१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

दशैंको आशिर्वाद 

नवीन रायमाझी

अमेरिका — सामाजिक सञ्जालमा शुभकामना आदानप्रदान गरेको देखेर दशैँले छोपिसकेको थाहा पाइयो । हरेक पटक फोनमा टिङ्गरिङ्ग गरेर आउने शुभकामनाले मलाई आश्चर्य मिश्रित खुशी प्रदान गर्छ ।

दशैंको आशिर्वाद 

सामान्य अबस्थामा फुटेको आँखाले पनि हेर्न नरुचाउनेहरुले पनि के कारणले उन्नति प्रगतिको शुभकामना दिएका हुन् भनेर र पंक्तिकार जस्तो सामान्य सामाजिक आर्थिक हैसियतको व्यक्तिलाई पनि शुभकामना आउँदो रहेछ भनेर आश्चर्य लाग्नुको साथै सम्झना गरेर साथी भाइले शुभकामना दिएछन् भनेर खुशी लाग्नु स्वाभाविक हो । अब यस्ता शुभकामना कति हदसम्म लाग्छ त्यो अर्कै बहसको बिषय हो, अहिले त्यतातिर नजाँदा उचित होला । तर चाहिने समयमा फोन नलाग्ने नेपाल टेलिकम, मिसावटयुक्त पेट्रोलियम पदार्थ बेच्ने नेपाल आयल निगम र समयमा प्लेन नउडाउने नेपाल एअरलाइन्सलगायतका निकायहरुले पत्र पत्रिकामा दिएको शुभकामनालाई आधार मान्ने हो भने यस्ता शुभकामनाहरु पुरा हुँदैनन् ।


व्यक्तिगत रुपमा मलाई यो चाडसँग त्यति आत्मियता छैन । कुनै खास कारणले होइन कि त्यसै यो चाडप्रति त्यति रुचि नभएको हो । मान्छेहरुले महिनौ दिन अगाडि देखि दशैंमा यस्तो र उस्तो गर्ने भनेर योजना बनाएको नै मलाई अच्चम लाग्छ, तर त्यो उनीहरुको स्वतन्त्रता हो त्यसमा मलाई राम्रो वा नराम्रो भनेर टिपण्णि गर्नु छैन । केटाकेटी छँदा लामो छुट्टी हुने र चङ्गा उडाउन पाइने बाहेक मलाई दशैँको अरु कुनै कुराले पनि तानेन । मासु खाने प्रति त्यति रुचि नभएको कारणले पनि हुन सक्छ यो चाडप्रति मलाई त्यति आकर्षण नभएको होला । दशैँको अवसरमा र अरु सामान्य अवसरमा मैले खाने पदार्थ वा भोजनमा कुनै फरक नहुने कारणले पनि दशैंमा खाने पिउने भनेर उत्तेजित हुनुपर्ने कुरा पनि आएन.


त्यस्तै मान्यजनबाट टिका लगाएर आशिर्बाद लिने दिने कुरा राम्रो हो तर आजको जमानामा सयौं पाप सोचेको मन र हजारौं झुट बोलेको मुखले दिएको आशिर्बाद लाग्ला भन्ने कुरामै मलाई शंका छ वा लाग्दैन भन्ने कुरा मै ठोकुवा गर्न सकिन्छ । स्वीकार गर्न कठिन होला आजकाल आफुलाई काम पर्ने, धनी र उच्च पदस्थ ब्यक्तिको हातबाट मात्र टिका लगाउन तछाड मछाड गर्ने हो, सामान्य सामाजिक र आर्थिक हैसियत भएकाहरुको हातबाट टीका लगाउन कोहि जाँदैन, केहि अपवादको रुपमा यस्तो भेदभाव नगर्ने ठुलो ह्रदय भएका पनि होलान त्यसमा उनीहरुलाई हार्दिक अभिबादन गर्न पर्छ ।


