१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ज्ञान–सीप सम्मेलन

अध्ययनदेखि आयआर्जनका लागि आफ्नै मुलुकमा पर्याप्त अवसर हुन्थे भने आज एक चौथाइ जनसंख्या मुलुक बाहिर हुने थिएन ।
कुमार पन्त

काठमाडौँ — भनिन्छ, पहाड जतिसुकै अग्लो होस्, भुइँ छाडेपछि उसले ढल्नुपर्छ  । सागर जतिसुकै गहिरो होस्, मूल छाडेपछि उसले सुक्नुपर्छ  । हामी मानव भएर जन्मेपछि बाध्यता वा रहरले जहाँ–जहाँ पुगौं, जेजति संघर्ष र प्रगतिका गाथा बुनौं, आफ्नो मातृभूमिसँगको सम्बन्ध टुटेपछि हाम्रो पहिचान र अस्तित्व सकिन्छ ।

ज्ञान–सीप सम्मेलन

संसारभर छरिएका नेपालीलाई आफ्नो मातृभूमिसँग जोडिरहने प्रयासस्वरुप असोज २६ र २७ मा काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) र परराष्ट्र मन्त्रालय मिलेर यसको आयोजना गरिएको हो ।


विदेशमा रहेर विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका नेपाली र नेपालप्रति चासो राख्ने विदेशी विज्ञहरूले सम्मेलनमा भाग लिनेछन् । दक्ष गैरआवासीय नेपालीको पहिचान गर्दै उनीहरूको ज्ञान र सीपलाई कसरी स्वदेशको समृद्धिमा सदुपयोग गर्न सकिन्छ भन्ने प्रश्नको खोजी सम्मेलनको मूल उद्देश्य हो ।

सम्मेलनमार्फत समृद्ध नेपाल निर्माणका लागि आवश्यक जनशक्ति, ज्ञान र सीप हामीसँग पर्याप्त छ/छैन भन्ने प्रस्ट हुनेछ ।


सम्मेलनमा नेपालको विज्ञान तथा प्रविधि नीति र प्राविधिक जनशक्तिको अवस्था, आर्थिक विकासको मार्ग, उपयुक्त नीति एवं प्रविधिको खोजी र लगानीबारे बहस हुनेछ । कृषि उत्पादन र ऊर्जामा स्वनिर्भरता, सुरक्षित खाद्य, वातावरणीय प्रदूषण न्युनीकरण, व्यवस्थित सहरको विकास, पूर्वाधार निर्माण, जलविद्युत, व्यावसायिक शिक्षा, स्वास्थ्यजस्ता विकास प्राथमिकता सम्बन्धी कार्यपत्र प्रस्तुत हुनेछन् । हामीजस्तै परिवेश भएका तर छोटो समयमा विकासको फड्को मारेका देशका विज्ञहरूको अनुभव हाम्रालागि उपयोगी हुनेछ ।


सम्मेलनमा निजी क्षेत्रको पनि सहभागिता रहनेछ । ज्ञान, सीप र प्रविधिलाई आर्थिक लगानीबाट अलग राख्न सकिँदैन, यी एकअर्काका परिपूरक हुन् । विदेशमा ज्ञान, सीप सिकेर फर्कनेहरूका लागि अवसर र चुनौती के छन् भन्ने पहिल्याउन र अनुभव साट्न सम्मलेन उपयोगी हुनेछ ।


नेपालीले विश्व बजारमा खुला रूपमा प्रवेश गरेको धेरै भएको छैन । २०४६ सालको राजनीतिक परिवर्तनसँगै उपभोग गर्न पाएको खुलापनले हामीलाई बाहिर निस्कन ढोका खोल्यो । विभिन्न परिबन्दले संसारका अनेक कुनामा पुर्‍यायो । विश्वको जुनकुनै भागमा पुगेका होऔं, यसमा रहरभन्दा बाध्यताको अंश बढी छ । अध्ययनदेखि आयआर्जनका लागि आफ्नै मुलुकमा पर्याप्त अवसर हुन्थे भने आज एक चौथाइ जनसंख्या मुलुक बाहिर हुने थिएन ।


