असोज १० गते साँझ फोटोग्राफर यात्रा राई थुलुङ, जन्तुविज्ञानका सह–प्राध्यापक कुलप्रसाद लिम्बु, एक्याप घान्द्रुक प्रमुख विदुर कुइँकेल, वरिष्ठ रेन्जर पवन यादवसँग म म्याग्दीको खोप्रा पुगेको थिएँ  । बिहानी पख फोटोग्राफर थुलुङले फाप्रे चरा (कमन हुपो) देखेछन्  ।

तस्बिर खिच्न क्यामेरा उचालेर निस्किहाले । खोप्रा समुद्री सतहबाट ३,६६० मिटर भू–उचाइ सतहमा छ । तराई र मध्य पहाडतिर अक्सर देखिने उक्त पन्छी असोज महिनामा खोप्रा उचाइमा देखिनु उनका लागि नौलो थियो ।

थुलुङले अन्यत्रै खिचेको फाप्रे चराको तस्बिर देखाएर खोप्रामा खिचेको भन्न सक्थे । तर एक ठाउँको तस्बिर अर्कै ठाउँको भन्नु गलत हो । कुनै लेखक वा फोटोग्राफरले एक ठाउँमा खिचेको तस्बिर अर्कै ठाउँमा खिचेको हो भनेर प्रकाशन गरे अपराध मान्नुपर्छ । यो पाठक वर्गलाई गुमराहमा राख्ने प्रयत्न हो । यस लेखमा केही पुस्तकमा छापिएका चराका यस्तै तस्बिरबारे चर्चा गरिएको छ ।

नेपालका चरा सम्बन्धी लेखिएको पछिल्लो पुस्तक ‘अ फोटोग्राफिक फिल्ड गाइड टु द बडर््स अफ नेपाल’ (सन् २०१७) मा ७५० चरा प्रजातिका २ हजारभन्दा बढी आकर्षक तस्बिर छन् । पुस्तक ओम बुक्स इन्टरनेसनल, भारतले छापेको हो । पुस्तक विक्रम ग्रेवाल, सुमित सेन, सरवन्दिप सिंह, निखिल देवसर र गरिमा भट्टले लेखेका हुन् । ग्रेवालले वन्यजन्तु सम्बन्धी निकै पुस्तक लेखिसकेका छन् । उल्लिखित पुस्तकमा २ सय ८० जनाले खिचेका रंगिन तस्बिर छन् । तर कसले कुन तस्बिर खिचेको भन्ने जानकारी छैन ।

‘कट–पेस्ट’ प्रवृत्ति
नेपालमा पाइने काँडे भ्याकुर बाहेक अन्य सबै चरा प्रजाति भारतमा पाइन्छ । यस आधारमा भारतका अर्निथोलोजिष्टहरू नेपालका चराबारे जानकार छन् । यसो भन्न सकिन्छ, भारतीय अर्निथोलोजिष्टहरूले नेपालमा पाइने चराका तस्बिर भारतमै खिचेका छन् । ‘अ फोटोग्राफिक फिल्ड गाइड टु द बडर््स अफ नेपाल’ शीर्षक पुस्तकमा समावेश सबैजसो चरा भारतमै खिचिएका हुन् । फोटोग्राफरमध्ये ज्योतेन्द्र ठकुरीसहित एकाधमात्र नेपाली हुन् । अरु सबै भारतीय । उनीहरूले नेपालको कुनाकन्दरा पुगेर चरा पक्कै खिचेका छैनन् ।

भारतमा खिचिएको तस्बिरका आधारमा नेपालमा हिजोआज ती चरा पाइन्छ भनेर लेख्नु गलत हो । नेपालमा पाइने चरा प्रजातिमध्ये केही नेपालमा कैयन दशकयता फेला पर्न नसकेको अनुसन्धानात्मक लेख तथा पुस्तकमा पढ्न पाइन्छ । उक्त पुस्तकमा नेपाली अर्निथोलोजिष्टले कहिल्यै फेला नपारेका थुप्रै चरा समावेश छन् । जस्तो– बट्टाई समूहको रेन क्वेइल भनिने एक चरा प्रजाति । यसको वैज्ञानिक नाम ‘कोटुर्निक्स कोरोमान्डेलिका’ हो । यो चरा पाकिस्तानदेखि थाइल्यान्डसम्म पाइन्छ भन्ने लेखिएको पाइन्छ । तर रिचार्ड ग्रिमेट, क्यारोलिन इन्स्किप, टिम इन्स्किप र हेमसागर बराल लिखित ‘हेल्म फिल्ड गाइड्स, बर्ड्स अफ नेपाल (सन् २०१६)’ मा यो चरा नेपालमा १९ औं शताव्दीयता नदेखिएको जिकिर छ । ग्रिमेट र अरुद्वारा लिखित पुस्तकमा यसको तस्बिर (स्केच) समावेश छैन ।