त्यस्तै टिका लगाएर दिने पैसा (दक्षिणा) को रकमले पनि समाजमा एक किसिमको "हाइर्‍यार्की" खडा गरेको छ । त्यस्तो थोरै दक्षिणा दिनेको घरमा के जानु वा अहो त्यसले त धेरै पैसा दिन्छ जसरी भए पनि जानु नै पर्छ भन्ने जस्ता मिल्दा जुल्दा सम्वादहरु पंतिकारले धेरै पटक सुनेको छ । हामी केटाकेटी छँदा छोरीलाई मात्र दक्षिणा दिने चलन थियो, पैसा नपाउने कारणले टिका लगाउन जान त्यति रुचि हुन्थेन । एउटा नाताले हजुरआमा पर्नेले भने छोरालाई पनि पैसा दिने कारणले उनकामा जान छुटिएला कि भनेर चनाखो भएर बसिन्थ्यो । समग्रमा भन्नु पर्दा मेरो लागि दशैँ भनेको रु.एक संकलन कार्यक्रमभन्दा माथि कहिले गएन ।


आजकाल धेरैले यो चाडलाई "स्केप" गर्न कतै घुम्न जाने वा हाम्रो फलानो मरेको कारण दशैँ नमनाउने भनेर भन्ने गरेको पाइन्छ । आफन्त वा नजिकको ब्यक्तिको मृत्यु भएको कारण चाड नमनाउने तर खाने पिउने कुरामा कुनै बन्देज नहुने क्रियाकलापलाई के उपमा दिने यो बिद्वत पाठक वर्गलाई नै जिम्मा दिन चाहन्छु । मेरो बिचारमा सामान्य आर्थिक हैसियत भएकाहरुलाई त यो चाड दशा नै भएर आउने गरेको छ । आफ्नो हैसियत भन्दा बढी अरुलाई देखाउन खर्च गर्ने कारणले पनि धेरैलाई "आयो दशैँ ढोल बजाई, गयो दशैँ ऋण बोकाई" जस्तै हुने गरेको छ । मान्छेले के भन्लान भनेर देखावटी गर्नु कुनै कोणबाट पनि बुद्धिमानी होइन । आफ्नो जीवन आफुले बाँच्ने हो र खुशी वा दुख सबै आफ्नै मात्र हुने कारणले कसैले सम्पन्नता को प्रमाणपत्र देलान् भन्ने झुटो सपना नदेख्दा पनि हुन्छ । अरुको पिठ्यु पछाडी कुरा काट्नेहरुले तपाईंले जे गरेपनि कुरा काट्न छोड्दैनन् । मैले भने त्यस्ता ब्यक्तिहरुलाई तलब दिनु नपर्ने तर काम भने अति नै राम्रोसँग गर्ने दासको रुपमा हेर्ने गरेको छु, अर्थात आलोचना गर्ने दास ।


त्यस्तै पशुबलिको बिरोध गर्नेहरुको क्रियाकलाप हास्यास्पद छ । यदी दशैँ मान्ने हो भने पशुबलिलाई पनि मान्नु पर्छ । यदी पशुलाई मार्नु हुँदैन भन्ने हो भने सबैभन्दा पहिले मासुजन्य पदार्थ खान छोड्नु पर्छ । पशुलाई जिउँदै पोलेर र काटेर हेर्दै मन खल्लो हुने तरिकाले मासु खाने सेतो छाला भएकाहरुको कुरामा लागेर मारकाट गर्नु हुँदैन भनेर रोएर र कराएर सामाजिक सञ्जालहरुमा फोहर गर्नुको कुनै औचित्य छैन । पशुलाई काट्न हुँदैन भन्नेहरुले सबैभन्दा पहिले मासु त्याग गर्नु पर्यो, यदी मासु खाने हो भने चुप लागेर बस्नु उचित छ ।


प्रस्तुत आलेखमा कसैलाई व्यक्तिगत रुपमा इङ्गित गर्न खोजिएको छैन, पात्रलाई नभई प्रवृतिलाई मात्र भन्न खोजिएको हो । मेरो विचारसँग सहमत हुनेलाई धन्यबाद छ र असहमत हुनेहरुले पनि अरुको बिचारको कदर गर्नुपर्ने सामान्य सिष्टाचार पालना गर्नु हुनेछ भन्ने आशा गर्दछु ।


#twitter@naviinr

प्रकाशित : कार्तिक ४, २०७५ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?