गैरआवासीय नेपाली संघका मात्रै ७९ मुलुकमा संगठन छन् । आबद्ध सदस्य र विस्तारित भूगोलका दृष्टिले नेपालीको सबैभन्दा ठूलो संगठन गैरआवासीय नेपाली संघ बनेको छ । पहिलो पुस्ताका अगुवाले संघको परिकल्पना गर्नुभयो । आज करिब ३ पुस्ता यसमा आबद्ध भइसकेका छन् । विश्वभरका नेपाली यो अभियानमा कुनै न कुनै रूपमा जोडिएका छन् ।


पहिलो पुस्ताले बाहिर स्थापित हुन धेरै संघर्ष गर्नुपर्‍यो । अहिले यो समुदाय क्रमश: तलबी जागिरेबाट व्यवसाय र लगानीमुखी बन्दैछ । अर्थात् विस्तारै आर्थिक रूपमा सबल हुँदैछ । योभन्दा बढी प्रवासी नेपाली ज्ञान, सीप र प्रविधिको क्षेत्रमा सशक्त छन् । प्रख्यात अन्तर्राष्ट्रिय विश्वविद्यालय, अनुसन्धान केन्द्रदेखि राज्यका नीतिगत तहमा पुगेका छन् ।


अतिथि सत्कार एवं पर्यटन व्यवसाय, सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा धेरै नेपालीले विशेषज्ञता हासिल गरी व्यावसायिक उचाइ बनाएका छन् । अमेरिकामा मात्र ७ हजार मेडिकल डाक्टर र १७ हजार इन्जिनियर रहेको अनौपचारिक आँकडा छ । मध्यपूर्वी एसियामा २० लाख युवा छन् ।


मुलुकको एक तिहाइ अर्थतन्त्र रेमिटान्स अर्थात् प्रवासी नेपालीको कमाइबाट चलेको छ । तर रेमिटान्सको सबैजसो हिस्सा गैरउत्पादनमूलक क्षेत्रमा खर्च भइरहेको छ । वैदेशिक रोजगारमा जानेहरू विकसित देशको सीप र प्रविधिमा पोख्त भएर फर्कंदा पनि उनीहरूले सिकेको सीपलाई स्वदेशमा सदुपयोग गर्ने अवसर पाएका छैनन् । जस्तो कि खाडी, मलेसिया, इजरायल लगायतबाट फर्केका नेपालीले कृषि, निर्माण लगायत क्षेत्रमा हासिल गरेको ज्ञान–सीप फ्रिज भएर बसेको छ ।


खाडीका सुख्खा मरुभूमिमा फसल उब्जाउन सक्ने हातहरू आफ्नै हरिलो भरिलो देश फर्केपछि बेरोजगार बस्नुपरेको छ । उनीहरूको सीप र पुँजीको प्रयोग गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने र उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने नीति र संयन्त्रको अभाव छ । अब पुँजी मात्र होइन, विदेशमा सिकेको ज्ञान, सीप र अनुभवसँगै प्रविधिलाई पनि स्वदेशको समृद्धिका लागि उपयोग गर्नुपर्छ भन्ने सम्मेलनको उद्देश्य हो ।


भूकम्प, नाकाबन्दी, बाढी–पहिरोजस्ता राष्ट्रिय संकटका घडीमा संसारभर छरिएका नेपालीले अभूतपूर्व ऐक्यबद्धता देखाएका छन् । यति ठूलो समुदाय—सञ्जाल नेपालीत्वको भावनामा एकाकार भई प्रस्तुत हुनु संसारमै उदाहरणीय छ । यतिखेर विदेशमा रहेका नेपालीले पुन: त्यही तहको ऐक्यबद्धता, प्रतिबद्धता र संकल्प स्वदेशका नाममा गर्नुपरेको छ, स्वदेशको समुन्नतिको सर्तमा । आफूले विदेशमा कमाएको धन, ज्ञान, सीप, प्रविधि, अनुभव जे–जे हुन्छ, त्यसको निश्चित अंश राष्ट्र निर्माणमा योगदान गर्नका निम्ति ।