‘द स्टाटस अफ नेपाल्स बडर््स : द नेसनल रेड लिस्ट सेरिज’ भोलुम १–६ (सन् २०१६) मा नेपालको चरा सम्बन्धी लेखिएका पुस्तकहरूमध्ये सबैभन्दा बढी जानकारी समावेश छ । उक्त पुस्तकमा रेन क्वेइल हिजोआज नेपालमा पाइन्छ भन्ने जनाइएको छैन । पुस्तकमा अन्य प्रजातिका चरा कुन–कुन भागमा पाइन्छन् भनी नेपालको नक्रामा संकेत गरिएको छ । तर रेन क्वेइलको सन्दर्भमा नेपालको नक्सा प्रयोग गरिएको छैन ।

राजधनेश लोअर हिमालय क्षेत्रमा पाइन्छ भनेर तराईका जिल्लाहरू देखाइएको छ । उक्त पन्छी १८ सय मिटर भू–सतह उचाइसम्म पाइन्छ भनेर भारतको उत्तराखण्ड र वेष्टर्न घाटको चर्चा गरिएको छ । यो पन्छी भू–सतह ५ सय मिटरभन्दा माथि पाइँदैन । यो त नेपालमा आएका पर्यटकलाई त्यो चरा भारतमा पनि पाइन्छ, त्यहाँ जाउँ भनेको जस्तो भयो । पुस्तकमा यो पन्छी लेसर हिमालय क्षेत्रमा पाइन्छ भनिएको छ । नेपालमा लेसर हिमालयको रेन्ज ३५ सयदेखि ४५ सय मिटर भू–सतह उचाइलाई मानिन्छ ।

सिमसार क्षेत्रमा पाइने ‘लिटल रिन्ज्ड प्लोभर’ भनिने चरा भारतभर फिरन्ते हो भन्ने लेखिएको छ । सेतो गिद्ध पाइने क्षेत्र भारतभर भन्ने छ । पुस्तकमा पन्छी पाइने क्षेत्रमा पहिले भारतको कुनै ठाउँ लेखिएको छ । त्यसपछि हिमालय क्षेत्र भनिएको छ । भारतका चरा सम्बन्धी लेखिएको कुनै पुस्तकबाट कटपेष्ट गरेजस्तो देखिन्छ । तसर्थ पुस्तकबाट चराप्रेमी दिग्भ्रमित हुन्छन् । फिल्ड गाइड त उहिले होइन, हिजोआज फिल्डमा जाँदा भेटिने चरा चिन्न तयार गरिएको पुस्तक हो । त्यसले चरासहित ठाउँको पनि यकिन जानकारी दिनुपर्छ ।

नेपाली पनि उस्तै
‘अन्नपूर्ण संरक्षण क्षेत्रका चराहरू’ (सन् २०१८) शीर्षक एक पुस्तक ‘नेसनल ट्रष्ट फोर नेचर कन्जरभेसन’ र ‘अन्नपूर्ण कन्जरभेसन एरिया प्रोजेक्ट’ले संयुक्त रूपमा प्रकाशन गरेका छन् । पृष्ठ २० मा एक गांैथली आकाशमा उडिरहेको तस्बिर छ । त्यही तस्बिर ‘बडर््स अफ डोल्पा’ (सन् २०१८) शीर्षक पुस्तकको पृष्ठ ५८ मा पनि छ । दुवै पुस्तकमा चरा तस्बिरको कपिराइट प्रताप गुरुङ भन्ने लेखिएको छ । रमाइलो के छ भने डोल्पा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्दैन ।

डोल्पाको गौंथली केही घन्टामै अन्नपूर्ण संरक्षण क्षेत्रमा आइपुग्न सक्छ । यसैले डोल्पामा पाइएको त्यही गौंथली अन्नपूर्ण संरक्षण क्षेत्रमा पुग्दैन भन्ने होइन । यस्तै हथन चौरीले खिचेको फायर–टेल्ड सनबर्डको एकै तस्बिर माथि उल्लिखित दुवै पुस्तकमा परेको छ । यी दुई पुस्तक उही तस्बिर भिन्नाभिन्नै ठाउँका हुन् भनेर छपाउनुमा पुस्तक लेखकले ध्यान दिनुपथ्र्यो । बडर््स अफ डोल्पा पुस्तक नेप्लिज ओरिन्थोलिजकल सोसाइटी र डिपार्टमेन्ट अफ नेसनल पाक्र्स एन्ड वाइल्ड लाइफ रिजर्भले संयुक्त रूपमा प्रकाशन गरेका हुन् । पुस्तकमा ‘हुम्ला : जर्नी इनु टु दि हिडन सांग्रिला’ (सन् २०१६) शीर्षक पुस्तकमा छापिएका केही तस्बिरलाई फोटो फ्लिप र क्रप गरी छपाइएका छन् ।

एक पटक छापिएको तस्बिर अर्कोपटक कुनै पुस्तकमा छाप्न हुन्न भन्ने होइन । राम्रा तस्बिर अनेकन पुस्तकमा छापिन्छन् । तर एक ठाउँमा खिचिएको चराको तस्बिर अर्को ठाउँ वा जिल्लामा खिचिएको भन्न मिल्दैन । अध्ययन, अनुसन्धानकर्ताले नै छलकपट गर्नुलाई आश्चर्यजनक हो । यस्ता पुस्तक तथा फोटोमा फलानोको कपिराइट भनेर लेख्नु हाँसउठ्दो हुन्छ । पाठकलाई झुक्याएर केको कपिराइट ?

प्रकाशित : कार्तिक ९, २०७५ ०७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×