राज्यले पुँजी भित्र्याउन सहयोगी संवैधानिक, कानुनी एवं नीतिगत व्यवस्था गरिदिएको छ । यसले परिणाम दिन थालेको छ । यद्यपि विदेशमा नेपालीले कमाएको ज्ञान, सीप कसरी भित्र्याउने र स्वदेशको हित एवं उन्नतिमा कसरी उपयोग गर्ने भन्नेमा ठोस बहस हुनसकेको छैन । सोही बहसको सुरुवात गर्नु सम्मेलनको ध्येय हो । सम्मेलनमा सरकारको साझेदारी रहेकाले अपेक्षित परिणाममा पुग्ने आशा गर्न सकिन्छ ।


१० वर्षे सशस्त्र द्वन्द्व, आन्दोलन, शान्ति प्रक्रिया, राज्यको पुन:संरचना, संविधान निर्माणजस्ता राजनीतिक मुद्दा करिब किनारा लागेका छन् । यही मौकामा हामीले आर्थिक समृद्धि र विकासको मुद्दालाई अभियानकै रूपमा अगाडि बढाएनौं भने फेरि पुरानै घनचक्करमा फँस्न सक्नेछौं । राजनीतिक रूपान्तरणपछि आर्थिक रूपान्तरण भन्दै नेतृत्वले विकास एवं समृद्धिको अभिलाषा बाँडेको छ । त्यस अनुरुप काम हुनसकेन भने आशा निराशामा परिणत हुन बेर लाग्दैन ।


समृद्धिका लागि राजनीतिक प्रतिबद्धता, स्रोत व्यवस्थापन र परिचालनको कौशल जरुरी छ । तर राष्ट्र निर्माणमा लाग्नुपर्ने ठूलो मानवस्रोत बाह्य श्रम बजारमा भौंतारिनुपरेको छ । स्वदेशमा आशा र भरोसा दिन सकेनौं भने अझै यो क्रम बढ्नेछ । एक चौथाइ जनसंख्या, त्यो पनि सक्रिय र उत्पादक उमेर समूहलाई बाहिर राखेर समृद्धि सम्भव हुँदैन ।


स्वदेशमै सम्भावना र अवसर छ भन्ने सन्देश दिन विदेशका विभिन्न ठाउँ, ओहदा र विधामा विशेषज्ञता हासिल गरेका प्रतिभाहरूलाई स्वदेश फर्काउन सक्नुपर्छ । उनीहरूको ज्ञान, सीप, अनुभव र विशेषज्ञतालाई स्वदेशले उपयोग गर्ने तत्परता देखाउनुपर्छ । बाहिर रहेको जनशक्तिले पनि आफ्नो मातृभूमिलाई छातीमा राखेर योगदान गर्न तयार हुनुपर्छ, छ पनि ।


डायस्पोराहरूले देश बनाएका धेरै उदाहरण छन्– दक्षिण कोरिया, फिलिपिन्स, आयरल्यान्ड आदि । हामी देशै बनाउँछौंै भन्ने दाबा गर्दैनौं । तर स्वदेशको पहल र प्रयत्नमा इँटा थप्न चाहन्छौं । नेपालीहरूले बाहिर सिकेको ज्ञान, सीप र आर्थिक लगानी स्वदेशको रोजगारमूलक क्षेत्रमा गर्न चाहन्छौं । स्वदेशमा लगानीको वातावरण छ, काम गर्ने अवसर छ र देश बन्न सक्छ भन्ने सन्देश दिन चाहन्छौं । र हामी चाहन्छौं– आर्थिक समृद्धिको अभियानका साझेदार बन्न सकौं । किनभने व्यक्ति होइन, आफ्नो देश धनी भएमात्र बाहिरी संसारमा पनि सम्मान र स्वाभिमान पाइन्छ भन्ने हरेक गैरआवासीय नेपालीले अनुभूत गरेको छ ।


गैरआवासीय नेपाली संघका उपाध्यक्ष लेखक ज्ञान सम्मेलन आयोजक समितिका संयोजक हुन् ।

प्रकाशित : आश्विन २७, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?